यो सहरको घर–घरको कहानी हो। जब स्कुल बस आउने समय हुन्छ, बिहान आठ बजे अगाडि सबैजसो परिवारमा यही प्रश्न गुन्जिने गर्छ। केही दिन अगावै अनलाइनमा पढेको सुसारे बुहारीको स्तम्भ होस् या बाक्लो दालको कथा, दुवैसँगको विषय पनि कतै न कतै टिफिनसँग पनि जोडिएको छ।
हरेक घरमा बाक्लो दालको प्रभाव छिरेको छ। राम्रो नराम्रो कुरा आफैँमा विवेचना गर्न सकिन्छ तर यहाँनेर टिफिनको चटारो सबैमा छ। आज के टिफिन पठाउने? त्यो हिजो पठाएको, त्यो अस्ति पठाएको, त्यो बाबु नानीले मन पराउँदैनन्, त्यो त झनै छुँदै छुँदैन, त्यो बनाउन अलिक समय लाग्छ, त्यो स्वास्थ्यकर छैन। क्यान्टिन गरौँ कि के हो? आज एक दिन हुँदैन, त्यो त बिलकुल हुँदैन। बच्चा बिरामी पर्लान् कि भन्ने डर।
पाउरोटी पठाऊँ, सधैँ उही मोटोपनाको डर। उता ब्राउन ब्रेड ल्याउँ, बच्चाले रुचाउन्न। सेतो ब्रेड खान हुन्न भन्छन् कस्तो समस्या।
विकिपेडियाले टिफिनलाई दिउँसोको हल्का खाजा जुन दक्षिण एसियामा चलनचल्तीमा छ भनी उल्लेख गरेको छ।
चिउरा पठाऊँ सुक्खा बालखाहरूले खान सक्दैनन्। निल्न गाह्रो हुन्छ। भुजा मुराइ पठाउन हल्का हुन्छ, जति खाए नि पेट भर्दैन।
भारतीय सिनेमा उद्योगले कुनै बेला 'लन्च बक्स' भन्ने सिनेमा बनाएको थियो जसमा प्रेमको कुरा उठाइएको थियो तर यहाँनेर त्यो प्रेम वयस्क बिचको नभई मातृ–पितृ प्रेम सुर्ता, चिन्ता, सन्तान मोह, स्वास्थ्य सजगतामा पनि जोडिएको छ।
बालगृह, अनाथालय या निजी, सरकारी सामुदायिक विद्यालय जहाँ कहीँ पनि खाजा भन्नासाथ कि त चाउचाउ कि त बिस्कुट या पाउरोटी आउँछ, भलै बन, बम, पप, केक जे भने पनि आखिर पाउरोटीकै वर्गमा पर्छ।
मौसमअनुसार टिफिन तयार गर्न अभिभावकलाई हम्मे हम्मे छ। जुन बढ्ने, हुर्कने, पौष्टिक तत्त्व चाहिने समयका बालबालिकाहरूलाई के खाना दिने? के टिफिन बनाउने अभिभावकलाई चटारो नै छ। आफू पनि अभिभावक भएको नाताले स्वाभाविक रूपमा भुक्तभोगी छ।
कुन चिज, वस्तु ठिक बेठिक, राम्रो नराम्रो, खान हुने वा नहुने भन्ने तर्क राख्न असमर्थ नै छु किनकि आफू ब्रान्ड जोगाउनुपर्छ, ब्रान्ड बनाउनुपर्छ भन्ने क्षेत्रमा आबद्ध छु, तसर्थ मेरो धर्म पनि हो।
आमाहरूको पुस्ता चिल्लो चाप्लो, दह्रो दिगो, ओटिलो हुन्छ भन्नेछ। नयाँ बुहारी, छोरी पुस्तामा चिल्लो फाइदा गर्दैन भन्ने छ। दुवै आ–आफ्ना ठाउँमा ठिक होलान्।
डाक्टर अरुणाले भनेझैँ पत्रु खाना भन्ने सोच कमैमा छ। त्यसको लागि सोच्ने, जान्ने, बुझ्ने, थाहा पाउने फुर्सद पनि त हुन पर्यो। पहिला त खाजा भनेपछि मकै मुख्य थियो तर आजकल कहाँ पाउनु त्यो मकै? कलकत्ते मकैले सबैतिर ढाकेको छ। पपकर्न भन्छन् माइक्रो ओभनमा बनाउन सजिलो, कताको हाँडी, सिन्का खोज्नु! समय बदलियो। खानपान, आहार विहार फेरियो। मन, कर्म, माया, प्रेम पनि फेरियो।
