उफ् यो जेठको गर्मी!
तातो हावा! जता हेर्यो उतै टन्टलापुर घाम!
घरभित्र होस् या बाहिर; उम्सै उम्सो!
त्यसमाथि तिखा बचनले काटेको, आस र भरोसा फाटेको, असह्य पीडा र उदासीनताले उकुसमुकुस मनभित्रको गर्मी सम्झँदा नै चिटचिट पसिना छुट्छ!
प्राकृतिक गर्मीको राप त केही डल्ला बरफ मिसाएको एक गिलास लस्सी वा फ्रिजको चिसो पानीले मेट्न सक्ला। साह्रै गर्मी भए सर्लक्क नुहाउँदा केही बेर भए पनि शितल महसुस होला। वा, पानीमा पौडेर घामको उकुसमुकुस छल्न सकिएला। तर मनमा उठेका ज्वारभाटा, पिरका पोका, चिन्ता र शंकाका कुटिरा, अनि घातका घाउ लिएर हिँडेको एक मुठी मन कति विक्षिप्त छ, कति लाचार छ भन्ने अनुभूति दुरूस्त व्यक्त गर्न म असम्भव ठान्छु।
वैचारिक अन्तरद्वन्द्वले हृदयमा पारेको राप, चाप र दबाबले साँच्चै मन उकुसमुकुस छ। मानौं वर्षौंसम्म पानी नपिएसरी आकुलव्याकुल छ मन। जेठमा मरूभूमिको यात्रामा निस्किएको यात्रुसरी तड्पिएको छ मन। आफ्ना भित्री मनका चोट र पीडालाई खुलेर कसैसामु व्यक्त गर्नसम्म नसक्दा दुइटै पखेटा बाँधिएको चरासरी छट्पटाएको छ यो मन।
अब यो भित्रभित्रै उकुसमुकुस मनलाई शितल कसरी पार्ने?
म मनोविद् या मनोसामाजिककर्ता होइन। तर आफ्नो पेसाका कारण धेरै बालबालिका, किशोर-किशोरी र महिला दिदीबहिनीसँग जोडिन्छु। प्रत्यक्ष-अप्रत्यक्ष उनीहरूका समस्या सुनेर सामाधानका उपाय सुझाउँछु। आज मैले यस्तै देखाइ, भोगाइ, सिकाइ र अनुभव बाँड्ने जमर्को गरेको छु।
कुरा केही साताअघिको हो। म दिनहुँ तीन-चार जना दिदीबहिनीको कथा सुन्छु। दिनहुँ दिदीबहिनीहरूकै साथमा हुन्छु।
साढे तीन वर्ष र नौ महिनाका दुई सन्तानकी आमा म साना बालबालिकालाई पढाउने र हुर्काउने संस्थागत विद्यालयकी प्रिन्सिपल हुँ। बालबालिका र नवआमाहरूका विषयमा बढी नै संवेदनशील छु।
हामीले हाम्रो विद्यालयमा हरेक वर्ष १५-२० जना बालबालिका नि:शुल्क पढाउँदै आएका छौं। यसका लागि म लगायत विद्यालयको टिम चैतदेखि वैशाखसम्म अतिजोखिममा परेका बालबालिका छनौट प्रक्रियामा व्यस्त रहन्छौं। यसपटक भने जेठ महिनासम्म पनि टाढा टाढाबाट विभिन्न समस्या लिएर छात्रवृत्ति पाउँछु कि भन्ने आसमा केही आमाहरू आउनुभयो। छनौटको म्याद सकिँदा पनि उहाँहरूको कुरा नसुनी 'अब हुन्न, म्याद सकियो' भन्नै सकिनँ।
एकचोटि उहाँहरूको कथा सुन्दैमा मेरो कुनै ठूलो नोक्सान होला र!
