जीवनको परिभाषा गर्ने क्षमता त ममा छैन। मिति २०७३ साल असार १५ का दिन, आफ्नो नित्य कर्मपछि जागिरमा जान हतारिन्छु जो सधैँको काम हो। बिहानको ड्युटी पशुपतिको दर्शन सिद्राको व्यापार बनाएकी छु, मर्निङ वाक पनि अनि जागिर पनि।
गुह्येश्वरी मन्दिर वरिपरि विवाहको रमझम छ। जताततै रङ्गीबिरङ्गी पालहरू टाँगिएका छन्। गाडी खचाखच छन्। असार महिना प्रकृति आफ्नो ड्युटीमा निरन्तर लागि रहेछ। जताततै हिलो ग्याज-ग्याज छ। मन्दिरको ढोका अगाडि जोडा नमिलेको दुलहा-दुलही पुरेतको निर्देशनमा एउटा मुढो अगरबत्ती बालेर भगवानसँग के-के आशीर्वाद माग्दै थिए।
म यसो निहुरिएर देवीको दर्शन बाहिरै ढोकाबाट गरी चिप्लो बाटो उकालो लाग्छु। बाँदरहरूलाई भोक लागेछ, असारे झरीमा खाना बाँड्नेहरू पनि कमै देखिन्छन्। बाँदर आँपको कोयाको भित्री भाग छोडाएर खाँदै छन्।
म माथितिर लाग्छु। एउटा रतुवा मृग आफ्नो चारो खोज्दै छ। माथि तिरबाट श्रमिकहरू च्यातिएका चप्पल चिप्लिएला कि भनी डराउँदै-डराउँदै डोको बोकेर सायद बालुवा लिन बाग्मती खोलातिर ओर्लँदै छन्। पशुपति विकास कोषका कर्मचारी भर्याङ, मन्दिर परिसर सफा गर्दै छन्, म आफ्नै धुनमा माता मनकामना र गोरखनाथमा आफ्नो उपस्थिति जनाई अगाडि बढ्छु। मन्दिरको पेटीमा आफ्नो मोटोपन घटाउन धमाधम कसरत गरिरहेका समूहको आफ्नै संसार छ। दुई जना सज्जन गफ गर्दै छन्, पशुपतिका पुजारी भारतीयलाई भित्र राखेर ढोका थुनेर पूजा गराउँछन् भन्दै आक्रोश पोख्दै थिए।
मेरो बाटो पशुपतितर्फ जाने ओरालोमा पुगिसकेको थियो। म चिप्लिने डरले विस्तारै-विस्तारै ओरालो लाग्दै थिएँ। स्ट्रेचरमा स्वामी प्रपन्नाचार्यलाई लिएर ३ जना भाइ ओरालो लाग्दै थिए। मलाई उहाँको बारेमा बुझ्न मन लाग्यो। सोधेँ गुरुलाई- 'अस्पताल लैजान लागेको हो?'
जवाफ आयो- 'आँखा मोतीबिन्दुको अपरेसन गरेको थियो, लेन्स राख्ने कुरा छ।'
उमेरले गर्दा अप्ठ्यारो भएको होला हैन? लेन्स राख्न उमेरले केही गर्दो रहेनछ? तपाईँ नै हो वहाँसँग बस्ने? सरकारले वहाँको खर्च बेर्होछ? सुरक्षाकर्मी पनि छन्? आदि/आदि एकै पटक धेरै प्रश्न ओइराउँछु। ती भाइहरूले जवाफ दिँदै गर्दा हामी आर्यघाटबाट अगाडि बढिसकेका थियौँ।
यस्तै भक्तहरू, चेलाहरूले चढाएको भेटीबाट उहाँको जीवन गुजारा भइरहेको छ। म पुनः प्रश्न गर्छु, 'तपाईँ नै वहाँको सेवामा रहने हो? यताउति घुमाउने पनि?'
'हो, तर म पनि कहिलेकाहीँ भ्याउँदा आउँछु सेवा गर्न।'
'अनि सधैँ को बस्छ त?'
