म रोशन एकदमै मिल्ने साथी थियौं। हाम्रा बाल्यकालका हजारौं यादगार पल छन्। बाख्रा चराउन जाँदा भुटेको मकै खाँदै रोशनले भन्थ्यो 'साथी तिमी र म बिहे पनि एउटै गर्नु पर्छ है' म ऊभन्दा अलि बुझ्ने भइसकेको थिएँ। 'उम्' भनेर हाँसेर टारिदिन्थेँ।
हामी एउटै विद्यालयमा अघिल्लो पछिल्लो कक्षामा पढ्थ्याैं। म कक्षा पाँचमा पढ्थेँ, ऊ चाहिँ कक्षा चारमा। एक दिन बाख्रा लिएर वनतिर गएका थियौं। मेरो जिल्लास्तरीय परीक्षा नजिकै आउँदै थियो।
'हामी अब एउटै कक्षामा पढ्नु पर्छ है साथी, तिमी यो पटक फेल हौ।' मैले उसको प्रस्ताव नकार्न सकिनँ।
जिल्लास्तरीय परीक्षामा मैले केही लेखिनँ। खाली उत्तरपुस्तिका बुझाउँदा पास हुने कुरो नै भएन। म र रोशन एउटै कक्षामा पढ्न पाएकोमा अत्यन्तै हर्षित थियौं।
ऊ बेला जिल्लास्तरीय परीक्षामा पास हुनेको चर्चा गाउँभरी हुन्थ्यो। पाँच कक्षामा फेल भएको कुरा बुबाआमाले थाहा पाउनु भयो। आमाले गाली मात्रै गर्नु भयो। बुबाको सिस्नो र लठ्ठी समेत खाएँ। सिस्नाेकाे पाेलाइ र लठ्ठीकाे दुखाइ भए पनि मिल्ने साथी सँगसँगै पढ्न पाउनेमा खुसीले गदगद थिएँ।
बाल्यकालका अलिअलि उट्पट्याङ नगरेको कस्ले होला? बाख्रा गोठालो गएको बेला दिनभर बाख्रा अरूको घाँसे मेलामा छोडेर खोलातिर दहमा नुहाउँदै थियौं। मेलाको मालिक आएर लुगा लगेर दिनभर पानीमै बस्नु पर्यो। बेलुका पिडालुको पातले लाज ढाक्नु परेकोले कम्ता बेजोग भएको हैन।
बाख्रा गोठालो मात्रै हैन बिदाको दिन गाईगोरु लिएर गोठालो पनि खुबै गइन्थ्याे। हाम्रा गाईगाेरु पनि हामीहरू जस्तै मिल्थे। हामीलाई खेल्न नदिएर हैरान गर्ने भएकाले उसले मेरो एउटा रातो गोरु र उसको माले गोरुको पुच्छर बाँधी दिएछ।
दुबै गोरु फरक दिशामा दौडिन खोज्दा मेरो गोरुको पुच्छर आधा चुट्यो। त्यो चुटेको पुच्छर उसको गोरुको पुच्छरबाट झिक्न सकिएन। अब बुझ्नुहोस् घरमा हामी माथि कस्तो धुलाई भयो होला! गाेरुले पनि झुट बोल्ने ठाउँ दिएन। चिसो रात दुबै जना पराल राखेको ठाउँ मुनि काट्यौँ। घरपरिवारले रातभर खोजे हामीलाई भेट्न सकेनन्। हामी बिउँझिँदा बिहानको छर्लङ्ग घाम लागिसकेको रहेछ। डर र चिसोले मुटु काँपिरहेको थियो। बुवाले ठूलो आँखा बनाएर हेर्नुभयो। आमाले सम्झाउन थाल्नु भयो।
बिदाको बेलामा घरपरिवार सँगसँगै खेतमा जाँदा छुट्टै रमाइलो हुन्थ्यो। वर्षे बिदामा खेतमा गएर हिलो छ्याप्नुको मज्जा बेग्लै! अहिले यस्तो लाग्छ जीवनमा महत्त्वपूर्ण उमेर नै बाल्यकाल रहेछ। बाल्यकालमा मान्छे आफ्ना लागि, आफ्ना खुसीका लागि बाँचिरहेको हुन्छ जब उमेर बढ्दै जान्छ सबै अरूका लागि गर्नुपर्ने रहेछ।
धन, मान, इज्जत कमाउनु मात्रै हैन खुसी पनि अरूका लागि हुनुपर्ने रहेछ! कति कमाइस् ? कति पढिस् ? के गर्दैछस् ? बिहे गरिस् ? यावत प्रश्नले लखेटिएका हन्।
घोत्लिएर सोच्छु यो जीवन मेरो रहेनछ। मैले चाहेर पनि नफर्किने, मुल्य तिरेर पनि नपाइने बालापन रहेछ। बालापन सँगै मेरा सबै कुरा हाराए।
हामी दुबै जनाको इच्छा ठूलो भएपछि शिक्षक बन्ने अनि बालबालिका पढाउने। त्यो बेला शिक्षकको मर्यादा आजभन्दा कयौं गुना माथि थियो। कसैले पढेर के बन्छौ भन्दा हामी दुबै जनाको एउटै जवाफ हुन्थ्यो शिक्षक!
