हामी सासु-बुहारी आपसमा मिलेका उदाहरणहरू बिरलै देख्छौं। अझ नन्दआमाजू आपसमा मिलेको, नन्द आमाजूको बीचमा सौहार्दपूर्ण सम्बन्ध स्थापित भएको त निकै न्यून मात्रामा देख्छौं भन्दा अतियुक्ति नहोला। आम मानिसको मानसपटलमा स्थायी रूपमा सेट गरिएको अवधारणा के हो भने सासू-बुहारी, नन्दआमाजू भनेका आपसमा मिल्नका लागि जन्मेका प्रजाति हुँदै होइनन्। यी पात्रहरूको बीचमा मिलन हुनु भनेको एकदमै दुर्लभ कुरा हो।
कुनै पनि हालतमा यी पात्रहरूको बीचमा सकारात्मक भावना हुनै सक्दैन। एकाध घरपरिवारमा मेलमिलाप देखिहाले पनि कटाक्ष गरिन्छ, हेरौं न यिनीहरूको चटक कति दिन टिक्ने हो? कस्का पो सासूबुहारी मिलेर बसेको इतिहास साक्षी छ र? कसका पो नन्द आमाजूको बीचमा मिलन भएको देखिएको छ र? दुई दिन मिलेजस्तो, चिप्लो घसेजस्तो देखाएर भएन, सत्य कुरो एकदिन बाहिर निस्किहाल्छ।
बेलाबेलामा समाचार देख्छौ, सासूससुरालाई राम्रो व्यवहार गर्ने बुहारीहरू सम्मानित भएको भनेर। कुनै बेला समाचार देखिन्छ बिहे गरेपछि बुहारीहरूलाई पढाउने सासूससुरा सम्मानित भए यस्तै यस्तै.. ।
यी अपवादहरूलाई नहेर्ने हो अधिकांश घरपरिवार यिनै छोरी, बुहारी, नन्द, आमाजूकै कारण अशान्त भएका छन्, परिवार टुटेको छ, आपसमा सम्बन्ध बिग्रिएको छ।
हरेक घरपरिवारलाई त्यो किन भएको हो? त्यसको कारण पनि राम्रोसँग थाहा छ, त्यो समस्या कसरी समाधान गर्न सकिन्छ ? भन्ने कुरा पनि राम्रोसँग थाहा छ तर व्यवहारमा उतार्न चाहँदैनन्, मुख्य कारकतत्व यही हो।
यही मेसोमा एउटा यस्तो उदाहरणीय घर, जसको कहानीले, जसको प्रेरणाले अन्य घरपरिवारमा पनि सकारात्मक सञ्चारको प्रादुभाव हुन सकोस् भन्ने अभिप्रायले यो आलेख तयार पार्ने जर्मको गरिएको छ।
भाउजू मेरी साथी हुन्, नन्द चाहिँ भाउजूका कारण पछि साथी भएकी हुन्। अहिले दुवै जना मेरा साथी हुन्। भाउजूले कुराको थालनी गरिन, बिहे पूर्वको सानो प्रंसग सुरू गरौं है।
***
मेरो नन्द र म एक ब्याच एउटै नभए पनि एउटै क्याम्पस पढेका हौं। घरबाट क्याम्पस जाने बाटो एउटै पथ्र्यो हामी साथी थियौं। म सिनिएर थिएँ, मलाई नन्दले दिदीको साइनो लाउँथिन्, म उनलाई बहिनी भन्थेँ। उनका दाइ त्यो बेलामा अर्को क्याम्पसमा पढाउँथे।
मेरो नन्दको भन्दा दुई वर्ष पहिले ब्याचलर सकियो। म दीक्षान्त समारोहमा गएँ, गाउन लगाएँ , गाउन लाएको फोटो खिचाएँ, फेसबुकमा पनि राखेँ , निकै खुसी भएँ। दुई दिनपछि उनै बहिनी (हालकी नन्द) सँग भेट भयो। 'दिदी तपाईंले गाउन लाएको फोटो कति राम्रो है ? मैले त त्यो फोटो धुलाएर फ्रेममा राखेँ', भनिन्।
म मख्ख परेँ। धन्यवाद दिएँ। उनले त्यो फोटो आफ्नो दाइलाई देखाइछन्। 'दाइको के जबाफ आयो त?' मैले सोधेँ।
