कुनैबेला गाउँ भन्ने बित्तिकै धेरै हिँड्नुपर्ने, प्राय: खरले छाएका साना साना घरहरू, खेतबारीमा काम गर्दै गरेका मान्छेहरू, प्राय: एकै प्रकारको रहनसहन, अन्नबालीले भरिएका खेतबारीका फाँटहरू भनेर बुझ्ने गरिन्थ्यो।
तर हिजोआज सूचना तथा सञ्चारको पहुँच, सडक सञ्जालको विस्तार, बसाइँसराइ, स्थानीय तहको सक्रियता र विकास साझेदार निकायहरूको चहलपहलले गाउँबारेको परम्परागत अवस्था फेरिएको छ। यति हुँदाहुँदै पनि गाउँमा मान्छेको मन किन अडिएन भन्ने प्रश्नमा भने अनेकन बहस भइरहेका छन्।
केहीदिन पहिले रामेछाप जिल्लाका केही स्थानीय तहहरूको भ्रमण गर्ने मौका मिलेको थियो। राष्ट्रिय समाज कल्याण परिषद्सँग परियोजना सम्झौता गरेबमोजिम चाइल्ड एड नेटवर्क फाउण्डेसनले स्थानीय साझेदार गैरसरकारी संस्थामार्फत् सञ्चालन गरेको सामुदायिक विद्यालयहरूमा समावेशी र गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि स्थानीय समुदायको परिचालन र युवाहरूको सशक्तीकरण कार्यक्रमको मूल्याङ्कनका लागि स्थलगत अध्ययनको क्रममा खाँडादेवी, सुनापति र गोकुलगंगा गाउँपालिकाको भ्रमणका क्रममा गाउँको गतिशीलताबारे नजिकबाट नियाल्ने अवसर जुटेको थियो।
भूकम्प पछिको गाउँघर
वि.सं २०७२ सालको भूकम्पको अति प्रभावित चौध जिल्लाहरूमध्ये रामेछाप पनि एक हो। राष्ट्रिय योजना आयोगमा कार्यरत रहेको अवस्थामा म २०७२ सालको वैशाख तेस्रो हप्तादेखि रामेछाप जिल्लाको तत्कालीन माकादुम गाविसमा झण्डै २० दिन टोलीप्रमुख भएर पोष्ट डिजाष्टर निड असिसमेण्टमा सहभागी भएको थिएँ। त्यो बेला गाउँको अवस्था निकै भयावह थियो।
यसपालि माकादुम हुँदै सुनापति गाउँपालिका जाँदा माकादुम पुग्दासम्म यो गाउँ माकादुम हो भनेर मैले भेउनै पाइन छु। एक जना साथीले यही हो माकादुम भनेपछि मात्र याद भयो। गाउँमा घरहरूका आकार फेरिएका छन्। विद्यालय भवनहरू र केही सरकारी कार्यालयहरू आरसिसी भवनको रूपमा ठडिएका छन्। बाटोको सञ्जाल देख्दा पहिले देखेको गाउँ नै होइन कि जस्तो देखिन्छ। भूकम्पले गरेको क्षति अपुरणीय छ तर त्यसपछिको पुनर्निमाणले चाहेको जस्तो नभएता पनि केही परिवर्तन भने गाउँमा पक्कै ल्याएको छ। पुनर्निर्माणका घरहरू र विद्यालय लगायत केही सरकारी कार्यालयका भवनहरूले यसको झल्को दिनेरहेछ। पहिले विभिन्न आकारका र रंगका हुने घरहरू अहिले प्राय: अधिकांश घरहरू उस्तै आकारका र उस्तै रंगका देखिने गर्दा गाउँको रूप रंग फेरिएको महसुस हुन्छ।
बद्लिँदो जीवनशैली
