मेरो बुवा काठमाडौँमा सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा गत चैत ३ गते कोटको खल्तीमा भएको उहाँको मोबाइल फोन पाकेटमाराले पकेट मार्यो। संयोगवश, सो बसमा 'सार्वजनिक यातायातमा पकेटमार र महिला हिंसा' लक्षित गरी सादा पोसाकमा महिला प्रहरी परिचालित रहेछन्। अनुभवी र प्रशिक्षित महिला प्रहरीले मोबाइल चोरी थाहा पाएर दुई पकेटमारलाई मेरो बुवाको मोबाइलसहित समाते, जुन अनपेक्षित र प्रशंसायोग्य छ।
७५ वर्षे मेरो बुवाले मोबाइलसहित चोर समात्ने महिला प्रहरीलाई धन्यवाद दिनुभयो। फोन हराउँदा हराउँदै जोगिएको र चोर पनि प्रहरीले समातेकोमा प्रसन्न हुनुभयो। अचेल सबै ज्येष्ठ नागरिकहरूलाई मोबाइल फोन उधुम प्यारो हुन्छ। मोबाइल फोनले परिवार, आफन्त, पुराना साथी, नातेदार, इष्टमित्र आदिको दैनिक भर्चुअल जमघट गराउने गरेको छ। परिवार, समुदाय, नातागोता, इष्टमित्र, छरछिमेक र विभिन्न गतिविधिहरूको बारेमा म आफै जानकारी विहीन हुन्छु, तर मोबाइल र सामाजिक सञ्जालले गर्दा बुवा आमा सबे जानकार हुनुहुन्छ। को बिरामी छ, कसको बिहे, व्रतबन्ध आउँदैछ, कसको प्रमोसन भो, को कहिले कहाँ जाँदै छ आदि सबै जानकारी हुन्छ, मोबाइलका कारण। दैनिक दुई घण्टा जति विभिन्न एपहरू प्रयोग गरी हित्तचित्त मिल्नेसँग कुराकानीमै व्यस्त पनि देखिन्छ। समाचार, सामाजिक सम्बन्ध आदिको माध्यम पनि मोबाइल नै बनेको छ।
यति महत्त्वपूर्ण मेरो बुवाको मोबाइल फोन चोरी हुँदाहुँदै समातिएको, त्यो पनि प्रहरीले। मोबाइल फोन चोरी हुनबाट बच्यो, चोर पनि समातिए, जुन बुवालाई बढो अप्रत्याशित, अनौठो र खुसीको कुरा भयो। प्रफुल्लित भएर बुवाले प्रहरीलाई धन्यवाद दिनुभयो। बुवा सेवा निवृत्त शिक्षक, त्यो पनि नेपाली र दर्शन विषयको भएकाले चोर, पुलिस र उपस्थितलाई दर्शनका गफ र उपदेश दिन पनि भ्याउनुभयो। मोबाइल फोन बच्यो भनेर प्रफुल्लित बुवा अन्त्यमा मोबाइल प्रहरीसँग माग्दा पाएको उत्तरबाट भने छाँगाबाट खसेझैँ हुनुभयो।
'बुवा, हामी हजुरहरू जस्तै र महिलाहरूको सुरक्षाका लागि सार्वजनिक यातायातमा हुने चोरी र महिला हिंसा आदिलाई लक्षित गरी परिचालित हौँ। हजुरको फोन हामीले चोरी हुँदाहुँदै चोरसहित समात्यौँ। हजुरको फोन हामीसँग सुरक्षित छ। तर हामी हजुरलाई अहिले हजुरको फोन चाहेर पनि दिन सक्दैनौँ। केही समयपछि प्रक्रिया पुर्याएर दिन्छौँ,' मधुर स्वरमा आदर भावसहित प्रहरीले यस्तो भनेपछि बुवासँग प्रक्रिया सोध्नेभन्दा बढी उपाय केही भएन।
प्रहरीले भनेअनुसार त्यो फोन पकेटमारसहित सम्बन्धित प्रहरी कार्यालय लग्नुपर्यो। त्यहाँ बुवाले पनि उपस्थित भएर फोन चोरी भएको जाहेरी, त्यो फोन आफ्नो भएको प्रमाण र कसरी चोरी भएको वृत्तान्त दिनुपर्ने भयो। प्रहरी कार्यालयको प्रक्रिया समाप्त भएपछि त्यहाँबाट फाइल चोर र फोनसहित जिल्ला प्रहरी कार्यालय जाने रहेछ। जिल्ला प्रहरी कार्यालयबाट जिल्ला सरकारी वकिलको कार्यालय। जिल्ला सरकारी वकिलको कार्यालयले बयान र प्रमाण बुझेपछि फोन पीडितलाई दिन मिल्ने राय दिए बुवालाई फोन त्यसपछि दिइनेछ, नत्र जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दासहित चोर र फोन अदालत पेस गर्नुपर्छ र अदालतको आदेशअनुसार मात्र त्यो फोन बुवाले पाउने रे!