'अर्को वर्ष तँ पनि गाउन लगाउँदा यस्तै देखिन्छेस भन्नुभयो दाइले केही पनि भन्नु भएन' बहिनीले जबाफ दिइन्।
'भोलिपल्ट फेरि आमालाई त्यो फोटो देखाएँ, आमा यो केटी बुहारी बनाउन लायक छ कि छैन? अलि राम्रोसँग हेर्नुस् त?' आमा केही बोल्नु भएन।
'फोटो हेर्ने हो र? मान्छेको व्यहोरा पो हेर्ने हो त' भन्नुभयो र अर्कातिर लाग्नुभयो बहिनीले सुनाइन्।
'बुवालाई पनि देखाएँ, तँ कहिलेदेखि लमी बन्ने चक्करमा लागिस् भनेर उडाउनु भयो,' नन्द भाउजू दुवै जना हाँसे।
एक सातापछि दाइलाई एक्लै पारेर सोधेँ, 'दाइ कति चक्कर छ भने भन्नुहोस् नत्र यत्तिको केटी पाइँदैन दाइ , भाउजू बनाउनुस्' भनेँ।
'भोलि झगडा गर्ने तैंसँग हो त्यो कुराको ग्यारेन्टी लिन्छेस् भने आँट' भन्नुभयो।
'त्यो ग्यारेन्टी मेरो हो' भनेर बाचा गरेँ।
अनि अहिलेकी भाउजु त्यो बेलाकी सिनियर दिदीको बारेमा सबैकुरा सोध्नुभयो। मैले सबैकुरा भनेँ। बुवाआमासँग पनि कुरा भयो। उसो भए तेरो जन्मदिनमा घरमै बोला हेरौँ न त भन्नुभयो सबै जनाले।
म यति खुसी भएँ कि भाउजू साँच्चिकै भित्राउन लागेजस्तो भयो। यति बेलासम्म हालकी भाउजू त्यो बेलाकी दिदीको मनमा के कुरा छ केही पनि थाहा छैन तर मेरो एकोहोरो प्रेमले उहाँ भाउजू भइसक्नुभयो। तीन महिनापछि मेरो जन्मदिन थियो, त्यो दिन घरमै बोलाएँ।
पहिले त दिदी कन्भिस हुनुभएन, मैले आफ्नै दिदीभन्दा बढी मायाा गर्छु मेरो लागि त्यति पनि गर्न सक्नुहुन्न भने ठिकै छ भनेँ। धेरैबेरपछि उहाँ राजी हुनुभयो। मेरो जन्मदिनमा घरमै आउनुभयो। आफन्त जम्मा भएका थियौं, हाम्रो गोप्य कुरा बुवाआमा, दाइ र मलाई मात्रै थाहा थियो। जन्मदिन मनायौं। सोफाको एक साइडमा बुवाआमा अर्को साइडमा दाइ त्यसपछि तत्कालीन दिदी अनि बीचमा म बस्यौं। रमाइलोसँग जन्मदिन मनाऔं।
खाना खाएर दिदी घर जानुभयो, बाहिरसम्म म र आमा छोड्न गर्यौं। आफन्तहरू गइसकेपछि फोटा हेर्यौं, जुन फोटामा पनि सबैभन्दा राम्रा त दाइ र तिनै दिदी पो देखिएका छन्।
सबै जना हाँस्यौँ।
'तँलाई कस्तो लाग्यौ बाबु? जोडी त कति सुहाएको छ हेर त' आमाले फोटो जुम गर्दै देखाउनुहुन्थ्यो। दाइ केही बोल्नु भएन। बुवाले पनि निकै मन पराउनुभयो। सबै कुरा मिल्दो रहेछ, यत्तिको केटीलाई बुहारी बनाउन पाए के खोज्नु ? हुन्छ भन भन्नुभयो बुवाले पनि दाइलाई।
'बहिनीले भनेको भरमा हुन्छ? केटीको कुरा के हो? उसको चाहना के हो? केही बुझ्नु पर्दैन? एक झलक देख्दा मन परेर हुन्छ? उसको कुरा सुन्नु पर्दैन' भन्नुभयो दाइले।
'त्यो जिम्मा मैले लिएँ,' कुरा सुनाउँदै बहिनी हाँसिन्। बहिनीको कुरा सुनेर भाउजू झनै हाँसिन्।
त्यसपछि भाउजुलाई सोधेँ, 'तपाईंलाई कहिले थाहा भयो नि नन्दको योजनाको बारेमा?'