हामीहरू शिक्षण पेशामा आकर्षित हुनुको कारण अर्को पनि हुनुपर्छ गल्ती गर्दा कहिलेकाहीँ गुरूहरूले दण्ड दिनुहुन्थ्यो। भोलि हामी पनि शिक्षक भयौं भने आफ्नो बदला लिन पाइन्छ भन्ने बालमनोविज्ञानमा नकारात्मक प्रभाव परेको हुनुपर्छ।
रोशन र मेरो पढाइ अब निरन्तर नै अघि बढ्यो। माध्यमिक तहको विद्यालयमा पुग्न झन्डै तीन घन्टा हिँड्नु पर्ने बाध्य थियो। अहिले जस्तो माध्यमिक तहका विद्यालय नजिक थिएनन्। अर्को गाउँमा पढ्न जानुपर्ने परिस्थिति थियो। हामी दुबै जना एसएलसी पास भयौं। सहरमा पनि सँगै पढ्ने निधो गर्यौं। शिक्षण पेशामा जानका लागि शिक्षाशास्त्र अध्ययन गर्नुपर्ने रहेछ। हामीहरूको बाल्यकालको रोजाइ पनि त्यहीँ थियो अब हामी शिक्षाशास्त्र लिएर अध्ययन सुरू गर्याैं।
सहरले रहर मात्रै पलाएनन् ,सपना पनि देखायो अभावमा बाँच्ने कला पनि सिकायो। चिउरा र चाउचाउले रात काट्न सिकायो। साँच्चिकै मानवसँग मानवीयता हराएको गतिलो पाठ सिकायो। सबभन्दा बढी त स्वार्थी बन्न सिकायो। सोझो मान्छेलाई सहरमा बस्न र बाँच्न गाह्रो हुने रहेछ। मैले बुझेको सहर पैसा हुने वर्गका लागि ठिक छ गरिखाने वर्गका लागि गाउँस्वर्ग हो।
हामी दुबै जनाले शिक्षा शास्त्रमा स्नातकोत्तर गर्यौं। सहरको बसाइ अत्यन्तै महङ्गो भयो। संस्थागत विद्यालयमा पढाउँदा खर्च धान्ने स्थिति भएन। म गाउँतिर फर्केर गाउँकै सामुदायिक विद्यालयमा पढाउने निधो गरेँ। रमेश सहरमै बसेर संस्थागत विद्यालयमा पढाउन थाल्यो। उमेर बढेसँगै जिम्मेवारीहरू पनि बढ्ने, परिवारको अपेक्षा पनि बढ्ने रहेछ। सबै घरपरिवार , छरछिमेकको चासोको विषय बन्ने रहेछ। आफ्नो गाउँमा शिक्षा जस्तो पवित्र पेशामा सेवा गर्न पाउनु आफैलाई भाग्यमानी सम्झिन्छु। जुन कर्म मनदेखि नै गरिन्छ यसमा सन्तुष्टि पनि धेरै मिल्ने रहेछ।
करिब एक वर्षपछि रोशनलाई फोन गरेँ! गाउँमा नेटवर्क नभएकोले हामीबीच सम्पर्क हुन पाएको थिएन। बल्ल गाउँमा फोन लाग्न थाल्यो। ऊ सहरमै खुसी थियो म गाउँमै खुसी थिएँ। मैले सधैं उसलाई फोन गर्दा गाउँ कहिले फर्किने भन्ने प्रश्न गर्थे ऊ आउँछु मिलाएर यस्तै उत्तरले टार्ने गर्थ्यो।
म गाउँ आएको पनि पाँच वर्ष बितेको पत्तै भएन। म प्राथमिक तहमा स्थायी भएर शिक्षण पेशामा दत्तचित्त भएर लागिसकेँ। रोशन भने सहरतिरै बरालिँदै थियो।
एकदिन साँझतिर रोशनले मलाई फोन गर्यो ऊ पहिले जस्तो खुसी थिएन। मन भारी गरेर बोल्दै थियो। केही हराए जस्तो केही बिराए जस्तो मनभित्रबाट बल्लतल्ल साउती आवाजमा 'साथी म विदेश जाने भएँ ल!'
