म एक हप्तालाई बिदा राखेर घरायसी काम परेर घर गएको थिएँ। चार दिनको दिन मलाई फोन आयो 'सर तपाईं भोलि नै आउनुपर्यो' लोक सेवामा बसेपछि कति खेर के काम पर्छ थाहा नै हुँदैन। इमर्जेन्सी काम परेको होला भनेर तत्काल फर्कें।
अफिसभित्र छिर्दा बित्तिकै मानौं यस्तो थियो। विवाहमा बेहुलीलाई सिंगारे जसरी पूरै अफिस सिङ्गारिएको थियो। दुई तीन दिनदेखि रङरोगन र फूलहरू रोप्ने काम भइरहेको रहेछ। कैयौं वर्षदेखि पुरानिएर रहेको नागरिक वडापत्र परिवर्तित भएको थियो। भित्र पस्दा बित्तिकै सूचना अधिकारी लेखिएको बोर्ड पनि राखिएको रहेछ। म अचम्मित भएँ। आजसम्म नटाँसिएको बोर्ड रातारात टाँसिएछ। भुइँमा थोत्रिएका कार्पेट फेरिएका थिए। कहिल्यै नछुट्ने भित्ताका जालाहरू हटेका थिए। भित्र गइनसक्ने भएको पब्लिक ट्वाइलेट चम्किरहेको थियो। कार्यालयको पूरै स्वरूप परिवर्तन भएको थियो।
म यसको कारण बुझ्न एकदम जिज्ञासु भएको थिएँ। त्यतिखेरै एक जना सर आउनु भयो। 'सर आज त अफिसको स्वरूप नै परिवर्तन भएको छ त' भनेर जिज्ञासा राखेँ।
सरले भन्नु भयो, 'अफिस मात्र होइन होटल पनि सजिएको छ। हुन त तपाईं साकाहारी पर्नुभयो। नत्र भने त्यहाँ केको मासु र कुन ब्राण्डको रक्सी मगाउने भन्ने समेत सल्लाह भइरहेको छ' भनेर मन्द मुस्कुराउनु भयो।
'तर उत्सव चाहिँ केको उपलक्ष्यमा हो?' भनेर सोधेँ।
'आज माननीयज्यूहरू निरीक्षण गर्न आउने रे,' भनेर सुनाउनु भयो।
'को को नि' भनेर सोधेँ।
'तिनै सचिव र माननीयहरू होलान्' भनेर सटिक उत्तर दिनुभयो।
'अनि सचिवहरू त पोहोर परार पनि त आउनुहुन्थ्यो तर यस्तो दृष्य देख्न त पाइँदैनथ्यो!'
'सायद यिनीहरू अरूभन्दा अलि विशेष होलान् त्यही भएर हुन सक्छ।' भनेर उहाँ आफ्नो काममा जानुभयो।
म दिनभरी सोच्न थालेँ। सधैंभरी यसरी नै हरभरा हुनुपर्ने अफिस निरीक्षण गर्न आउँदा मात्र किन हराभरा हुन्छ!
कोही माला बनाउन व्यस्त हुनुहुन्थ्यो। कोही खाजामा व्यस्त हुनुहुन्थ्यो। कोही व्यवस्थापनमा व्यस्त हुनुहुन्थ्यो भने कोही अतिथिज्यूलाई सम्मान कसरी गर्ने भन्ने तयारीमा हुनुहुन्थ्यो।
एक जना अधिकृत सरलाई त एयरपोर्ट र अफिस गर्दा गर्दै ठिक्क भइरहेको थियो। बरा...
