हामी सबैले भन्ने र सुन्ने गर्छौँ, बालबालिका ईश्वरका अवतार हुन्। वास्तवमै निर्दोष तथा भोलापन, बाल सुलभ क्रियाकलापले गर्दा बालबालिकालाई ईश्वरका अवतार भन्न अत्युक्ति हुँदैन।
मैले पहिलो बच्चा हुर्काउँदा ऊसँग गरेको व्यवहार तथा मैले गर्नु पर्ने उसप्रतिको जिम्मेवारीमा कतै धेरै चुकेको महसुस हुन्छ भने साथसाथै शिक्षाकर्मीको नाताले विद्यार्थीसँग गरेको व्यवहारले आजभोलि आफैलाई आत्मग्लानि हुन्छ। मैले सिक्नु पर्ने, जान्नु पर्ने कुरा समयमै नजान्नाले अरूले भोग्नु परेको असहज परिस्थिति न त आज म परिपूर्ति गर्न सक्छु न आत्मालोचनाले नै परिपूर्ति हुन्छ। तसर्थ मैले आज सिक्नु र जान्नुपर्ने दायित्व ढिलो मात्र बोध भएमा त्यसले निम्त्याएको परिस्थिति तथा नतिजाको लागि हामी स्वयं जिम्मेवार हौँ र हुनु पर्दछ।
यदि हामी अभिभावक तथा शिक्षाकर्मीहरूले समयमै आआफ्नो तह र तप्काबाट सचेत भएर आफूबाटै सुधारको प्रयास गरेर हामीले आफूलाई नियाल्नुको साटो अरूतिर औँला तेर्साउन सहज महसुस गर्ने गर्दछौँ। जबसम्म प्रत्येक अभिभावकले आत्म समीक्षासहित आफूलाई समय सापेक्षिक रूपमा गतिशील बनाएर सिकारु, जिज्ञासु बनाएर असल आमाबुवा बन्न सक्दैनन् तबसम्म प्रत्येक घरमा समस्या बढ्छन् भने सफल छोराछोरी सम्भव छैन।
कसरी बन्न सकिन्छ त असल आमाबुवा?
सोचमा परिवर्तन
प्रत्येक मानिसको क्रियाको जननी उसको सोच हो र क्रियाले नतिजा ल्याउने गर्दछ। तसर्थ हामीहरूले हाम्रो सोचमा परिवर्तन गरी समय सापेक्षिक बनाउनु पर्दछ। सोचमा परिवर्तन ल्याउन विभिन्न तत्त्वहरूको भूमिका रहने गर्दछ। साथी सङ्गत, वातावरण, परिवेश, सिकाइ, भोगाइ चाहना, विगत र वर्तमानको पढाइ सिकाइ, अभिभावकको लागि तय गरिएका सेमिनार वर्कसप, लगायत थुप्रै अन्य विषयवस्तु छन् जसले हामीहरूलाई पुनः ताजगी बनाइराख्दछ।
बालबालिकालाई बुझ्ने प्रयास गरौँ
प्रत्येक बालबालिका आफैमा सक्षम र फरक हुन्छन्। उनीहरूलाई बुझ्नु नितान्त आवश्यक छ। नदीलाई आफ्नै बहाव र बाटोमा बग्न दिनु पर्दछ नत्र त्यसले विकराल प्राकृतिक दुर्घटना निम्त्याउन सक्छ। त्यसै गरी बालबालिकालाई पनि उनीहरूकै इच्छा र चाहनालाई बुझी त्यही अनुसारको सही मार्गमा डोर्याउन उत्प्रेरक, उत्साहवर्धक असल अभिभावक बन्नु पर्दछ। सामान्यतया बालबालिका एक थोक गर्न चाहिरहेका हुन्छन् तर बाबुआमा रोक्ने र आफूले भने अनुसारको गराउन उद्यत भइरहेको पाइन्छ।
बालबालिका भान्सामा काम गर्न खोजिराखेका हुन्छन्, हामी किताब पढ अथवा अरू नै काम लगाउने गर्दछौँ अनि बालबालिका त्यो काम कसरी गर्दछन्? उनीहरूको मन र तन अर्कैमा हुन्छ। यस्ता थुप्रै उदाहरण छन् प्रत्येक घरघरमा। तसर्थ प्रत्येक आमाबुवा बालबालिका मैत्री बन्नु आजको आवश्यकता छ। घरमा बालबालिकाका लागि उपयुक्त हुने शौचालय, बैठक कक्ष लगायत थुप्रै कुरामा बहुसङ्ख्यक अभिभावकको ध्यान पुगेकै छैन। हामी त यस्तैमा हुर्कियौँ यिनीहरूलाई किन हुँदैन भन्ने जस्ता भनाइ सुन्ने गरिन्छ। यदि हामी यस्तैमा रमायौँ र अघि बढ्यौँ भने यसले आत्मरति मात्र निम्त्याउँछ।