यसपटक नभए पनि अर्कोपटकलाई विचार गर्न सकिन्छ भनेर उहाँहरूलाई पालैपालो आफ्नो कार्यकक्षमा स्वागत गरेँ।
पालैपालो सबैको मनको उकुसमुकुस सुनेँ। उहाँहरूले भोगेका कहालीलाग्दा घरेलु हिंसाका वृत्तान्त बुझेँ। केहीका व्यथासँग म पनि बहकिएँ। खै शितल पार्न सकेँ कि सकिनँ, तर मैले सक्दो कोसिस गरेर सम्झाएर पठाएँ।
पीडाले विक्षिप्त एक कलिली आमा काखमा छोरी च्यापेर गहभरि आँसु र हृदयभरि भरोसा लिएर मलाई भेट्न आइन्।
जब कुरा सुन्दै गएँ तब थाहा भयो, उनी सुत्केरी हुँदा स्याहारसुसार गर्न बहिनी आएकी रहिछन्। त्यो बेला आफ्नै श्रीमानबाट बहिनीको जबर्जस्ती करणी भएको रहेछ। समाजको डर र इज्जतमा खोट लाग्ने डरले माइतीले नै मुख थुनेछन्।
त्यो घटना गुपचुपमै सेलाएछ। फेरि उनले गाउँकै अर्की किशोरीलाई जबर्जस्ती गरेपछि बल्ल कुरा बाहिर आएछ।
जो मसँग भेट्न आएकी थिइन्, उनी अहिले सन्तानलाई लिएर एक्लै संघर्ष गरिरहेकी छन्। शारीरिक, मानसिक, सामाजिक र आर्थिक चुनौतीहरूसँग लड्दै संघर्षपूर्ण जीवन बाँचिरहेकी छन्।
प्राय: नेपाली समाजमा दिदीबहिनी सुत्केरी हुँदा माइती पक्षले छोरीको स्याहारसुसारका लागि दिदीबहिनी नै पठाउने चलन छ। के हामीले पठाएका छोरीहरू अर्काको घरमा सुरक्षित छन् कि छैनन् भनेर सोचेका छौं? के निर्मला (परिवर्तित नाम) की बहिनीको जस्तो भोगाइ अरू कसैमाथि पनि भएको छैन त? स्याहारसुसार गरिदिन पठाइएकी छोरी कतै शोषणमा परेकी त छैन? अब यसबारे सोच्न आवश्यक छ।
भर्खर २४ वर्षकी उनी दुई बच्चाकी आमा भइसकिन्। श्रीमान त जीवित नै छन्। तर दिनहुँ घरेलु हिंसाबाट ग्रसित, लामो समयदेखिको पारिवारिक यातना, श्रीमानले आफ्नै अगाडि परस्त्रीसँग सम्बन्ध बनाउँदै हिँड्ने र उनलाई बेवास्ता गर्ने हुँदा मानसिक तनाव र मनोरोगको लक्षण रहेको प्रस्टै देख्न सकिन्थ्यो।
उनी भन्थिन्, 'म मेरो श्रीमानको मृत्युदर्ता त पेस गर्न सक्दिनँ, तर उहाँको साथ, सहयोग पनि मलाई केही छैन। दिनरातको झगडाले बच्चाबच्ची पनि दिमाग उडेजस्ता भएका छन्। बरू मलाई स्कुल सरसफाइ गर्ने काममा लगाइदिनुस्, म मेरा छोराछोरी पढाउन चाहन्छु।'
उनले आफ्नो मनभरिका वेदना बताउँदै गइन्, म एकोहोरो सुनिरहेँ।
'म बाँचेको पनि केही सार छैन,' उनले अगाडि भनिन्, 'धेरैचोटि मर्ने प्रयास गरेँ, तर छोराछोरीको मुख हेरेर मर्न पनि सकिनँ।'
उनले स्वर कमाउँदै भनेका यी शब्दले मलाई भावुक बनायो। मेरो मन पनि काम्यो।
मैले लामो सास फेर्दै उनको जीवनमा ऊर्जा भर्ने प्रत्यत्न गरेँ। उनका कुरा सुनिसकेपछि केही प्रश्न पनि गरेँ। उनले मैले सोधेका प्रश्नको जबाफ दिँदै गइन्।
तपाईं अहिले कति वर्षको हुनुभयो?