गाउँको जीवनशैली पनि बदलिएको छ। पहिले जस्तो सदरमुकाम आउन दिन वा घण्टौं हिँड्नु पर्ने अवस्था छैन। जिल्ला सदरमुकामबाट सामान ल्याउँदा लैजाँदा टाउकामा नाम्लाको डाम बस्नेगरी भारी बोकेर नागबेली चुचुरा काट्नु पर्ने अवस्था कमै छ। सडक सञ्जालको कारण यातायतमा सहजता मिलेको छ। धेरैले मोटरसाइकलमा आवतजावत गर्ने गरेका छन्। आवतजावतले दैनिक जीवनमा सहजतामात्र हैन परिवार सम्बन्ध र संरचनामा समेत परिवर्तन भएको छ। गैरसरकारी संस्थामा काम गर्ने एक जना युवती मोटरसाइकलमा संस्थाको काममा आवतजावत गर्ने रहेछिन्। घरबाट उनलाई टाढा जानुपर्दा फर्किने समय अभाव हुनेहुँदा उतै बास बस्नुपर्ने र घर बाहिर बस्दा परिवारको रेखदेख गर्न नसक्ने र घरपरिवारले पनि असहज महसुस गर्ने हुँदा मोटरसाइकल सिकेर अहिले काम सकेर निकै टाढाटाढाबाट पनि बेलुका घरमा नै आउँदा जागिर पनि गर्न मिलेको र घरपरिवार पनि धान्न सम्भव भएको रहेछ।
विद्युतको पहुँचले सूचना प्रविधिको प्रयोगलाई झनै सहज गराएको छ। पानी लिन घण्टौं हिँड्नुपर्ने अवस्था अहिले प्राय: छैन रहेछ। बिजुलीको प्रयोगमा तलको पानी पनि माथि लैजाने प्रविधिले पहिले जस्तो पानीको अभाव छैन। सूचना प्रविधिमा आएको परिवर्तनको प्रभाव त झन् जगजाहेर नै छ। अर्कोतर्फ ठाउँ अनुसार किवी, कागती, जुनार जस्ता नगदे बालीको उत्पादनले स्थानीय समुदायको आयआर्जनमा केही सहयोग पुगेको देखिन्छ। बाटोमा हिँड्दा देखिने कलकलाउँदा किवी लगायत फलफूलका बोटहरूले पनि यही संकेत गरेका छन्। यसका लागि स्थानीय सरकार र विकास साझेदार निकायहरूको सहयोगमा उन्नत बीउविजन तथा उन्नत जातका पशु चौपायहरूको उत्पादन तथा वितरणले स्थानीय समुदायको जीवनस्तरमा सहज गराएको भेटिन्छ। कतैकतै बाटै ढाक्ने गरी चर्दै गरेका लामालामा कान भएका जमूनापारी र बोयर जातका खसी बाख्राहरू देख्दा गाउँमा केही त पक्कै भएको छ भन्ने आभाष हुन्छ। यसका साथै गाउँमै सिंहदरबार भनिने स्थानीय तहको सक्रियता र नागरिकमा आएको सचेतनाले पनि स्थानीय गाउँहरूमा अझै अवसर छ भन्ने झिनो आश देखाएको पाइन्छ। यद्यपि केही आशा र भरोसाकाबीच बसाइसराइले पारेको असरको तीतो यथार्थता भने टिठलाग्दो छ।
विद्यालय भवन बने तर पढ्ने विद्यार्थी घटे
