कसैप्रति विश्वास गर्नु भनेको पक्कै सतही कुरा होइन। कसैले आफूप्रति संशयरहित भएर पूर्णविश्वास गर्छ भने त्यो सम्पत्ति अमूल्य हुन्छ। मानसम्मान, पदप्रतिष्ठा र रुपैयाँ पैसाभन्दा कति हो कति उच्च हुन्छ विश्वासरूपी धन। जसलाई आफूप्रति पूर्णविश्वास हुन्छ अनि अरूले पनि आफूप्रति पूर्णविश्वास गर्छन् भने त्यो संयोग दुर्लभ प्रायः हुन्छ।
भौतिकताले जकडेको वर्तमान परिप्रेक्ष्यमा मान्छेका व्यवहारहरूमा विश्वासको पवित्र महकभन्दा बढी अविश्वासको अत्तर फैलिँदो छ।
विवेकशील मानव बुद्धि भएर पनि छद्म व्यवहारको जालमा फस्न विवश छन्। यस्तो विकराल अवस्थामा विश्वास कमाउन बडो कठिन कार्य हो। छल, छाम र झुटलाई चातुर्यको साधन बनाउँदा मान्छे तन, मन र वचनमा एकरूपता कायम गर्न सक्दैनन्। विश्वास त्यो बोधी वृक्ष हो जो सत्यको भूमिमा जिम्मेदारी, समझदारी र इमानदारीको जल सेचन गरेर हुर्किन्छ। त्यस्तो वटवृक्ष हुर्काउन धीरगम्भीर हुँदै एउटा साधकले अविचलित भएर अटल साधना पक्कै गर्नुपर्छ।
यसै सन्दर्भमा गत हप्ता एउटा विश्वासको यात्रा गरियो।
डाक्टर गोविन्दराज भट्टराई सरले भन्नुभयो, 'बहिनी शनिबार १२ गते पनौतीमा एउटा साहित्यिक कार्यक्रम छ, फुर्सद भए जाऊ है। सकभर कुनै कविता भए अझ राम्रो।'
सरको प्रस्तावलाई सहर्ष स्वीकार्दै ‘हुन्छ सर’ भनेँ।
सरप्रतिको अगाध विश्वासले सोध्न आवश्यक पनि ठानिनँ के कार्यक्रम हो? कस्तो कार्यक्रम हो ? कोको जाने, कति जना जाने? भनेर। यसै पनि बनेपा, धुलिखेल र पनौती भन्ने बित्तिकै मेरो मस्तिष्कमा माइती बिर्साउने घरबेटीहरू आउँछन्। त्यो पावन भूमिमा मैले बिताएका हर्ष र विस्मातका तमाम वर्षहरू जवान भएर नाच्न थाल्छन्। अनि शनिबार निर्धारित समयमा हामी वीर अस्पताल अगाडि पनौती जाने बसपार्कमा पुग्यौं, देख्छु चिरपरिचित साहित्यिक अनुहारहरू। लक्ष्मण गाम्नामे, डाक्टर अन्जना अवस्थी, दिव्य गिरी, डाक्टर सिर्जना शर्मा, सुभाष ढुङ्गेल, आतोओडा (जानुका खतिवडा) मुसुक्क हाँस्दै छिन्।
बसपार्कबाट हामी १० जना चढ्यौं। आसामबाट आउनुभएका कवि, अनुवादक र प्रबासमा बसेर नेपाली भाषा र साहित्यलाई अगाध प्रेम गर्ने स्रष्टा ज्ञान बहादुर कार्की सर चढ्नुभयो। सबैसँग हार्दिक अभिवादन आदानप्रदान हुँदै गयो। तीनकुनेबाट नियात्राकार भवानी खतिवडा चढ्नुभयो। म सँगैको सिट सुरक्षित थियो भवानी खतिवडाको लागि। गाडीमा भवानी दिदी मलाई सोध्नुहुन्छ, ‘अनिता कस्तो कार्यक्रम रहेछ ? कसले आयोजना गरेको रहेछ ?’ म हाँस्दै भन्छु, ‘खोइ दिदी मलाई पनि थाहा छैन सरले जाऊँ भन्नुभयो मैले त केही सोधिनँ।’
