कलेज होटेलको लबीमा जम्मा हुँदा ७ बजी सकेको थियो। '७ बजे लबीमा जम्मा भइसक्ने र ७:५ बजे गाडीमा चढिसक्नु पर्ने' भनी अघिल्लो दिन नै गाइडले भनेकी थिइन्।
२०१९ को डिसेम्बर १८ गते हामी चीनको जेजियाङ प्रान्तको निङ्बो सहरस्थित कलेज होटेलमा थियौँ। सबै जना गाडीमा चढिसकेपछि गाइडले अघिबाट टाउका गनिन्। दुई जना नआएको देखियो। को आएन? हाम्रा बिचमा खासखुस खासखुस चल्यो।
'फलानो र फलानो रहेछन् नआउने' साथीहरूले नाम सुनाए। २ मिनेट जति कुरियो, त्यसपछि गाडी हिँडिहाल्यो। त्यहाँ नेपाली सिमले काम गर्दैन थियो, चाइनिज सिम पाइसकेको थिएन। ठुलो होटेलमा उनीहरू कुन कोठामा थिए, थाहै भएन।
'केही बेर त कुरौँ न' मैले अङ्ग्रेजीमा भनेको थिएँ। तर ती गाइडले मानिनन्। समय व्यवस्थापनमा लापरबाही गर्दा साथीहरू त्यस दिन होटेलमै छुटे।
अब एउटा नेपाली दृष्टान्त हेरौँ। गत माघ महिनाको कुनै दिन रुकुम पूर्वमा एक संस्थाको कार्यक्रम थियो। कार्यक्रमभन्दा पनि त्यो एक प्रकारको सभा रहेछ। निमन्त्रणा पत्रमा कार्यक्रम सुरु हुने समय दिनको ११ बजे उल्लेखित थियो। नेपालमा कार्यक्रम समयमै सुरु हुन्नन् क्यारे, फेरि ११ बजे अफिसमा पनि अलि कामकाजकै बेला हुन्छ। मैले संस्थाका प्रमुखलाई फोन गरेर सोधेँ, उनले ११:४५ सम्म आउँदा ठिकै होला भने।
म सभा स्थलमा पुग्दा थोरै मान्छेहरू मात्रै उपस्थित थिए। ११:५० को समयमा पनि सभाको खासै तयारी थिएन। प्रमुख अतिथि आइसकेका थिए, तर विशेष अतिथिहरू आएका रहेनछन्।
अब विशेषहरूको पर्खाइ सुरु भयो। माघे झरी परेको केही दिन मात्र भएको थियो। पारि सिस्ने हिमालतिर सेतै हिउँ देखिन्थ्यो। केही दिनदेखि घटेको तापक्रमले सबैलाई घाम प्यारो थियो। त्यस कारण सभा स्थलको रापिलो घाममा गफगाफ गर्दै बस्नु पर्दा मान्छेहरूलाई खासै अप्ठ्यारो लागेको देखिन्न थियो।
साढे १२ बज्यो, १ बज्यो। कार्यक्रम सुरु हुने कुनै छाँटकाँट देखिन्न। मान्छेहरू अब भने आत्तिएको भाव देखाउन थाले।
'सिडिओ साब आएपछि कार्यक्रम सुरु गरिहाल्ने हो,' संस्था प्रमुखले बेलाबेलामा प्रष्टीकरण दिइरहे, 'पालिका प्रमुख पनि आउँदै हुनु हुन्छ।'
सवा १ बजेतिर बल्ल एउटा जिप देखियो। सेनानीको रहेछ। १:३० बजेतिर होला, प्रहरीको निलो भ्यान हुइँकिएर आयो, पछि पछि रातो इन्डिकेटर सहितको सेतो स्कारपियो पनि रहेछ। डिएसपी र सिडिओ एकैसाथ मञ्चमा देखिए। सायद संस्था प्रमुखलाई सोधेरै उनीहरू ढिलो आएको हुनु पर्छ।
'अब कार्यक्रम सुरु गरिहालौँ।'
'पालिकाबाट आउँदै गर्नु हुन्छ,' सञ्चालक समितिका अध्यक्षले संस्था प्रमुखतिर हेरेर भने।
२ बज्न खोज्दै थियो, अब भने कार्यक्रम सुरु भयो।
