'दाइ, तपाईंको छोरालाई अमेरिकाको भिसा लागेछ, लौ बधाई छ।'
एक जना नजिकका दाइको छोराको लामो प्रयासपछि अमेरिकाको भिसा स्वीकृत भएपछि मैले भेटेरै ती दाइलाई बधाई दिएको थिएँ।
ती दाइका छोराले काठमाडौँको राम्रो कलेजबाट १२ कक्षा पास भएपछि बाहिर जान पहिला क्यानडा, त्यसपछि अस्ट्रेलिया र ती दुवैमा नभएपछि अन्तमा युएसमा भिसाका लागि लगातार तयारी गरिरहेको थियो। तर लगातार आफ्नो बच्चाको भिसाको तयारीमा लागेका ती बाबु छोराको भिसा लागेकोमा बधाई पाइरहँदा भने त्यति खुसी देखिएनन्।
उनले मलाई भनेँ, 'बहिनी, म आज संसारकै सबैभन्दा दरिद्र भएँ।'
उनको सरकारी जागिरबाट निवृत्त भएको लामो समय भएको थियो। जागिरे जीवनबाट विश्राम लिएका उनले विभिन्न कम्पनी तथा व्यवसाय सञ्चालन गरेर अहिलेसम्म पनि निरन्तर आफूलाई सक्रिय राखिरहेका थिए। आफ्नो जीवनकालको अथक परिश्रमबाट उनले आफूलाई तथा आफ्ना सन्तानलाई पनि आरामले पुग्ने गरी सम्पत्ति आर्जन गरेका थिए।
पारिवारिक तथा सामाजिक दायित्व पूर्ण रूपले निर्वाह गर्ने हँसिला ती दाइमा आज आएको निराशाले मलाई अचम्मित तुल्यायो। किनभने हाम्रो समाजमा आफ्ना सन्तानलाई विदेशमा पठाउने खुसीमा रमाउनेहरूको भिडमा हुर्केको मैले आज त्यही परिस्थितिमा एक जना अभिभावकको छटपटी देखिरहेको थिएँ।
'सम्पूर्ण नेपालीहरूको सपनाको सहर अमेरिका जान तपाईंको छोराको भिसा लागेको छ। केही समयमा उसले त्यहाँको सम्पन्न जीवन जिउने छ र आफ्नो भविष्य उज्ज्वल बनाउने छ। आखिर यही दिनको पर्खाइमा हिजोसम्म पनि तपाईं हुनुहुन्थ्यो र अहिले हाम्रो सिङ्गो देश यही समयको पर्खाइमा छ भने तपाईंमा यो निराशा किन?' भनी मैले जिज्ञासा राखेँ।
उनले आफ्नो विगत सम्झँदै भने, 'हामी हाम्रा आमा बाबुका ४ भाइ र तीन दिदी-बहिनीसहित ९ जनाको ठुलो परिवार। बुवाको त्यस्तो राम्रो भने जस्तो केही जागिर पनि थिएन। भएको सम्पत्तिमा खेती किसानी गरेर हामीलाई हाम्रा बुवा आमाले आफ्ना काखमा हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो। तीन दिदी बहिनीहरूको माइती नजिक नजिक नै बिहे भयो। अरू दाजु भाइहरू पनि आफ्नो पढाइ पूरा गरेर कोही केको व्यवसाय, कोही खेतीपाती, कोही सरकारी जागिरमा भए पनि हामी सधैँ हाम्रा आमाबाबुको वरिपरि नै थियौँ। तर पनि ती बाबुआमालाई छोरी माइतमा आउने समयमा पर्खाइ रहन्थ्यो। छोराहरू व्यवसायबाट साँझ घरमा फर्कने समयको पर्खाइ रहन्थ्यो।
सरकारी जागिरमा भएकोका कारण म केही महिना टाढा हुनु पर्दा, यो छोरो टाढा छ भेटघाट गर्न अलि समय लाग्छ भनेर गुनासो गर्नु हुन्थ्यो। तैपनि महिनामा एक पटक त नेपालमै भएको कारण जसो त्यसो मेरो पनि भेट हुन्थ्यो नै। त्यस्तो परिस्थितिमा पनि छोटो समयको आफ्ना सन्तानको पर्खाइको छटपटी मैले देखेको हो, महसुस गरेको हो। कुनै सानातिना चाडबाड आउँदा सबै साथमा पारिवारिक खुसीको क्षणमा रमाउन पाइन्थ्यो। कुनै छोरीको सन्तान जन्मियो भने माइतीमा त्यसको हर्षको सुगन्ध सजिलै महसुस गर्न पाइन्थ्यो। साना आफ्ना सन्तानका सन्तानलाई काखमा खेलाउँदाको त्यो खुसी शब्दमा बयान गर्न सकिँदैन जुन हाम्रा आमाबाबुले महसुस गर्न पाउनु भएको थियो।
