भन्छन् जो कल्पनामा छ, त्यो सपनामा आउँछ। भाइ बारम्बार सपनामा आउँछ, दाइ बारम्बार सपनामा आउँछ,अन्तिम भेटले खुब सताउँछ।
युद्धको रापताप, आफै बदलिने र दुनियाँ बदल्ने दुस्साहसी सपना बोकेर क्रान्तिमा लागेका हौं हामी। अहिले त दाइले देखाएको बाटो, भाइले दिएको ढाडसको स्मृतिबाहेक अर्काे थोक छैन साथमा।
फेरि सम्झिन्छु जिन्दगी भन्नु पनि स्मृतिकै खात त हो। त्यो अन्तिम भेट भएको भैरवनाथ गणमा, जसलाई त्यतिखेर अन्तिम पनि हुन सक्छ भन्ने पटक्कै लागेको थिएन। त्यतिखेर त लाग्थ्यो नि, क्रान्तिकारीको कहिल्यै अन्त्य हुँदैन!
तथ्यमा सुनाउनका लागि ठ्याक्कै यही तिथिमिति र यही बारको हिसाब मसँग छैन। गिरफ्तार परेदेखि निस्सासिने कोठामा सधैंभरि आँखामा पट्टी बाँधेर बस्दा के कुराको हेक्का हुन्छ र? तै पनि एक–एक दिनको अन्दाज गरिरहेको हुन्थ्यो मेरो मानसपटलले।
अहिले सम्झिन्छु, त्यो काउन्ट डाउन केका लागि गरे हुँला? मृत्युको थियो होला कि जीवनको?
म गिरफ्तारमा परेको तीन महिनाभन्दा धेरै भइसकेको थियो, भैरवनाथ गणको चरम यातनाासँग अभ्यस्त हुन थालेको थिएँ। सामूहिक सपना बोकेर हिँड्दा सबैले पाएको यातनाको अनुभूति उस्तै उस्तै हुने रहेछ। आफूलाई दिने यातना, सहयोद्धाहरूलाई दिने यातना!
एकदिन दिउँसोको करिब दुई/तीन बजेको जस्तो लाग्छ, तत्कालीन शाही सेनाले बाहिर एक जना बन्दीलाई तीन–चार घन्टादेखि यातना दिइरहेका थिए। उनको चिच्याहट, उनको आवाज र उनको आर्तनादबाट स्पष्टै हुन्थ्यो यातनाको नेप्से कति माथि छ!
हामी यातनाको कुन तहमा बन्दीले कुन हदको आवाज निकाल्छन् भनेर ठम्याउन सक्ने भइसकेका थियौं। उनको आवाजले सारै पीडा भइरहेको अनुभूति त थियो तर ती बन्दी को थिए भन्ने अन्दाज थिएन। जान्ने उत्सुकता भने थियो।
त्यस दिन हामी भैरवनाथ गणभित्रको स्क्वास हलमा थियौं। स्वतन्त्रता र स्वाभिमानको लडाइँमा होमिएर त्यहाँ पुगेका हामी केही भन्न, बोल्न सक्ने अवस्थामा भने थिएनौं। हुन त हामीलाई भावना साटासाट गर्ने, बोल्ने र एक अर्कालाई ढाडस दिने अधिकार त्यो हलभित्र थिएन। त्यसमाथि राज्यको पगरी गुथेको एउटा मान्छेले विद्रोहको विगुल फुकिरहेको अर्काे मान्छेलाई जसरी यातना दिइरहेको थियो, त्यसले हामीलाई मूर्तिवतः हुनुबाहेक अर्काे विकल्प दिएको थिएन।
ड्याम–ड्याम बुट बजारिँदा ऐयाँ भन्दै निस्किने आवाज हाम्रा लागि अप्रिय ऐंठन थियो। हामी स्तब्ध थियौं, किंकर्तब्यबिमुढ थियौं। मैले जे अनुभूति गरिरहेको छु अरू साथीहरूले पनि त्यही अनुभूति गरिरहेका छन्। बेला पनि त्यस्तै थियो नि, एउटा क्रान्तिकारीको भाषा अर्काे क्रान्तिकारीले बुझ्थ्यो। हामी त आफ्नै मनसँग गफ गर्ने पो भएका रहेछौं।
ती बन्दीलाई घण्टौं यातना दिइसकेपछि आर्मीको एक जना मान्छे स्क्वास हलभित्र छिरे र उर्दी फिराए, ‘ए आतंककारीहरू उठ!’