भाउजू हाँस्दै भनिन्- बिस्तारै बिस्तारै सबै कुरा थाहा भयो। विभिन्न बहानामा घरमा बोलाउन थालिन्। मनदेखि नै जाऊँजाऊँ लाग्थ्यो गएँ, सबै जना आफ्नै परिवारका सदस्य जस्तो लाग्न थाल्यौँ। कुरा चलेको दुई वर्षपछि बिहे गर्यौं। मेरो बिहे गराइदिने लमी नन्द हुन्। दुबै जना हाँसे।
'बिहेपछि अर्काको घर गएको जस्तो अनुभूति नै भएन। सासूससुरा भन्दा अलि टाढाको नाता जस्तो लाग्छ म सधै बुवाआमा नै भन्ने गर्छु। मेरो नन्द र मलाई कुनै कुरामा विभेद गर्नुहुन्न, हिजोसम्म एउटी छोरी थिई अहिले दुई वटी भए भन्नुहुन्छ, गर्वले छाती फराकिलो हुन्छ। हामी नन्द भाउजू मास्टर्स नपढी लोक सेवा आयोगको तयारी ग¥र्यौ, भाग्यवश हामी दुवै जनाको नाम निस्कियो। झन् परिवारमा खुसीको माहोल थपियो।
अर्को वर्ष नन्दको बिहे भयो, नन्दको बिहेमा निकै पीडा भयो। मेरो साथी अब कोही छैन कि भन्ने लाग्यो। कति जना आफन्तले भन्ने गर्थे, नन्दको बिहेमा तँ जस्तो कोही रुँदैन। नन्द आमाजूको जात कस्तो हुन्छ भन्ने कुरा चिन्न बाँकी छ, धेरै नखरा नपार पनि भने तर मलाई भने आफ्नै बहिनीको बिदाइभन्दा बढी पीडा भयो। क्याम्पस पढ्दादेखिको नाता, उनै नन्दले बाँधिदिएको जोडी।मनले नन्द फिटिक्कै सम्झिएन आफ्नै बहिनी सम्झियो।
नन्दका सासूससुरा धेरै पहिले नै बित्नु भएको रहेछ, घरमा कोही आफन्त नभएको , ज्वाइँ विदेश जानुपर्ने। एक्लै कोठा लिएर बस्नुभन्दा हामीसँगै बसौं, नन्दभाउजू अधिकृतको तयारी गरौं भनेँ। सबै जनाले त्यही भन्नुभयो। ज्वाइँले पनि सहमति जनाउनुभयो। एक वर्ष दुवै जनाले खुब मिहिनेत ग¥र्यौ। संयोगवश नाम पनि निकाल्यौं।
हामी नन्द भाउजूको उमेर खासै फरक छैन। दुवै जना जागिरे छौ। बिहान प्राय: घरबाट निस्कने समय उस्तै उस्तै हुन्छ। नातामा नन्द भाउजू भए पनि व्यवहारमा हामी साथी, दिदी बहिनी जस्ता छौँ। घरबाट प्राय: टिफिन लैजान्छौं। हामीलाई देख्नेहरू भन्ने गर्छन, तिमीहरू जस्ता नन्द-भाउजू बिरलै पाइन्छन्। मेरो सासू ससुराले छोरी र बुहारीमा आजसम्म विभेद गर्नु भएको छैन।