जति धेरै सन्तान भए पनि एउटै छानामुनि सीमित श्रोत र साधनको उपभोगमा पनि अत्यन्त सुख र खुसीका साथ जीवन बितेको थियो। आफ्ना वरपर अभिभावकको छत्र छायामा रहेका छोराका सन्तान जन्मने समयमा स्वास्थ्य क्षेत्रका अहिलेका जस्ता सेवा, सुविधा केही नभए पनि त्यस समयमा ती साना कलिला बच्चाहरूको स्पर्शको आनन्द हाम्रा आमाबाबुले लिन पाउनु भएको थियो। परिवारमा रहने यो खुसी समाजका हरेक परिवारमा थियो त्यसैले समाज नै पारिवारिक सुन्दरताले सजिएको थियो। वल्लो घर, पल्लो घर एक आपसमा पारिवारिक सम्बन्धमा बाँधिएका थिए। एउटा परिवारको समस्या सिङ्गो समाजको समस्या भएर समाधानमा सबैको प्रयास रहन्थ्यो र समाधान पनि हुन्थ्यो। एउटा परिवारको खुसी सिङ्गो समाजको थियो जसलाई सबैले मिलेर साटासाट गर्थे, रमाउँथे। जसले गर्दा व्यक्तिमा खुसी थियो, परिवारमा खुसी थियो अनि सिङ्गो समाजमा खुसी थियो।'
उनले भन्दै गए– विकास र समृद्धिको बहानामा अहिले जीवन यति जटिल बन्यो कि परिवार टुक्रेर सानो आकारको बन्यो। सानातिना चाडबाड त के नेपालीहरूका महान् चाडबाडमा पनि त्यो खुसीसहितको पारिवारिक उपस्थिति रहन छाड्यो। कुनै परिवारमा बाध्यतावशको उपस्थिति मात्र रह्यो, कुनै परिवारमा बाध्यता पनि रहेन। एकातिर बुढा बाबु आमा, अर्कातिर सानो परिवार। त्यो पनि विभिन्न सामाजिक सञ्जालको जालोमा जकडिएर रहने संस्कार मौलाएर जान थाल्यो।
उबेला एक दुई महिनाको आफ्ना सन्तानको अनुपस्थिति अतासिने हाम्रा बाबु आमाका हामी सन्तान अब वर्षौँसम्मको आफ्ना सन्तानको अनुपस्थिति कसरी सहन गर्ने? विभिन्न परिस्थितिले जकडिएर भएको सानो परिवारबाट पनि आफ्ना मुटुका टुक्रा सन्तानहरूको सुन्दर भविष्यको नाममा विदेशी भूमिमा यी कलिला मुनाहरूलाई पठाउँदा हामी अभिभावकहरू उनीहरूको विदेश यात्राको खुसीयालीमा यहाँ आनन्द वा खुसी साट्ने भन्ने कति उपयुक्त रहला?
यहाँ रहँदा तातो पानीसम्म उमालेर नखाएका, सामान्य घर व्यवहारको ज्ञान नभएका, अभिभावकको न्यानो मायामा पुलपुलिएर रहेका अहिलेका नानीबाबुहरू एकाएक आफ्नो पढाइ खर्चको व्यवस्थापन, आफ्नो अध्ययन, परदेशको जीवन आदिको भारीले थिचिँदा हामी अभिभावकलाई कुन खुसी मिल्ला?
ठुलो रकम कमाउने र सुन्दर भविष्य बनाउने बहानामा कलिलो उमेरमै परिवारबाट टाढा भएर उसले परदेशमा गर्ने सङ्घर्ष अनि त्यसबाट प्राप्त हुने उपलब्धिले साँच्चै त्यो नेपालको पुरानो समयको पारिवारिक खुसी र आनन्द देला?
अभिभावकको त्यो न्यानो माया, स्नेह, स्पर्श, सान्त्वना, आड, भरोसा अनि पारिवारिक सुगन्ध तथा सन्तानको आगमनमा रमाउने अभिभावक, एक छिन पनि आँखाबाट टाढा भएमा आत्तिने अभिभावकलाई वर्षौँसम्मको सन्तानको वियोग सबैको पूर्ति गर्ने सामर्थ्य त्यो नाबालकले आर्जन गरेको सम्पत्ति, भौतिक सुख सुविधाले राख्न सक्ला?