दिनभरीको त्यो प्रतीक्षापछि उहाँहरू आउने समय पनि लगभग नजिकिँदै थियो। कहिल्यै अफिसको ड्रेस नलगाउने सरले पनि त्यो दिन ड्रेसमा आइरन लगाएको कोट लगाएर बस्दा अर्कै महसुस गरिरहेको थिएँ। गेटमा हामी कर्मचारीहरू पदीय हिसाबले लाइन लाएर बसेका थियौं। हाकिम सर र उपसचिव सर अनुगमनमा आएका टोलीलाई ल्याउन एयरपोर्ट जानुभएको थियो।
म सोचिरहेको थिएँ। यस्तो पनि अनुगमन हुन्छ। यहाँको यो नाटक हेर्दा यो अनुगमन नभएर केटारी खेलिरहेको महसुस गरेको थिएँ।
हाकिमको अगाडि हजुर हजुर गर्नैपर्ने बाध्यताको महसुस गरेको थिएँ। हुन त एकदिन उपसचिव सरले भन्नुभएको थियो।
'सर यदि निजामतीमा बस्नु छ भने हाकिमले बेलाउतीको बोटलाई यो कागतीको बोट हो भने पनि हो सर भन्न पर्छ नत्र तपाईंले दु:ख पाउन सक्नुहुन्छ' भनेर सिकाउनु भएको थियो। तर, मेरो स्वभाव यो बेलाउतीको बोट हो भन्ने थाहा छ भने जबरजस्ती कागतीको बोट हो भनेर कहिल्यै भन्दिनँ। सत्यलाई स्वीकार गर्ने मेरो स्वाभिमान हो। गलतलाई गलत भन्ने आँट राख्छु र सहीलाई सही। हाकिमले भन्नुभयो भन्दैमा म कदापि असत्यलाई स्वीकार गर्दिनँ।
एक घन्टा जति लाइन बस्यौं तर, पनि उहाँहरू आइपुग्नु भएन। अनि फेरि व्यवस्थापनमा खटिनुभएको सरलाई सोधेँ 'सर! यो तामझाम आवश्यक छ र?'
'छ नि सर। नत्र भने कहिले कहाँ, सरूवा हुन्छ थाहा नै हुँदैन सर। यदि उनीहरूलाई हामीले राम्रोसँग सम्मान गरेनौं भने पावरमा छन् जे पनि गर्न सक्छन्। उनीहरूको सम्मानमा सहभागी नहुँदा पहिला पनि एउटा घटना घटेको थियो। त्यो पछि भनूँला। त्यही भएर तपाईंलाई बिदामा बसेको भए पनि बोलाएको हो।'
मैले मनमनै सोचेँ- कर्मचारी र कार्यालयको अनुगमन भनेको उहाँहरू आउँदा कर्मचारीले गरेको चाकडी कत्तिको छ त्यसमा भरपर्दो रहेछ। त्यही भएर होला सायद केन्द्रबाट जो आए पनि पूरै कार्यालय उहाँहरूको चाकडीमा समर्पित हुन्थ्यो। तर आजको चाकडी चाहिँ अति लागि रहेको थियो। मलाई त्यहाँ पटक्कै बस्न मन लागेन। तर, नबसी पनि सुखै थिएन।
अनुगमन पनि यस्तो हुन्छ! अनुगमन भनेको त अनुगमन गर्नेले आफ्नो परिचय लुकाएर कार्यालयमा आई कार्यालय सहयोगीदेखि लिएर हाकिमसम्मको उसले सेवाग्राहीप्रति गरेको काम, व्यवहार, आचरण र कर्मचारीको रहन-सहन, बोली-भाषाको अनुगमन गर्ने हो। वास्तविक कार्यालयको स्वरूप कस्तो छ त्यसको निरीक्षण गर्ने हो।
जनता र कर्मचारीबीचको प्रत्यक्ष काम कारबाही कस्तो छ त्यसको अनुगमन गर्ने हो। र, त्यसको आधारमा पुरस्कार र दण्डको कारबाही अगाडि बढाउनु हो। त्यो पो बल्ल अनुगमन।
यहाँ त कर्मचारीले चाकडी कत्तिको गर्छ भनेर हेर्न आउँदा रहेछन्। उनीहरूको आउने उद्देश्य त अनुगमन हुँदै होइन। खान-पिन र घुमघामको लागि मात्र हो आउने। तर पनि आफ्नो हैकम जमाउनलाई त्यो खर्चको व्यवस्थापन कार्यालयले नै गरोस् भन्ने चाहेर अनुगमनको नाम दिन्छन्। चाकडी, खानपिन र घुमघामको आधारमा पुरस्कार र सजायको व्यवस्था गर्ने। योभन्दा अयोग्य हाकिम को हुन सक्छ!