उद्घोषक अलि बोलक्कड परेछन्, उनले भूमिका लामै बाँधे। अब सुरु भयो लम्बेतान अतिथिहरूको आसन गर्ने सिलसिला। सभाध्यक्षज्यू, प्रमुख अतिथि फलानो, विशेष अतिथि फलानो, अर्का विशेष अतिथि, अतिथि फलानो, अतिथि फलानो... उद्घोषकले भट्याइरहे।
उपस्थित भएकाहरू अधिकांशको नाम आइसक्यो, तर उता अतिथिको सूची सकिँदैन।
'सबैलाई अतिथि बनाएपछि सहभागी को हुने हुन्?' छेउको साथी फुसफुसायो।
'र अन्तमा, फलानो संस्थाका फलानोलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु' उद्घोषक बोलिरहेकै छन्।
'र अन्तमा' भन्ने शब्दले अब सकिएछ भन्ने आस जगायो। खासमा अझै सकिएको भने रहेनछ। उद्घोषकले केही अतिथिहरू अझै आउन बाँकी भएकोले आएपछि बिच बिचमा अतिथि आसनको कार्यक्रमलाई जोड्ने प्रतिबद्धता जनाए, मानौँ अतिथि आसन ग्रहण नै यो कार्यक्रमको प्रमुख कार्यभार हो।
अब राष्ट्रिय गानको पालो आयो। मान्छेहरू उठिसके तर राष्ट्रिय गान बज्दैन। उद्घोषकले मोबाइलमा खोजिराखेका छन्, सायद भेट्टाएनछन्। सभाध्यक्ष बनेका सञ्चालक समिति अध्यक्ष यताउता गर्दै छन्।
मैले कुरो बुझेँ, मेरो मोबाइलमा भएको राष्ट्रिय गान बजाइदिएँ र माइकमा जोडिदिएँ। बल्ल, सबैतिरबाट आवाज आयो- 'सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली...।'
हामी मोबाइल वा ट्र्याक बिना राष्ट्रिय गान गाउन नसक्ने भइसकेछौँ। हामीलाई प्रविधिले दास बनाइसकेछ। त्यो पल मलाई यस्तो अनुभूति भयो।
राष्ट्रिय गान सकिए लगत्तै उद्घोषकले छोटो मोटो भूमिकासहित शहीदहरूको सम्झनामा १ मिनेट मौन धारण गर्न अनुरोध गरे। कतिपय मान्छेहरू अल्छी मानी मानी बिस्तारै उठे।
'राष्ट्रिय गान गाइसकेपछि फेरि मौन धारण चाहिन्छ र?' छेउको साथी फेरि फुस्फुसायो। यस विषयमा मलाई खासै ज्ञान थिएन,मैले आफूलाई मौन धारणमा केन्द्रित गरेँ।
यसबिचमा एक जना विशेष अतिथि थपिएछन्, उनलाई आसन ग्रहण गराइयो। नानीहरूले ब्याच, अबिर र खादा लगाइदिई सकेका थिए, प्रमुख अतिथिबाट ब्यानर पढी कार्यक्रमको उद्घाटन भयो। उद्घाटनपछि आयोजक मध्येका एक जनाले स्वागत भाषण गरे।
अब सभामा कार्यपत्र टाइपको प्रगति विवरण पेस गर्ने पालो भयो। संस्था प्रमुखले अघि नै तयार गरी बुकलेटको स्वरूपमा वितरण गरेको विवरण पुनः पढेर सुनाए। यसले समय लामै लियो र कार्यक्रमको खास मक्सद पनि यही कार्यपत्रलाई पास गर्नु रहेछ।
