घरदेखि टाढा, घरको त्यो शीतल छानो र मानो छोडेर एक विशाल सहरको सानो कोठामा कैद भएर बसेको लोक सेवा विद्यार्थी हुँ। हुन त मजस्ता अधिकांश मध्यम परिवारमा हुर्केका लोक सेवाका विद्यार्थीको कथा उस्तै उस्तै हो तर खै किन मानव संसारमा आफ्नो कथा नै रोचक, पृथक् र अविस्मरणीय लाग्दो रहेछ।
आफू सँगैका हुने खाने कोही अस्ट्रेलिया गए त कोही अमेरिका। अलि आर्थिक रूपमा कमजोर अवस्था र व्यवस्था हुर्केकाहरू एसइई दिएकै वर्षबाट छुटिए, कोही खाडी गए त कोही मध्यम आय भएको मुलुक। हुन य यसो भनिरहँदा म पनि गएको भए उनीहरू झैँ खाडी वा ती मध्यम आय भएका मुलुकमा हुने थिएँ। उनीहरूको जस्तै अवस्था थियो तर मनमा एउटा देशप्रतिको झुकाव, देशप्रतिको मेरो एकोहोरो माया, गौरव र धन बिनाको विद्याको थोरै साथ र मायाले गर्दा उनीहरूसँग जानबाट रोकियो र रोकिएँ।
म आफूलाई आफूले मात्र रोकेको थिएन देश छोड्नबाट, कहीँ कतै मलाई यो समाजले पनि रोकिइरहेको थियो, यो देशले पनि रोकिइरहेको थियो। पेन चोर्ने र हराउने उमेरबाटै, बालाई बा र आमालाई स्पष्ट रूपमा आमा भन्ने उमेरबाटै अरूभन्दा किताबी ज्ञानमा प्रतिस्पर्धा गर्दा अब्बल जस्तै देखिन पुगियो र अब्बल छौ भनी देखाइयो। यसले मभित्र एक किसिमको पढ्न लेख्न जानेका त देशमै बस्न पर्छ भन्ने समाजले जानी नजानी घुसाइदिएको नजिर बस्यो।
कहीँ गएर, देखेर या अझ भनौँ कसैले नभनी अध्ययनबाटै देश विदेशका जानकारी लिने, त्यहाँको अवस्था भूगोल, प्रकृति बुझ्ने, पढ्ने बानीले झन्-झन् अरू देशभन्दा मलाई मेरो देशको माया बढाउँदै लग्यो। सोही क्रममा समयका स-साना चुनौती पार गर्दै देशमै बसेर एसइई त्यसपछि प्लस-टु हुँदै ब्याचलरसम्मको यात्रा तय गरियो।
सबै कुरा सङ्घर्षमय तरिकाले चल्दै आएको पनि थियो। तर जब देशमै बस्ने, देशलाई माया गर्ने म भित्रको त्यो इच्छालाई पूरा गर्न लोक सेवा लड्नु पर्छ भन्ने छाप पर्यो, ठिक त्यसै समयमा परिवारप्रतिको जिम्मेवारी पनि एक्कासि बढेको महसुस हुन लाग्यो। एकातर्फ लोक सेवा लडेर देशको सेवासँगै आफ्नो सानैदेखि देशमा बस्ने सपना पूरा गर्नु पर्ने दबाब त अर्कोतर्फ परिवारलाई चाहे देश छोड या यही बस तर परिवारको दुःख जसरी पनि टार भन्ने दबाबको जुहारी मेरो जीवनमा राम्रोसँग पर्न गयो।
लोक सेवा अर्थात् लोकको सेवा गर्छु भन्दै हिँडेको म अब आफ्नो बुवा-आमाको र मेरो आफ्नै सपनाको सेवा संरक्षण कसरी गर्ने भन्ने बिन्दुमा छु। तर मलाई यो पनि थाहा छ कि अब दुवै युद्ध एक साथ जित्न लोक सेवा नै मेरो वर्तमान समयको उत्कृष्ट विकल्प हो। जसका निम्ति आज म सबैबाट हराएको छु।
