'समय परिवर्तनशील हुन्छ भन्थे हो रहेछ। मैले गाउँघरमा बुढापाकालाई के गर्नुभएको छ भनेर सोध्ने गर्दथेँ. उहाँहरूले 'न काज छ न काम छ बाबु' भन्ने गर्नुहुन्थ्यो। के रहेछ यो भनेको भनेर बुझ्ने प्रयत्न गर्दथेँ। मेरो जिन्दगीका हरेक गतिविधिहरू पनि यस्तै भएका छन्।
'न काज छ न काम' बिहान आठ बजेतिर उठ्यो, अफिस गयो, बेलुका आयो, खाना खायो, सुत्यो। आखिर यहीँ त रहेछ जिन्दगी। न त कुनै प्रगति गर्न सकियो, न आर्थिक रूपमा सबल हुन सकियो। न त जागिर नै छोड्न सकियो न त विदेश जान। बेलाबेला सोच्ने गर्दछु, एक मन विदेश चल्दिम् कि क्या हो भनेर आफूले आफैलाई भन्छु अनि आफूले आफैलाई सम्झाउने गर्दछु।
हरेक रात नसुती कण्ठ पारेका म्यारियना ट्रेन्चको गहिराइदेखि सर्वोच्च शिखर सगरमाथामा कामरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेमा गतिविधिहरू, संविधानका ३०८ धाराहरू अनि विश्वको प्रथम लिखित दस्ताबेज मानिने म्याग्ना काटाका धारा र ती रातहरू। सोच्ने गर्दछु सपना पूरा गर्न तिलाञ्जली दिएका ती दिन, बगाएका ती पसिना, मनलाई सम्झाइ बुझाइ गर्दा दिने गरेको त्यो सान्त्वना अनि त्यो सरकारी जागिरको इतिहास र कर्मचारीले पाएको इज्जत।
सरकारी जागिरे भन्ने बित्तिकै पहिला सबैले 'ओहो' भनेर गर्वका साथ शिर उच्च पार्ने छाप बसेको थियो। हरेक बुवाआमाको चाहना, फलानो सरकारी कर्मचारीलाई ज्वाइँ गराउन पाए छोरीले सुख पाउने थिई। त्यो सम्मान, त्यो इज्जत, त्यो सत्कार आहा बयान नै गरेर थाक्दैन थिए। जसरी पञ्चायतमा जिम्वाल शक्तिशाली हुन्थ्यो त्यसै गरी सरकारी कर्मचारी पनि त्यत्तिकै शक्तिशाली हुन्थे। गाउँमा बुढापाकाले भन्ने गरेको सुनेको थिएँ, यो छोरीलाई एउटा सरकारी जागिरेसँग बिहे गर्दिन पाए पनि आनन्दले सास जान्थ्यो। तर अहिलेका हरेक बुवाआमाको चाहना- त्यो पिआर वालासँग बिहे गर्दिन पाए त ढुक्क भइन्थ्यो, कमसेकम भोकै त मर्ने छैन। कमसेकम छोरीले त सुख पाउँथी।
त्यो विगतको इज्जत, सम्मानलाई कदापि पनि टुट्न दिने छैन भनी अझै पनि मैले आफैले आफैलाई प्रश्न गर्न छोडेको छैन। गहन भएर सोच्ने गर्दछु तर निष्कर्ष निकाल्नै सक्दिनँ। के सरकारी जागिरको महत्त्वपूर्ण साँच्चिकै घटेकै हो त भनेर आफैलाई प्रश्न गर्दछु।
एक दिन बिहेको कुरा आयो, बुबा आमाको मनमा पनि यही खेलिरहन्थ्यो कि छोराको विवाह गर्दिन पाए आनन्द हुन्थ्यो। घरपरिवारलाई भन्दा समाजलाई मेरो बिहेको बारेका निकै हतार भएको थियो। समाजमा भन्ने गर्दथेँ- तीस, पैँतिस वर्षको लाठे भयो अझै किन होला बिहे नगरेको? सरकारी जागिर खाको मान्छेलाई विवाह गर्न के गाह्रो? जागिर खाइस्, पैसा कमाएकै छस्, धूमधाम विवाह गर्।
सरकारी जागिरे भन्ने बित्तिकै मलाई गर्व महसुस हुन्थ्यो। आफूले आफैलाई सरकारी जागिरको महत्त्व र आकर्षण अझै पनि जीवितै छ है भनेर घमन्ड गर्ने गर्दथेँ। सरकारी जागिर खाएको मान्छे पैसा जति पनि कमाउँछ भन्ने मानसिकता भएका समाजका कुरौटेलाई के थाहा सामान्य खरिदार, नासुका कर्मचारीको तलब! तीसदेखि पैँतिस हजारले महिनाको आठ/दश हजार एउटा कोठाको भाडा, खाना, समयानुसार पोसाक, औषधि उपचार, पर पाहुना अनि घरमा आस गरेर बसेका बाआमाका रहर र चाहना।
त्यही तीसदेखि पैँतीस हजारको जागिरबाट गर्नु छ विवाह, हुर्काउनु छ बालबच्चा, जोड्नु छ जग्गा जमिन, तिर्नु छ स्कुल कलेजको शुल्क। त्यसैले अहिले भन्ने गर्दछु 'छिः यार जिन्दगी!'
अस्ति बडो प्रतीक्षाका साथ बजेट सुनेँ, सरकारले कर्मचारीको सेवा सुविधामा केही सुधार पक्कै गर्छ भनेर र राष्ट्रसेवक कर्मचारीलाई उचित प्रोत्साहनका कार्यक्रम ल्याइनेछ। सोचेँ प्रोत्साहनका कार्यक्रम केवल ती निकटतमका र पहुँचवालालाई मात्र लागू हुने भयो भनेर।
यस्तै गर्दा गर्दै जागिरे अवधि करिब पाँचौँ वर्षमा प्रवेश गरियो तर बैंकको खातामा भने पाँच वर्षको बचत करिब पचास हजार मात्र। यो देख्दा भन्ने गर्दछु- 'छिः यार जिन्दगी!'
सँगै पढेका अस्ट्रेलिया, क्यानडा, अमेरिका, कोरिया, जापान गएका साथीहरूले बेलाबेला मलाई म्यासेन्जर र ह्वाट्सएपमार्फत फोन गरेर काठमाडौँमा एक डेढ करोडका जग्गा, घर किन्न पर्यो कुन ठाउँ किन्दा ठिक होला भनेर प्रश्न गर्ने गर्दछन्। सँगै पढेका साथीको प्रगतिमा म पनि खुसी हुँदै भन्छु, 'हुन्छ मैले सक्ने सहयोग गरौँला, आवश्यक परे सम्पर्क गर्नू। अझै प्रगतिको कामना मित्र।' तर पनि म तीस हजारको जागिरमा सन्तुष्ट छु।
(लेखक बुढानीलकण्ठ नगरपालिकामा सहायक स्तर पाँचौँ तहमा कार्यरत छन्।)