नन्द भाउजू मिलेर भान्साको काम गर्छौं, सबै काम हामी दुवै जना मिलेर गर्छौं, पढ्ने बेलामा पनि दुवै जना सँगै पढ्छौं। मेरो माइतका बुवाआमा पनि दंग पर्नुहुन्छ। अघिल्लो जन्ममा दिदी बहिनी थियौं कि जस्तो पनि लाग्छ। अरू साथीहरूले घरका कुरा गर्दा, नन्द आमाजूका, सासू ससुराका कुरा गर्दा यस्तो पनि हुन्छ होला र भन्ने पनि लाग्छ। भाउजूले आफ्नो वास्तविकता सुनाइन्।
बिहान अफिस जाने बेलामा आमाले खाना पस्केर हामी नन्द भाउजूलाई सँगै दिनुहुन्छ। हामीलाई अहिले खान मन छैन तिमीहरू खाएर जाऔं भन्नुहुन्छ। नन्दभाउजू खाना खान्छौं, आफूले खाएका भाँडा माझ्छौं, सँगै अफिस जान्छौं।
मेरो श्रीमान चाहिँ कलेज पढाउने भएकोले बिहानै चाँडै जानुहुन्छ। तर नन्द भाउजूको जोडी भने जहाँ पनि सँगै हुन्छ। अफिस फरक फरक हो तर जाने, आउने समय उस्तै हुन्छ।
बेलुका पनि आधा घण्टा अघिपछि घर आइपुग्छौं। जो अघि घर आइपुग्छ उसले फोन गर्नुपर्छ। सासूआमाले चिया, नास्ता बनाएर राखिदिनुहुन्छ, दिनभरि काम गरेर थाकेरै आउँछौ ल यो खाऔं, एकै छिनमा खाना पकाएपनि हुन्छ।
आमाको यस्तो वचनले कति पटक त म रोएकी छु। भाउजूले सुनाइन्। साथीहरू सुनाउँथे, बिहानदेखिका जुठाभाँडाको थुप्रो हुन्छ, बेलुका घरमा जाँदा। उमेरदारी सासू भए पनि केही छुँदिनन्। दिनभरी अफिसमा काम गर्यो बेलुका घर थाकेर पुग्दा बेसिनभरी जुठा भाँडाको रास देख्दा कस्तो हुन्छ होला आफै भन त? अफिसमा आराम गर्न जान्छन्, घर बस्नेहरू थाकेका हुन्छन्, घरको काम जसरी पनि बुहारीहरूले नै गर्नुपर्छ भन्ने पीडा भोगेको साथीहरूको बीचमा मेरी आमा महान हुनुहुन्छ भन्ने लाग्छ।
छोरी थाक्दा बुहारी पनि थाक्थे, छोरी भोकाउँदा बुहारी पनि भोकाउँछे भन्ने सासू कमै बुहारीहरूले पाउँछन्। ती कमै भाग्यमानी बुहारी मध्येकी एक हुँ म। यदि सबैको घरमा यस्तै सासूआमा, यस्तै नन्द भइदिने हो भने कुन चाहिँ बुहारीले सासूको कुरा काटेर बस्दिहुन्? कुन चाहिँ भाउजूले नन्दको कुरा काट्दिहुन्? छोरी छोरी नै हुन, बुहारी बुहारी नै हुन् तर व्यवहार समान गर्ने कोसिस गर्नुस् न सम्बन्ध त सुमधुर भइहाल्छ नि।
यो उदाहरणीय नन्दभाउजू जोडीको प्रेरणा सबै परिवारमा फैलन सके कति सुन्दर परिवार बन्थ्यो होला ?