यत्तिकैमै माननीयज्यूहरूको गाडी पनि आइपुग्यो। हामीहरू सबै लाइन लागेर मान-सम्मान गर्न तयार थियौं। वरिष्ठ माननीयज्यू चाहिँ ड्राइभरको साइडको सिटमा बस्नु भएको थियो। गाडी रोकिएपछि पछाडिको गाडीबाट एक जना दगुर्दै आउनुभयो र ढोका खोलेर उहाँलाई ओराल्नु भयो। त्यो ढोका उहाँले खोल्न नसक्ने पनि हुनुहुन्नथ्यो। तर उहाँलाई मान र सम्मानको यति भोक जागेको थियो कि मानौं त्यो ढोका खोलेर आफै ओर्ले अपमानित हुन्छु भन्ने भएर होला।
सम्मान जबरजस्ती आफैले खोजेर पाउने चिज होइन। सम्मान त स्वत: अरूबाट प्राप्त हुने चिज हो। जबरजस्ती अरूबाट प्राप्त गरेको मालाको खादा भन्दा स्वत: रूपमा प्राप्त भएको मुस्कान सहितको एक नजर कैयौं गुणा हृदयलाई आनन्द दिने हुन्छ। यहाँ त एक हप्तादेखि नै सम्मान पाउनको लागि पूरै तयारीसहित आउनु भएको थियो।
यति हुँदाहुँदै साँझ परिसकेको थियो। सबै कर्मचारीहरू अनुगमनमा आउनुभएका अतिथिहरूलाई लिएर गेष्ट हाउसमा जानुभयो। म घर गएँ। भोलिपल्ट बिहान एक जना सरले सुनाउनुभयो।
'सर अनुगमनमा आएकामध्ये एक जना हाकिम त जँड्याहा नै रहेछन्।'
'के भयो र?' भनेर जिज्ञासा राखेँ।
'कमसे कम रक्सी खानको लागि पनि लेभल त मिलाउनु पर्छ। को सँग खाने, कति खेर खाने, कति खाने त्यति सामान्य कुरा त ध्यान दिनु पर्ने हो नि! कार्यालय सहयोगीको अगाडि 'साथीहरू मेरो त थोरै यसो १ प्याक लिने बानी छ हजुरहरू कसैले लिनुहुन्छ कि अरे'
हुन त यस्तै हाकिमहरूलाई देखेर होला श्रीकृष्णले श्रीमद्भगवद्गीताको १६ औं अध्यायको १० वाँ श्लोकमा भन्नुहुन्छ:
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः।
मोहाद्गृहीत्वासद्ग्राहान्प्रवर्तन्तेऽशुचिव्रताः।।
हे अर्जुन! अहिलेको नेतृत्व कस्ता हुन्छन् भन्दा खेरी “दुष्पूरं कामम् आश्रित्य” कहिल्यै पूरा नहुने कामनाहरूको आश्रय लिएर “दम्भमानमदान्विता:” घमण्ड र मान-सम्मानमा चुर रहने र “अशुचिव्रता: अपवित्र व्रत लिने नेतृत्वहरू “मोहात्” मुढताको कारण “असद्ग्राहान् गृहीत्वा” गलत आचरणलाई धारण गरेर “प्रवर्तन्ते” यत्र-तत्र दौडिरहन्छन्।
