हालै म र मेरो मित्र ऋतिक यादव सर्लाही जाने कार्यक्रम बनायौं।
मित्र ऋतिक यादवलाई एक कार्यक्रममा सहजीकरण गर्न प्रस्ताव आएको हुँदा उहाँले मलाई पनि फुर्सद भएसम्म जाम हिँड्नु मधेस पनि देख्नुहुन्छ भनेर भन्नुभयो।
घुम्न ननिस्केको धेरै भइसकेको थियो र काठमाडौं बाहिर जान मन लागिरहेको थियो।
थोरै समयमा नै मधेसको समग्र पाटोलाई हेर्न मन थियो। काठमाडौंको धुलोधुवाँ र भागदौडबाट समेत आजित भएको थिएँ। काठमाडौंको धुवाँ त खाइयो अब तराई मधेसकै गर्मी खान जाऊँ भनेर साथीलाई हुन्छ सँगै जाउँला भनेर भनेँ।
साथीले अनलाइनमार्फत् नै सर्लाही बरहथवाको लागि टिकट काट्नुभयो। गाडी भाडा आफै तिर्नुपर्ने तर खानपिन र बसाइ आयोजकले नै व्यहोर्ने कुरा भएको हुँदा आफ्नो थप खर्च भएन। वैशाख १३ गते बिहीबार काठमाडौंबाट सर्लाहीको लागि हामीले रात्री बस समात्यौं। रात्री बस चितवन, हेटौंडा, वीरगञ्ज हुँदै सर्लाही जाने रहेछ। चितवनदेखि पूर्व नगएको समेत धेरै भएको थियो। पहिला ८ कक्षा पढ्दै गर्दा सप्तरीसम्म गएको याद छ।
सर्लाहीको बरहथवा भन्ने ठाउँमा हामी वैशाख १४ गते बिहान ६ बजे पुग्यौं। त्यहाँ हामी सूचनाको हक सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा काठमाडौंबाट सहजकर्ता भएर केही सिकाउन गएका थियौं। त्यहाँ हामीलाई बोलाउने आयोजक संस्थाका आयोजकले बरहथवाकै अन्नपूर्ण होटलमा बस्ने खाने बन्दोबस्ती गरिदिनु भएको थियो। यति भएपछि मधेसको खानाको स्वाद चाख्ने अवसर पनि जुर्यो।
कार्यक्रमको पहिलो दिन वैशाख १४ गते नै ११ बजेबाट कार्यक्रम उद्घाटन गर्ने थियो।
कार्यक्रममा मित्र ऋतिक यादवले काठमाडौंबाट नै मेहनतसाथ तयार गरेर राखिएको सामग्री प्रस्तुत गर्दै त्यहाँ उपस्थित २० जना इच्छुक सहभागीलाई सूचनाको हक के हो, नेपालमा केकस्ता व्यवस्था गरिएका छन्, ऐन नियममा केकस्ता कुरा लेखिएका छन्, सूचनाको हकमा टेकेर केही कुरा माग्दा केकसरी माग्ने र कुन प्रक्रियामा टेकेर माग्ने जस्ता कुराहरू व्यक्त गर्नुभयो।
त्यसैगरी अर्को दिन शनिबार उपस्थित सबैलाई सूचनाको हक सम्बन्धी निवेदन लेख्न सिकाउने, बरहथवा नगरपालिकाको सूचना अधिकारीसमक्ष लगेर हामीले उहाँमार्फत् आजै सहभागी प्रष्ट हुन भन्ने लागेर उहाँमार्फत् धेरै कुरा जानकारी दिन भनियो। सो अवधिमा विद्यार्थीमार्फत् धेरै कुरा सिक्ने कौतुहलता र हुटहुटी समेत देखियो। कोर मधेस नभएता पनि त्यहाँ बरहथवा नगरपालिकाको सबै वडाबाट सबै पृष्ठभूमिका युवा सहभागिता थियो।
बरहथवा नगरपालिका पहाडिया र मधेसका दुबै मिलेर बसेको ठाउँ रहेछ। आयोजकहरूले पनि सोही किसिमको मेहनत थियो जसबाट सहभागी सबैले ज्ञानको दायरा विस्तार गर्ने र सूचनाको हकबारे धेरै कुरा हामीबाट बुझ्न समेत पाए। कार्यक्रमको दोस्रो दिन मैले विद्यार्थीहरूलाई विद्यार्थीको सिकाइ उत्कृष्ट छ, आफ्नो अनुभव र अन्य पाटोबारे विद्यार्थीको ध्यानाकर्षण गराए।
यो त भयो मुख्य कार्यक्रमको कुरा तर त्यहाँ रमाइलो पक्ष चाहिँ नेपाली भाषा सबैले बुझ्ने गरेको पाइयो। बिहेको सिजन भएर होला बिहारतिरका गाडी खुलेआम हिँडेको देखिन्थ्यो। भारत-नेपालको रोजीबेटीको सम्बन्ध छ भनेर बोलिन्थ्यो। त्यहाँ पुगेपछि थप प्रष्ट हुन पाइयो। काठमाडौंमा बसेर मात्र धरातल बुझ्न सकिँदैन भन्ने थप आभाष दिलायो।
वैशाख १४ गते कार्यक्रमको पहिलो दिनको शत्र समाप्त भएपछि हामीलाई आयोजक साथीहरूले भरत ताल घुमाउन लग्नुभयो। सर्लाही पुगेपछि भरत ताल त हेर्नपर्छ है भनेर काठमाडौंबाट हामी दुबै मानसिक रूपले जाने भनेरै तयार भएर बसेको थियौं।
