म खासै घुमिरहने मान्छे त होइन, तर घुमेपछि म उक्त ठाउँको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विशेषतालाई विस्तृत रूपमा नियाल्ने गर्छु। यस पटक भने म अलिक भिन्न भएँ जस्तो लाग्यो। यसलाई प्रमाणित गर्ने आधार त धेरै छन् तर सबैभन्दा अचम्म लाग्दो विशेषतः मेरा लागि, आफ्नै अनुभव छ।
मलाई त्यो ठाउँको ऐतिहासिक विशेषताले मनमोहक त बनाइसकेको थियो तर त्यस ठाउँको ऐतिहासिक कष्टले भने मलाई पुकार्न बिर्सेछ कि जस्तो लाग्यो। त्यो दुःख सामान्य दुःख भने फिटिक्कै होइन। त्यो दुःख पाटनको थियो।
म पाटन धेरै त गएको थिइनँ। जाने अवसर मिल्यो। सन्दर्भ भने याद नै भएन। के याद छ भने, पानी परिरहेको थियो। मान्छे ती विविधतायुक्त मन्दिरमुनि ओत लागेर बसेका थिए। पाटनका पुरातात्त्विक र विविधतायुक्त क्षेत्रहरू टल्किन व्यस्त थिए। पानी छड्के परेकाले ओत लागेको ठाउँमा पनि पानी परेर मान्छेलाई भिजाउन थालिसकेको थियो।
चिसो चिसो मौसममा चिया खाने अवसर जुर्नु भनेको अमृत खाने अवसर मिल्नु सरह हो। म र मेरा साथीहरू पानी अलिक रोकिएपछि मल्लाकालीन ऐतिहासिक मन्दिर तल त्यसका कुँदेका ढुङ्गामाथि बसेर त्यहाँको सुन्दरतालाई अवलोकन गरिरहेका थियौँ। अहिले भने त्यहाँ बस्न निषेध गरिएको रहेछ।
त्यत्तिकैमा एउटा सानो अन्दाजी ६ वर्षको बाबु स्कुलको झोला भिरेर दायाँ हातमा प्लास्टिकको पोकामा चियाको कप र बायाँ हातमा चियालाई सेलाउन नदिने निकै पुरानो थर्मस बोकेर म छेउमा भएको मान्छेकहाँ आयो। उसले थकित स्वरमा मलाई 'चिया खानु न दाजु' भनी निकै नम्र आवाजमा भन्यो।
मैले त्यो सानो बाबुलाई मज्जाले नियालेँ, मन खल्लो भयो। मैले एकै पटक संसारका ती सबै कल्पित कुण्ठित, दमित र सामन्तीका चपेटमा परेका कलिला शरीरलाई देखेँ। त्यो बाबुको आवाजलाई सुनेर मेरै कानमा आएर सबै दुःख थुप्रिए जस्तो लाग्यो।
म भाग्यमानी थिएँ। त्यो बाबुको थकित तर मिठो स्वर सुनेर मलाई स्वयं देवताले अमृत खाने आग्रह गरे जस्तो लाग्यो। मैले साथीहरूलाई, 'चिया खाऔँ न त साथी हो' भनेर भनेँ। साथीहरूले हुन्छ भनेसँगै त्यो बाबुको आकृतिको चमकले संसारलाई मोहित गर्ने गरी मुस्कानका साथ हर्षित भावको जिकिर गर्यो।
मेरा लागि त्यो अनौठो थियो, तर उसका लागि त्यो सामान्य। हामी ४ जना थियौँ तर ऊसँग कप भने तीन वटा मात्र रहेछ। सानै थियो अत्तालियो। मैले त्यही तल कप किनिदिन्छु भनेर भनेपछि म र मेरो एक जना साथी उसलाई २० वटा सानो कप किन्ने निधो गरेका थियौँ। तर व्यापारको लोभ सबैलाई हुँदो रहेछ भन्ने देखियो। २-३ वटा पसल गइयो कप त थियो तर व्यापारको लोभ पनि। भौतिक रूपमा पसल त थियो तर आत्मीयता थिएन।
केही बेरपछि कृष्ण मन्दिर छेउमा एउटा दोकानवालाले कप दिए। त्यसपछि हामी गयौँ त्यहाँ। त्यो बाबु हँसिलो थियो। निकै खुसी भयो। एक कप चियाको २० रुपैयाँ भन्यो त्यो बाबुले जुन सस्तो र मिठो थियो। त्यो चिया केही चिसो त थियो तर औधी मिठो थियो। त्यो बाबु फेरि आफ्नो व्यापार चलाइरहेको थियो।