नेपाल सरकारको लागनी र विभिन्न दातृ निकायहरूको सहयोगमा गाउँमा सानदार विद्यालय भवनहरू देखिन्छन्। कतै नेपाल भारतमैत्री विद्यालय भवन भन्ने देखिन्छन् भने कतै कुनै विदेशी संस्थाको सहयोगमा बनेको भन्ने देखिन्छन्। जसरी बने पनि विद्यालयको भौतिक संरचना निकै लोभलाग्दो छ। कुनै बेला विद्यालयको भवनको अभावमा विद्यार्थीहरूले खुला आकाशमुनि बसेर बढ्नु परेको वा चुहिने छानाभित्र बस्नु परेको अवस्था सम्झिँदा अहिलेका विद्यालय भवनहरू मन नै लोभ्याउने देखिन्छन्। विद्यालय भवन मात्र हैन केही विद्यालयमा शिक्षण सिकाइ सामग्री र विद्यालयको भौतिक सुविधा पनि निकै आकर्षक देखिन्छन्। चाइल्ड एड नेटवर्क फाउण्डेसनले बालकक्षा र कक्षा तीनसम्म शैक्षिक सहयोग गरेको रहेछ। बाल कक्षाहरूको सजावट तथा सुविधा, शिक्षण सामग्रीको व्यवस्था र कर्नर लाइब्रेरीको अवस्था हेर्दा आहा! भन्ने देखिन्छ। त्यति मात्र हैन बाल कक्षा र प्राथमिक तहका शिक्षकहरूलाई नियमित तालिम समेत दिने गरेको रहेछ।
खाँडादेवी गाउँपालिकामा स्थानीय सरकारसँगको समन्वयमा चाइल्ड एड नेटवर्क फाउन्डेसनको सहयोगमा स्थानीय विकास साझेदार निकायले सञ्चालन गरेको सिकाइ अभियान (लर्निङ क्याम्प) निकै प्रभावकारी देखिन्छ।दुई कक्षा सम्मका विद्यार्थीहरु र दुई कक्षा सम्मको आधारभूत ज्ञान सिप समेत हासिल नगरी माथिल्लो कक्षामा गएका विद्यार्थीहरुको पहिचान गरी विदाको दिनमा विद्यालय ल्याई उक्त सिकाइ अभियान गरिने रहेछ।
अर्कोतर्फ बालबालिकाहरूका लागि सरकारले व्यवस्था गरेको दिवाखाजा कार्यक्रम पनि बालबालिकाका लागि विद्यालयप्रति आकर्षित गर्ने कार्यक्रम हो। विद्यालयको भौतिक संरचना र शिक्षणको लगानी अनुसार शिक्षाको अवस्था भने उत्सहजनक देखिँदैन।
गाउँमा सामुदायिक विद्यालय भवनहरू त बने तर पढ्ने विद्यार्थीको संख्यात्मक अवस्था भने निकै दयनीय छ। विद्यालयहरूमा कक्षामा विद्यार्थी संख्या निकै घट्दो क्रममा छ। कक्षा पाँच सम्मका प्राथमिक विद्यालयहरूमा कुनैमा आठ जना र माध्यमिक विद्यालयमा कुनैमा बयालिस जना विद्यार्थी पनि रहेका छन्। विद्यालयमा पढ्ने अधिकांश गरिब तथा पिछडिएका समुदायका बालबालिका छन्।
एक आधारभूत विद्यालयका प्राधानाध्यपक भन्नुहुन्छ, 'विद्यालयसम्म विद्यार्थी ल्याउने हाम्रो पनि जिम्मा हो तर के गर्नु पिछडिएका समुदायका आआफ्नै समस्या छन्। कुनै विद्यार्थी विद्यालय नै नआइ अहिले काफल टिफ्न जाने गर्छन्। कसैका अभिभावक इटाभट्टामा काम गर्न जाने गर्छन् र उनीहरूले आफ्ना छोराछोरी पनि उतै लैजाने हुँदा यहाँ नियमित आउन सक्दैनन्।'