कसैको आवाज यति नमीठो कसरी हुन्छ?, म आज भन्न सक्छु शक्तिले उन्मक्त भएका ती आर्मीको जसरी हुन सक्छ।
उठिसकेपछि हरेकको घाँटीमा नामको सट्टा एउटा रातो कपडाको टालोमा नम्बर लेखेर माला जसरी नै लगाइएको थियो, त्यही मालामा समातेर मलाई बाहिर निकालियो। बाहिर निकाल्दै गर्दा बीचमा मलाई पनि एक्कासि पाइपले खुट्टामा पिट्ने, लात्ती हान्ने र भुइँमा पछार्ने गरियो, जुन नियमित शिलशिलाको एउटा अंग नै भइसकेको थियो। आँखामा पट्टी बाँधिएको हुँदा कतिबेला कता हुत्तिन्छु भन्ने हेक्का नै हुँदैनथ्यो। त्यसपछि मलाई फेरि उठाएर बाहिर लगियो।
म पनि हुत्तिँदै, घिच्चिँदै त्यही यातनास्थलमा पुगेँ। त्यहाँ पुर्याएपछि मेरो आँखाको कालोपट्टि खोलियो। भुइँमा लडिरहेको क्रान्तिकारी योद्धालाई देखाएर मलाई सोधियो–यसलाई चिन्छस्?
किन नचिन्नु?
मैले भर्खरै पट्टी खोलिएको आफ्नो आँखा ती आर्मीको आँखासँग जुधाएर भनेँ– चिन्छु मेरो आफ्नो दाइ, मेरो प्रेरणाको स्रोत।
***
दाइ हात्तीसार क्याम्पस धरानमा पढ्नुहुन्थ्यो, कहिलेकसो घरमा आउनुहुथ्यो। त्यो बेला हाम्रो घरमा कम्युनिष्ट राजनीतिको रङ चढ्दै थियो। यी रङहरूलाई झन् रंगीन बनाउने भूमिका खेल्नुभएको थियो माइलो दाइ पुष्पले।
कहिलेकाहीँ आउँदा पनि उहाँ घर एक्लै आउनुहुन्नथ्यो हामीलाई नयाँ लाग्ने शब्दहरू पनि बोकेर आउनुहुन्थ्यो–जस्तो कि जनयुद्ध। उहाँले त्यतिबेलै पश्चिमबाट विशाल जनयुद्ध आइरहेको जसले सबै प्रकारका उत्पीडन, अन्याय अत्याचारहरूको अन्त्य गर्छ भन्नुहुन्थ्यो। त्यसबेला उहाँहरूले हात्तीसार क्याम्पसमा गोप्य रूपमा अनेरास्ववियु क्रान्तिकारी गठन गरिसक्नुभएको रहेछ।
उहाँले हामीलाई पनि राजनीतिमा आकर्षित गर्ने ध्येयले नै हुनुपर्छ जनयुद्धबारे लेखिएका पत्रपत्रिका ल्याइदिनुहुन्थ्यो। दाइकै उत्प्रेरणा, सम्पर्क र हौसलाका कारण हामीले पनि स्कुलमा अनेरास्ववियु क्रान्तिकारी गठन गरेका थियौं।
आइएस्सी सकेलगत्तै थप अध्ययनका लागि दाइ धरान छोडेर काठमाडौं जानुभयो, तर क्रान्ति भने छोड्न सक्नुभएन। त्यसबेलासम्म दाइले इन्जिनियर बन्ने पुरानो सपना भने छोडिसक्नुभएको रहेछ, क्रान्तिको सपनाले डोहोर्याउँदै दाइलाई रत्नराज्यलक्ष्मी क्याम्पससम्म पुर्याएको भेउ हामीले निक्कै पछिमात्रै पायौं।
