स्वदेशमा हुँदा देशका समग्र गतिविधिलाई देख्दा यस्तो लाग्यो थाल्यो कि देशमा बसेर केही हुँदैन। यो देश यस्तै हो, यहाँका मान्छे पनि यस्तै हुन्। भोलि हुने पनि यस्तै हो, भइरहने पनि यस्तै हो। देशको पिर, चिन्ता लिन छोडौँ। अब जति पढे नि यस्तो हो भन्ने लाग्यो।
त्यसपछि स्नातकोत्तर अध्ययन गर्दै गरेको मलाई परदेशको सपना पलाउन थाल्यो। उता पुगेपछि त राम्रो भइहाल्छ नि भन्ने सोचियो। त्यसैले हजारौँ नयाँ सपनाका साथ दुई दशक लामो अध्ययनको यात्रालाई बिट मार्दै परदेश लागियो।
स्वदेश हुँदा परदेशको मोह हुन्छ। लाग्छ कि परदेशमा त रूखमा पैसा फल्छ, भएका आवश्यकता सबै पूरा हुन्छ। तर अहिले म परदेशमै छु। नेपालीहरूको सपनाको देश जापान। हुन त जापानलाई अहिले त्यति नौलो परदेश मानिँदैन जस्तो कि अझै अमेरिका, अस्ट्रेलिया, क्यानडालाई मानिन्छ। तर नेपाली विद्यार्थीहरू धेरै आउने एक गन्तव्य स्थल भने पक्कै हो जस्तो लाग्छ जापान। अन्य विकसित देशहरू मध्ये केही सजिलै भिसा पाउने भएर होला अहिले जापान आउनेहरूको ताँती नै छ भन्दा खासै फरक नपर्ला। जहाँ करिब करिब दुई लाखको हाराहारीमा नेपालीहरूको रहेको अनुमान छ यहाँ।
यही सङ्ख्याभित्र पर्ने एक पात्र हुँ म पनि। परदेशिएको धेरै भएको छैन। परदेशमा के हुन्छ के हुँदैन? परदेशका राम्रा पक्ष के छन्, नराम्रा पक्ष के छ? धेरै कुराहरू जान्न, बुझ्न अनि सिक्न बाँकी नै छ। पछि के कस्तो हुन्छ त्यो समयले आएपछि पक्कै थाहा हुँदै जानेछ।
देश छोडेर परदेशिएको जति दिन भयो, यस अवधिको मेरो अनुभव र भोगाइले यति भने भन्न सक्ने अवस्थामा पुगिसेको छु कि परदेशमा हामीले सोचेझैँ र चाहेझैँ अमनचैन भने पटक्कै छैन।
अहिले म जुन सपनाको देश अर्थात् परदेश छु, यहाँको लागि म बच्चा नै हुँ भन्दा खासै फरक नपर्ला। किनभने मैले यहाँ शून्यबाट आफ्नो सिकाइलाई सुरुआत गर्दै छु। यहाँका धेरै कुराहरू सिक्न र भोग्न र यहाँको वातावरण प्रविधिसँग घुलमिल हुनै बाँकी छ।
जसरी बच्चाहरूले आफ्नो सिकाइलाई कखराबाट सुरुआत गर्दछन्, त्यसै गरी मैले पनि सिक्दै छु। बच्चाले जसरी भोक लागेमा रुन सक्छ, भोक लागेको आमालाई सङ्केत गर्न सक्छ भन्नुको मतलब अहिलेको परिस्थितिले मलाई त्यस्तै त्यस्तै महसुस गराएको छ। अहिले मलाई यहाँका धेरै कुराहरूको ज्ञान छैन, प्रमुख कुरा त यहाँको भाषाको ज्ञान छैन भनौँ।
हरेकको परदेश यात्रा र जीवन यस्तै हुन्छ भन्ने छैन। मलाई जस्तो लाग्यो अर्को परदेशीलाई पनि परदेश त्यस्तै लाग्छ भन्ने पनि होइन। हरेकका परदेशी भोगाइका कथा र व्यथा आ-आफ्नै अनि फरक फरक हुन सक्छ। सबैले यसरी नै लेख्छन् र देखाउँछन् भन्ने पनि छैन।
अहिले मैले बुझेको परदेश के हो? भन्ने कुरालाई मात्र थोरै लेख्न खोजेको हुँ। सबैले परदेशलाई यसरी नै लिन्छन्, यी कुरा सबैसँग मेल खान्छ भन्ने छैन।
पहिलो कुरा नेपालमा हुँदा यस्तो कस्तो काम गरेको हुँ। म फलानाको छोरा हुँ र नेपालमा हुँदा मेरो यस्तो स्ट्याटस थियो, मैले नेपालमा यति पढेको थिएँ भनेर यहाँ कसैले चिन्दैनन्। अर्को कुरा मैले काम त सुरु गरेको छैन तर यति बुझेको छु कि यहाँ कुर्सीमा बसेर गर्ने काम हामीलाई पक्कै छैन।