स्थानीय तहले विद्यालयहरूमा विद्यार्थी संख्या घटेपछि विद्यालय मर्ज गर्ने नीति लिएको रहेछ। प्रशासनिक सहजताका लागि गरिएको यो व्यवस्थाले बाल कक्षाका बालबालिकालाई मर्का पर्ने गरेको छ। कलिला बालबालिकालाई धेरै टाढा हिँडेर जानुपर्ने कारणले अनेकन जोखिम निम्त्याउने सक्ने देखिन्छ भने विद्यालय शिक्षादेखि नै बञ्चित हुनुपर्ने अवस्था त हुँदैन भन्ने प्रश्न उठ्ने गरेको छ। एक गाउँपालिकाका शिक्षा अधिकृत भन्छन्, 'बालबालिका एक जना भए पनि त्यो सय प्रतिशत नै हो, विद्यालय मर्ज गर्दा हामीले यस कुरामा ध्यान दिनैपर्छ। एकै जना भए पनि बालबालिकालाई असर पार्नु हुँदैन।'
सुनसान गाउँघर
अहिले देशैभरिका गाउँहरूमा बसाइसराइको अवस्था तीव्र छ। केही गाउँहरू रित्तो भएका पनि समाचारहरू आइरहेका छन्। रामेछापका यी गाउँहरूमा पनि युवाहरूको मन अडिएको छैन। अझ रामेछाप राजधानी सहर काठमाडौंदेखि नजिकैको जिल्ला भएकोले यहाँ गाउँबाट सहरतिर बसाइसराइ गर्नेको पनि संख्या ठूलो छ। सहरमा घर घडेरी हुनेहरू उतै बस्नेगरी जाने, कोही व्यापार व्यावसाय, रोजगारी र पढाइका लागि जाने गर्छन्। जसरी भए पनि भरसक गाउँमा चाहिँ नबस्ने भन्ने मनोविज्ञान यता पनि देख्न सकिन्छ। स्थानीयहरूसँग कुरा गर्दा खै यहाँ के नै हुन्छ र भन्ने प्रतिक्रिया दिने गर्छन्।
अर्कोतर्फ यहाँका विपन्न परिवारका व्यक्तिहरू काठमाडौं उपत्यकाका विभिन्न इट्टाभट्टामा मौसमी कामका लागि जाने रहेछन्। वैदेशिक रोजगारीमा जाने लहरको असर त यहाँ पनि छँदैछ।एक जना स्थानीय भन्दै हुनुहुन्थ्यो यहाँको एउटा गाउँबाट प्राय: पोर्चुगल गएका छन् र त्यो गाउँलाई अहिले पोर्चुगल गाउँ भन्ने गरिएको छ। त्यति मात्र हैन नेपालमा जनसंख्या दर घट्दै गएको असर पनि गाउँघरतिर देखिन थालेको छ। गोकुलगंगा गाउँपालिकाको एक आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक भन्नुहुन्छ 'गाउँमा बच्चाको जन्म नै कम हुन थाल्यो। पालिकाको प्रसूति केन्द्रमा वर्षमा छ सात जना बच्चाहरू मात्र जन्मिने गर्छन्। यो अवस्थाले विद्यालयमा बालबालिकाको सङ्ख्या कसरी बढ्ला र!'
यति हुँदाहुँदै पनि स्थानीय सरकार र विकास सझेदारहरूको सक्रियतामा केही प्रयत्न गर्दा गाउँमा केहि आशा जगाउन सकिन्छ भन्ने कुरा स्थानीय नागरिकका केही प्रयासहरुले देखाएका छन्।
सुनापतिका सशक्त किशोरीहरू
गाउँपालिकाको समन्वय र चाइल्ड एड फाउण्डेसनको सहयोगमा साहस नेपालले सहजीकरण गरेको किशोरीहरूको समूह रहेछ जसलाई सम्बाद नेटवर्क भनिँदोरहेछ।