– २४ वर्ष।
कति वर्षमा बिहे गर्नुभएको?
– १६ वर्ष।
घरमा को-को हुनुहुन्छ?
– तीन जना छोराछोरी, देवर, म, अनि मेरा श्रीमान।
तपाईंलाई सबभन्दा धेरै पीडा कुन कुराले हुन्छ?
– मलाई धेरै पीडा आफ्नो श्रीमान नभइदिँदा, बच्चाबच्चीको पनि वास्ता नगर्दा, घरमा कुनै सरसल्लाह नगर्ने, खाली बाहिर बाहिर लाग्ने, आफू बिरामी भएर मर्न लाग्दासम्म केही वास्ता नगर्ने, स-साना कुरामा झगडा गर्ने, कुटपिट गर्ने; यी सबै कुराले मलाई पिरोल्छ।
अनि तपाईंको के इच्छा छ?
– हजुर, इच्छा भन्नाले!
तपाईंलाई के बन्ने मन छ?
– खै त्यस्तो त थाहा छैन।
कतिसम्म पढ्नुभएको छ?
– एसइई पास गरेको छु।
कहीँ कतै केही काम पनि गरिरहनुभएको छ कि?
– केही काम गर्दिनँ। त्यत्तिकै घरमा बस्छु।
घरमा पनि केही काम नगरी बस्नुहुन्छ त?
– (हाँस्दै) नाइँ, घरमा त सबै काम म आफै गर्छु।
घरमा झगडा पर्दा तपाईंलाई कसले साथ दिन्छ?
– दुई जनाको घरझगडामा लाग्नुहुन्न भनेर कोही बोल्दैनन्।
अब तपाईंको मनमा के गर्छु भन्ने सोच छ आफ्ना छोराछोरीका लागि?
– कतै स्कुलमा काम पाएको भए म आफ्ना बच्चाबच्चीको खर्च आफै उठाउन सक्थेँ।
बाहिर काम गर्दैमा तपाईंको घरभित्रको समस्या, अनि तपाईंको मनभित्रको समस्या कम हुन्छ त?
यो प्रश्नमा उनी आँखाभरि आँसु पार्दै नि:शब्द भइन्।
घरमा साह्रै हिंसा छ भने किन लुकाउनुभएको त?
– छरछिमेक, गाउँसमाज र इष्टमित्रका अगाडि लाज होला भनेर।
कुनै दिन कानुनी रूपले अगाडि बढुँजस्तो लाग्दैन?
– (एकछिन सोचेपछि) कहिलेकाहीँ धेरै नै हेपेको, पिटेको बेला केही अगाडि बढम् जस्तो लाग्छ, तर फेरि डर लाग्छ।
सबभन्दा बढी कसको माया लाग्छ?
– छोराछोरीको लाग्छ।
आफ्नो माया लाग्दैन?