दिदी भन्नुहुन्छ, ‘मैले पनि सोधिनँ।’ अनि हामीभन्दा अगाडि दिव्य गिरी सर बस्नुभएको छ। दिदीले उहाँलाई सोध्नुभयो उहाँ पनि भन्नुहुन्छ, ‘खोइ मलाई पनि थाहा छैन। पछाडि आतोओडालाई आँखाको भाकामा सोध्यौं त्यहाँबाट पनि जानकारी नभएको संकेत मिल्यो। पल्लोपट्टि लक्ष्मण गाम्नाने पनि थाहा नभएको जानकारी दिन्छन्। अनि दिदी र म हाँस्यौं। आखिर सरको एक कलका भरमा हामी सबै विश्वासको यात्रा गर्न जम्मा भएका रहेछौं।
गाडी कोटेश्वरबाट अरनिको राजमार्गमा हुँइकियो। मनमा गम्भीर प्रश्नहरू उब्जिरह्यो। कसैले कसैप्रति कसरी यति धेरै विश्वास गर्छ? आफ्नै मनको सरोवरमा डुब्दै गएँ। अरूप्रति बफादार हुन सहज होला तर सबभन्दा कठिन काम भनेको आफूप्रति आफै बफादार हुनु हो।
म पनि सङ्कल्प गर्छु आफैप्रति आफूले गर्नुपर्ने आत्ममूल्याङ्कनको मन्त्र। मेहनत, लगशीलता, विश्वास र इमानदारीको तपस्या। आफूप्रतिको विश्वास बढाउन सकेको खण्डमा अरूप्रतिको विश्वास पनि दीर्घकालीन हुन्छ सायद।
गाडी अरनिको राजमार्ग दगुरेको निकैबेर भएछ। गाडीभन्दा तेज रफ्तारमा मेरो मन दगुरेको छ पनौतीको भूमिलाई स्पर्श गर्न।
बनेपामा बस टक्क अडिएको छ। मेरा आँखा फुत्त गाडी बाहिर डुल्न थाल्छन्। बनेपाको धारामा मैले हिँडेका लाखौँ लाख पाइलाहरूको सामूहिक आवाज मेरो कानमा आएर ठोकिन्छ। म स्मृति बिम्वमा आफ्नै छायासँग लुकामारी खेल्छु। मैले पढेको चैतन्य क्याम्पसको त्यो पावन पलहरू स्मृतिको गर्तबाट स्वत:स्फूर्त दृष्यमान हुन्छन्।
म अतीतको सुरम्य पलमा हराउँदै आनन्दविभोर हुन्छु। आँखामा पौडिन थाल्छ मेरै ऊर्जाशील उमेर। सम्पूर्ण आकाश अंगालोमा समेटेर दगुरेका मेरा पाइला। हरेक खुसीहरू वास्तविक भएर मुस्कुराएका ओठ। प्रत्येक श्वास साहस र सम्भावनाको सगमाथा बोकेर गुञ्जिएको नाद।
दिदी भन्नुहुन्छ, ‘अब कति छ पनौती आउन।’ म अतीतको रङ्गमञ्चबाट फुत्त बाहिर आउँछु। आँखाका कोषहरू आद्र भएको चाल पाएर सुटुक्क सलको छेउले आँखाबाट बग्नै आँटेको अतीतलाई थपक्क थाप्छु। अनि दिदीतिर फर्केर भन्छु, ‘अब चाँडै पुग्छौं दिदी! हामी बनेपा बस्दा बाह्रवर्षे मेलामा हिँडेरै जान्थ्यौँ।’
आँखै अगाडि एक खोला समय नाच्न थाल्यो। धनेश्वर मन्दिरको द्वार अगाडि गाडी रोकियो। तुलना गर्न थाल्छ आँखा हिजो र आजको भूगोल। भव्य भएछ यो ठाउँ र बाटो। मेरा आँखा निमेषभर पनि बन्द हुन मान्दैनन्। अपलक हेर्दैछु पनौती जाने सडक। बाटोघाटो र छेउछाउका गाउँबस्तीहरू। अतीत र वर्तमान सँगसँगै बगेको छ आज मेरो आँखामा। अतीतको सुगन्धले मेरो यात्रा वर्तमानमा अझ सुरम्य हुँदैछ।
आहा! अतीत कति अपार लाग्दैछ आज। घरी देख्छु आफैलाई धनेश्वर मन्दिरमा पूजासामग्री बोकेर हिँडेको। घरी देख्छु खड्पु हुँदै काठमाडौं विश्वविद्यालयबाट आइटी पार्क घुम्दै गरेको। स्मृति रमणमा रमाउँदै छु।
