२०७९ सालमा स्नातक तहको अन्तिम नतिजा आएपश्चात स्नातकोत्तरको पढाइ गर्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस जाने निर्णय गरेँ। २०७९ फागुन २ गतेबाट जैविक प्रविधि केन्द्रीय विभागमा स्नातकोत्तर तहको पढाइ सुरू गरेँ।
माध्यमिक विद्यालय तहदेखि नै चेत पसेको मेरो विद्यार्थी राजनीतिलाई अमृत क्याम्पसको स्नातक तहको पढाइले केही परिपक्वता भरिदिएको थियो। त्यसैले सुरूआती दिनहरूमै मैले विश्वविद्यालयमा रहेको बेथिति, चर्को आन्तरिक राजनीतिले थिलथिलिएको व्यवस्थापन, विद्यार्थी र सेवाग्राहीले भोग्नुपर्ने झन्झटिलो र पट्यारलाग्दो प्रक्रियाहरू लगायतको बारेमा बुझ्न कठिन भएन।
यति बुझिसकेपछि अब आफूले सकेको सहजीकरण गर्दै त्यहाँ रहेका बेथितीविरूद्ध नबोली म बस्नै सकिनँ।
यसै क्रममा १४ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कुरा थाहा पाएपछि म यसको नेतृत्व गर्छु र विश्वविद्यालय भित्रका बेथितिविरूद्ध संस्थागत रूपमै विद्यार्थीको प्रतिनिधित्व गर्दै लड्छु भन्ने अठोट गरेँ।
मैले स्ववियुको अध्यक्षमा पदमा उम्मेदवारी दिने निर्णय गरी आफू आबद्व संगठन नेपाल विद्यार्थी संघमा कुरा गरेँ। त्यसपश्चात मलाई अहिले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनु र त्यहीबाट आफ्नो लडाइँ लड्नु भन्ने सल्लाह बमोजिम मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएँ र आफ्ना योजनाहरू लिएर विद्यार्थीमाझ गएँ।
मेरो एजेन्डा म र मेरो संगठनको एजेन्डालाई नै आम विद्यार्थी साथीहरूले पास गर्दै हामीलाई अत्यधिक मतका साथ विजय गराइदिनुभयो।
अब म विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीको प्रतिनिधि त थिएँ नै सँगसँगै नेपालभर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीको पनि समस्या र समाधानका एजेन्डा मेरो मुख्य उद्देश्य रहने छ भन्ने अठोट आफैसँग गरेको थिएँ।
विश्वविद्यालयमा जति समस्या थिए। धेरैजसो व्यवस्थापकीय र राजनीतिक थिए त्यसमा हामी विद्यार्थीको कुनै भूमिका रहने थिएन तर समस्या र झन्झट भने विद्यार्थीले बेहोर्नुपर्ने हुन्थ्यो जसमा हामी चुप बस्न सक्ने थिएनौं।
तसर्थ समाधानको लागि विश्वविद्यालय पदाधिकारीकोमा बारम्बार गइराखेर आफ्ना माग राखिरह्यौं। दबाबको लागि विज्ञप्ति बुझाउने, धर्ना दिने, आवश्यकता अनुसार शान्तिपूर्ण र सांकेतिक आन्दोलन गर्ने सम्मका गतिविधि गरिरहेका छौं/ गरिरहने छौं।
त्रि.वि. पदाधिकारीको लापरबाही, व्यक्तिगत स्वार्थ, राजनीतिक दबाबले गर्दा होला त्रिविले आफ्नो जग्गाको संरक्षणसम्म पनि गर्न सकेको छैन, शैक्षिक क्यालेन्डर, समयमै परीक्षा, समयमै नतिजा प्रकाशन लगायतका यावत समस्या ज्यूँकात्यूँ छन्।
त्रि.वि.लाई राजनीतिक हस्तक्षेप मुक्त गराउनको लागि प्रधानमन्त्री कूलपति रहने व्यवस्थालाई संशोधन गरिनुपर्ने हुन्छ त्यसो नहुँदासम्म जति तामझामको साथ खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिएको उपकुलपति भनिए पनि स्वयं प्रधानमन्त्रीको पार्टी निकटका व्यक्ति नै छानिनुले हामी लगायत विश्वविद्यालयप्रति चासो राख्ने सम्पूर्णलाई शंकाको सुविधा प्रदान गरेको छ, तर पनि केही आशावादी पक्कै हुन सकिन्छ।