लाग्छ कसैले फ्याट्ट पत्रिकामै नाम लेखाइदिने त हैनन्- 'वर्ष २३/२४ को गहुँ गोरो वर्णको, किताब बाहेक अरू दुनियाँ नदेख्ने, एकोहोरो, २/३ वर्षबाटै हाँस्न बिर्सेको एक युवा सहर जान्छु भन्दै हिँडेको र आजसम्म पनि केही खबर नभएकाले भेट्नु हुने जो कोहीले नजिकैको प्रहरीमा जानकारी गराइदिनु होला।' बस् यही समाचार न आइदियोस् कहीँ कतै।
हुन त आउँछ जस्तो पनि लाग्दैन किनकि यहाँ विदेश जान नसकेको वा मेरो जस्तै देशमै केही गर्ने सोच राखेर बसेको जो कोही बेरोजगारलाई सोध्नुस्, 'के गर्दै छस् अहिले?' भन्दा लोक सेवा तयारी गर्दै छु भन्छ। किनकि ऊसँग तयारी भए पनि, नभए पनि त्योभन्दा अर्को उत्तर नै हुँदैन दिनलाई। केही गर्देन भनौँ भने यत्रो पढेर यत्तिकै बसेको बरु मेरो छोराछोरी +२ पछि विदेश गएर यति पठायो भन्दै ओठ सुक्न लाएका, अनुहार चाउरिन लागेका मेरो प्रगति कुरेर बसेका ती बाउआमासित कुरा पुराइहाल्छन्।
डर छ, आफू पो बन्द कोठामा एक दिन त गरौँला भन्दै कहिले खाएर त कहिले नखाई आमाले पस्किएर खान आइज छिटो भनेका ती मिठा याद निल्दै रात बिताएको वर्षौँ हुन लायो र दुःख सहने बानी पर्यो। तर आसैआसमा बसेका ती भगवान् सरह निर्दोष बाउआमालाई मेरै असफलताको कथा पुर्याउन कसरी दिऊँ? अहँ! मनले मान्दैन, सकिँदैन।
सकिँदो हो त पेट चाउरी पर्दा पनि तरकारी किन्ने पैसा नपुगेर त्यही घरबाट मेरी आमाले दिउँसोमा खाजा खाएस् भनेर पठाइदिएको मकैको सातु पानीमा भिजाएर मिठो भए पनि नभए पनि जिम्मेवारीको मिठाससँगै रातिको खानाको रूपमा थोरै निलेर सुत्ने बेला आमाले कल गर्दा 'खान त खाइस् नि?' भन्दा 'उम् आमा खाएर सुतेको छु, टन्न छु' किन भन्थेँ होला र?
अनिश्चितताको पढाइ लोक सेवा अहिले नै नाम निस्किन्छ भन्ने थाहा नहुँदा नहुँदै पनि आमाको कलको त्यो अब कति पढ्न पर्छ? कहिले जागिर खान्छस्? भन्दा निश्चित भए जस्तै 'अ आमा अब छिट्टै पूरा हुन्छ, खान्छु' किन भन्थेँ होला र? भनेर जे हो त्यही देखाएर पनि त हुने के नै हो र! बस् बाउआमालाई पीडा बाहिरीलाई आफूसँग तुलना गर्दै हाँसी मजाक बनाउने कथा न बन्ने हो।
त्यसैले अहिलेसम्म मेरो यथार्थता कसैलाई थाहा छ त यही एउटा साँघुरो कोठा, यसभित्र भएका एक थान पकाउने भाडा, सधैँ छेउमै हुने निलो बाटा अनि यी नै लोक सेवाका किताबका चाङलाई थाहा छ बस्। मेरो यही लोक सेवालाई थाहा छ चुक्कुल बन्द गरेर एक्लै रोएको कथा। देखेका सपना पूरा हुँदैनन् कि भनेर डराएका कथा, आधा रातसम्म आँखाका तल्लो भागमा काला दाग बसुन्जेल रातभर अनिदो बसेका कथा। त्यसैले त म भन्छु, यो समयमा मेरो आफ्नो कोही साथी छ त केबल लोक सेवा। मेरो असफलताको साथी 'लोक सेवा'।