दाइसँग बिताएका एक एक पल, दाइले देखाएको बाटो, दाइले भनेका कुरा आज उतार्नका लागि मसित शब्दहरूको अभाव छ। के कुरा भनूँ र के कुरा नभनूँको विरोधाभाषमा ठिंग उभिएको छु। यादहरू तँछाड– मछाड गर्दै आइरहेका छन्, हतारोमा छन् तर लामबद्ध छन्, थानकोट नाकाबाट काठमाडौं छिर्न नौबिसेसम्मै लाइनमा बसिरहेका गाडीहरूजस्तै। त्यो लामो जाम हेर्दै काठमाडौं छिरेको पनि त म पुष्प दाइकै कारण हो। सायद मैले हिँडेको बाटो औपचारिक रूपमा बदलिएको क्षण त्यही बेला नै हो।
बसको ताँतीबारे चाहिँ मैले पहिलोपटक सुरेन्द्र दाइबाट सुनेको थिएँ। एसएलसी सकिएपछि जस्तो लाग्छ, सुरेन्द्र दाइ काठमाडौंबाट दमक फर्कनु भएको थियो। त्यतिबेला भन्नुहुन्थ्यो–केटा हो काठमाडौंमा त गाडीको ताँती त कति हो कति, जति गए पनि नसिद्धिने। दाइको कुरा सुनेपछि मैले भुटानी शरणार्थीहरू ल्याउँदाको गाडीका ताँती सम्झिएको थिएँ।
मेरो दिमागमा एउटा ठूलो जिज्ञासा थियो– सधैं यस्तै गरी बासको ताँती लाग्ने नेपालको राजधानी कस्तो होला? मेरो मनमा कौतुहलता थियो, काठमाडौं कस्तो होला? यिनै जिज्ञासा र कौतुहलताले मलाई काठमाडौं हेर्न र पढ्न जाने रहर जागिरहेको थियो।
म काठमाडौं पढ्न जान मासिक रूपमा तयार भएँ। एसएलसीको परीक्षा सकिएपछि मैले पनि साथीहरूको माझमा दाइहरू काठमाडौं हुनुहुन्छ, मेरो पढाइ काठमाडौंतिरै हुन्छ होला भन्ने गर्थें। मलाई काठमाडौं पढ्न जाने भूत चढिसकेको थियो। त्यतिबेला मेरो लागि काठमाडौं ‘अलकापुरी नगरी’ थियो। सपनाको सहर थियो।
आज यादहरूको ताँती लागेको छ। नलागोस् पनि किन? पहिलो काठमाडौं यात्रा नै दाइ पुष्पसँग भएको थियो।
२०५७ साल वैशाखको १९ गते पुष्प दाइसँग नाइट बस चढेर पहिलो पटक मेलै कोठमाडौंको यात्रा गरेँ। म निकै प्रफुल्लित थिएँ। आफूलाई निकै भाग्यमानी ठानिरहेको थिएँ। म आफूलाई उत्सुक, जिज्ञासु र सन्तुष्ट भावका साथ त्यो यात्रामा सामेल गर्न चाहन्थेँ। म राजधानीमा उच्च शिक्षा हासिल गर्न जाँदै थिएँ। मलाई त्यो बेला लागेको थियो कि यो मेरो जीवनको पहिलो र सबभन्दा महत्वपूर्ण यात्रा हो। मैले थुप्रै सपनाहरू बोकेर दमकबाट जिन्दगीको नयाँ रेखाहरू कोर्न काठमाडौंको बाटो नापेको थिएँ। के हामीले त्यतिबेला आकाश छुने सपनासहित गरेको यात्राको प्रतिफल भोगिरहेका हौं? या यो समयमा जे भइरहेको छ, हामीले गरेको ठीकै कामको परिणाम हो?