अब यो प्रक्रिया सकिन कति दिन लाग्ला? बुवाको स्वाभाविक प्रश्न थियो, किनकि मोबाइल बुवाको सबैभन्दा प्रिय वस्तु। दैनिकी यसैमा अल्झेको छ– उठेदेखि नसुतेसम्म साथ दिन्छ। केही दिन मोबाइल साथ नहुने पीडाभन्दा चोर र मोबाइल समातिएको खुसी बढी थियो बुवाको। बुवालाई लागेको थियो २–४ दिनमा मोबाइल फिर्ता आउँछ, त्यतिन्जेल आमाको मोबाइलबाट काम चलाउँला। खासमा चोर समाउने प्रहरीलाई नै थाहा थिएन मोबाइल फिर्ता कहिले हुन्छ, किनकि प्रहरीको संरचनाअनुसार उनीहरू माथिको आदेश मान्ने हुन्। हाकिमले मुचुल्का उठाएर सोही दिन पनि मोबाइल फिर्ता दिन सक्छन्। हाकिमको मुड कस्तो हुने हो र कस्तो आदेश दिने हुन्, उनीहरूले अनुमान गर्न सक्ने पनि भएनन्। फेरि यस्तो सानो मोबाइल चोरी काठमाडौँ जस्तो ठुलो ठाउँमा प्रहरीको प्राथमिकताको विषय पनि होइन, हतार गरेर टुङ्गाउनलाई।
महिनौँ भयो, बुवाको मोबाइल चोरसहित स्विच अफ गरेर सरकारी प्रक्रिया सुरु भएको। यो बिचमा बुवा दुई पटक प्रहरी कार्यालय गएर बुझ्नुभयो। धेरै पटक सम्पर्क व्यक्तिलाई फोन पनि गर्नुभयो र पाएको जानकारी अनुसरण गर्नु भयो।
प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयमा गएर बयान दिनुभयो। करिब डेढ महिनापछि प्रहरी कार्यालयमा गएर बुझ्दा जेठ ३ गते जिल्ला अदालतमा पेसीमा चढेको जानकारी पाउनुभयो। प्रहरी कार्यालयबाट फर्केर आएपछि बुवाको पकेटमारप्रति सहानुभूति पूर्ण प्रतिक्रिया थियो- 'ती गरिब चोरहरू र तिनका बालबच्चा मर्ने भए, डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।' बुवाको मनमा अब दुबिधा सुरु हुन थाल्यो। तर आफूले सुनाएका मोबाइलका कथा र स्वाभिमानले बुवालाई मोबाइल कष्ट भए पनि प्रक्रिया पुर्याएर फिर्ता लिनुपर्छ भन्ने थियो।
५५ दिनपछि, जेठ ३ गते बुवाको मोबाइलको फाइल पेसीमा चढ्यो। बुवा जेठ ३ गते जिल्ला अदालत गएर तोकिएको अधिकारी समक्ष बयान दिनुभयो र अधिकारीको सुझावअनुसार तारिकको दिन पर्खनु भयो। केही दिनपछि बुझ्दा जेठ १७ गते तारिक तोकिएको जानकारी छिमेकी कानुन व्यवसायीबाट पाउनुभयो। तारिकपछि सम्पर्क व्यक्तिलाई फोन गर्दा जेठ २२ गते जिल्ला अदालत गई फोन लिन सकिने जानकारी पाइयो। सोही मुताबिक बुवा जिल्ला अदालत गई जेठ २२ गते ७२ दिनको दिन मोबाइल लिएर आउनुभयो। मोबाइल पाएपछि बुवालाई ठुलो निष्ठाको लडाइँ जितेझैँ भयो।
साँच्चै भन्नुपर्दा बुवा चोर समातिएकोमा धेरै खुसी हुनुहुन्छ। त्यो खुसी केही हप्ता मोबाइल चलाउन नपाएको दुःखभन्दा बढी थियो। बुवाको दुई वर्ष पुरानो फोन, खासै महँगो पनि थिएन। हराएकै भए त्यही दिन नै किन्नु हुन्थ्यो। किन्न सक्ने अवस्था पनि छ। मोबाइल बिना एक घण्टा पनि बस्न नसक्ने बुवा मोबाइल चोरी र समातिएको र फिर्ता हुने सरकारी प्रक्रियामा रहेको चाखलाग्दो कथा सुनाउँदै सुरुका दिनहरू कटाउनु भयो, फोन चाँडै फिर्ता आउने आशामा।