जबाफमा उनले गहभरि आँसु पार्दै निउरीमुन्टो लगाइन्।
'अब म तपाईंलाई केही गोप्य कुरा भन्छु, सुन्नुस् है। यी कुरा बुझेर अगाडि बढे आफ्नो आत्मसम्मान कहिल्यै गुमाउनुपर्दैन,' मैले यति भनेपछि उनी ध्यानमग्न मेरो कुरा सुन्न थालिन्।
मैले भनेँ –
श्रीमान श्रीमतीको सम्बन्ध बिग्रनुमा प्राय: पाँच पक्षको असन्तुलन या अभाव मुख्य कारण हुन्छ।
– आर्थिक अभाव, कर्जा, व्यावसायिक घाटा
– मानसिक तनाव, चिन्ता, शंका
– सामाजिक सम्बन्धमा खटपट या समाजको नजरमा गिर्ने कुनै क्रियाकलाप या सामाजिक आरोप
– संवेगात्मक चोट, भावनामा ठेस पुग्ने कुनै बोली, बानी, व्यवहार
– श्रीमान या श्रीमतीले आ-आफ्नो धर्म बिर्सनु, परस्त्री या परपुरूषसँग अनैतिक सम्बन्ध बनाउनु र आफ्नो चरित्र गुमाउनु
यी पाँच प्रमुख कारणले सुखी दाम्पत्य जीवनमा अनेकौं खटपट र संकट निम्त्याउँछ।
मैले यति भनिरहँदा उनी मन्त्रमुग्ध सुनिरहेकी थिइन्, मानौं त्यो पल उनले आफ्ना सारा दु:ख भुलेकी छन्।
मैले अगाडि भनेँ –
सुन्नुस् बहिनी, श्रीमान-श्रीमतीले आफ्नो सम्बन्ध बलियो पार्न निम्न कुरामा ध्यान दिनुपर्छ।
– आ-आफ्नो आर्थिक भार उठाउने कोसिस गर्नुपर्छ
– खर्च व्यवस्थापनका साथै ऋणकर्जा तिर्न दोहोरो पहल गर्नुपर्छ
– एकअर्काका मानसिक तनावको कारण नभई तनाव व्यवस्थापनका लागि सघाउनुपर्छ
– घरपरिवार र समाजसामु आफ्नो जोडाको कदर र इज्जत गर्नुपर्छ
– भावनात्मक ठेस पुर्याउने गरी श्रीमान-श्रीमतीका परिवारलाई बीचमा ल्याएर गाली गर्नु हुँदैन र आफ्नो बानी, बोली र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ
– दुवैले पति-पत्नीबीचको धर्म पूर्ण निष्ठाका साथ निर्वाह गर्नुपर्छ, परपुरूष वा परस्त्रीबारे सोच्नु पनि हुँदैन
म भन्दै थिएँ –
यी सबै गुण एउटामा मात्र भएर हुँदैन। एक जनाले सबै कर्तव्य पूरा गर्छ तर अर्को सधैं विपरीत काम गर्छ भने मनमुटाव र पारिवारिक खटपट हुन थाल्छ।
यदि आफ्नो पार्टनर अनैतिक काम गर्दै हिँड्छ भने त्यसमा कहिल्यै आफ्नो दोष वा कमजोरी ठान्नु हुँदैन। आफ्नो जीवन कसरी बाँच्ने? आफ्नो चरित्र कस्तो धारण गर्ने? र, समाजमा आफ्नो परिचय कस्तो दिने भन्ने निर्णय स्वयं व्यक्तिको हुन्छ। तपाईंको श्रीमानलाई अर्काकी श्रीमतीसँग पछि लाग्न लाज लाग्दैन, उसको स्वाभिमान घट्दैन भने त्यो त उसको समस्या हो, तपाईंको होइन।
भोलि कालान्तरमा सामाजिक तिरस्कार र भावनात्मक वितृष्णा उसले भोग्ने हो बहिनी, तपाईंले होइन।
म उनलाई सम्झाउँदै गएँ –
