आभूषण किरात लिम्बू संस्कृतिको अनमोल धरोहर हो। किरात लिम्बू महिलाले विशिष्ट अवसरमा अलंकार धारण गर्ने परम्परा छ। यो आभूषण प्रदर्शन गर्ने या सुख अनुभव गर्ने वस्तु नभएर स्त्रीत्वको चैतन्य (दिव्य चेतना) प्रदान गर्ने एक महत्त्वपूर्ण माध्यम हो।
लिम्बू संस्कृतिमा अलंकार धारण गर्ने परम्परामा किरात संस्कृतिको महानता देख्न सकिन्छ भने व्यक्तिलाई धार्मिक, आध्यात्मिक र तेजमय बनाइराख्न महत्त्वपूर्ण भूमिका हुन्छ। मानिसमा देहको आशक्ति हुनाले देह सजाउन अर्थात् आफ्नो सौन्दर्य वृद्धि गर्न अलंकार धारण गर्छन्। आभूषण शरीरको विशिष्ट अवयवसँग सम्बन्धित हुन्छ। यसले परम्परागत विशिष्ट संस्कृति समूह आत्मसात गर्न, प्रथागत उत्सव र जीवनशैली संरक्षण गर्न मद्दत गर्छ।
लिम्बू संस्कृतिमा पारम्परिक आभूषणको ठूलो महत्त्व हुन्छ। आभूषणले पहिचान, परम्परा, संस्कार, रिति-रिवाज, सभ्यता र सामाजिक विरासतको एक शक्तिशाली अभिव्यक्तिका रूपमा काम गर्छ। प्रत्येक आभूषणको एक मुख्य विशेषता रहन्छ।
जस्तै- किरात धर्ममा सुनचाँदीको आभूषणले समृद्ध विरासत र आध्यात्मिक महत्त्व बोकेको हुन्छ। शृंगार र सौन्दर्यका लागि मात्र नभएर प्राचीन कला शैली, वैदिक ज्ञान र संस्कृति प्रकट गर्छ।
किरात लिम्बू प्राचीन आभूषणमा सुनको फूल, चेप्टे सुन, कण्ठा, चन्द्रहारा, श्रीबन्दी, कल्ली, काँडे तिलहरी, लस्करी, ढुंग्रीमुन्द्री, बुलाकी, काँडे चुरा, असर्फी छापे औंठी, रेजी, क्लिप जस्ता विभिन्न गहना देख्न सकिन्छ। यी प्राचीन आभूषण केही सामूहिक रूपमा विभिन्न जातजातिमा पनि प्रचलनमा ल्याइएको र लोकप्रिय बन्दै आएको देख्न सकिन्छ।
किरात लिम्बू महिलाका मौलिकमध्ये मुख्य-मुख्य आभूषणको म यहाँ संक्षिप्त व्याख्या गर्दैछु।
साम्याङ फूङ
किरात लिम्बू महिलाले शिरमा पहिरिने प्रमुख आभूषण साम्याङ फूङ हो जसको अर्थ सुनको फूल भन्ने हुन्छ। सुनको फूल शिरको माथिल्लो भागमा लगाइन्छ। यसको आकृति वृत्ताकार शृंखलामा निर्माण गरिएको हुन्छ। त्यहाँ अंकित चित्रद्वारा स्पष्ट हुन्छ कि यो आभूषण स्वयं अद्वितीय, शक्तिशालीका साथै आकर्षक छ। यो आभूषण शरीरको विशिष्ट अवयवसँग सम्बन्धित हुन्छ।
शृंगारका रूपमा मात्र नभएर प्राचीन किरात कला शैली र सभ्यतालाई यसले उजागर गरेको देखिन्छ जहाँ अर्ध चन्द्रमाथि सूर्य अंकित छ। त्यो चित्र हामीले नेपालको राष्ट्रिय झन्डाको माथिल्लो कोणमा देख्न सक्छौं।
त्यस्तै अर्को महत्त्वपूर्ण चित्र छ, जहाँ नाग र दायाँबायाँ भागमा मयुरका साथै फूल र फूलका लहराहरूले विशेष सिँगारिएको हुन्छ। यो आभूषणको सम्बन्ध सूर्य ग्रहसँग रहन्छ। सुनको फूलले तेज, प्रकाश, इच्छाशक्ति, अधिकार, नेतृत्व गुणका साथै वंश, कुल, परम्परा, धर्म, संस्कृति, रिति-रिवाज र अत्यन्तै प्राचीन किरात इतिहास उजागर गरेको पाइन्छ।
यो आभूषण धार्मिक, आध्यात्मिक भावनासँग सदा अनुप्राणित हुन्छ। यसमा कुँदिएका चन्द्र, सूर्य, नाग, मयुर र फूल बुट्टाले आफैमा एक अदभूत रहस्य र दिव्यज्ञान निर्देश गर्छन्।