झसंग भएँ म!
दाइसँगका यी एक एक पल स्मृतिमा रिलझैं घुमिरहेका थिए।
एउटा क्रान्तिकारी योद्धा, जसलाई उनीहरूले घण्टौंदेखि गलाउने कोसिस गरिरहेका छन्। यातना दिएर, यातनाका अनेकौं विधि अपनाएर दाइबाट पार्टीका आन्तरिक र गोप्य कुरा निकाल्ने प्रयत्नमा थियो तत्कालीन शाही सेना। दाइ भने अविचलित, अटल र दृढ संकल्पका साथ चुपचाप हुनुहुन्थ्यो। कुनै सूचना दिन तयारै हुनुहुन्थेन। मैले दुस्मनका अघिल्तिर ढलेको क्रान्तिकारी योद्धालाई सगरमाथाभन्दा अग्लो महसुस गरेँ।
दाइ पुष्पले त्यहाँ भनिरहनुभएको थियो, ‘मलाई मार्देऊ बरू, म तिमीहरूबाट मर्न चाहन्छु, मलाई केही पनि थाहा छैन, म केही भन्न सक्दिनँ, भन्दिनँ।’
घन्टौंको यातनाले अर्धचेतमा हुनुहुन्थ्यो दाजु, अवचेतनमा पनि पार्टीप्रतिको अगाध भरोसा र विश्वास फुलेको थियो उहाँको दृढतामा।
दाइ, अरू केही बोल्न सकिरहनुभएको थिएन। उधोमुन्टो लगाएर पानीमा डुबाएको कारणले होला दाजुको शरीर टाउकोदेखि पैंतालासम्म निथ्रुक्क भिजिरहेको थियो। कमिज रगतले भिजेर राताम्मे थियो। हातका औंलाहरू सबै सुन्निएका थिए। सायद उनीहरूले सनासोले च्यापेर नङ निकालेका होलान्।
किनभने मलाई पनि त्यसै गरिएको थियो।
मैले चिन्छु भनिसकेपछि दाइलाई फेरि ब्युँझाउने कोसिस गरे र मलाई यातना दिन सुरूआत गरे। उनीहरू मलाई यातना दिँदै पुष्प दाइलाई सोध्न चाहन्थे, ‘तेरो भाइलाई यहीँ मार्दिम् कि तँ पार्टीका गोप्य कुरा भन्छस्?’ दाइले भनेको शब्द मलाई अझै याद छ- 'हामी क्रान्तिका सिपाही हौं, हामी परिवर्तन चाहन्छौं, योभन्दा अरू हामीलाई केही थाहा छैन। ऊ पनि उही हो, यातना नदे बरू मलाई मार।'
त्यसको केही समयपछि त्यहाँबाट मलाई निकालेर पुनः पहिलाकै स्थानमा लगियो। मैले सोच्न थालेँ, 'पुष्प दाइलाई कसरी समात्यो होला, के गरे होलान्?'
त्यहाँ हामी बन्दीलाई राख्ने दुई वटा ठाउँ थियो। एउटा बाहिरपट्टि ग्यारेज भन्थे, कस्तो ग्यारेज, के ग्यारेज हो हामीलाई थाहा थिएन। पाल टाँगेर त्यहाँ राखिएको थियो रे। एउटा आर्मीको स्क्वास हलमा हामीलाई राखिएको थियो। पुष्प दाइलाई पालमा लगे, मलाई स्क्वास हलमा ल्याएर राखियो। दाजुभाइको भेट नहोस् भनेर त होला नि!