यी प्रश्नहरूले आज आम नेपालीहरूलाई पिरोलिरहेको अवस्थामा आफूले भोग चलन गर्न नपाउने वस्तुको कल्पनामा खुसी भएको बहाना गर्ने तमाम अभिभावकहरूलाई सम्पन्न होइन मलाई जस्तै दरिद्र बनाएको छ। सीमित श्रोत र साधनको उच्चतम प्रयोगले पनि पारिवारिक स्नेहमा निकै ठुलो सन्तुष्टि दिन्छ तर अधिकतम श्रोत, साधन र सुविधामा पनि त्यसको उपभोग गर्ने स्नेहसहितको परिवार नभएमा त्यसले सन्तुष्टि त के सामान्य खुसी पनि दिन सक्दैन। सुविधा सम्पन्न घर तब मात्र घर बन्छ जब त्यहाँ परिवार रहन्छ। परिवारबिना त्यसलाई घर होइन भूत बङ्गाला भनिन्छ। इँटा र सिमेन्टको थुप्रोलाई घर भनिएको होइन, पारिवारिक स्नेह, प्रेमसहितको आवासलाई घर भनिएको हो तर अब भएको सन्तान कोसौँ दूरी पारि अनि सन्तानका अभिभावकहरू वारि उसको सम्झनामा दिन काटिरहँदा र सन्तानहरू केवल पैसा, भौतिक सुविधाको पछाडि जीवनभर कुदिरहँदा हामीलाई कुन सम्पन्नता दिने हो, त्यस बारेमा सोच्दा पनि डर लाग्छ।
जीवन कर्मशील छ। कर्म नगरी मानव जीवन चल्न सक्दैन। आज नेपाली समाजको अवस्था हेर्दा केही प्रतिशत जो उच्च पद तथा अवसरमा छन् उनीहरूले आफ्ना सन्तानको भविष्य भन्दै पद र अवसरको गलत फाइदा लिँदै सम्पत्ति थुपार्नमै आफूलाई व्यस्त राखेका छन्। त्यसको सट्टामा आफ्ना सन्तानको भविष्यको लागि आफ्नो जिम्मेवारीमा भएको क्षेत्रमा इमानदारिताका साथमा कर्म गरेर भविष्यमा आफ्ना सन्तानको लागि अवसरहरूको सृजना गरेको भए सायद आज आफ्ना सन्ततिहरू पराईको देशमा पसिना बगाउने, पारिवारिक वियोगको सामना गर्नुपर्ने दिन आउँदैन थियो होला।
त्यसरी आफ्ना सन्तानको लागि भनेर थुपारेको सम्पत्तिले न त उसले आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन सक्यो न त देशको अवस्थामा सुधार ल्याउन। हामीले आफ्नै गाउँ ठाउँमा अर्काको घरमा बस्ने कमलरी प्रथाको उन्मुलन गरेको भनी गर्व गरिरहँदा आज नेपाल आमाका सन्ततिहरू देशभित्रै गाउँको कुनै व्यक्तिको घर बनाउने कार्यमा होइन, अर्को कुनै देश बनाउने काममा गएर उतै आफ्नो भविष्य भन्दै बरालिएको अवस्थामा हामी रमाउन बाध्य भयौँ। राष्ट्रिय कमलरी प्रथा हटायौँ तर सम्पन्नता तथा उज्ज्वल भविष्यको नाममा अन्तर्राष्ट्रिय कमलरी प्रथालाई बढवा दिँदै छौँ। जसरी त्यो समयमा कुनै एक परिवारको कुनै सदस्य अर्काको घरमा काम गरेको पैसाले त्यो समयमा एउटा परिवार चलेको थियो त्यसै गरी आज कैयौँ परिवारका कैयौँ सदस्यहरू अर्का देशमा काम गर्न जाँदा आज सिङ्गो देश रेमिट्यान्सले चलिरहेको छ। आखिर यसमा भिन्नता के छ?
