घटना–१: केही समयअघि भएको त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा सहभागी हुने अवसर जुट्यो।
एकै पटक १२ हजार बढी विद्यार्थी दीक्षित भए। समारोहमा विद्यार्थी अभिभावक तस्बिर खिचाउन व्यस्त थिए। मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए। उनले प्रमुख वक्ताको रूपमा भाषण गर्दै भनिरहेका थिए, ‘अब युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्छौं, रोजगारीको लागि विदेसिनु पर्ने बाध्यताको अन्त्य गर्छौं, दक्ष र सीपयुक्त जनशक्तिको हामीलाई खाँचो छ।’
त्यो भीडमा दीक्षित भएका ४/५ जना विद्यार्थीको समूहको गफगाफले मलाई तान्यो। त्यो समूहमा कुरा चल्दै थियो, ‘पढ्न त पढियो, के गर्ने? कता जाने? त्यही समूहमा अर्का एक जनाले अब आफू विदेश जाने सोचमा रहेको सुनाए। प्रमुख अतिथि प्रचण्डले देशमै रोजगारी सिर्जना गर्छौं भनिरहेको भाषणलाई बेवास्ता गर्दै उनीहरू विदेसिने गफ चुटिरहेका थिए।
घटना–२: एकदिन मर्निङ वाकको क्रममा बिहानै पुतली सडकको एक चिया पसलमा पुगेँ। त्यो चिया पसलमा पिठ्यूँमा झोला भिडेका विद्यार्थीको ठूलो भीड थियो। छेउमै बसेको मलाई उनीहरूको गफगाफले आकर्षित गर्यो। उनीहरू लोक सेवाको तयारी गरिरहेका विद्यार्थी थिए। तर, उनीहरू आफ्नो पढाइप्रति विश्वस्त थिएनन्। देशमै रोजगारी पाउनेमा ढुक्क थिएनन्। उनीहरू भनिरहेका थिए, ‘लोक सेवा पढेर पनि के गर्नु, कहिले नाम निस्किने हो ठेगान छैन। योभन्दा चाँडै विदेश गएर पैसा कमाउनु बेस। ती विद्यार्थीको कुरालाई सँगैका साथीहरूले पनि सहमति जनाए।
घटना–३: मन बेचैन हुँदा प्रायः म राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कफी सपमा पुग्छु। मध्यराति अग्लो कफी सपमा बसेर कालो कफीको चुस्की लगाउनुको मज्जा बेग्लै छ, यस विषयमा म अर्को कुनै ब्लगमा प्रष्ट पार्नेछु। तर, अहिले प्रशंगमै जाऔं।
रातिको सवा १ बजेको समय। त्यो कफी सपको छेउमै रहेको टेबलमा ५/६ जनाको समूह। तीमध्ये एक जना विदेश उड्ने तयारीमा थिए। सँगैका उनका साथीहरू उनलाई बिदाइ गर्न आएका थिए होलान् सायद। उनीहरू पनि अब आफूहरू पनि विदेशको तयारी गर्ने कुरा छलफल गरिरहेका थिए। विदेशमा टन्न पैसा कमाएर घरजग्गा जोड्नेदेखि विवाह गर्नेसम्मको गफ हाँसो–मजाक त्यहाँ चलिरहेको थियो।
घटना–५: अनामनगरस्थित पूर्वी गेटको एउटा रेष्टुरेन्टमा एक सरकारी जागिरे युवाहरूको समूहबीच विदेशको बारेमा मस्त छलफल भइरहेको थियो। उनीहरू भन्दै थिए, ‘सरकारी जागिरे भएर पनि केही नहुने रहेछ, चार वर्ष अगाडि अस्ट्रेलिया उडेको साथीले दुई ठाउँमा घडेरी जोडिसक्यो, हाम्रो हालत भने जस्ताको तस्तै छ। बरू विदेशतिरै पो लाग्ने कि!’