त्यो दिन दाइसँग भेट भएन पनि, भेट नभएपछि संवादको मौका पनि जुरेन। मलाई दाइसँग थुप्रै कुरा गर्नुथियो, धेरै प्रश्न सोध्नु थियो। पार्टीको स्थिति के छ, कहाँ के भइरहेको छ ? जितिराखिएको छ कि हारिराखिएको छ? मेरो ठूलो चासोको विषय थियो। परिवारको स्थिति के छ? अनि हाम्रो कान्छो भाइ धिरेन्द्रको स्थिति के छ? उसलाई गिरफ्तार गर्यो कि सुरक्षित छ? यस्ता थुप्रै थुप्रै प्रश्नहरू थिए मनभित्र।
यता पुष्प दाइलाई दैनिकजसो यातना दिइरहन्थे। त्यो आवाज म प्रष्ट चिन्न सक्थेँ। दाइको त्यो आर्तनाद, मेरो कान हैन, मुटुमा गड्थ्यो। एक एक क्षणको सम्झना हुन्छ मलाई। कल्पनामा आउनुहुन्छ, दाइ सपनामा आउनुहुन्छ।
केही दिनपछि पुष्प दाइलाई पनि हामीलाई राखेकै ठाउँ स्क्वास हलमै ल्याइयो। म दाइसँग नजिकिन खुब कोसिस गर्थें। खाना खाने बेलामा हामी सबैलाई उठाउँथ्यो र यताउता परिन्थ्यो। त्यो बेलामा उहाँसँग नजिकिने कोसिस गर्थेँ तर सफल भइरहेको थिइनँ।
एक पटक उनीहरूले पिसाब फेर्न को–कोलाई मन छ उठ भने। त्यसरी सोधेपछि पिसाब लागेका थुप्रै साथीहरू ढोकाको छेउमा लाइन बस्न जान्थे। त्यो दिन मैले पनि आँखाको पट्टी अलिकति मिलाएर कापबाट थोरै हेर्न मिल्ने बनाएको थिएँ। पुष्प दाइ लाइनमा गएपछि म पनि जान्छु, त्यसपछि गफ गर्ने मौका मिल्छ भन्ने मेरो सोचाइ थियो। नभन्दै दाइ लाइनमा जानुभयो। त्यो देखिसकेपछि म पनि गएर लाइनमा बसेँ र मैले भनेँ, 'म वीरेन्द्र हो। त्यसपछि उहाँ आश्चर्य चकित हुँदै के छ, कसो छ भनेर सोध्नुभयो, यातना कति दिइरहेका छन्?' भनेर सोध्नुभयो।
अनि मैले दाइलाई कहाँबाट गिरफ्तार गरेको भनेर सोधेँ। कालिमाटीबाट गिरफ्तार गरेको रहेछ। गिरफ्तार गरिसकेपछि उहाँलाई सिधै भैरवनाथ गणमा लिएर आएको रहेछ। जुन दिन दाइलाई यातना दिएको थियो त्यसै दिन दिउँसो गिरफ्तार गरिएको रहेछ। हामीलाई धेरैबेर अन्तरंग गफ गर्ने मौका त कहाँ हुन्थ्यो र त्यहाँ? अनि मैले साउतीको स्वरमा 'कत्तिको यातना दिएका छन्?' भनेर सोधेँ।
दाइले भन्नुभयो- सायद यिनीहरूले मलाई मार्छन्। अत्यन्तै भयंकर यातना दिइरहेका छन्।
संयोग! हामी दाजुभाइलाई एकै पटक शौचालयमा छिराइदियो। चिनेको भए सायद छिराउँदैन थिए। त्यहाँ पुगिसकेपछि दाइले पनि आँखाको पट्टी खोल्नुभयो, मैले पनि खोलेँ हामी एकअर्कालाई हेर्यौं। हेर्दाखेरी उहाँको शरीर सुन्निएको थियो। यातनाले उहाँका लुगाहरूमा रगतैरगत लागेको थियो।
दाइले भन्नुभयो– मेरो सर्ट निकालिदे न। मेरो ढाडमा कुटेर रगतले सबै टाँसिएको छ।
टाँसिएको रहेछ पनि। मैले निकाल्ने कोसिस गरेँ। शरीरमा घाउ पाकेर पूरै पिपै पिप थियो त्यसैले सर्ट टाँसिएको थियो। दाइले आफै निकाल्न सक्नुहुन्न थियो, किनभने उहाँका औंलाहरूमा पिन रोपिएका थिए। त्यो पिन रोपिएको ठाउँबाट पिप र रगत बगिरहेको थियो। झन् रगत बग्न थालेपछि मैले दाइको सर्ट निकाल्नै सकिनँ। अरू के के भनें, मनभित्र कस्तो हुण्डरी चल्यो सम्झिनँ सक्दिनँ। यत्ति चाहिँ सम्झना छ कि मैले दाइलाई भनेँ– रगत धेरै बग्यो, तँलाई दुख्छ होस् छोडिदे।
मैले दाइलाई सोधेँ–पार्टीको स्थिति के छ?
