यो कथा एउटा सफलताको कथा हो। सफलता मेरो आफ्नो मात्रै हैन, सपना देख्न सिकाउने र सपना देख्न खोज्ने सबैको सफलता। कथाको पात्र म आफू भए पनि, यो म जस्ता हजारौँ—लाखौँ ती नेपालीहरूको अनुभव हो जसले तिल जत्रै सानो अवसरलाई धैर्य गरी हुर्काएर गन्तव्यमा लम्किरहेका छन्। त्यति मात्रै हैन, यो अरूको सपना पूरा गर्न आफ्ना चाहना र सम्भावनाको बलिदान दिनेहरूको कथा हो।
बिजुली बत्ती पुग्नुअघि गाउँको पाखामा जन्मिएको म। शिक्षितहरूको सहज जिन्दगी देखेर टुकी बत्तीको उज्यालोमा आमाले कखरा सिकाउनु भयो। हामीले सानोमा पढ्नु परेको भन्दा पनि पढ्ने अवसर पाएको। परिवारमा कान्छो भएको कारण स्कुलमा मात्रै हैन घरमा पनि माथिल्लो कक्षामा पढ्ने दाइ दिदीबाट सिक्न पाइन्थ्यो। दिउँसोमा स्कुल जाने हामी बिहान साँझमा गाउँ तलको पँधेरोबाट पानी बोक्थ्यौँ, खर्यानबाट घाँस दाउरा ल्याउँथ्यौँ, अनि बाख्रा चराउँथ्यौँ। बर्खामा अधियाँ गरेको खेतमा रोपाई गर्दा अनि दिनै जस्तो बिग्रने टारी खेतमा पानी लैजाने कुलो मर्मत गर्दा कार्तिक—मङ्सिरमा झुल्ने धानका बाला सम्झेर खुसी हुन्थ्यौँ।
त्यसो त बाल्यकाल अचम्मैले रमाइलो थियो। चप्पल काटेर बनाएका पाङ्ग्राको गाडी, च्यातिएको मोजामा कागज भरेर बनाएको बल, गुराँसको हाँगाबाट बनाएको भुरुङ, खिर्राको काठको पाङ्ग्रा भएको ट्याम्पो— खेलौना कति कति। च्यातिएका लुगा टालेर लगाउनु सामान्य थियो। पछि बिजुलीसँगै छिमेकीको घरमा आएको टिभीमा शनिबार नेपाल टेलिभिजनमा आउने नेपाली चलचित्र फुर्सदले हेरिन्थ्यो, आइतबार चार बजे स्कुल बिदा भएपछि दौडिँदै फर्केर हिन्दी सिनेमाको लास्ट फाइटको ढिसुम—ढिसुमको नक्कल गरिन्थ्यो।
अहिले सम्झिँदा विश्वासै गर्न गाह्रो समय थियो। गृह युद्धको बिचमा हुर्केका हामी, कहिले बाटोमा राजाका सेना लाइन लागेर हिँड्थे त कहिले माओवादी लडाकु। पहुँच र अवसरबाट टाढाको गाउँका हामी केटाकेटीलाई दुवै थरी बन्दुक बोकेका मान्छेदेखि डर लाग्थ्यो। दाइ अलि ठुलो भएकोले माओवादी गाउँमा आउने हल्ला चलेपछि जबरजस्ती लैजालान् भनेर गोठमा सुत्नु हुन्थ्यो। कसैले छोरालाई सेना पुलिसको जागिर लगाइदिन्छु भन्दै आउँदा आमाले आधी पेट खाउँला तर छोरालाई मर्ने मार्ने जागिरमा पठाउँदिनँ भनेर फर्काइदिनु हुन्थ्यो।