माया र नियम
बालबालिकालाई सबैभन्दा पहिला चाहिने माया हो जसले उनीहरूमा आत्मविश्वास, ऊर्जा, केही न केही गर्ने भावनाको विकास हुने गर्दछ। प्रत्येक बालबालिका उनीहरूले गरेको कामको प्रशंसा र साथ सहयोग चाहन्छन्, उक्त कामलाई फत्ते गर्ने उत्कट चाहना हुने गर्दछ। यदि बालबालिकाले बाबुआमाको साथ र सहयोग पाएनन् भने अघि बढ्न सक्दैनन्। मायाले प्रत्येक बालबालिका भित्र रहेका अन्तर्निहित प्रतिभा उजागर गर्नेमा कुनै शङ्का छैन। बामे सर्दै गरेको बालकलाई ताते गर्न, हिँड्न सिकाउँदा उसलाई आमाबुवाले दिएको ढाडस, विश्वास र प्रोत्साहनले उसले घिस्रिन, हिँड्न जानेको होइन र? बालबालिकालाई आफ्नो बाबुआमा प्रति शतप्रतिशत विश्वास हुने गर्दछ। यदि होइन भने भुइँबाट माथि फाली समात्दा बाबु नानी कति खुसी हुन्छन्, विश्वास नभएको भए त डराएर रुनु पर्ने होइन र? तसर्थ आमाबुवा बालबालिकाको हामीप्रतिको विश्वासलाई आत्मसात् गरौँ र आफूलाई समयमै शासक नभएर आमाबुवा बनौँ।
माया दाहिने खुट्टा हो भने नियम बायाँ खुट्टा। त्यसैले सुरुमा दाहिने खुट्टा चलाएर अघि बढेर बायाँको साथ चाहिए जस्तै बालबालिकालाई पनि माया सँगसँगै नियममा पनि बस्ने बानी बसाल्नु पर्दछ। नियममा बसाल्ने बानी बसाल्न उनीहरूलाई ठिक बेठिक कारण र उदाहरणसहित बुझाउनु पर्दछ। बालबालिकालाई नियम बसाल्ने भनेकै आनि बानी, व्यवहार, भाषा हो तसर्थ यस्ता कुराहरूमा सजग भएर उनीहरूमा उपयुक्त बानीको विकास गर्नु पर्दछ।
डिजिटल उपकरण र पत्रु खानाको सिकार भइरहेका छन् आजभोलिका बाबु नानी तर यसको कारक बाबु आमा होइनन् र? सानोमा बाबुनानीलाई आफ्नो सजिलोका लागि मोबाइल हामीले दियौँ। उसले के हेर्यो, के हेर्दैछ ख्याल गरेको भए उनीहरू मोबाइलको कुलतमा फस्ने थिएनन्। अलि ठूलो भएपछि यस्तो गर, राम्रो रिजल्ट ल्याऊ, यति पास गर मोबाइल फोन किनिदिन्छु भनेर कसले भनेको? अवश्य नै अभिभावकले। सँगसँगै सानोमा पत्रु खाना किनेर कसले दिएको? स्वाद त हामीले चखाएको होइन र? तसर्थ नियममा पहिला अभिभावक बस्नु पर्दछ, त्यसपछि बालबालिका पनि नियममा बस्ने कुरामा कुनै शङ्का छैन।
यदि प्रत्येक घरमा असल आमाबुवाको जन्म हुने हो भने विद्यालयले संस्कार सहितको शिक्षा दिन्छु भनी भनिरहनु पर्दैन। संस्कार बाबुआमाको काखबाट निर्माण भएर परिवार, समाजबाट विकसित हुन्छ न कि विद्यालयका फेसबुक पेजमा, कक्षाको भित्तामा र विद्यालयमा त केही थप र मिश्रित संस्कारको निर्माण गर्ने मात्र हो। बाबुआमाको असल संस्कार नपाएको बालबालिकालाई संस्कारी बनाउँछु भन्नु सस्तो लोकप्रियता बाहेक केही हुन सक्दैन।