'कोही छैन, एउटा खाना बनाउने छ त्यो पनि भाग्छु भन्छ। बिजोग छ। दिसा ओछ्यानमा नै हुन्छ, पिसाब चाहिँ थैलो झुन्डाएको छ।'
यस्तै कुरा गर्दै हामी मूल बाटोतर्फ लम्कँदै थियौँ। नजिकै एक ३० वर्ष जतिकी महिला कोलाहल गर्दै मेरो बाबु, मेरो बाबु भन्दै रोइरहेकी हुन्छिन्। त्यो देखेर मेरो मुटु ढक्क फुल्छ। वेदना देखेर म तिनलाई परेको पीडासँगै सहृदयी हुन्छु तर तिनको पीडा उनलाई जति देख्नेले बुझ्न सक्दैन। म त्यो देखेर एक्कासि हतास हुन्छु- हरे शिव भाइ के भएको होला? को बित्या होला? यस्तै कुरा गर्दै हामी मूल बाटोमा पुग्छौँ, हाम्रो बाटो छुटिन्छ।
म बिदा हुने बेलामा प्रपन्नाचार्यलाई 'अस्पताल पुर्याउन लाग्ने ट्याक्सी भाडा लिनू न ल भाइ' भनेर अन्यथा नसोच्न आग्रह गर्छु।
गह्रौँ गोडा लिएर मेरो गन्तव्य तीलगंगाको साइकल बाटोतर्फ लाग्छ। प्रकृतिको मनोरम दृश्य भित्रको त्यो 'साइकल लेन' आज मलाई कस्तो/कस्तो लाग्छ। सधैँ म यसरी नै पशुपति आर्यघाट नजिक कतै कोलाहल गर्दै रोइरहेको आवाज, कतै दाह संस्कारमा दन्किएको ज्वाला, कतै बाग्मतीका किनारमा मानिस कामिरहेको हेर्नेको भिड बढिरहेको हेर्दै म आफ्नै सुरमा ड्युटीका लागि हिँडिरहेकी हुन्छु।
असारको झमझम पानीमा गल्फ ग्राउन्डको हरियालीले आज मेरो मन प्रफुल्ल हुन सकेन। यत्तिकैमा म एयरपोर्टभित्र छिरिसकेकी हुन्छु। डिपाचरको बाहिरपट्टि पेटीमा आफन्तसँगको बिछोडमा आँखा राता राता पार्दै बसिरहेकाहरू देखिन्छन्। कोही कसैले देख्छ कि भन्दै लुकेर आँसु पुछ्दै गरेका हुन्छन्। ती सब दृश्य हेर्दै म आफ्नो ड्युटीमा पुग्छु।
'कहिले फर्कनु हुन्छ ममी एयरपोर्टबाट?' घरमा प्रत्येक दिन साँझ छोरीको एउटै प्रश्न हुन्छ। म पनि ड्युटीमा थाकेर घरको काम पनि गर्नु पर्दा निकै हैरान भएकी हुन्छु। यथार्थमा भन्दा मलाई एक पटक अन्तर्राष्ट्रिय विमानस्थलमा बसेर आफू विश्वमा कुनै ठाउँ नपुगे पनि त्यहाँ पुगेका, त्यताबाट आएका, यस्ता जाने आउने मानिसहरूलाई सेवा दिने र त्यो वातावरणमा बसेर काम गर्ने रहर थियो। त्यसैको परिणाम नै म अध्यागमन विभागबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान खटिएकी थिएँ।
सुरु सुरुमा फरक प्रकृतिको काम सिक्न, गर्न गाह्रो भए पनि मैले छिट्टै आफ्नो काममा सहजता अनुभव गरेकी थिएँ। दिनहुँ विश्वका विभिन्न ठाउँबाट स्वदेशी र विदेशी पर्यटकहरू नेपाल भित्रिन्छन्, सँगै बाहिरिन्छन् पनि। नेपाल भित्रिएका स्वदेशी तथा विदेशी नागरिकहरूको कागजात हेर्दै भिसा भए भिसा परीक्षण गर्ने, अराइभल भिसा पाउनेलाई प्रक्रिया पुर्याएर भिसा प्रदान गर्ने, स्वदेशीलाई मिठो हाँसोका साथ स्वागत गर्न पाउँदा मलाई धेरै नै रमाइलो लाग्यो। यसरी नै नेपाल भित्रिने विभिन्न प्रयोजनका लागि आउने विदेशी पर्यटक प्रयोजन पुष्टि हुने आधारहरू हेरिन्थ्यो।