उहाँले भन्नुभयो–भ्यालीमा अलि अलि क्षति भए पनि बाहिरतिर हाम्रो पार्टीले जितिरहेको छ।
यति सुनिसकेपछि महिनौंका यातनाहरू केहीछिनको लागि भए पनि भुलेको अनुभूति भयो। अनि मैले दाजुसँग नै भाइ धीरेन्द्रको बारेमा सोधेँ।
उहाँले भाइ गिरफ्तारीमा नपरेको खबर सुनाउनुभयो, क्षणभरका लागि भए पनि मैले कल्पनामै आफैमा पखेंटा हालेँ, भुर्रर उडेर बाहिरको दुनियाँमा पुगेँ। त्यसपछि म आफै बाहिर भएको अनुभूति भयो।
दाइले भन्नुभयो–क्रान्ति र पार्टीका निम्ति हामी बलिदान गर्न तयार हुनुपर्छ। हामीले गोप्य सूचनाहरू दिन हुँदैन। उहाँले त्यति भनिसके हामी शौचालयबाट निस्कियौं।
त्यसको दुई दिन पछि दाइलाई अन्तै सारे। अन्तै सारेको एक/दुई दिनपछि दाइले फेरि मेरो यहाँ जुत्ता छ भन्दै आएको मैले सुनें मैले।
पुष्प दाइको त्यो आवाज नै मेरो कानमा गुञ्जेका अन्तिम आवाज रहेछ। हामी दुई दाजुभाइको त्यो मुलाकात नै अन्तिम रहेछ। त्यसपछि पुष्प दाइलाई कहिल्यै देखिनँ, उहाँको आवाज कहिल्यै सुनिनँ।
केही समयपछि मैले खाना खाइरहेको ठाउँमा आर्मीका एक जना मान्छे आएर 'आज तैँले नुन छाड है, नुन खान हुँदैन' भने।
मैले सोधें–किन?
उनले भने– आज तेरो दाइ र भाइलाई सिध्यायौं।
म झसंग भएँ र अचम्म मानेर सोधें–भाइलाई?
