'पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले
म छु भनी भरोसा दिलायो साथीले...'
यो गीत जस्तै हालत बोकी हिँड्नुपर्छ अक्सर मैले। तर यी र यावत जमघटहरूमा आजसम्म कसैले पिलाउन भने सकेको छैन।
८० सालको दसैंको कुरा हो।
दसैंको रमझममा गाउँ आउँदा एसएलसी ब्याच भेट हुने कुरो चल्यो। यतै चौतारी, स्कुल वा डाँडा पाखातिर भेटौं न भनी मैले म्यासेन्जर ग्रुपमा प्रस्ताव राखेँ।
सबैले ठाडै इन्कार गरे।
मैले पत्तो पाइसकेको थिएँ केटाहरूको चालामाला। फेरि फुत्किएर भाग्न पनि नमिल्ने। नभन्दै एक रातको लागि केटाहरूले गाउँकै नदी किनारमा रहेको कटेज बुक गरेछन्। घटस्थापनाको दिन थियो त्यो। दिउँसोको ३ बजेदेखि बसियो। बियरका चिसा सिसाहरू तम्तयार थिए। कुखुराको रोष्ट पनि बनिसकेको थियो। यसो गफसप गर्दा गर्दै खाने मेसो जुरिसकेको थियो। गिलासमा सबैलाई बियर खनाए, म खादिनँ भन्ने पनि थाहा थियो। र पनि केटाहरूको बानी यस्तै हो भन्ने पनि थाहा थियो। चियर्स गर्ने बेलामा मैले गिलास उठाउनै मानिनँ। खान्नँ कि खान्नँ भन्दै ढिपी गर्न थालेँ। फेरि केटाहरूले प्रवचन सुरू गर्न थाले।
एउटा मेरो जिग्री थियो पहिला, अहिले इन्जिनियर भाको छ। त्यसले भन्न थाल्यो, 'संसारको सुखको स्वरूप नै यही गिलासमै छ हेर साथी। जति बेला परिस्थिति, व्यवहार र अप्ठ्याराहरूले कता कता ठुङे जस्तो पोले जस्तो हुन्छ त्यतिबेला यो चाहिन्छ।'
फिजिक्समा मास्टर्स गरेर बेरोजगार बेसेको अर्को साथी बोल्यो। 'हेर साथी, जिन्दगीलाई घरि संघर्षले घरि निरर्थकताले टट्टाइरहन्छ। यस्तै बोझ र विषादहरूबाट जाग्राम हुन समेत गिलास उठाउन पर्छ।'
त्यसपछि मैले उनीहरूको प्रवचन धेरै सुनिराख्न सकिनँ। केटाहरूलाई खुसी पार्न यसो चियर्स गरेर राख्दिन्छु सोचेँ। त्यसो गर्न मात्र पनि कहाँ सम्भव थियो र? गिलासमा मात्रा घट्यो कि नाइँ त्यो पनि सबै हेरिराखेका थिए।
सबैलाई रक्सी लाइसकेको थियो। यही मेसोमा मैले आफ्नो गिलासको रक्सी कसैले नदेख्ने गरी झाडीतिर मिल्काइदिएँ।। रात छिप्पिसकेको थियो। घर जाने बेला र बिल तिर्ने बेला हुन थालेपछि उनीहरू सबै मेरो बखान गर्न थाले।
'तँ त यार डाक्टर मान्छे। हामी केही हुन सकेनौं। ससाना बालबच्चा पढाइ बसेको छु यो गाउँमा। हाम्रो माया नमार बुझिस् नि। जे भए नि तँ त हाम्रो ब्याचको टपर होस् नि। रक्सी नखाने बानी चाहिँ ठिकै हो तेरो। जे भए पनि गाउँको आदर्श होस् तँ। हाम्रो हेडमास्टर पनि भाषण गर्दा तेरै मात्र नाम लिन्छन्।' गाउँकै स्कुलमा राहत शिक्षक बनेको एक जना साथी बोल्यो।
केटाहरूले गनेर नभ्याउने बियरका सिसाहरू खाली बनाएछन्। पैसा भने लगभग सबै मलाई तिर्न लगाए। त्यति बेला त फुर्किएर मैले नि तिर्दिहालें। घर फर्किंदा पो बाटोमा सोचेँ, 'हरे!चियर्स गरेको मात्र पनि यत्रो दाम? यो पिउनेहरूको भिडमा लाग्दा त इज्जत मात्र होइन पैसा पनि सत्यनास हुँदो रछ।अब म कहीँ जादिनँ यस्ता पिउनेहरूसँग।'
यही हिउँदको कुरा हो। जताततै तालिमहरू हुने मौसम। तालिमका सिलसिलामा पोखरा आसपास धेरै घुमियो। ४-५ दिनका तालिमहरूमा अक्सर अन्तिम दिन रमाइलै हुन्छ र त्यहाँ हुन्छ रक्सी र नाच। यो छुपाएर छुप्ने कुरा पनि होइन।
गत माघमा घान्द्रुक जाँदा अन्तिम दिन यस्तै मेसो मिल्यो। जिल्लाका वडा वडा हाकिम आएका थिए। सबै गोल परेर बसेपछि बीचमा आगो फुकियो। खसी ढालियो। अनि सुरू भयो लोकल रक्सी तताएर खान। मैले भने स्वतन्त्र उद्धार गर्दै रक्सी खाँदै नखाने बाचा गरेँ।