आयोजकबाट नै बाइकमार्फत घुमाउँदा थप मधेसको वस्तुस्थिति र बाटोघाटो हेर्न पाइएको थियो। मधेसमा महेन्द्र राजमार्गको वरिपरि पहाडकै मानिसहरूको बसोबास रहेको देख्न सकिन्थ्यो। भरत ताल बाग्मती नगरपालिकामा पर्ने रहेछ। हामी बसेको ठाउँबाट बाइकमार्फत् नै पुग्न पनि ३५ मिनेट लाग्ने रहेछ। बाइकमा जाँदा त्यहाँ सामुदायिक वनमा वृक्षरोपण गरेको रूखहरू देख्न पाइयो।
भरत ताल मानव निर्मित ठूलो ताल भन्ने पनि गरिन्छ। आखिर रहेछ पनि ठूलो त्यहाँको बाग्मती नदीकै पानीबाट पानी जम्मा गरेर ताल बनाइएको रहेछ। बाइकमार्फत् ताल वरिपरि एक फन्को लगाइयो, फोटो खिचियो र त्यहाँ तालनजिकैको क्याफेमा चिसो दही खाइयो। मधेसको गर्मीमा हामी भने होटल पुग्नासाथ एसी अन गरियो।काठमाडौंको तुलनामा गर्मी त हुनै नै हुँदा नुहाइ धुवाइ गरेर आइपिएल हेर्न र खाना खान होटलको तल्लो तलामा बस्यौं।
बिहीबारको दिन त्यसरी नै गयो। शुक्रबार अर्को दिन हामी बिहानै उठेर त्यहाँको चिया खान बाहिर निस्कियौं। चिया त मधेसमा पुगेपछि झन खानैपर्यो। शुक्रबार बिहान १० बजेबाट नै कार्यक्रम सुरू हुने भनेको हुँदा त्यहीँ किसिमले हामी तयारी गर्दै थियौं। चिया र नास्ता खाइवरी हामी होटलमा आयौं अनि आफ्नो काम गर्न थाल्यौं।
शुक्रबार सूचनाको हक सम्बन्धी थप कुरा सिकाउने, बुझाउने गरियो। मेयरबाट प्रमाणपत्र वितरण कार्यक्रम समेत भयो। बरहथवा नगरपालिकाको मेयर कल्पना कुमारी कटुवाल हुनुहुँदो रहेछ। हाम्रो पुरूष पकडको राजनीतिमा मेयरमा महिला निर्वाचित हुनु र उहाँबाट प्रमाणपत्र बुझ्न पाउँदा खुसी समेत लागिरहेको थियो।
महिलालाई मधेसबाट मेयर निर्वाचित भएको देखिनुले मधेस अगाडि बढ्दै छ है भन्ने पनि देखिन्छ।
शुक्रबार कार्यक्रम सकिएपछि उखुको जुस खान निस्कियौं जम्मा ३० रुपैयाँमा मज्जाले एक गिलास उखुको जुस खान पाइयो। मन आनन्दित भयो। साँझपख फेरि आयोजक साथीहरूले बाइकमा लगेर अझै कोर मधेस इलाका देखाउँदै हुनुन्थ्यो। कहीँ अलिक गरिब अवस्था जस्तो देखिएता पनि जमिन भएको र पशुपालन गरेको देखिँदा जीवन निर्वाह गर्न समस्या नभएको देखिन्थ्यो।
समस्या छैन भन्दा हुँदै नभएको समेत होइन प्रतिव्यक्ति आए न्यूनस्तरमा भएको र मधेस अझै विकासका पूर्वाधार लगायतको कुरामा पछि भएको समेत छ।
त्यसैगरी मधेस राममय बनेको छ। जय श्री राम लेखेको झन्डा यत्रतत्र देख्न सकिन्छ। गाडीहरूमा पनि राखेको देखिन्छ। त्यहाँ भजन कीर्तन सुन्ने बानी छ त्यो भने देख्दा मजा लाग्दो थियो।
सर्लाहीको बरहथवा भर्खर हुँदै गरेको बस्दै गरेको सहर रहेछ। नाकाबन्दी र कोभिडले समेत खासै प्रभाव नपारेको ठाउँ रहेछ। तरकारी ताजा र मीठो त्यहीँकै ताजा हुने रहेछ। अहिले आँपको सिजन भएको हुँदा आँप फल्दै गरेको मज्जाले देख्न सकिन्थ्यो। हल्का ठूलो नभएको हुँदा खान भने नपाएर खिन्न भइयो। आँपकै जङ्गल हुने हुँदा देख्दा पनि मन आनन्दित भएको थियो। पहिला म सप्तरी जाँदा त्यतिबेला पनि वैशाखमै परेको हुँदा आँप मज्जाले खान पाइएको थियो।
यसरी मधेसको दुई दिने यात्रामा धेरै याद सङ्गालेर वैशाख १६ गते दिउँसोको गाडी समातेर बर्दिबास र सिन्धुली हुँदै काठमाडौं फर्किएँ। साथी त्यतैबाट घर वीरगंजतिर एक दुईदिन बसेर काठमाडौं आउने भन्दै लाग्नुभयो। मधेस बुझ्न अझै मधेसको कोर एरिया र अन्य ठाउँ देख्नुपर्ने टड्कारो आवश्यकता भने देखियो। यो गर्दा अझै मधेस बुझ्न सकिन्छ।
(लेखक नेसनल ल कलेज सानेपामा अध्ययनरत छन्।)