'अनि तिम्रो शिक्षक बन्ने रुचि ?'
उसले भन्यो, 'मान्छेका रुचि र इच्छाले मात्रै नहुने रहेछ साथी! परिस्थितिले कसलाई कहाँ पुर्याउँछ त्यो थाहा नै नहुने रहेछ।'
'यति छिट्टै? कसरी सम्भव भयो विदेश जाने कुरा?'
'म डिपेन्डेट जाँदैछु अब एक हप्ता पछि अस्ट्रेलियाको फ्लाइट छ।'
'काका काकीलाई खबर गर्यौ?'
'अहँ गरेको छैन समय आए भन्छु तिमी बाआमालाई केही नभन्नु'
मैले पनि काकाकाकीलाई खबर गरिनँ। पछि थाहा भयो बाआमालाई पनि खबर नगरी उडेछ। मैले धेरै प्रयास गरेँ रोशनलाई रोक्न। म हारेँ, उसले जित्यो।
मलाई जसरी पनि काठमाडौं आउन भनेको थियो। मैले विद्यालय बिदा पाइनँ, त्यसैले काठमाडौ जान सकिनँ।
फोनबाट भए पनि शुभयात्रा भन्न फोन गरेँ, फोन उठेन।
एक पटक हैन धेरै पटक फोन गरेँ फोन उठेन अन्तिममा फोन नै अफ भयो उडेछ क्यारे! रातभर निद्रा लागेन।
मलाई बुझ्ने सबैभन्दा उहीँ थियो, उसैले मेरो परिस्थिति बुझेन। रिसाएकोले होला फोन नै उठाएन। देशको लागि एउटा युवा विदेसियो, रेमिटेन्स भित्रिने भयो तर मेरा लागि बालसखा उड्यो, हाम्रा हजारौं सपना उडे, योजना उडे।
मलाई बल्ल एक्लिएको महसुस भयो। हामी बाख्रा गोठालो जाँदा मात्रै हैन, सहर पसेपछि पनि गाउँ फर्केर गाउँमा गर्ने थुप्रै योजना थिए। शिक्षणसँगै कृषिलाई साथमै लगेर गाउँका युवाहरूलाई रोजगारी दिने लक्ष्य थियो। सबै योजना र सपना सिसाको महल चकनाचुर भए।
म आज पनि त्यहीँ गाउँमा छु जहाँ म र रोशन खेल्थ्यौँ, रमाउथ्यौँ। पहिले जस्तो भिरपाखामा बाख्रा लिएर गोठालो नगए पनि समय मिलाएर हामी हुर्केको बढेको, रमाइलो गरेको ठाउँ जाने गर्छु।
रोशन मलाई छोडेर गए पनि उसका यादहरूले मेरो सात कहिल्यै छोडेका छैनन्। काकाकाकीले मलाई रोशन जस्तै माया गर्नु हुन्छ। घरमा पाकेको मिठो मसिनो मेरो भाग नलगाएर खान सक्नु हुँदैन। पहिले जस्तो गाउँमा युवाहरू छैन। गाउँ शून्य छ, भएकाहरू पनि बसाइसराइ गरेर सहरतिर लागिसके। मैले सानोमा देखेको गाउँ र आजको गाउँको स्वरूप नै परिवर्तन भएको छ।
लहलह झुलेका धानका बाला खेतीयोग्य जमिन कतै पनि खाली हुन्थेन। जतासुकै हरियाली दसैंमा कति रमाइलो हुन्थ्यो बयानगरी साध्य छैन। अचेल गाउँमा घरहरू रित्तै छन् खेतीयोग्य जमिनमा तितेपानी र वनमाराको झार उम्रेको छ। विद्यालयका कक्षाकोठा रित्तै छन्। गाउँ डुल्यो भने महिला र वृद्धहरू मात्रै भेटिन्छन् साँच्चिकै गाउँ शून्य छ।