यो सुनको फूलले किरात लिम्बू जातिको वंश स्पष्ट निर्धारण अर्थात् रेखांकित गरेको छ। किरात लिम्बू जाति सूर्यवंशी थिए र हुन् भन्ने स्पष्ट बुझ्न सकिन्छ। अंकित चित्रबाट प्रस्ट हुन्छ; किरातकालमा ग्रह पूजा, धार्मिक सहिष्णुता, वित्तीय पक्ष, सामाजिक पक्ष र वैदिक ज्ञान समेटेको पाइन्छ। आदिम कालदेखि किरातवंशी सूर्य देवका उपासक थिए भन्ने कुराको गहकिलो प्रमाण यसमा पाइन्छ।
श्रीबन्दी
किरात लिम्बू महिलाले पहिरिने आभूषणमध्ये श्रीबन्दीको पनि खास महत्त्व छ। यसको आकृति अर्ध चन्द्रमा जस्तो छ। अर्ध चन्द्रमाको वरिपरि विभिन्न प्रकारका बुट्टा कुँदिएको हुन्छ। यो आभूषणको माथिल्लो भागमा तारा पनि राखिन्छ। त्यसमा तीनवटा लस्करीहरू जोडिएको हुन्छ जुन शिर र शिरको दायाँबायाँ भागमा लगेर केशमा खिपिन्छ। यो आभूषणको सम्बन्ध नारी शृंगारसँग मात्र नभएर मन, मस्तिष्क, आज्ञा चक्र र चन्द्र ग्रहसँग रहन्छ।
यो आभूषण आज्ञा चक्र अर्थात् भृकुटीसँग स्पर्श हुनेगरी मस्तकको तल्लो भागसम्म आउने गरी लगाइन्छ। महिलाको बाहिरी चमक-धमकदेखि लिएर अन्तरआत्मा, शीलस्वभाव, भित्री गुणवत्ता, वैयक्तिक रूचि, सामाजिक सांस्कृतिक चेतनासम्ममा यो आभूषणको प्रभाव व्याप्त रहन्छ। यसले धार्मिक, आध्यात्मिक महत्त्व उजागर गरेको स्पष्ट रूपमा पाउन सकिन्छ।
आज्ञा चक्रलाई आदेश भनेर पनि बुझिन्छ। यो स्थानमा श्रद्धाका लागि टीका र सिन्दुर लगाउने चलन पनि छ। मन, मस्तिष्क, आज्ञा चक्र र चन्द्र ग्रहसँग सम्बन्ध रहने भएकाले ब्रह्माण्डीय ज्ञानतर्फ निर्देश गर्छ। आज्ञा चक्र आध्यात्मिक साधकका लागि खिड्की ज्योतिद्वार अर्थात् ज्ञानको स्रोतका साथै विवेकको चरम विन्दु हो, देख्ने वृत्ति या शक्ति जसले अस्तित्व, रूप, रङ आदि बोध गर्छ। साथै मानसिक शक्ति, एकाग्रता प्राप्तिका लागि यो आभूषण सहायक मानिन्छ।
नेस्से
किरात लिम्बू महिलाको पहिरन चेप्टे सुनको लिम्बू नाम नेस्से हो। यो आभूषणको विशेष महत्त्व हुन्छ। सुनको पाताबाट बनेको वृत्ताकार एक शृंखला बन्छ। यो आभूषणमा चक्र, फूल आदिको चित्र कुँदिएको देख्न सकिन्छ। मध्य भागमा मोती जडित यो अत्यन्त आकर्षक आभूषण हो।
कानको तल्लो भाग छेडेर पहिरिइने यो आभूषणको दबाबका कारण पर्ने प्रभावले आँखाको रोशनी तेज हुने, कानका नसाको दिमागको नसासँग 'कनेक्सन' हुने भएकाले स्मरण शक्ति मजबुत हुने विश्वास गरिन्छ।
कानमा लगाइने कुण्डल, चेप्टे सुन आदि जस्ता आभूषणले राहु र केतु ग्रहको नकारात्मक प्रभाव समाप्त हुने विश्वास छ। यो आभूषणले कान र गलामा स्पर्श हुँदा एक्युप्रेसरको काम गर्ने र मानसिक तनावबाट बच्न सकिने पौराणिक कथन पनि छ। त्यस्तै, समृद्ध सदियौं पुरानो किरात इतिहासको एक प्राचीन कालदेखि चल्दै आएको कला शैली, संस्कृति, संस्कार, सभ्यता, धार्मिक, आध्यात्मिक लगायत सर्वांग पक्षलाई स्पष्ट पारेको छ।
कण्ठा
किरात लिम्बू महिलाको गलामा पहिरिइने सुनको आभूषण कण्ठाको विशेष महत्व छ। प्राचीन आभूषणमध्ये लिम्बू समुदायमा व्यापक प्रयोग भएको यो आभूषण अहिलेसम्म व्याप्त छ। मनुष्य जातिको इतिहासमा सुनका आभूषणको महत्त्वपूर्ण स्थान छ।