उनले भने– हो तेरो भाइ, उनीहरूलाई हामीले समातिसकेका थियौं। आज तेरो दाइ र भाइको अन्त्य भैसकेको छ। तिनीहरूलाई हामीले मारिसकेका छौं।
मेरो स्मृति भाइ घुम्न थाल्यो, भाइमात्रै घुम्न थाल्यो।
भाइ! मेरो सहयात्री, मेरो जीवनको पहिलो साथी। आजको दिनमा पनि मलाई कसैले सबैभन्दा धेरै कसको याद आउँछ भनेर सोधे, मैले भन्थें– भाइ।
ऊ मेरो भाइ मात्रै थिएन, सबभन्दा प्रिय साथी पनि थियो। भौतिक रूपमा ऊ आज हामी माझ छैन। तर उसले बिर्सनै नसकिने सम्झनाहरू छाडेर गएको छ। उसले मानव हितका लागि आफ्नो युगको स्पार्टाकस बनेर बलिदानको कृतिहरू रचेर गएको छ। ऊ एकदमै मेहनेती विद्यार्थी थियो। अत्यन्तै सिर्जनशील छात्र थियो। कक्षा आठमा पढ्दै गर्दा उसले विज्ञानको अनुसन्धान गर्ने प्रयोगशाला घरमै बनाएको थियो। वैज्ञानिक परीक्षणमा उसको गहिरो रूचि र लगाव देखिन्थ्यो।
भाइ धीरेन्द्र खेलकुदमा पनि अत्यन्तै तगडा थियो। कविता लेख्थ्यो। अहिले कतिमात्रै सम्झिउँ, के कुरा कुरा लेखौँ? सुरेन्द्र दाइ, धीरेन्द्र र म सँगसँगै स्कुल जान्थ्यौं। उमेर उस्तै–उस्तै थियो। हामीलाई बुबाआमाले स्कुलको ड्रेसबाहेक अन्य कपडाहरू पनि उस्तै–उस्तै किनिदिनु हुन्थ्यो।
बच्चाको दिमागमा बुवाआमाले जोरजाम गरिदिने लुगा र खानाबाहेकको पनि सपना हुँदो रहेछ, खेलको। हामीले नयाँ फुटबल नै किन्ने योजना बनायौं। त्यसका लागि धान काटिसकेपछि धानका सिला खोज्न थाल्यौं। खलोमा दाइँ गरेर धान बत्ताइ सकेपछि, बत्ताएर फालिने भुसमा रहेका धानहरू जम्मा गरेर र सिला खोजेको धान जम्मा गरेर फुटबल किन्ने योजनाका लागि धान जम्मा गरेर बनियाँकोमा लगेर बेच्यौं।
धान बेचेर केही पैसा जम्मा भयो। म अरू काम गर्न जानुपर्ने हुँदा भाइ धीरेन्द्रलाई फुटबल किन्न पठाएको थिएँ। काम सकेपछि बेलुकी घर फर्केर भाइले ल्याएको फुटबल खेल्ने हतारो त्यतिकै थियो। घर पछाडि खलो थियो। साँझपख परबाट यसो हेरेको–भाइ त अस्ति नै केलाई सकेको भुस केलाएर बसेको छ। नयाँ फुटबल ल्याएर रमाउँदै खेलेर बस्नुपर्ने समयमा किन भुस केलाएर बसिरहेको देख्दा अचम्म लाग्यो। म कोठाबाट निस्केर खलोमा गएँ।
उसको आँखाभरी आँसु थियो। उसले सुँक्क सुँक्क गर्दै धान केलाइरहेको देखेर म अचम्ममा परेँ। जब उसले कारण बतायो, मेरो पनि आँसु रोकिएन। भएछ के भने ऊ बजारदेखि फुटबल किनेर आउँदै गर्दा बाटोमा फुटबल खसेछ। टिप्न नपाउँदै ऊसँगै आएको गाडीको चक्कामा परेर फुटेछ। १५/२० दिनदेखि सबैतिर चारेर जम्मा गरेको त्यो धान र भुस भनेर फालिएको खलोबाट केलाएको धान बेचेर आएको पैसाले किनेको फुटबल थियो। एक पटक पनि खेल्न नपाइ फुट्दा यति धेरै मन कुँडिएको थियो कि अहिले शब्दमा लेख्नै सकिँदैन। भाइलाई फुटबलप्रतिको चाहना बेसरी थियो।