हरेक वर्ष नयाँ लुगा आकाशे निलो सर्ट र गाडा निलो पाइन्ट पाइन्थ्यो। चाडपर्वको बेलामा मेला भर्न जाँदा तिनै नयाँ स्कुल ड्रेसमा मक्ख। स्कुलमा भौतिक स्रोत नभए पनि शिक्षक शिक्षिकाले मेहनत गर्न खोज्नेहरूलाई सके र जाने जति सहयोग गर्नु नै हुन्थ्यो। त्यो बेला नर्सरी, केजी हैन, ककरे—मात्रे पछि एक कक्षामा पुग्ने चलन थियो। सानोमा दुई थोपा पोलियो, जीवन बन्छ बलियो भन्दै लाइन लगाएर प्राथमिक स्वास्थ्य चौकीमा पोलियो थोपा ख्वाउन लैजाने सर-मिसले ६२/६३ सालतिर प्रजातन्त्र जिन्दाबादको नारा लगाउन सिकाउनु भयो।
दश कक्षासम्म पढिसकेपछि गाउँमा केटा भए भारत, मलेसिया वा कतार काममा जाने। केटी भए बिहे गरिदिने चलन थियो। घरको अवस्था अरूको भन्दा फरक थिएन, तर आमाको सोचाइ भने सबैको भन्दा फरक थियो। बुवा लगायत गाउँका सबै लोग्ने मान्छे जिन्दगीभर भारतमा मजदुरी गर्दा पनि कसैको जिन्दगीमा खासै ठुलो परिवर्तन आएको थिएन। आमालाई त्यो चक्र जसै गरी भत्काउनु थियो।
मैले एसएलसी दिँदाको वर्ष दाइ काठमाडौँको एउटा पुस्तक पसलमा काम गर्दै बिए पढ्दै हुनुहुन्थ्यो। मासिक तलब जम्मा २८ सय रुपैयाँ। जिल्लाकै क्याम्पसमा आइएमा भर्ना हुन तयार भएको मलाई दाइले काठमाडौँ बोलाउनु भयो। त्यसपछिको दुई वर्ष त्यही दिनको एक सयभन्दा कम तलबबाट हाम्रो बसाइँ र पढाइ खर्च निस्कियो।
सुरुमा त्रिचन्द्र क्याम्पसमा आइकम पढ्ने कुरा हुँदै थियो। भान्जा टाठा छन्, विज्ञान पढ्नु पर्छ भन्दै मामाले आफैले फी तिरेर हिलवर्ट क्याम्पसमा भर्ना गरिदिनुभयो। मामाले नै किन्दिएको ड्रेसमाथि पहिलो पटक टाई लगाएर ११ कक्षा पढ्न जाँदा मलाई त्यो सबै सपनाजस्तै लागिरहेको थियो।
दश कक्षासम्म नेपाली भाषामा विज्ञान र गणित पढेको मेरो लागि ११ कक्षाको अङ्ग्रेजी भाषामा साइन्स र म्याथ निकै अप्ठ्यारो थियो। भाषाकै कारण सुरु सुरुमा गणितका हिसाबसम्म पनि कण्ठ नै गर्नु पर्ने अवस्था थियो। तर भाषा नै त हो, बिस्तारै बानी पर्यो।
बाह्रमा पुग्दासम्म मासिक एक हजार रुपैयाँको होम ट्युसनको जागिर सुरु भइसकेको थियो। त्यसपछि एमएससी पढुन्जेल कहिले स्कुलको त कहिले कोचिङ कक्षा, मास्टरी चली नै रह्यो। दिनभरको फुल टाइम जागिरको कारण बिएससी त्रिचन्द्र क्याम्पस नै नगई, आफैँ पढेर सकियो। एमएससी ताका भने बिहानभरि कोचिङ पढाउने जागिर अनि दिउँसोमा कीर्तिपुरमा कक्षा। अलिक मेहनत गरेर बुझाएर पढाउने सरको बाहेक कक्षामा अन्तिम बेन्चमा बसेर कि त भोलिको कोचिङ कक्षाको तयारी गरिन्थ्यो कि भने नपुगेको निद्रा पुर्याइन्थ्यो।