पहिले बाटो थिएन, मान्छे थिए अहिले बाटो पुग्यो मान्छे छैन। दिनप्रतिदिन गाउँ खाली हुँदैछ, युवाहरू विदेश जाने लहरले देशमा केही गर्न सकिँदैन। खुसीहरू किन्न विदेश जानैपर्छ भन्ने भाष्य निर्माण भएको छ यो गाउँ र देशका लागि दु:खद् पक्ष हो।
देश निर्माणमा आफ्नो ऊर्जावान समय देशका समर्पित गर्नुपर्ने युवा आज देश बनेन भनेर विदेशी भूमिबाट फेसबुकमा पोस्ट हाल्नुपर्ने बाध्यता छ।
आफ्नो परिवार र मातृभूमि छोडेर जाने रहर कसलाई पो हुन्छ र!
आमाको काखमा बुवाको आशीर्वादमा देशमै बस्ने रहर हुँदाहुँदै पनि पैसाले गरिबी हटाउन विदेशी भूमिमा आफ्नो ऊर्जाशील समय र पसिना बगाउनु नेपाली युवाहरूको दुर्भाग्य हो। गलत नेतृत्व र नेताले देशलाई कसरी बर्बादीतिर जान्छ भन्ने प्रष्ट उदाहरण नेपाल पनि एक हो। पटकपटक देश बनाउने कसम खाएर छानिएकाहरू नै आफू र आफ्नाहरू बनाउन थाले फलस्वरूप लाखौं रोशनहरू विदेशी भूमि आफ्नो कर्म थलो बनाउन बाध्य भए। यहीँ परिस्थिति रहने हो भने गाउँ खण्डहर बन्नेछ, गाउँमा घरहरू भूतबंगला बन्ने छन्। मलामीहरू नपाएर लासहरू खेतमा शमासान घाट बनाएर गाढ्नु पर्ने हुन्छ। हामीले मात्रै देशको चिन्ता गरेर केही नहुने रहेछ देशको मूल बाघडोर समालेकाहरू कानमा तेल हालेर सुतिरहेका छन्। नेताहरू बेलाबेला गाउँमा आउँछन् मिठा सपना बाँड्छन्, चिल्ला गफ दिन्छन् हामी त्यहीँ सपना सयर गर्छौं तर हात लाग्यो शून्य!
रोशन अस्ट्रेलिया गएको पनि दुई वर्ष पुगिसक्यो। ऊ विदेश उडेदेखि मेरो कुराकानी भएको छैन। सामाजिक सञ्जालमा पनि धेरै खोजेँ सायद कुनै अर्कै नाम राखेको होला भेटिनँ।
रोशन मेरो प्यारो साथी तिमी मेरो यो लेख पढिरहेको छौ भने तिम्रो प्यारो साथी एक्लै गाउँमा कुरिरहेको छ। तिमीलाई गाउँले पर्खिरहेको छ। बुढा बाआमाले तिम्रो बाटो हेरिरहेका छन्। तिमी गाउँ फर्किऊ हामीले गाउँमा केही गर्नु पर्छ। मातृभूमिले हामीलाई के दियो भन्दा पनि हामीले के दिन सक्छौ ? साथी तिम्रो बिदाइमा विमानस्थलमा आउन सकिनँ, मन नदुखाऊ!
अब तिमी नेपाल फर्किने दिन खबर गर्नू म विमानस्थलको यात्रु बाहिरिने कक्षमा फूलको गुच्छा र खादा लिएर स्वागत गर्न आइपुग्नेछु। यो तिम्रो प्राणभन्दा प्यारो साथीको बाचा हो। तिमी आऊ ल! तिमी नेपाल फर्किनु पर्छ।