एक छिनपछि त्यो बाबु फेरि त्यहाँ आयो। मैले यसपालि त्यो बाबुलाई बोलाएँ। त्यो बाबु मेरो छेउमा आएर बस्यो। लजाएको थियो। मैले उसलाई उसको नाम सोधेँ। उसले उसको नाम पवल चेपाङ रहेको बतायो। उसलाई 'झोलामा के छ?' भनेर सोधेँ। उसले बुक र कपीहरू छ दाइ भन्यो। मैले तिमी कति कक्षामा पढ्छौ भनेर सोधेँ। उसले आफू १ कक्षामा पढ्छु भनेर सुनायो।
पवल भाइसँग संवाद गरिरहँदा मैले पाटनको विशेषता, सुन्दरता, मौलिकता, सभ्यता, इतिहास, त्यहाँका ऐतिहासिक मन्दिर र चैत्यहरू सबै एकैनासमा बिर्सिएँ। त्यो पल मेरा लागि ऊप्रति सहानुभूति प्रकट गर्ने पल बाहेक अरू केही पनि थिएन। त्यो बाबुले मसँग एउटा तस्बिर पनि मेरो आग्रहमा लियो। त्यो बाबुको खुट्टामा चोट पनि लागेको रहेछ, तर मलाई 'के भयो?' भनेर सोध्ने सामर्थ्य आएन। पछि त्यो बाबु गयो।
त्यो बाबु गएपछि मेरो एक जना साथी ललितपुरकै स्थायी बासिन्दा भएकाले केही थाहा होला कि भनेर सोधेँ। उसले त्यो बाबुको बारेमा केही थाहा पाएको रहेछ। बाबुलाई त्यहाँ रक्सी खाएका केही मानिसले कुट्ने गरेको भनेर उसले बताउँदा मैले त्यो बाबुको सङ्घर्षलाई नियाल्ने प्रयास गरेँ। तर मेरो सामु उसको हाँसो र परिवारलाई सहयोग गर्नुपर्छ भन्ने भाव मात्र झल्कियो। मेरो आकृतिमा चमक हुनु पर्नेमा रोदन र दुःख मात्र भरियो। मैले त्यो दुःख, त्यो बाबुको परिवारप्रतिको दायित्वलाई, उसका आधारभूत आवश्यकताको परिपूर्तिका विषयलाई सम्झने साहस पनि गरिनँ। मलाई त्यो सोच्न निकै गाह्रो भयो।
पवल बाबुलाई केही न केही सहयोग गर्न त मन थियो। उसले त्यो दुःखलाई नजिकबाट देखेको थियो। साथीहरूसँग हाँस्ने, रमाउने र पढ्ने उमेरमा उसले त्यो कार्य गर्दै थियो जुन सबैले आफ्नो जीवनमा आँट गर्न सक्दैनन्। पाटनको सौन्दर्य केही क्षणका लागि दुःख, रोदन र पीडा मग्न भयो। सानो बाबुको त्यो कलिलो उमेरको सङ्घर्षले पाटनलाई नै स्तब्ध बनायो।
तर ती पवल जस्ता कति यस्ता बालबालिका छन्। ती बालबालिकाको अवस्थाले नेपालको ऐतिहासिक सुन्दरतालाई अन्धकारको इतिहासमा समाहित गर्छ। सहानुभूति प्रकट गर्ने बाहेक मसँग त अरू उपाय रहेन। आफैँमा पढ्ने विद्यार्थी भएकाले खर्च व्यवस्थापन गर्न मैले खासै पैसा बोकेको थिइनँ। मेरो बाध्यताले त्यो बाबुको अवस्थालाई नियाल्ने बाहेक अरू केही उल्लेखनीय गर्न सकिनँ।
अवस्थालाई सुदृढ बनाउन व्यक्तिगत तवरबाट केही गर्नुपर्छ भन्ने भावको विस्तार भएसँगै केही न केही सङ्ख्यामा आफ्नो तवरबाट भएको प्रयासको प्रकाशले ऐतिहासिक दुःखलाई न्यून गर्न केही हुन्छ कि भन्ने शिक्षा र त्यसको व्यवहारिक पाटो बारे सजग रहन मलाई यो बाबु र त्यस दिन छाएको पाटनको दुःखले सिकायो।