आधार प्रस्ट नहुने, गैर कानुनी रूपमा आएका विदेशीलाई एयरपोर्टबाटै फिर्ता पनि पठाइन्थ्यो। नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीहरूको नेपाल फर्कँदाका विभिन्न कथा सुनिन्थ्यो। म यसरी काममा व्यस्त हुन थालेपछि घरबाट अफिस आउँदा सबै कुरा बिर्सन्थेँ। नेपाली भाइबहिनी वैदेशिक रोजगारीमा सबै सन्तुष्ट नरहेको, थरीथरीका शारीरिक, मानसिक, आर्थिक समस्यासँग झेलिएर नेपाल आएको दुःख सुनाउँछन्। कसैलाई सान्त्वना दिन्छु, कोही दिदी इमरजेन्सी आएको घरमा बुवा, आमा बितेर भनी सुनाउनेहरू दैनिक २/४ जना हुन्छन्। कोही नेपाल ओर्लँदै गर्दा हरियाली देखेर मक्ख पर्दै त्यो खुसी साट्छन्। म पनि उनीहरूकी साक्खै दिदी बनेर रमाइदिन्छु।
'दिदी नेपाल आइयो, ४/५ वर्षमा पानी परिरहेको देखेर साह्रै खुसी लाग्यो, देशको खबर के छ?' लगायत उकुसमुकुस प्रश्न पासपोर्ट जाँच गरुन्जेल सुनाउँछन्। म पनि आफ्नो काम गर्दै पासपोर्टमा आगमन छाप हान्दै उनीहरूका प्रश्नका जवाफ आवश्यकता अनुसार दिन्छु। कसैलाई लेख्न पनि जान्दैनौ भाइ भनेर गाली पनि गर्छु। माया लाग्दो गरी 'दिदी गाली नगर्नु न, विदेशमा त गाली खाँदा खाँदा गरेर आइयो' भन्ने जवाफले मेरो छिट्टै बोल्ने बानीमा पश्चात्ताप लाग्छ। बेकारमा भनेछु जस्तो हुन्छ।
वैदेशिक रोजगारीअन्तर्गत घरमा काम गर्न जाने चेलीको कथा एयरपोर्टमा अझ कहाली लाग्दो छ। उनीहरूका व्यथा सुन्दा सृष्टिलाई पनि गाली गर्न मन लाग्छ। निरीह नारी अर्काको देशमा कति पीडित, त्रसित, कष्टकर जीवन बिताउन बाध्य छन् भन्ने कुराको उदाहरण कामदार भिसामा खाडी मुलुकबाट फर्किएका महिला हुन्- जो शोषित छन्, आफू को हुँ, घर कहाँ हो? सबै गुमाएर मुर्दा रूपी शरीर लिएर महाकष्टकर जीवन बिताउन बाध्य स्वदेश फर्काइएकाबाट प्रस्ट हुन्छ।
यस्तै कति फोटो परिवर्तन गरी अर्काको राहदानीमा गएर फर्केकाहरूका कथा झन् कहाली लाग्दो छ। भारतको बाटोबाट अर्काको राहदानीमा तेस्रो मुलुक पुगी यौन सिकार, मानसिक सिकार, शारीरिक प्रताडनामा फर्कँदा उनीहरूलाई राहदानी ऐन/नियमावलीले गर्ने सजायको भागिदार समेत बन्नुपर्दाको अवस्था अझ दर्दनाक छ। अर्काको राहदानी पेस गरी विदेशिएका व्यक्तिलाई राहदानी ऐनअनुसार मुद्दा चल्ने र जिल्ला अदालतबाट त्यसमा जरिवाना, कैद सजाय भई मुद्दाको अन्त्य हुने हुँदा बढीमा २५ दिनसम्म थुनामा रहनुपर्ने र त्यसपछि कानुनी प्रक्रिया पूरा गरी छुट्न सक्ने व्यवस्था छ।
यसैबिच लेख्दा लेख्दै मलाई केही दिन अगाडिको एउटा घटनाले फेरि सतायो। साउदीबाट आएकी एउटी भारतीय कलिली केटी जो नेपाली राहदानीमा फोटो परिवर्तन गरेर साउदी पुगेकी रहिछ, यो कुरा उसलाई थाहा थिएन। त्यस दिन म बेलुकीको खाना खान निस्कन लाग्दा मैले नै त्यस नानीलाई विभागमा लगेर छोड्नु पर्यो। उसको वेदना सुन्दा, देख्दा उसले नदेख्ने गरी म पनि रोएँ। म कति विवश थिएँ भने एउटा पीडामाथि झन् अर्को पीडा थप्न त्यो पीडादायी नरकमा पौडी रहेकी त्यो विवश आठ महिनाको गर्भ लिएर एउटा प्लास्टिकको झोलामा एक/दुई जोर कपडा बोकेर यहाँ आइपुगेकी छ।