गाडी पनौतीको बस पार्कमा गएर टक्क अडियो। आँखाले पनौतीलाई स्पर्श गर्दै पावन धरालाई झुकेर मस्तिष्कले शिरनत गर्यो। जेठको घाम साँच्चै जेठो भएको छ। घामको रापमा हामी छाया खोज्दै नजिकैको पसलमा उभिन पुग्यौं। केहीबेरमा हामीलाई लिन स्थानीय साहित्यिक मन बसपार्कमै आउनुभयो। उहाँकै पछिपछि हिँड्दैछौं पनौती बजारको बीचबाटो।
अलि तल पुगेपछि देखियो इन्द्रेश्वर बहुमुखी क्याम्पस। हामी क्याम्पसतिर लाग्यौं। क्याम्पसको सभाहलमा अक्षरमार्गले आयोजना गरेको कृति परिचर्चा र कविता वाचनको विशेष कार्यक्रम रहेछ।
काठमाडौं, भक्तपुर र काभ्रेबाट आउनुभएका कविहरूको कविता वाचन र सूर्य लाकाजूले लेख्नुभएको पनौतीको वास्तविक स्वरूप देखाउने विशेष ऐना ‘पनौतीका केही जात्रा’ को परिचर्चा कार्यक्रम रहेछ। विश्वासमाथिको विश्वास साँच्चै विश्वासयोग्य भयो।
प्रमुख अतिथि डाक्टर गोविन्दराज भट्टराईको उपस्थितिमा सम्पन्न भएको सभामा अग्र स्थानमा पनौती नगरपालिकाका नगरप्रमुख, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नामे, डाक्टर अन्जना अवस्थी, भवानी खतिवडा लगायको विद्वत् सभामा कविता, गीत , गजलको सुमधुर सङ्गीतमा सहभागी हुन पाउँदा निकै हर्षित हुँदैछु।
मलाई पनौतीको भूमिले तान्दैछ। झ्यालबाट देख्दैछु सुन्दर, सफा प्रकृति। बसन्तको आगमनसँगै हरिया घुम्टो ओढेर हातमा पुष्पगुच्छा लिएर हाम्रै स्वागतमा हाँसिरहेका डाँडाकाँडा फाँट हेरिरहूँ जस्तो छ। परपरसम्म देखिएको छ पनौतीका सुन्दर गाउँबस्ती। उर्वर खेतका हरिया गराहरू मस्त भएर लहलह झुलेका देखिन्छन्। मन्दिरका गजुर सुनौला देखिन्छन्। हृदय रोमाञ्चित छ।
सभाहलमा कविता सुन्दै गर्दा मलाई अतीतले समातेर पनौती वडा नम्बर दुईमा डोर्याउन थाल्यो। चैतन्य क्याम्पसमा ब्याचलर पढ्दै गर्दा दोस्रो वर्षमा अनुसन्धानात्मक पेपर बुझाउनु पर्थ्यो। हामी जनसङ्ख्याका विद्यार्थीहरू पनौती नगरपालिका वडा नम्बर २ का घरधुरीहरू चाहार्दै छौं।
‘महिलाहरूको सामाजिक आर्थिक स्थिति’ शीर्षकमा डाटा सङ्कलन गर्न कटिबद्ध छौं। सत्यवती, शोभा, रुक्मणि, रामयाया र म। पनौतीको पावन भूमिमा हाम्रो स्वागत गर्दैछन् स्थानीयहरू।
कतै भुटेको मकैले हाम्रो स्वागत हुन्छ। कतै दही, मोही र भुटेको भटमास चपाउँदै तीन दिन लगातार हिँडेका साथीहरू मलाई इन्द्रेश्वर बहुमुखी क्याम्पसको झ्यालैबाट बोलाउँदै मुस्कुराउँछन्।
मलाई स्मरण हुन्छ, यताको मौसम बडो मोहिनी हुन्थ्यो। पानी पर्ने बित्तिकै चिसो चिसो बतासले हृदय स्पर्शित गर्थ्यो। सिमसिम पानी पर्दा घरी इन्द्रेणी मुस्कुराउँथ्यो त घरी आँखै अगाडि भुइँ कुहिरोले छोप्थ्यो।