घटना–६: शनिबारको दिन। यूएन पार्कमा साथीसँग गफिँदै थिएँ। छेउमै बसेको एक लोभलाग्दो जोडीको कानेखुसी कानमै ठोक्कियो। सायद उनीहरू प्रेमीप्रेमिका थिए। उनीहरूले पनि विदेशको सपना आपसमा साटिरहेका थिए। विदेशमा टन्न पैसा कमाएर फर्किने र धुमधाम विवाह गर्ने सपना सजाइरहेका थिए उनीहरूले।
यी पछिल्लो केही महिनाको बीचमा विभिन्न ठाउँमा सुनेको र देखेको दृश्य हुन्।
हुन त सडकदेखि सदनसम्म बिदेसिरहेका बहसहरू पर्याप्त सुनिन्छन्। तर, त्यो समस्या हो वा अवसर? समस्या हो भने समाधान किन खोजिँदैन? अवसर हो भने यति धेरै बहसको विषय किन बन्यो? अहिले देशको आर्थिक स्थिति नाजुक छ। व्यवसायीहरू व्यापार नभएर छटपटिरहेका छन्। तर, यही बीचमा मान्छेलाई विदेश पठाउने कन्सल्टेन्सीहरूको व्यापार भ्याइनभ्याई छ। अहिले चुल्हो चौकामा विदेसिने गफले प्राथमिकता पाइरहेको छ।
हिजो विवाहका लागि छोरी दिन आनाकानी गरेको मान्छेले आज केटा विदेश छ भने हुरूक्कै भएर केही सोधपुछ नगरी छोरी सुम्पिने अभ्यास तपाईं हाम्रा लागि नयाँ नहुन सक्छ। हिजो विदेश भनेर थाहै नपाउने आमाबुवाका लागि आज छोराछोरी कुन देश पठाउने भन्ने विषयले टाउको दुखेको हुनुपर्छ। हिजो नेपालमै केही गर्छु भनेर लागिरहेको तपाईंको साथी, तपाईंको अंकल वा तपाईंको भाइ आज विवश बनेर विदेसिँदै गरेको तस्बिरले तपाईंको मन पोल्न सक्छ।
पढाइमा स्नातक पास गरेको एक जना भाइ केही दिनअघि मात्रै विदेसियो। स्नातक पढ्दै गर्दा उसले भन्थ्यो, ‘जे गर्छु स्वदेशमै गर्छु।’
स्नातक पास गरेपछि काठमाडौंमा उसले १० महिना समय लगाएर जागिर खोज्यो। अहँ, तर काम पाएन। उसो त ऊ स्नातकमा पहिलो श्रेणीमा पास भएको थियो। काम गर्न पनि राम्रै आउँथ्यो। कामका लागि दर्जनौं संस्थामा अन्तर्वार्ता दियो। तर, ऊ छनोट हुन सकेन। धेरै दिन काठमाडौंमा चल्न सक्ने स्थिति नभएपछि उसले छिमेकीहरूसँग ऋण काढेर विदेश लाग्यो।
उसलाई विदेशका लागि विदाइ गर्न म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेँ। १० महिनासम्म काठमाडौंमा काम खोज्न भौंतारिएको त्यो भाइको मुहारमा विदेश जाँदाको दिन बेग्लै किसिमको खुसी देखिन्थ्यो।
हो, विमानस्थलबाट विदेसिँदै गर्दा आफन्तहरूसँग अंकमाल गर्दै बर्बरी आँसु खसालेको दृश्यले जोकोहीलाई पनि भावविह्वल बनाउँछ। आँसु नखस्नेको आँखामा पनि आँसु झर्छ। तर, ती भाइ मुस्कुराउँदै विदेश लागे। मैले अर्को दिन भिडिओ कल गरेर उसलाई त्यो कुरा सोधेँ।
उसले जबाफमा भन्यो, ‘मलाई जतिसक्दो चाँडो नेपाल छोड्ने मन थियो।’ हिजो जे गर्छु स्वदेशमै गर्छु भनेर अडान राखेको त्यो भाइ मेरै अगाडि मुस्कुराउँदै विदेश लाग्यो।
यो विडम्बना अहिले अधिकांश युवाको बाध्यता हो। साहुबाट ऋण काढेर उज्वल भविष्यको सपना देख्दै विदेसिने युवाहरूको संख्या दिनप्रतिदिन बढ्दो छ। हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार ५९ लाख ६९ हजार नेपालीले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन्। यो क्रम अझै बढ्ने देखिन्छ। सहरमा बसेको हुनेखाने मात्रै होइन एउटा ग्रामीण परिवेशबाट सहर छिरेको व्यक्तिलाई पनि अहिले पहिलो प्राथमिकता विदेश परिरहेको छ। मिटरब्याजमा साहुबाट ऋण काढेर विदेसिनु नेपाली युवाहरूको बाध्यता बनिसकेको छ।
एउटा विकट ग्रामीण बस्तीमा ढुङ्गामाटो र घाँस दाउरासँगै बाल्यकाल बिताएको युवाको चाहना, सपना र रूचि अहिले विदेश भइरहेको छ। बाल्यकालमा गाउँमै अध्ययन गरेर उच्च शिक्षाका लागि सहर पस्दा त्यो विद्यार्थीको मानसिकता विदेशको गफले मोहित पारिसकेको हुन्छ। देशको राजनीतिक घटनाक्रम, व्याप्त भ्रष्टाचार, अस्थिर राजनीति, बढ्दै गएको व्यावसायिक निराशा र बेरोजगारीको समस्याले उसको दिमाखमा विदेशको भूतले डेरा जमाइसकेको हुन्छ। बिडम्वना सुन्दर सपनासहित छोरा/छोरी उच्च शिक्षा पढोस् भनेर सहर पठाएका बुबाआमाको थाप्लोमा विदेश पठाउने ऋणको भारीले थिचोरिरहेको छ।