पढ्दै गर्दा अनेकौँ राजनीतिक परिवर्तनहरू भए। राजतन्त्र हट्यो, संविधान बन्यो, अनि दशकौँ पछि स्थानीय निकायका चुनावहरू भए। नेपाल बन्द, चक्काजाम, नारा जुलुस त सामान्य नै लाग्थ्यो। दशौँ हजारको ज्यान जाने गरी भुइँचालो गयो। सारा नेपालीको दैनिकी अस्तव्यस्त बनाउने नाकाबन्दीको बेला घरबेटी बाको करेसामा दाउरामा खाना पकाएर खाइयो। यी नै यस्तै कारणले त्रिभुवन विश्वविद्यालयलाई तीन वर्षे स्नातक तह सक्न चार वर्षभन्दा धेरै र दुई वर्षे स्नातकोत्तर तह सक्न तीन वर्षभन्दा धेरै समय लाग्यो। र पनि सबै जनाको सहयोग, हौसला र पढ्नुपर्छ भन्ने हुटहुटीले भौतिक शास्त्रमा स्नातक सकियो।
नेपालका दिग्गज भौतिक शास्त्री उदयराज सरले 'भौतिक विज्ञान धन विज्ञान' हो भन्नु हुन्थ्यो। हुन पनि बिसौँ शताब्दीको सुरुतिर धनी मुलुकहरूले भौतिक शास्त्रमा गरेको लगानीकै कारण आणविक ऊर्जा, सिलिकनमा आधारित कम्प्युटर, नयाँ सूचना प्रविधि, अन्तरिक्ष यात्रा लगायतका हामीले अहिले प्रयोग सबैजसो प्रविधिको सम्भव भएको हो।
नेपालमा लगानीको अभाव भए पनि भौतिक शास्त्रमा अनुसन्धान गर्न चाहनेका लागि विकसित देशमा भने धेरै अवसरहरू छन्। सरहरूको सुझाव र अरूको देखासिकीमा छात्रवृत्तिसहित विद्यावारिधिको लागि २०७४ सालमा अमेरिका आएपछि जिन्दगीको अर्को अध्याय सुरु भयो। प्रयोगशालामा नयाँ अनुसन्धानको लागि कहिल्यै नदेखेका र प्रयोग नगरेका प्रविधि र साधनको प्रयोग गर्नु पर्ने।
दिनमा १८ घण्टासम्म प्रयोगशालामै बसेर अनुसन्धान गर्नु पहिले ऋषिमुनिले गर्ने तपस्याभन्दा धेरै फरक थिएन। अनुसन्धान सुरु गरेको एक वर्षमै विज्ञान शोधपत्रको लागि सबैभन्दा उत्कृष्ट नेचर जर्नलमा आफ्नो अनुसन्धान प्रकाशित भएपछि आत्मविश्वास अझै बढेर आयो। त्यसपछिका ६ वर्ष क्वान्टम विज्ञानका सिद्धान्तको परीक्षण र त्यसैमा आधारित नयाँ प्रविधिको विकासमा बिते।
हालसालै सम्पन्न विद्यावारिधि दीक्षान्त समारोहमा बसिरहँदा म आफू मात्रै हैन, म र म जस्ताहरूको लागि असम्भवजस्तै लाग्ने सपना पूरा भएकोमा आफू त खुसी थिएँ नै, सँगसँगै मेरो सपना साकार पार्न सहयोग गर्ने सबै जनाप्रति मन आभारले भरिएको थियो। मैले स्टेजमा भौतिक विज्ञानको विद्यावारिधि डिग्री लिँदै गर्दा दर्शकको लहरमा बसेर मेरी अनपढ आमाले जोड जोडले ताली बजाउँदै हर्षको आँसु खसाउँदै हुनुहुन्थ्यो। अनि मेरो सपनाको त्यान्द्रोको लागि झेँक्रो बनेर उभिने दाइदिदी र सुख दुःखका समयमा सहयोग र साथ दिने डेनिसा लगायत आफन्त र शुभेच्छुकहरू मध्यरातसम्म जागै बसेर लाइभ प्रसारण भइरहेको मेरो हुटिङमा आफू नै दीक्षित भए सरि गर्वानुभित हुनुहुँदै थियो।
(लेखक क्वान्टम वैज्ञानिक हुन्।)