मैले छोडेर गएका अनेकौं भुइँ कुहिरोहरूको स्मरणले विगलित पार्यो। मेरा गोडामै आएर स्पर्श गर्ने भुइँ कुहिरोलाई २३ वर्षपछि भेट्न आएकी छु पनौतीमा। हृदयको पुकार पनौतीले सुनेछ। बाहिर सिमसिम पानी पर्न थाल्यो। मेरा आँखा भुइँकुहिरो छाम्न थाले। पर आकाशमा देखेँ मलाई नै नियालिरहेका बादलका सेता सेता टुक्राहरू। ती बादलहरू पनि चिरपरिचित लागे। हेरिरहेँ बादलको बिन्दास मुहार। ती बादल आकाशबाट ओर्लिएर झ्यालबाट भुत्तभित्र पसे र मेरो कानैमा फुस्फुसाए, ‘हामी तिमीसँग रिसाएका छौं। हृदयमा अगाध स्नेह, श्रद्धा र प्रेम बोकेर पनि तिमी किन पनौती आइनौ? काठमाडौंबाट कति टाढा थियो र पनौती? पनौतीमा आएपछि मात्र मुखले ठिक्क पारेकी त होइनौं? नत्र किन बिलम्व गर्यौ यतिका वर्ष हामीलाई भेट्न? तिमीले छोडेर हिँडेका भुइँकुहिराहरू अब ठूला भैसके, चिन्यौ ?’ बादलका कुरा सुनेर म झल्यास्स भएँ।
अतीतमा मैले छोडेका मेरै पैतालाका अनगिन्ती डोबहरूले मलाई हेरेर बोलाई रहे। वर्तमान अगाडि आयो।
सभाहलमा कार्यक्रम सम्पन्न हुँदैछ। हृदयको कानले कविता सुन्दैछु। स्मृतिको आँखाले २३ वर्ष अगाडिको समय, सद्भाव, सहयोग, सन्दर्भ र संवादको वृत्तचित्र पनि नियाल्दै छु। मेरो मन, मस्तिष्क र हृदय बडो आह्लादकारी भएको छ। हिजो र आजको अमूल्य समय समेट्दै सम्पन्नशाली भएकी छु। कार्यक्रम सञ्चालकले कविता वाचनको लागि मलाई रोष्टममा आमन्त्रित गर्नुहुन्छ।
म मन्द मन्द मुस्कुराउँदै अगाडि जान्छु। बोल्नु पर्ने त थोरै छ तर पनि मैले भर्खरै हेरेको मेरै स्मृति बिम्वका सजीवचित्रहरू साझा गर्छु र ‘चन्द्रमामा सेल्फी खिचौंला’ शीर्षकको कविता वाचन गर्छु।
कार्यक्रमको समापन भन्दा ठीक अगाडि मूर्धन्य साहित्यकार लक्ष्मण गाम्नामे दाजुको व्यङ्ग्य कविता सुनेर आनन्दविभोर हुन्छु।
सबै साथीहरूका कविता, गीत, गजलमा रमाउँदै पनौतीको ऐतिहासिक उत्पतिको कथा, धार्मिक, सामाजिक, साँस्कृतिक र पर्यटनका बहुआयामिक विशेषता बोकेको पनौतीको महिमा सुन्दै कार्यक्रम सम्पन्न भएको घोषणा हुन्छ।
नेवारी खाजा इन्द्रेश्वर क्याम्पसको माथिल्लो तलामा बसेर बडो आनन्द मान्दै खान्छौं। चारैतिरबाट देखिन्छ पनौतीको पावन भूमि। मेरो आँखामा सुटुक्क आएर बस्छ हिजो र आजको पनौती।
बजार, बस्ती ,पुण्यमाता र पनौतीको सम्पूर्ण सौन्दर्यलाई हृदयको आँखामा सुरक्षित गरेर पुनः काठमाडौं फर्किन्छौं। गाडी गुड्दै छ काठमाडौंलाई भेट्न। म मनभरि पनौती बोकेर सोच्दैछु साहित्यको सम्बन्ध, शक्ति र सम्मान।
यो अवसर जुराएर मलाई पनि पनौतीसम्म पुर्याउने डाक्टर गोविन्दराज भट्टराईप्रति आभारी हुँदै नमन गर्छु। पनौतीका हरेक साहित्यिक गतिविधिमा सचेत भएर लागेका सक्रिय स्रष्टा सूर्य लाकोजू साँच्चै सूर्य भएर उदाएका रहेछन्।
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)