सुनका बाटुला दाना बनाइ गोला पाटा पिटेको केस्रा र रातो कपडा पालो पालो उनेर कण्ठा बनाइएको हुन्छ। शृंगार मात्र नभएर स्त्रीत्व र सामाजिक स्थितिको प्रतीक पनि हो यो। यो आभूषणको सम्बन्ध हृदय, अनाहत चक्रसँग रहन्छ।
लिम्बू संस्कृतिमा सुनको कण्ठा लगाउनाले सकारात्मक तरंग पैदा हुने, जीवनमा शान्ति र समृद्धि वृद्धि हुने भनेर शुभ मानिन्छ। कण्ठा हृदयको समीप या वक्षस्थलमा स्पर्श हुने गरी शरीरको विशिष्ट अवयवमा धारण गरिन्छ। व्यक्तिको मानसिक शक्ति, आत्मबल, एकाग्रता बनाइराख्नुका साथै यो आभूषणले नकारात्मक ऊर्जाबाट बचाउँछ। स्वास्थ्य सुदृढ हुन्छ। चेतनमा सजगता र सात्विक तेजरूपि तरंग ग्रहण गर्छ।
चन्द्रहारा
किरात लिम्बू महिलाले लगाउने विशेष आभूषण मानिन्छ चन्द्रहारा। यो आभूषणको सिधा सम्बन्ध मन, हृदय र चन्द्र ग्रहसँग रहन्छ।
किरात लिम्बूमा चाँदीको विशेष महत्त्व छ। मनुष्य जीवनका ग्रह पीडा निवारण गर्न अथवा ग्रह दोषबाट बच्न विविध रत्नजडित गरगहना धारण गर्नुपर्ने ज्योतिष शास्त्रीय मान्यता छ। पौराणिक कथन पनि छ- शारीरिक, मानसिक रूपमा विक्षत, धेरै रिसाउने चिड्चिडाहट हुने व्यक्तिले ज्यादा चाँदीको आभूषण प्रयोग गर्नुपर्छ। ज्यादै ठूलो र गहकिलो धेरै तौलमा बन्ने चाँदीद्वारा निर्मित यो आभूषणले उत्कृष्ट प्राचीन किरात कालीन कला-संस्कृति झल्काउँछ।
यो आभूषण चाँदीका मसिना तारहरू बुन्दै मोटा आकृतिमा र मुख्य भाग आयातकार रूपमा निर्माण गरिएको हुन्छ। यसलाई लिम्बू भाषामा खबाँक भनिन्छ। यसको मुख्य भागमा मोतीजडित एक विशिष्ट तथा आकर्षक अलंकार बन्छ। चन्द्रहारा नाभिस्थानसम्म पुग्ने गरी निर्माण गरिएको हुन्छ।
यो आभूषणको अनाहत चक्र र मणिपुर चक्रसँग स्पर्श रहन्छ। यो स्पष्टता, आत्मविश्वास, आनन्द, आत्मभरोसा, ज्ञान, बुद्धि, सही निर्णय लिन सक्ने योग्यताका लागि सहायक सिद्ध हुने विश्वास छ। शरीरको मुख्य अवयवले चक्रस्फूर्ति, व्यक्तिको स्वास्थ्य सुदृढ हुनुका साथै शारीरिक ऊर्जा नियन्त्रित गर्छ।
यो आभूषण हृदय र मणिपुर चक्रको समीप स्पर्श हुने हुँदा व्यक्तिमा स्थिरता, भावनामा मधुरता साथै एकाग्रता, संकल्पशक्ति, इच्छाशक्तिको सहायक हुन्छ। यो आभूषणले पाचनक्रियामा सहयोग गर्ने विश्वास छ।
लाङ्बाँगी
किरात लिम्बू महिलाले खुट्टामा लगाउने कल्लीको लिम्बू नाम लाङ्बाँगी हो। कल्लीको छुट्टै विशेष गुण र महत्त्व छ। लिम्बू संस्कृतिमा चाँदीको धातुबाट बनेको आभूषण लगाउनुलाई शुभ र पवित्र मानिन्छ। खुट्टामा कल्ली पहिरिनु शक्ति, साहस र सुरक्षाको प्रतीक मानिन्छ। यो धर्मप्रति प्रतिबद्ध सामाजिक दायित्वको एक लोकप्रिय आभूषण हो।
यो आभूषण ज्यादा तौलमा निर्माण गरिएको हुन्छ। विभिन्न बुट्टा कुँदिएको काँडेदार कल्ली एक वृत्ताकार शृंखलाद्वारा निर्माण गरिन्छ। कल्लीको दुई भाग मोटा अण्डाकार बुँगाद्वारा सिँगारिएको हुन्छ। कल्ली लगाउनाले सबै प्रकारका नकारात्मक शक्तिबाट रक्षा हुने विश्वास छ।
यो आभूषणले लिम्बू जातिको आफ्नो समुदायका साथै स्थायी सामञ्जस्यता दर्शाउँछ। कल्लीले खुट्टामा एक्युप्रेसरको काम गर्ने पनि विश्वास छ। यसले गर्दा समग्र शरीर स्वस्थ रहने र कल्लीद्वारा उत्पन्न दबाब रक्त परिसंचरणमा सहायक हुने मान्यता छ।