उक्त पालिकामा बाह्र वटा संवाद समूहमा बीसदेखि पच्चिस जना किशोरीहरू रहेका छन्। सुनापति गाउँपालिका वडा नं ३ हिलादेवीस्थित पशुपति माध्यमिक विद्यालयमा गरेको किशोरीहरूसँगको छलफल निकै आसलाग्दो थियो। समूहमा आफ्ना कुरा निर्धक्कसाथ राख्न सक्ने,आफ्नो व्यक्तिगत लक्ष्य र समूहका लागि गरिने कार्यक्रमको बारेमा स्व:स्फूर्त भन्न सक्ने क्षमता देख्दा यो सशक्तीकरणले युवा पुस्ताप्रतिको भरोसा जगाएको हुन्छ। उनीहरूले पालैपालो परिचय गर्दा आफ्ना लक्ष्यहरू पनि सुनाए। कसैले डाक्टर बन्ने, कसैले शिक्षक बन्ने र कसैले सेना प्रहरी बन्ने योजना सुनाउदा कम्तीमा पनि देशमा नै केही गर्ने भावनाको जागरण फैलाउन पक्कै मद्दत गर्नेछ भन्ने महसुस भएको छ।
लोर्फाका मेहनेती किसान
सुनापति गाउँपालिका केन्द्रदेखि करिब डेढ घण्टाको गाडीको यात्रामा पुगिने लोर्फा गाउँ मानन्धर समुदायको बाहुल्यता भएको गाउँ हो। स्थानीय खाद्यान्न उत्पादनले परिवार धान्न नपुग्ने र नगद आम्दानीको स्रोत गाउँमा नभएपछि यहाँका अधिकांश पुरूषहरू काठमाडौं उपत्यकाका विभिन्न इटाभट्टामा काम गर्न जाने गरेका रहेछन्।
स्थानीय सरकारले एक घर एक टनेल भन्ने अभियान सञ्चालन घरघरमा टनेल र बिउ बिजनमा सहयोग गरेकोमा चाइल्ड एड नेटवर्क फाउण्डेसनको सहयोगमा साहस नेपालद्वारा सञ्चालित जीविकोपार्जन सहयोग कार्यक्रमले स्थानीय समुदायको जीवनस्तरमा देखिने गरी सुधार ल्याएको रहेछ। मौरीपालन, बाख्रापालन, तरकारी उत्पादन र बालबालिकाको पढाइमा गरेको सहयोगले गाउँमा बसेरै जीवनस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने उदाहरण दिएको छ। अहिले प्राय: सबैका बारीमा तरकारी उत्पादनका लागि टनेल निर्माण भएका छन्।
किसानले कृषि तालिम पाएपश्चात बेर्ना बिउ उमार्ने, बोटहरू स्याहार्ने उपचार गर्ने तथा फलाउने आफै गर्न सक्ने भएका रहेछन्। एक स्थानीय कृषक महिला भन्नुहुन्छ 'पहिले त हामीहरूलाई अलिकति पनि तरकारी फलाउन आउँदैन थियो। खान र खर्चको अभाव थियो। काम गर्न इटाभट्टामा जाने गर्थ्यौं। तर अहिले आफ्नै जमिनमा तरकारी उत्पादन गरेर मनग्गे खान पुग्छ र बेचेर घरखर्च र नानीहरूलाई स्कुल खर्च पनि पुगेको छ।' आधारभूत विद्यालयका प्राधानाध्यापक भन्नुहुन्छ 'तरकारी उत्पादन गर्न सके यहाँ बजारको अभाव छैन। खबर गरेपछि गाडी यही आइपुग्छ। नजिकै हलहली बढ्दै गरेका एभोकाडो र कागतीका बिरूवा देखाउँदै भन्छन् -अब यस्तै बोटहरू सामूहिक रूपमा बगान नै बनाउने योजनामा छौं।
गाउँ छोडेर जाने त गइहाल्छन् तर बस्न चाहनेहरूका लागि स्थानीय माटो र मन जोड्न आयआर्जन र शिक्षामा लक्षित कार्यक्रमहरू साधक बन्न सक्छन्। जिम्मेवार निकायहरूले ठूला ठूला योजना बनाउने तर नागरिकका प्रत्यक्ष जीवन सरोकारका विषयमा कम ध्यान दिने गर्नाले गाउँ फेरिएता पनि मान्छेको मन अडिन सकेको छैन। यो हाम्रो तीतो यथार्थ हो।