'ए डा. साब! के को नाटीकुटी हो? हामी पनि बाहुनै हो क्यारे! कहिलेकसो जाडोमा ज्यान तताउन खाँदा के नै बिग्रन्छ र?' ठूलै हाकिमले यसरी कर गरे।
"कति चाहिँ खानुपर्ने हो? यसो डा. साबले हाम्रो मात्रा मिलाई दिनुपर्ने भो!' अर्का हाकिमले मेरै हस्सि उडाए। जति खाए पनि फ्रि नै थियो। तर यो के जाती तितो झोल चाखेर त्यतैको पथमा जाने कत्ति मन भएन। अनि त मेरो अगाडि रियलको जुस आयो गिलासमा। मेरो अघिको गिलासलाई लिएर सबैले उडाउनु मजाक उडाए। लास्टा त सितन सर्भ गर्न लगाए। आफू होसमा भएपछि पिएर बेहोसी भएकाहरूलाई कोठासम्म पुर्याउने जिम्मा पनि आइलाग्यो। कोही कतै मात्तिएर केही घटना पो घटाउने हुन् कि भन्दै चनाखो पनि भइराख्नुपर्ने। आखिरमा पिउनेहरूको भीडमा पर्दा त बेकम्मा नै बनाउने रहेछन् भन्ने भावले छोयो मलाई त्यो दिन।
यही वैशाखमा साथीको बिहे थियो। ब्याचलर पढ्दाको मिल्ने साथी। बिहेमा त गइयो तर बिहेको परिकारमा रक्सी देख्दा अझ अनिवार्य रहँदा पो अचम्म भएँ। त्यो दिन साथीहरूको सर्कलबाट दुर दुर भागें किनकि आइओएममा छ वर्ष बिताउँदा ती कति जडियाँ छन् भन्ने भेउ मैले पाइसकेको थिएँ। घरि वासरूम जान्थें घरि बाहिर पसलतिर जान्थेँ टाइम पास गर्न। अन्तिममा खानाको प्लेट लिएर के बसेको थिएँ,दुलाहाको बुवा नै आएर 'ओहो! बाबुले यो छुटाउनुभएछ नि' भन्दै गिलासमा रक्सी लिएर आए।
'अंकल म पिउँदिनँ नि' मात्र के भनेको थिएँ, 'धत्तेरी साथीको बिहेमा पनि यस्तो भन्न हुन्छ' भनेर इमोसनल गर्दिए अंकलले।
'हामी त बाउ छोरा सँगै बसेर पिउँछौं' पो भन्न थाले। मैले रक्सीको नाम समेत उच्चारण नगरेका मेरा पिताश्रीलाई सम्झिएँ र आकासपातल फरक पाएँ। जुठो मात्र हालेर त्यो गिलासको रक्सी त्यही छोडेँ। आखिर खेर गयो। नखानेलाई कर लाउँदा अक्सर यस्तै हुन्छ पार्टीहरूमा। आफू नपिउने वर्गको मान्छे हुन पाउँदा समझदार सम्झिएर त्यो दिन पनि घर फर्किएँ।
हिजोआज नै हो एउटी केटीसँग सम्बन्ध अगाडि बढ्ला बढ्ला जस्तो भएको थियो। कुरा चल्दै गयो अनि एउटा मोडमा गएर उसलाई मैले ड्रिंक गर्छौ? भनेर सोधेँ। 'अँ! गर्छु' भनी। उसले पनि मलाई सोधी। 'म त छुँदा पनि छुदिनँ' भनेँ। रक्सी र ममा कुन चुज गर्छौ भनेर सोध्ने घमण्डी पना मैले देखाइनँ। किनकि सबैलाई सबै चिजको स्वतन्त्रता हुन्छ। तर बिस्तारै उसले चुरोट पनि पिउने गरेको थाहा पाएँ। मैले उसका आदतहरूको विरोध गर्न सकिनँ। त्यो विरोध आधुनिकताको विरोध र आफू यथास्थितिवादी भएको प्रमाण हुन्थ्यो। विस्तारै उसका चलनहरूसँग जाँदाजाँदै कतै ठक्कर खाइने डर र उपहासतर्फ मोडिने डरले म गासिरहन सकिनँ। यो सम्बन्धमा नदेखिने दोषी बन्यो रक्सी।
यी त मेरा भोगाइ मात्र हुन्। समाजमा अनन्त दृष्टिकोणहरू छन्। पिउनेले नपिउनेलाई र नपिउनेले पिउनेलाई हरेक चरणमा मिथ्या थोपरिरहन्छन्। विरोधहरूको व्यापार मात्र गर्छन् तर प्राकृतिक होस पाउँदैनन् वा सच्चा सौन्दर्य भेट्दैनन्। यो रक्सी भन्ने पदार्थका बारेमा हामी सबै बुझ्नेहरू छौं। पिउनेहरू केके नै विद्वान भएर नपिउनेलाई आदर्श पनि बाँड्नु पर्दैन होला।वरपरकालाई आफू जस्तै पियक्कड बनाउन पाए ठूलो उपलब्धी मान्ने जमातहरू पनि यो रहस्यको रोइलोबाट उम्केकै राम्रो। जो जहाँ रमाउन खुसी हुन सक्छ आफूलाई तौलिन सक्छ त्यही टाइम एण्ड स्पेसमा उसलाई स्वतन्त्र छोडिदिनु भलाद्मीपन हुनेछ, चाहे त्यो रक्सी होस् वा सम्बन्ध।
अन्त्यमा, मदिरापान स्वास्थ्यका लागि हानिकारक छ।