ल हेर्नुस् त, हाम्रो समाजमा यस्तै पारिवारिक अनबनले धेरै जोडी सम्बन्ध विच्छेदसम्म पुग्छन्। धेरै जना सम्बन्ध विच्छेदपछि पनि शान्तिपूर्ण जीवन बाँचेका हुन्छन्। केहीले भने आफू दोस्रो विवाह गर्ने तर छोराछोरीको बिचल्ली पार्ने हुन्छन्।
सम्बन्धमा रहँदासम्म रिस मान्ने, शंका मान्ने, अनावश्यक अधीनमा राख्ने पार्टनरले सम्बन्ध विच्छेदपछि भने ऊ कोसँग हिँड्छ, कोसँग बोल्छ, कहाँ काम गर्छ, कहाँ घुम्न जान्छ या अरू कसैसँग विवाह नै किन नगरोस् पूर्व पति/पत्नीलाई कुनै चासोको विषय हुँदैन। न उनीहरूलाई यो कुराले कुनै असर पार्छ।
हेर्नुस्, मानिसमा सहन सक्ने, आफ्ना अतीतका कुरा बिर्सेर नयाँ सुरूआत गर्ने आँट, साहस र हौसला त्यो डिभोर्सको कागजले दिएको हो त? पक्कै होइन।
ऊबिना पनि बाँच्न सक्ने तागत डिभोर्सको कागजले होइन, तपाईंको सोचले दिएको हो।
अदालतमा फैसला सुनाएको पलमा नै तपाईं ती सबै परिबन्दबाट आफूलाई मुक्त गर्नुहुन्छ। अब तपाईंलाई त्यो मान्छेको बोली, व्यवहार र विचारले केही फरक पार्दैन। आफ्नो सोचाइ बलियो बनाउनुहुन्छ। तपाईं आफ्नो जीवनको निर्णय आफै लिनुहुन्छ। आफ्ना कमजोरी सुधार्दै अगाडि बढ्नुहुन्छ। म एक्लै छु, मेरा छोराछोरी मेरो जिम्मेवारी हो भनेर आफ्नो क्षमता र कर्मलाई अगाडि बढाउनुहुन्छ र आफूमाथि गर्व गर्नुहुन्छ।
त्यसैले आफ्नो मन बलियो बनाउनुस्, उसका हरेक नराम्रा, घिनलाग्दा व्यवहारबाट मुक्त राख्नुस्, मनमनै उसलाई डिभोर्स दिनुस्; यसो गर्दा तपाईं आफ्नो भविष्यप्रति मात्र ध्यान दिनुस्, आफूलाई आफ्नो खुट्टामा उभ्याउनुस् र साहसिक जीवन जिउनुस्।
मेरो श्रीमान अरू केटीसँग लाग्छ भनेर आफूलाई कमजोर पारेर रूने होइन। बरू उसले मजस्तो असल जीवनसाथी पाउने हैसियत नभएर आफ्नो अमूल्य समय अरूसँग बिताइरहेको छ भनेर सम्झिनुस्।
आफ्ना छोराछोरीको बिचल्ली हुन नदिन तपाईं भौतिक रूपमा त्यही परिवारमा रहे पनि संवेगात्मक रूपले, आध्यामिक रूपले आफूलाई बलियो र वृद्धिको बाटोमा लैजानुस्।
आफ्नो सीप विकासमा, क्षमता विकासमा समय लगानी गर्नुस्। आफ्नो हरेक एक घन्टालाई मेरो पार्टनर कहाँ छ, के गर्दैछ भनेर चासो र खोजीनिती गर्नुको सट्टा त्यही एक घन्टालाई पनि आफ्नो सिकाइ र सिर्जनामा खर्च गर्नुस्।
मैले यो पनि भनेँ –
अबदेखि तपाईंले आफ्नो पार्टनरलाई तँ कहाँ गइस्, के गरिस् भनेर झगडा गर्ने होइन; बरू म के गर्दैछु, के सिक्न र बन्न चाहन्छु भन्नेमा ध्यान दिनुस्। आफ्ना बालबालिकाको वृद्धि र विकासमा समय दिनुस्। किनभने आमा सृष्टि हो। सृष्टि भनेको यो धर्ती हो। यो घर्ती हाम्रो पृथ्वी हो। अनि पृथ्वी एउटा मात्र छ।