लगत्तै मन्तव्यको क्रम सुरु भयो। सुरुमा विद्यार्थीका प्रतिनिधि, त्यसपछि पत्रकार महासङ्घ, क्रमशः सहकारीका प्रतिनिधि, त्यसपछि उद्योग वाणिज्य सङ्घ, उप्रान्त आयोजक संस्थाका भूतपूर्व सञ्चालक/व्यवस्थापकहरू, प्रमुख प्रशासकीय अधिकृत, शिक्षाका इकाई प्रमुख, पार्टीका सदाबहार नेतागणहरू, प्रमुख जिल्ला अधिकारी, पालिका प्रमुख, समन्वय समितिका उप-प्रमुख, प्रमुख अतिथि, सभा अध्यक्ष... बोल्नेहरूको लाइन लामै देखियो।
शिक्षा सम्बद्ध संस्थाको कार्यक्रम भएकोले उक्त संस्था सम्बन्धित शिक्षाका कुरा गर्नु वाञ्छित नै थियो, तर धेरैले त्यहाँ अमूर्त भाषण ठोकिरहे। कार्यपत्रको विषय एकातिर थियो, संस्थाको अपेक्षा अर्कैतिर थियो। तर भाषण ठोक्नेहरूले मनका भडास पोखिरहे। तीमध्ये एक जना म आफै पनि थिएँ। कुरा नेपालदेखि अमेरिकासम्मका भए तर तात्त्विक र आवश्यक कुरा थोरैले मात्र गरे।
अघिका पारिला घाम डुबिसके। एक एक गर्दै सहभागीहरू घर गइसके। कमलदह तिरबाट चिसो सन्को सुरु भइसक्यो तर वक्ताहरू बोल्न छोड्दैनन्। बसेकाहरूमा पनि एक प्रकारको उच्च बास देखिन्थ्यो। न कुनै रचनात्मक सुझाव, न कुनै प्रेरणाका कुरा। न कुनै समस्याको चिरफार, न कुनै मार्गदर्शन। सबैलाई सबै विषयमा ज्ञान नहुन पनि सक्छ, तर पनि समय खर्च गर्ने र पटरपटर गर्ने दिक्क लाग्दो नियति हर कहीँ दोहोरिरहन्छ, र त्यहाँ पनि त्यस्तै भयो।
हामीलाई ३ बजे उप्रान्त पारि पोखरा जानु थियो। तर ६ नबजी कार्यक्रम सकिएन।
हामी नेपाली समय व्यवस्थापनमा किन यति कमजोर भयौँ? माथिको दृष्टान्त त एउटा प्रतिनिधि मात्रै हो। अधिकांशतिर यस्तै नियति दोहोरिरहन्छ।
यसका लागि कुनै एक जना मात्रै दोषी छैन। हाम्रो सिस्टम नै बिग्रिएको छ। गर्दागर्दै नसक्नु एउटा कुरा हो तर सर्वत्र यस्तै हुनु विडम्बना हो।
हामी एकातिर समय सेड्युललाई तोकिए बमोजिम कार्यान्वयन गर्न सक्दैनौँ भने अर्कोतिर अनावश्यक औपचारिकतामा समय खेर फालिरहन्छौँ। कार्यक्रमका नाममा घण्टौँ फजुल भाषणबाजी गर्छौँ तर कुरोको चुरो पत्तै लाउँदैनौँ।
कमसेकम अब तोकिएका कार्यक्रमहरू समयमै सुरु गर्ने र विरक्त लाग्ने औपचारिकताका चर्याहरूलाई घटाउने मात्र गर्न पाए पनि समय व्यवस्थापनमा सुधार हुन सक्छ। यसका लागि जो जति उपस्थित भए पनि तोकिएको समयमा कार्यक्रम सुरुआत गरिहाल्ने र लम्बेतान आसन ग्रहणका सट्टा प्रमुख अतिथि र अतिथिको नाम पढेर सुनाउने, बोल्नु पर्नेहरूको विषय क्षेत्र र मापदण्ड निर्धारण गरी पहिले नै नाम वाचन गर्ने र कार्यक्रमको निचोड वा प्राप्ति के हो कार्यक्रमको अन्तमा सम-अप गर्ने जस्ता कार्य गर्न सकिन्छ।
जे होस्, समयको उचित व्यवस्थापन गरी कार्यक्रमलाई सृजनात्मक र अर्थपूर्ण बनाउनु आजको अपरिहार्य आवश्यकता हो। यसतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका इकाई प्रमुख हुन्।)