घरमा आउने र भेटिएका धेरै मान्छेले धेरै दिनसम्म मोबाइल पकेट मारेका कथा सुने। पछि त कथा सुन्ने मान्छे पनि सकिए, कसै कसैले मोबाइल अवस्था र फिर्ता आउने प्रक्रियाका बारेमा सोध्थे। मोबाइल बुवाको साथी थियो, आफ्नासँग जोडेको थियो। सूचना, समाचार, शेयरको भाउ आदि सबै यसैबाट थाहा हुन्थ्यो। मोबाइल फिर्ता पाउने भएपछि नयाँ किन्ने कुरा पनि भएन। मोबाइल फिर्ता पाउन दुई–अढाई महिना लाग्छ भन्ने भएको भए पक्कै किनिन्थ्यो। बुवाले आमाको फोनमा आंशिक कब्जा गर्दा आमालाई आफ्ना लामा गफ गर्न बाधा परेको थियो।
केही दिन आमाकै फोनले काम गरिहाल्छ नि भनेर पर्खेको महिनौँसम्म मोबाइल फिर्ता नआउँदा बुवा पनि संशयमा हुनुहुन्थ्यो। जब मोबाइल अदालतसम्मै पुग्ने कुरा थाहा भयो बुवामा कानुनी प्रक्रिया, सरकारी कार्यालय र सरकारी कर्मचारीको कार्यशैलीप्रति नैराश्यपूर्ण छाप बसेको थियो।
अब कुरा सरकारी संयन्त्र र सरकारी कामको। मोबाइल र चोर समात्ने प्रहरीले उत्कृष्ट काम गरे। उनीहरूको शिष्टाचार अनुकरणीय छ। मोबाइल मेरो बुवाको हो जुन प्रमाणित गर्ने अनेक उपाय छन्, त्यसमा शङ्का र समस्या पनि होइन। चोरले चोरी गरेको प्रमाण र बयान यो क्रममा धेरै कैद पनि भए होला। त्यो फोनलाई चोरसहित प्रहरी कार्यालयसम्म लगेर बयान लिने कुरा ठिकै हो। तर त्यो फोनलाई चोरसहित सरकारी वकिलको कार्यालय हुँदै अदालतसम्म लग्नै पर्छ र? अथवा यसमा व्यवहारिक र सरल प्रक्रिया अरू थिएन?
यो मोबाइलको सानो र सत्य प्रसङ्ग उदाहरण मात्र हो। सामान्यतया सरकारी कार्यालयमा यी र यस्ता प्रक्रिया सामान्य हुन्। जबसम्म हामीले यस्ता प्रक्रियालाई सरलीकरण गर्न सक्दैनौँ तबसम्म देश अगाडि बढ्न सक्दैन। विज्ञान र प्रविधिको युगमा सबै प्रमाण भएको मोबाइल फोन चोरबाट धनीलाई फिर्ता दिन यति लामो समय र प्रक्रिया लाग्छ भने हराएको नगद वा सुन प्रहरीले भेट्टाएर फिर्ता पाउन कति समय खर्च गर्नुपर्ने हो? के–के प्रक्रिया हुने होलान्? के-के दृश्य अदृश्य खेल होलान्?
एक जना पचहत्तर वर्षे ज्येष्ठ नागरिकको मोबाइल, आफ्नै अगाडि हराउँछ र प्रहरीबाट चोरसहित सोही ठाउँमा समातिन्छ। मोबाइल फोन कसको हो प्रमाणित गर्न सायद सबैभन्दा सहज हुन्छ। यति हुँदाहुँदै पनि पचहत्तर वर्षे ज्येष्ठ नागरिकले आफ्नै फोन फिर्ता पाउन दर्जनौँ पटक विभिन्न सरकारी कार्यालयहरू धाउनु पर्ने र मोबाइल फिर्ता पाउन ७२ दिन लाग्ने। यो अति भएन?
न्याय ढिला हुनु, न्याय नहुनु सरह हो भनिन्छ। मेरो बुवाले न्याय पाउन गरेको मेहनत निकै लामो र अस्वाभाविक भयो। यो एउटा प्रतिनिधि घटना हो। समाजमा दैनिक यस्ता अनेक घटना हुन्छन् र नागरिकले अनाहकमा राज्यका संयन्त्रहरूबाट पीडा पाइरहेका छन्।
त्यसैले सार्वजनिक प्रशासनलाई चुस्त, विश्वसनीय र वैज्ञानिक बनाउन गम्भीर कदम चाल्ने बेला भएन र?