परदेशमा मेरा दाजुभाइ, दिदीबहिनी, आफन्त वा साथीभाइ छन्। म उता पुगेपछि राम्रै सर-सहयोग पाउँछु, उता पुगेपछि समयमै काम पाउँछु र पैसा कमाउँछु भनेर सोच्ने, उनीहरूसँग आशा राखेर पस्ने ठाउँ होइन रहेछ परदेश। पहिलो कुरा त यहाँको भाषाको ज्ञान हुन आवश्यक रहेछ। आफ्ना र आफन्त परदेशमा छन्, उता गएपछि काम पाइहाल्छ नि भनेर आशा राख्नु हुन्न रहेछ।
आमाले दिएको खाएझैँ, बाबाले दिएर लाएझैँ छैन। दुःखको कमाइ होला, पसिनामा डुबेर आफ्नो निद्रालाई त्यागेर काम गर्न ठाउँ रहेछ विदेश। मनले चाहेझैँ पटक्कै हुँदैन, चित्त बुझाएर बस्न भोग्न पर्छ। डर त्रासले सताउने, रात दिन खटिएर नभनी काम गर्नुपर्ने, पाखा बारीमा गीत गाएझैँ छैन। नेपालमा हुँदा डिस्को र रोधीमा धाएझैँ छैन परदेश।
विदेश आउँदा नेपालबाट लिएको ऋण अनि यताको दुःख पीडाले तड्पिएर बाँच्नु पर्ने, शून्यबाट आफ्नो नयाँ जीवनको सुरुआत गर्नु पर्ने। त्यही अनुरूप आफूलाई तयार पारेर खट्नेहरूका लागि मात्रै हो रहेछ परदेश।
गलत मान्छे आफ्नै भए पनि सीमित सम्बन्ध स्थापित गर्नु पर्ने, सकारात्मक सोचका साथ सङ्घर्ष गर्न मानसिकता बनाउनु पर्ने, मैले नेपालमा यति पढेको थिएँ, यस्तो उस्तो काम गरेको थिएँ त्यो सबै भुलेर जे जस्तो काम भए पनि गर्छु भन्ने सोच राख्नु पर्नेका लागि रहेछ परदेश।
विदेशमा धेरै नेपाली साथीहरू भए पनि मनका त्यति धेरै सफा नहुँदा रहेछन्। धेरै मन खोलेर सहयोग गर्न नेपाली मान्छे कमै भेटिँदा रहेछन्। त्यसमा आफन्त पनि नपर्न सक्छन् भन्ने सोच बनाउने पर्ने। नेपालमाबाट आउँदा कन्सल्टेन्सीले भनेअनुसार यहाँ आएपछि सोचेअनुसार केही पनि हुँदैन। बरु राम्रो ठाउँमा नपरेमा ठ्याक्कै उल्टो हुँदो रहेछ।
आएको दुई, चार महिनासम्म पनि काम नपाउने, त्यसमा पनि तपाईंले आफूले जानेको सीप क्षमताको काम कुनै पनि भेटिँदो रहेनछ। यहाँ यसो भन्दा कतिपयलाई लाग्न सक्छ, नेपालमा त पाइँदैन झन् विदेशमा कहाँ खोजे जस्तो पाइन्छ त? मैले नेपालको जस्तो काम खोजेको होइन तर काम पाउने गाउँभन्दा पनि बजार जस्तो ठाउँमा आउनु पर्ने रहेछ भन्न खोजेको मात्र हो।
सुरु सुरुमा यहाँको भाषाको ज्ञान नहुँदा काम पाउनै गाह्रो, पाएपछि सिक्न केही समय लाग्ने। त्यो समयमा जेजस्तो काम पाए पनि गर्न तयार हुने। होटेलमा पोछा लगाउने, होटेल, रेस्टुरेन्टमा काम गर्ने, ट्वाइलेट बाथरुम सफा गर्ने जस्ता कामहरू।
सबैभन्दा महत्त्वपूर्ण कुरा धैर्यता राख्न जानुपर्दो रहेछ यहाँ नत्र सोचेको जस्तो छैन परदेश, गाह्रो हुनसक्छ। हुन त एउटा भनाइ छ नि, संसारमा हरेक मान्छे दुखी छ तर सबैलाई आफ्नो दुःख सबभन्दा ठुलो लाग्छ। त्यसैले परदेश रहरको रोजाइ होइन बाध्यताको उपज रहेछ।
नेपालमा हातमुख जोर्ने कुनै विकल्प नभएपछि मात्रै विदेश रोज्नुपर्ने परिस्थिति बनाऔँ। हातमुख जोर्ने विकल्प भएसम्म नेपाल नै स्वर्ग रहेछ। स्वदेश हुँदा सोचेको जस्तो समय आएपछि सबैको ऋण तिर्नेछु, कसैले दिएको पैसा, कसैले दिएको पीडा, कसैले दिएको धोका अनि कसैले लगाएका जवाफहरूको भनेको जस्तो सजिलो रहेनछ यता।
त्यसैले खुसी भेटिने हैन, दुःख लुकाउने ठाउँ रहेछ परदेश। बिदेसिनु गर्व हैन, बाध्यता रहेछ। परदेशी जिन्दगी भोग्नेले मात्रै बुझेको छ यहाँको दशा अनि दिशा।