ग्रामीण भेगमा जन्मिएको उसलाई न विदेशको भाषा संस्कृति थाहा हुन्छ न त ऊसँग कुनै सीप नै हुन्छ। विदेश गएर मनग्य पैसा कमाउने, साहुको ऋण तिर्ने र आमाबुवालाई खुसी पार्ने उसको सपनामा सीप अभावको कारण ब्रेक लाग्छ। परिणामतः विमानस्थलबाट मुस्कुराउँदै विदेसिएका ऊ विदेशमा पनि रूँदै बस्न विवश हुन्छ। यो लाखौं नेपाली युवाहरूको यर्थाथता हो। विदेश गएपछि रूखमा पैसा फल्छ जस्तै ठानेकाहरू विदेश पुगेपछि २४ सै घण्टा काम गर्दाको पीडा सुन्दा असह्य हुन्छ।
हुन त नेपालमा युवाहरूको विदेसिँदो प्रवृति देख्दा चिन्ता चासो नराख्नेको कमी छैन। तर, संसद भवनभित्र युवा विदेश जानु हुँदैन भनेर गफ लगाउने अधिकांश सांसदकै छोराछोरी विदेशमा छन् भन्ने एउटा गर्ने अर्कै राजनीतिज्ञको प्रवृतिले देशलाई नराम्रोसँग पछाडि धकेलिरहेको छ।
युवाहरूमा राजनीतिक विश्वास घटिरहँदा बेरोजगार युवा मात्रै होइन, बैंकर, चिकित्सक, शिक्षक, पत्रकार, सरकारी कर्मचारी र चार्टर्ड एकाउन्टेन्टहरू समेत धमाधम विदेसिरहेका छन्। देश नछोड्दा भविष्य बन्दैन र सजाएका सपनाहरू पूरा गर्न सकिँदैन भन्ने मानसिकता र बुझाइ अधिकांशमा छ।
राजनीतिज्ञहरू र सरकारी कर्मचारीहरू इमानदार नबनिदिँदा देश विकासमा समस्या भइरहेको छ। राजनीतिलाई पेशा ठानेर सन्ततिका लागि पनि सम्पत्ति जोड्ने प्रतिस्पर्धामा राजनीतिक नेतृत्व र सरकारी कर्मचारीहरू देखिन्छन्।
रोजगारी पाएकाहरूलाई सुरक्षित काम गर्ने किसिमको वातावरण सिर्जना नगर्दा, काम नपाएकालाई रोजगारी प्रदान गर्ने, क्षमता अभिवृद्धि तथा सीपमूलक तालिम नसिकाउँदा युवाहरू विदेश पलायन भइरहेका हुन्। व्यवसायी नाफाखोर हुन्, कर्मचारीहरू घुसिया हुन् भन्ने सरकारी गलत बुझाइ र मानसिकताले देशलाई समेत समस्यामा पारिरहेको छ।
देश विकासभन्दा सत्ताको लागि संसद भवनमै कुस्ती खेल्ने राजनीतिज्ञको कारण युवाहरू निराश हुँदै पलायन भइरहेका छन्। बेरोजगारी, व्यावसायिक वातावरणको निर्माण, कृषि, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकास तथा विस्तार गर्ने विषय प्राथमिकता पर्नु पर्नेमा सांसदहरूको बहस व्यक्तिगत इगो साँध्नमा देखिन्छ।
यस्तो किसिमको गलत अभ्यास गरिरहेका पात्र र प्रवृतिका कारण युवाहरू देश छोड्न हतारो गरिरहेका छन्।
जब देशको नेतृत्व वृद्धहरूले गर्छन्। संसदमा वृद्धहरूको मात्रै भीड हुन्छ। त्यहाँ स्वार्थ हुन्छ। अर्थात् त्यो ठाउँमा भ्रष्टाचार हुन्छ। किनकि युवाहरूभन्दा वृद्धहरूमा बढी लोभ, लालच र स्वार्थ हुन्छ। वृद्धहरू देशभन्दा बढी परिवारलाई सोच्छन्। अब त्यो लालचीपन हटाउन संसदमा युवाहरू भरिनुपर्छ। पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सूचना पूविधिमा युवाहरूलाई अगाडि सार्नुपर्छ।
नयाँ सम्भावनाको खोजी गरेर रोजगारी सिर्जनातर्फ ध्यान दिनुपर्छ। अहिले नेपालको निर्वाचन प्रणाली खर्चिलो छ। भ्रष्टाचार बढाउने एउटा अस्त्र निर्वाचन पनि हो। निर्वाचनलाई बढी खर्चिलो नबनाउनेतर्फ ध्यान दिनुपर्छ। स्थानीय उत्पादन बढाएर बढीभन्दा बढी निर्यात गर्न सक्नुपर्छ। जहाँ युवाहरू परिचालन होऊन्। काम नपाएर विदेशबारे सोच्ने होइन आफ्नै देशमा व्यस्त भएर विदेश जानेबारे सोच्ने पनि फुर्सद नहुने वातावरणको सिर्जना गर्न सक्नुपर्छ। तब मात्रै हाम्रै जीवनकालमै समृद्ध नेपाल, सुखी नेपाली बन्न सकिन्छ।