सानो छँदा 'खेल छुट्टी मकै भुट्टी' भनिन्थ्यो। अब सायद मकै टिफिनमा पठाउने कमै होलान्। कि त रोटी, कि त चिउरा फलफूल, कि त भुटेको भात, बिहान बेलुकी भात खाएर वाक्क भएका नानीबाबुलाई दिउसो खाजा पनि कति त्यही भात पठाउने। अभिभावकको मन न हो तर विकल्प छैन।
फलफूल पठाउन पनि जोखिम, सिजनको फलफूल बच्चाले चाख राख्दैनन्। बेसिजनको फलफूल महँगो पनि अनि बढी विषादी पनि हुन्छ भन्छन्।
प्रजापति पराजुलीको गीतमा झैँ 'के खान्छ्यौ कमला, बिस्कुट दिऊँ कि पाउरोटी' भनेझैँ अभिभावकलाई पीडा छ। उता स्कुलले जङ्क फुड नपठाऊ भन्छ, बच्चाले जङ्क फुड मन गर्छ। बाल मनोविज्ञान एकतिर, स्वास्थ्य अर्कोतिर छ।
भात, भान्सा, चुलो, चौकोमा, दाल रोटीमा द्वन्द्व छ एकातिर भने अर्कोतर्फ पुरुष प्रधान समाज सोच छ। छोरी मानिसलाई सधैँको चटारो नै छ, टिफिन होस या ड्रेसमा।
स्कुलमा क्यान्टिन भएकाले पनि बच्चाहरू उतै खान रुचाउँछन् जसमा अभिभावकहरूले दुई प्रकारको जोखिम मान्छन्। एक त बच्चालाई पैसा दिन हुन्न। अर्कोतर्फ बाहिर अजिनो मोटो हालेको खानेकुरा खाएपछि घरको मिठो लाग्दैन। अर्को कति पुरानो तेलमा पकाउँछन् जस्तो मान्छन् बाबु आमाहरू।
दार्शनिकहरूले भनेझैँ बच्चा तपाईँको बच्चा होइन त्यो रगत मात्र तपाईँको हो तर मन, सोच, दिमाग, बुद्धि सबै फरक हुन्छ। यस कारण पनि हामी बालबालिकालाई व्यवहार, कुराकानी सबैमा सचेत, सुझबुझ हुनुपर्छ।
अन्त्यमा, के पठाउने त टिफिनमा यो निर्णय गर्ने अधिकार तपाईँकै भए पनि बालबालिकाको स्वास्थ्यको हेक्का र जिम्मा पनि तपाईँकै हो नि। यस कारण पनि टिफिनको लागि आफ्ना बालबालिकाहरूसँग बसेर सहभागितामूलक बैठक र कुराकानीबाट हप्ताभरको साप्ताहिक चार्ट तालिका बनाई समस्या सल्टाउन सकिएला कि?
त्यो चार्टमा फलफूल, अन्डा, अम्लेट, जुस, बदाम, चिउरा, मकै, रोटी हलुवा, परौठा, दालमोठ, भुजा, पाउरोटी, फ्राई राइस, गेडागुडी फ्राई, पनिर, आलु, गाजर, मुला, प्याज सबै परोस्। जसबाट भिटामिन, प्रोटिन, कार्ब सबै मिश्रण होस र अमिलो, पिरो, टर्रो, तितो, मिठो, गुलियो, नुनिलो सबै परोस् ता कि बच्चा रमाओस् र टिफिन पनि फिर्ता नल्याओस्। साथै परिवारमा खुसी छाओस्, पुस्ताबिच समन्वय होस।
साथै बच्चालाई आफै टिफिन बनाउन सिकाउने, लगाउने, किनमेलमा रोज्न, छान्न लगाउने, युट्युबतिर खाना पकाएको देखाउने साथै यही बहानामा घुलमिल भएमा टिफिनले नसताउला कि?