स्वतःस्फूर्त रूपमा विदेश गएर उच्च शिक्षा लिने र आफ्नो देशमा आउने भन्ने कुरा सामान्य थियो। अझै भनौँ केही परिवार आफ्नो चाहनाले विदेशको बसाइँ रोज्ने कुरा सामान्य थियो तर अहिलेको अवस्था त्यो रहेन। अन्तिम विकल्पको रूपमा आफ्ना सन्तानलाई विदेश पठाउने र त्यतै जसरी भए पनि व्यवस्थित गर्ने प्रायः सबैको मनस्थिति बन्नुले स्थिति जटिल बन्दै गएको छ। विदेशी भूमिमा पसिना बगाई विकट गाउँदेखि सहरसम्म ठुला ठुला महल पनि ठडिएका छन्। संसारले उपभोग गरेका सुविधाहरू पनि थुपारिएका छन् तर विडम्बना, ती सबैको उपभोग गर्ने व्यक्ति, परिवार र समाज नै नहुँदा ती केवल अर्कालाई देखाउने साधन बन्न पुगेका छन्।
आफ्ना छोरा, बुहारी, छोरी, ज्वाइँ, नातिनातिना छन् तर कोसौँ पारि छन्। यहाँ वृद्ध बाबु आमालाई अलिक सन्चो नहुँदा सान्त्वना दिने अनुहार छैनन्। कहिले अल्छी लाग्दा तातो पानी तताएर खुवाउने हातहरू छैनन्। बिरामी पर्दा नजिकैबाट सिटामोल किनेर ल्याइदिने सहारा छैनन्। समग्रमा शरीर छ शरीरमा जीवन छैन। साधनहरू छन् तर तिनको उपभोग गरेर जीवन जिउने साध्य छैनन्। अहिले त कोही विदेशमा छन्, कोही स्वदेशमै छन्। विदेशमा हुनेहरूले स्वदेशमा रहेकाहरूलाई देखाउने बहानामा बाहिर मुस्कुराएर भए पनि आफ्नो पीडालाई साटेका छन् तर यही अवस्था रहिरहेमा देखाउने र सुनाउने पनि कोही रहने छैनन्। रहने छ त केवल पीडा, दुखाइ, एक्लोपना अनि सम्पन्न जीवन भित्रको एक दरिद्र मानव।
आफ्ना सन्तानलाई विदेश उडाउँदा अहिलेको मानवले आफूलाई संसारकै ठुलो मान्छे ठान्ने प्रवृत्ति बढेको छ। अहिलेको प्रतिस्पर्धा नै कसका छोराछोरी कुन विदेशमा छन् भन्ने र त्यसले सामाजिक प्रतिष्ठा मापन गर्ने गरेको पाइएको छ। यही प्रतिस्पर्धाको नशामा बाबुआमाले आफ्ना सन्तान गुमाइरहेका छन्। सन्तानबाट पाउने आनन्दलाई तिलाञ्जलि दिएका छन् भने यो दौडका प्रतियोगी सन्तानहरूले प्रेम, स्नेह, परिवार, समाज भन्ने भावना नै समर्पण गरेका छन्। उनीहरूलाई लागेको छ पैसा, सुविधा नै सब थोक हो। त्यसको लागि आफ्नो यो त्याग भयङ्कर ठुलो छ। सन्तान भएर जन्मेको सार्थक भयो, आफ्नो कर्तव्य पूरा भयो।
अझ विदेशमा एक दुई महिना तेल भिसामा आफ्ना बाबु आमालाई सयर गराउनेहरू त संसार नै जितेझैँ गरी कुर्लन्छन् तर तीनलाई थाहा छ कि छैन यो मानव जीवन तीन महिनाको जोडतोडको मस्तीले धकेलेर अन्य बाँच्ने जीवन सहज बन्दैन, झनै जटिल बनिदिन्छ। मानव जीवनमा क्षणिक जोडतोडको मस्ती होइन, पलपलको सानातिना खुसीहरूले महत्त्व राख्दछन्।
ती दाइ एक उदाहरण हुन् जसले आफ्नो सन्तानलाई विदेशमा पठाउँदा आफूमा आउने दरिद्रता खुलेर भन्न सके। हाम्रो नेपाली समाज नै यस्तो खालको सम्पन्न जीवनबाट आएको दरिद्रताबाट गुज्रिएको छ तर कसैले भन्न सकेका छैनन् लुकाएका छन्। विडम्बना! आफ्नो दरिद्रतालाई सम्पन्नताको नाम दिएर समाजमा भ्रम फैलिरहेको छ र सबैले त्यसैलाई पछ्याउँदा सुन्दर देश नेपाललाई नै दरिद्र मानसिकताले घेरेको छ।
देश चलाउनेहरू पनि विदेशबाट आएको रेमिट्यान्समै लुछाचुँडी गरिरहेका छन्। त्यसैमा भ्रष्टाचार गर्नु उनीहरूको दिनचर्या बनेको छ। देश सुधारको बाटो उन्मुख पनि छैन र यही देशलाई माया गर्नेहरू पनि विदेशमा जान नसकेर स्वदेश बसेका निकम्मा बनेर बस्न बाध्य बनेका छन्। यस्तो परिस्थितिमा नेतृत्वले गम्भीर भएर देशलाई निकास दिनु जरुरी छ र आम नागरिकले उच्च महत्त्वाकाङ्क्षा होइन, सहज जीवन यापनका लागि आफ्ना विचारहरूलाई परिवर्तन गरी देश विकासमा योगदान दिन नेपालमै सम्भावना खोज्न, सम्भावनाको जोखिमसँग लड्न र नेपाली समाजलाई यस्तो भयावह स्थितिबाट उकास्न आफ्नो भूमिकामा परिवर्तन ल्याउन जरुरी छ।