यो सिंगो एउटा पृथ्वी आफ्नो कक्षमा निरन्तर परिक्रमा गर्छ। सँगसँगै सौर्यमण्डलमा सूर्यको परिक्रमा पनि गर्छ। निरन्तर घुमिरहने पृथ्वी हामी सधैं शान्त र स्थिर पाउँछौं। ब्रह्माण्डमा एक्ली पृथ्वीभित्र अनगिन्ती जीवन बाँचिरहेका छन्। त्यसैले आमा हुनु र बन्नु सामान्य कुरा छैन। आमाको गर्भबाट सुरू हुने हरेक जन्म यस धर्तीको भूगर्भमा गएर समाप्त हुन्छ।
आमाको गर्भदेखि भूगर्भसम्मको यात्रा नै जीवन हो। जीवनसाथी चाहिँ जीवनभर सँगसँगै हिँड्नलाई चुनिने एक पात्र हो। जीवनसाथी भन्दैमा सबै सधैं, सँगसँगै हिँड्छन् भन्ने छैन। जबर्जस्ती हिँड्नै पर्छ भन्ने पनि छैन। हरेक व्यक्तिका इच्छा, चाहना र लक्ष्य हुन्छ।
हामी सधैं हामीले नै इच्छा गरेजस्तो हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ आफ्नो जीवनसाथीको इच्छा पनि बुझिदिनुपर्छ। यो कठिन छ, भनेजस्तो सजिलो कत्ति पनि छैन। तर 'इनभिजबल डिभोर्स' को सूत्रले तपाईंको मनलाई कठोर, शान्त र एकाग्र पार्न सक्छ। नभए आजको मितिलाई साँचिराख्नै मनमनै 'इनभिजिबल डिभोर्स’ दिनुस् र आफ्नो विचार र व्यवहारमा परिवर्तन आउँछ कि आउँदैन् महसुस गर्नुस्।
करिब डेढ-दुई घन्टाको कुराकानीपछि मैले उनलाई १० मिनेट ध्यान गराएँ। उनका बन्द आँखाभित्र मनको दुनियाँ देखाए। अनि उनलाई मनको अदालतमा उभ्याएँ। न्यायाधीश र वकिल दुवै बनिदिएँ। उनले आफू र आफ्ना श्रीमान दुवैको तर्फबाट हस्ताक्षर गरिन्।
त्यो अदृश्य डिभोर्स पेपर आफ्नो मन र मस्तिष्कको बाकसमा उनले ताला लगाइन्।
लामो सुस्केरा र आँसुसँगै उनले आँखा खोलिन् र मन दह्रो पार्दै भनिन्, 'थ्यांक्यू म्याम!'
'म अब उसका बारेमा केही चिन्ता लिन्नँ। अब उसलाई जे ठिक र राम्रो लाग्छ त्यही गर्छ। म चाहिँ कमजोर हुँदिनँ,' उनले भनिन्, 'आफ्नो छोराछोरीका लागि आफै संघर्ष गर्छु। म्याम, म अबको बाँकी जीवन मेरो लागि जिउँछु र समाजमा केही बनेर देखाउँछु।'
मैले मुसुक्क हाँस्दै 'गुडलक बहिनी, चिन्ता नलिनू, सबै राम्रो हुन्छ' भनेँ र उनलाई अंगालो हालेर बिदा गरेँ।
त्यसपछि उनीसँग मेरो भेट एकैपटक दुई सातापछि भयो। उनी उज्यालो मुहारमा उत्साहका साथ आएकी थिइन्। उनलाई देख्दा मलाई खुसी लाग्यो।
उनी मोन्टेश्वरी टिचर ट्रेनिङ लिन हाम्रो टिचर ट्रेनिङ सेन्टरमा आएकी थिइन्।
दुई सातापछिको भेटमा उनले भनिन्, 'म्याम अब म ११ कक्षामा भर्ना हुन्छु, यो मोन्टेश्वरी तालिम पनि लिन्छु, अनि तपाईंजस्तै टिचर बन्छु।'
***