दाजुभाइ निकै स्तब्ध भयौं। एकछिन केही भन्नै सकनौँ। हामी केहीबेर सँगै रोयौं। मैले रूँदै भाइलाई त्यो गाडीको नम्बर टिपिनस् भनेर सोधें। उसले धुलै–धुलो भयो मैले गाडी नम्बर टिप्नै पाइनँ भन्यो। हाम्रो साझा सपना त्यसरी चकनाचुर भएको थियो। तर दुखमा पनि सुखमा पनि दाजुभाइ कहिल्यै अलग भएनौं।
भाइ धीरेन्द्र सहयोद्धा पनि भयो। हामीले स्कुलमा अनेरास्ववियु क्रान्तिकारी गठन गर्दा भाइ पनि साथमा थियो, हामी माओवादी युद्धमा जाँदा पनि सँगै गयौं। मेरो जिन्दगी, मेरो क्रान्ति भाइबिना एक पल, एक क्षण पनि चल्न सक्दैन भन्ने मलाई मात्रै होइन भाइलाई पनि थाहा थियो। हामी एक अर्काबिना अधुरा थियौं। आज पनि मैले मेरो जिन्दगीको महत्वपूर्ण भाग गुमाइरहेको छु। भाइबिना म आज अधुरो छु।
हैन होला! मलाई मेरो भाइ धीरेन्द्रका बारेमा उनीहरूले ल्याएको खबर खबरजस्तै लागेन, मलाई उनीहरूले बेकारमा यातना दिन यो कुरा गरेका हुन जस्तो लाग्यो। किनभने सेनाका यस्ता कुरा हाम्रा लागि नयाँ पनि थिएनन्।
उनीहरूका यस्ता कुरा सुन्न हामी बानी परिसकेका थियौ। त्यसैले पनि मैले आर्मीका कुरा पत्याइनँ। मेरा दाजुभाइ क्रान्तिका लागि यतै कतै संघर्ष गरिरहेका छन् भन्ने अनुभूतिले जित्यो। यही विश्वासका साथ मैले आफ्नै लयमा गाँस टिप्न थालें। तर त्यसपछि पुष्प–धीरेन्द्रसँग मेरो भेट भौतिक रूपमा कहिल्यै भएन।
तर धीरेन्द्रसँगको एक निमेषको भेट अन्तिम थियो भनेर मलाई आज पनि पत्याउन मन लाग्दैन। तर सत्य त यही नै हो।
एक पटक त्यहाँबाट उनीहरूले पाएको गोप्य सूचनाका आधारमा कुनै मानव अधिकारवादी संगठनले हामीलाई राखेको ठाउँमा छापा मार्ने कुरा भएछ। त्यही भएर बिहानै हामीलाई त्यहाँबाट उठाएर ब्यारेकभित्रकै अर्काे ठाउँमा लगियो। अन्यत्र लैजाने क्रममा हामी जस्तै थुप्रै बन्दीहरू राखेको ठाउँमा हामीलाई पुर्याइएको थियो। त्यहाँ लैजाँदा त्यहाँ पनि ट्वाइलेटमा लान ल्याउन झन्झट हुने भएर थुप्रै जनालाई एकै पटक लैजान्थे। हामीलाई लगेको बेलामा उता पटीका बन्दीहरू पनि त्यहाँ लगेको रहेछन्।
त्यतिबेला म जाने क्रममा र ऊ निस्किने क्रममा ठ्याक्कै धिरेन्द्रसँग मेरो जम्काभेट भयो। मैले उसलाई चिनिहालेँ।
मैले भनेँ–धिरेन्द्र, म वीरेन्द्र। ऊ पनि झस्कियो, म पनि झस्किएँ।
'अनि तिमीहरूलाई आज यता लिएर आएको छ हो?,' भन्यो।
'हो हामीलाई यता ल्याएको छ,' भनेँ।
'अनि त्यहाँ कति जना छौ,' भन्यो।
'धेरै जना छौं,' मैले भनेँ।
यसरी धीरेन्द्र र पुष्पसँग त्यहाँ मेरो भेट भयो। त्यो दिन उनीहरूसँगको अन्तिम भेट थियो मेरो।