मैले कुनै झुटा आरोप लगाएको होइन। मैले त जे सत्य देखेँ त्यसलाई कृष्णले भने अनुसार तुलना गरेर हेरेँ। कृष्णले भनेको फर्मुलामा र मैले देखेको सत्यमा केही पनि फरक पाइनँ। कृष्णले भनेबमोजिम। चार हजार भाडा तिर्न धौ-धौ भएको व्यक्तिले खरिदारमा नाम निकाल्छ। दुई तीन वर्षमा सहरमा एक करोडको घडेरी किन्न आँट्छ। त्यो खरिदारले कहिल्यै पूरा नहुने कैयौं कामनाहरू रचिरहेको हुन्छ। मलाई घडेरी त के खरिदारको जागिर खाएर भाडा तिर्न त पुग्दैन जस्तो लाग्छ भने घर घडेरीको कल्पना त एकदम टाढाको कुरा हो। घरको सपनै नदेख्ने भन्ने होइन। तर, एक करोडको ऋण तिर्न कस्ता कस्ता बाटाहरू अपनाउँछ त्यो महत्वपूर्ण कुरा हो।
ती कामनाहरूसहित उनीहरूमा घमण्ड र मान सम्मानको चाहना यति हुन्छ कि घोकेर पास भएका छन् बरा। जीवनको वास्तविक परीक्षा त नाम निकाल्दा बल्ल सुरू भएको हुन्छ। तर, हामी जत्तिको जान्ने अरू कोही पनि छैनन् भन्ने भाव उनीहरूको व्यवहारबाट झल्किरहेको हुन्छ। मान-सम्मानमा कति लिप्त हुन्छन् भन्ने कुरा त मैले माथि नै भनिसकेँ।
उनीहरूमा लोभ प्रवृत्ति बढेर विवेकमा बादल लागिसकेको हुन्छ। के गर्न हुन्छ, के गर्न हुन्न भन्ने सामान्य तर्क पनि बन्द भैसकेको हुन्छ। उनीहरूको आचरण यस्तो भैसक्छ कि बोल्दा पनि उनीहरूको आँखाले पैसा नै मागिरहेको हुन्छ। पूर्ण रूपमा पैसामा बिकिसकेका हुन्छन्। त्यही भएर त भ्रष्टाचार बढिरहेको छ।
यदि उनीहरूले गरेको कामनामा कसैले बाधा पुर्यायो भने उनीहरूले यस्तो सम्म व्रत लिन्छन् कि। कर्मचारी छ भने 'म त्यसलाई सरूवा नगरी छोड्दिनँ।' सेवाग्राही छ भने 'म त्यसलाई दु:ख नदिई छोड्दिनँ।' सरूवा र दु:ख मात्र होइन। आवश्यक पर्यो भने मैले त्यसलाई जिन्दगीभरि जेलमा सडाउन सक्छु। अझ बढ्ता भयो भने यो संसारबाटै सिध्याउन पनि सक्छु। यस्ता यस्ता व्रत लिएर बस्छन्।
लोक सेवा आयोगले भ्रष्टाचारीहरू उत्पादन गर्ने पाठ्यक्रम होइन, भ्रष्टाचार उन्मूलन गर्ने पाठ्यक्रमको निर्माण गरोस्। नेतृत्व या हाकिमको चयन सिर्फ पास गरेको आधारमा मात्र होइन। उसको व्यवहार, आचरण, निर्णय क्षमता र ज्ञानको आधारमा हुनुपर्छ। डाटा संग्रह गर्ने मात्र काम त इलेक्ट्रिक डिभाइसले पनि गर्छ।
डाटा संग्रहको आधारमा नेतृत्व चुन्नु पहिलो सिँढी होला। तर, अन्तिम सिँढी कदापि होइन। वास्तविक नेतृत्वमा हुनुपर्ने गुण त भिन्न छन्। जुन पढाइले घोकाइले होइन। अभ्यास र परिपक्वताले सिकाउँछ।