विदेशमा पनि रुँदा रुँदा दुःख देखेर पठाएको, हवाईजहाज भित्र आफूलाई पासपोर्ट नदेखाउनु भनी सिकाएकोले नदेखाएको भन्दै ऊ यो सबै सिकाउने त्यो मानिसलाई सराप्दै साह्रै नराम्ररी रोई। १७/१८ वर्षको उमेरकी श्रीमतीलाई विदेश पठाएर उसको कमाई खाने उसको श्रीमानले त्यो बालिकाको हालको शरीर स्वीकार गर्ने हो होइन।
जनवरीमा गएकी जुलाईमा फर्काइएकी आठ महिनाको भयो भन्ने भारतीय नागरिकलाई नेपालको राहदानी ऐनअनुसार छानबिनका लागि अध्यागमन विभागको थुनुवा घरमा लगिँदै छ। उसलाई त्यो केही थाहा छैन। उसका बारेमा मेरा मनमा विभिन्न तर्कना आउँछन्। उसको अहिलेको शरीर, प्लास्टिकको झोलाका कपडा, ऊसँग भएको राहदानी, उसको वास्तविक परिचय, भोलिको भविष्य, उसप्रतिको परिवारको आशा आदिका कारण विवशताका सिकारका यी नै हुन सक्छन् भन्ने लाग्छ।
आठ महिनाकी गर्भवती महिला परिवारका साथ पौष्टिक आहार लिँदै जीवन गुजार्नु पर्नेमा उसको त ती सब केही छैन। अगाडि ठुलो भिर छ, पछाडिबाट बाघले खेद्दै छ, उसको निरीह शरीर यस लडाइँमा कहिले, कति समयसम्म थेग्न सक्ने हो? कहाँ लगिँदै छ, के गर्ने हुन् उसलाई केही थाहा छैन। उसको त्यो अबोध, दर्दनाक पीडादायी यात्राको साक्षी म सबै कुरा बुझ्ने, जान्ने आफूलाई ठान्ने एउटी आमा रुपी महिला अर्की विवश कलिली त्यो मुनालाई सबै देखेर केही नदेखे जस्तो गरी विभागको थुनुवा कोठामा राति छोडेर आफ्नो काममा फर्कन्छु।
यो कस्तो कानुन? यसरी झुकाएर पठाउने एजेन्ट कहाँ छ? उसको श्रीमान् कहाँ छ? त्यो नारीका यस पीडाका कारण यी होइनन्? तिनलाई सजाय खोइ? उल्टै घर, परिवार, श्रीमानले उसलाई स्वीकार गर्ने हुन् कि होइनन्? यस्तै सोच्दै म पुनः आफ्नो कार्यक्षेत्रमा फर्कन्छु। कार्यालयले गरेको निर्णयमा त्यो विवश नारीका आँसुले हामीलाई सराप्छ होला भन्ने डर पनि लाग्छ। कानुनले बाँधिएका कर्मचारी यथार्थता, भावुकतासँग हाम्रो केही सम्बन्ध हुँदैन रहेछ।
अर्को दिन बिहानको ड्युटी। खाना खाने समयमा कलम साथमै लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको अध्यागमन कार्यालयको एउटा अफिस कोठामा छु। तल भन्सार परीक्षण (भन्सार चेक) पछि सामान लिएर एक्स-रे मेसिनबाट बाहिर निस्कने यात्रुलाई माथिबाटै देखिन्छ। तीन चार जना युवाहरू स्ट्रेचर ठेल्दै रातो रङको ठुलो बाकस लिएर निस्किछन्। पहिले त म के रहेछ यत्रो ठुलो सामान भनी छक्क पर्छु। एक छिनपछि थाहा हुन्छ त्यो त शव राखेको बाकस भनेर। मेरो मुटु ढक्क फुल्छ। के के कल्पना गर्न पुग्छु। त्यही बाटो परिवारलाई कोसेली लिएर आफ्नो परिवारको सुख बोकी फर्कनु पर्ने जीवन काठको बाकसभित्र बन्द भएर आफन्तलाई अन्तिम दर्शन दिन साथी, आफन्तहरू ठेलिएर बाहिर निस्कँदै छ।
फेरि प्लेन आयो। प्यासेन्जर आए। म पुनः टेबलमा आएर काम गर्न थालेँ। बाहिर झमझम पानी परिरहेछ। काठमाडौँको वातावरण पानी पर्ना साथ अलिअलि जाडो हुन थाल्छ।