स्वतन्त्र विद्यार्थी युनियनको निरन्तर दबाब र आन्दोलनको कारणले परीक्षा नियन्त्रण कार्यालयबाट हुने धेरै कामहरू घरमै/कार्यकक्षमा बसेर अनलाइनबाटै गर्न सकिने भएको छ तर व्यवस्थापकीय पाटाे कमजोर हुँदा अझै व्यवस्थित र प्रभावकारी ढंगबाट सेवाग्राहीले सेवा लिन पाएका छैनन्, जसका लागि हामी निरन्तर खबरदारी गरिरहेका छौं भने नेपालको इतिहासमा पहिलो पटक केन्द्रीय पुस्तकालय २४ सै घण्टा खुला गर्ने व्यावस्था गरिएको छ। जसले गर्दा आफ्नो काम सकेर खाली समयमा पुस्तकालय गएर पढ्न चाहनेहरूको लागि निकै सहज बनाएको छ।
म आफू निर्वाचनको समयमा मत माग्न जाँदा विद्यार्थीहरू माझ गरेको बाचा अनुसार आफ्नो ठाउँबाट गर्ने भूमिकालाई सक्दो न्याय दिएको महसुस गरेको छु। जस्तै: उपकुलपति लगायत पदाधिकारीमा राजनीतिक भागबण्डा गरिनु हुँदैन भन्ने मागलाई स्थापित गर्नको लागि निरन्तर दबाबमूलक आन्दोलन गरिरह्यौं।
विश्वविद्यालयलाई अध्ययन अध्यापनको मात्र थलो नबनाई विद्यार्थीलाई खोज अनुसन्धानको लागि प्रोत्साहन गर्न विभिन्न अध्ययन संस्थासँग MOU गरी आवश्यक पर्नेको लागि खोज अनुसन्धान अनुदान उपलब्ध गराउनको लागि प्रक्रिया पनि अगाडि पढाइसकेका छौं।
विश्वविद्यालयको सम्पूर्ण संरचना अपांगमैत्री बनाउनको लागि पहल गरेका छौं र त्यसको लागि केही कामहरू अगाडि बढेको छ।
विश्वविद्यालयका छात्रावास, क्याफेटेरिया, शौचालयलाई सुधार गरिएको छ र गर्ने क्रम अझै जारी नै रहनेछ। महिलाहरूको लागि सुरक्षित विश्वविद्यालय बनाउनको लागि आफैले पहल गरिरहेको छु र केही सुधार पनि भएको छ।
यस सँगसँगै विश्वविद्यालयका हरेक नीतिगत र संरचनागत सुधारका लागि निरन्तर आवाज बुलन्द पारिरहेका छौं।
हिजो, आज र भोलि पनि देशलाई आवश्यक शिक्षित, दक्ष र बौद्धिक जनशक्ति उत्पादन गर्ने मुख्य थलो विश्वविद्यालय हो।
हामी नेपालीलाई विश्वसामु उभ्याएर हरेक देशका शिक्षित, दक्ष नागरिकसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन पनि हाम्रो विश्वविद्यालयले दिने शिक्षा र दक्षताको मुख्य भूमिका रहन्छ। त्यसैले हाम्रो विश्वविद्यालयलाई अझै प्रविधिमैत्री, प्रतिस्पर्धात्मक र अब्बल बनाउनको लागि विश्वविद्यालय विमर्शको सुरूआत गरेका छौं।
म सचेत छु यो पर्याप्त छैन तर निरन्तर लागि रहनेछु र सुरूआत भएका राम्रा कामहरूको निरन्तरता र बाँकी समस्याको समाधानको लागि पनि।
उत्कृष्ट सुधारका योजनाहरूको आधारमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट सरकारले छ्नोट गरेको नवनियुक्त उपकुलपतिज्युका ती उत्कृष्ट सुधारका योजनाको कार्यान्वयन छिटो गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु।
साथै नवनियुक्त शिक्षामन्त्री जसको संसदीय भूमिकाले हामी सबैलाई प्रभावित गरेको थियो। उहाँबाट पनि निकै आशावादी छौं तर आजसम्म पनि उहाँले हामी विश्वविद्यालयमा प्रत्यक्ष पढिरहेका, समस्यासँग जुधिरहेका, सुधारका लागि लडिरहेका र विद्यार्थीको प्रतिनिधित्व गरिरहेकाहरूसँग पनि सम्पर्क नगर्नु, सुझाव नलिनुले गर्दा उहाँ पनि कतै काम र अनुसन्धानको कार्यान्वयन भन्दा पनि स्ट्न्डबाजी मात्रै गरेर बिदा हुने त होइन भन्ने शंकाको ठाउँ दिनु भएको छ। आशावादी छौं निराश नबनाइदिनु होला।
आजको दिनसम्म विद्यार्थी साथीहरूको माया, विश्वास, हौसला र साथले गर्दा नै त्रिवि सुधारको दबाब दिने कुरामा मेरो आत्मविश्वास र उत्साह अझै बढिरहेको छ र यसलाई निरन्तरता दिने कुराको विश्वास यहाँहरूलाई दिलाउँदै आगामी दिनहरूमा पनि साथ सहयोग र हौसलाको अनि अपेक्षा गर्दछु।
(भुसाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकी स्ववियु कोषाध्यक्ष हुन्।)