संसारलाई झुलाउने पनि फेसबुक
संसारलाई भुलाउने फेसबुक
सदुपयोग गर्न जानेकालाई सही
नजान्नेहरूका लागि हानिकारक छ है साथी।
६/७ वर्ष नै हुन लागेछ फेसबुक चलाउन थालेको पनि। सुरुमा साथी कसरी बनाउँछन् भन्ने ज्ञान पनि थिएन मलाई। च्याटको त झन् के कुरा गर्ने। अरूले के पोस्ट गरेको छ त्यही हेर्थेँ अनि अफ हुन्थेँ। लगभग फेसबुक खोलेको ५/६ महिना जति यसरी नै चलाएँ। खासै वास्ता पनि लाग्दैन थियो।
फेसबुक पनि अरूलाई खोल्न लगाएको थिएँ। कुरा हुन्छ भन्ने थाहा त थियो तर कसरी कुरा हुन्छ? कहाँबाट हुन्छ? अनभिज्ञ नै थिएँ म। एक दिन गाउँका दिदीबहिनीसँग बजार गएँ। मोबाइल पसलमा गएर वाइफाई कनेक्ट गर्न लगाइयो। त्यसपछि दिदीबहिनीहरूको मोबाइलमा फोन आउँछ, म्यासेज आउँछ। मेरो फेरि शून्य।
सोधिहालेँ- यसमा कसरी साथी बनाउने हो? कहाँबाट कुरा गर्छन्?
पहिले म्यासेन्जर डाउनलोड गर भन्ने कुरा आयो। एप डाउनलोड गर्ने पनि थाहा नपाएर। फेरि प्रश्न गरेँ- कसरी?
उहाँहरूले सिकाइदिनु भयो। डाउनलोड पनि गरियो म्यासेन्जर। त्यसपछि साथी बनाउने, कुरा गर्ने सबै सिकाउनु भयो।
जतिले फेसबुकमा रिक्वेस्ट पठाउँथे, सबैको एसेप्ट गरिहालेँ। न कोही चिनेको छ, न देखेको छ। अब च्याट सुरु हुन थाल्यो। बिस्तारै फेसबुकप्रति आकर्षित हुँदै गइयो। टाइप पनि नआउने मलाई। फेसबुकमा रोमनमा बोल्दा रहेछन्। आफूलाई केही थाहा छैन। उताबाट 'हाई' आउँथ्यो, म पनि हाई लेख्थेँ। त्यसपछि भने उताबाट 'के छ?' रोमनबाट म्यासेज आयो। अङ्ग्रेजीबाट बोलेको होला भनेर गुगलमा खोजेँ तर भेट्दै भेटिएन। सोध्दै म्यासेजको रिप्लाई दिन सक्ने भइयो जसोतसो।
गाउँमा नेटवर्कले काम गर्दैन थियो। त्यसो भएता पनि घरको माथिल्लो तल्ला हुन्छ कि, रुख चढेर हुन्छ फेसबुक चलाउनु पर्ने। त्यो क्रम लगभग एक वर्ष जति चल्यो। पछि बजार झरेपछि त वाइफाई नै चलाउन पाइने भयो।
फेसबुक चलाएर कुनै सर्टिफिकेट मिल्थ्यो भने मैले डिग्रीको सर्टिफिकेट हासिल गरिसकेको हुने थिएँ। तर के गर्नु, समय बरबाद बाहेक केही भएको छैन। सुरुमा वास्ता नलाग्ने, अहिले भने एक छिन नचलाउँदा अन्धकारमै छु जस्तो लाग्छ।
फेसबुकको लत लाग्यो मलाई नमज्जाले
छुटाउने उपाय भन्देऊ कोही फसे म नमज्जाले
छोड्छु भन्दै एप डिलिट नगरेको पनि होइन
कैयौँ जालमा नफसेको पनि होइन
समय यसैले नै खाएको छ मेरो
साथीभन्दा माथि स्थान पाएको छ मेरो
न त यसको फाइदा नै भेटेको छु मैले
र पनि जति बेला हेरेको छु मैले
फेसबुकको लागि न त खास समय नै चाहिन्छ
मोबाइल हातमा पर्नै हुन्न ध्यान उतै जान्छ।
उठ्यो फेसबुक, बस्यो फेसबुक, हिँड्यो फेसबुक, सुत्यो फेसबुक। फेसबुक फेसबुक भन्दै बसेको बसौँ भयो। फेसबुकले यस्तो बनाइदियो मलाई, नचलाउँदा छटपटीले मुटु पोल्थ्यो मेरो। यही नै सबै थोक हो जस्तो लाग्थ्यो मेरो। छोड्नलाई हजार कोसिस गरेँ मैले। तर निकै गाह्रो भयो। सास फेर्न मुस्किल जस्तो भयो। यस्तो अवस्थामा गुज्रिएको थिएँ कि म संसार नै फेसबुक लागिसकेको थियो।
फेसबुकबाट हामीले हाम्रो दिमागमा यस्तो नकारात्मक कुरा सेभ गरिसकेका छौँ, यो एउटा देखाउने माध्यम हो जस्तै। कसैले क्यामेराबाट फोटो खिचेर राख्यो, मलाई नि त्यो गर्न मन लाग्छ। कसैले कपडा नयाँ किनेर लगाएको हुन्छ, त्यो पनि मलाई चाहिने। नयाँ ठाउँको फोटो अपलोड गर्यो, त्यहाँ आफू पनि जानै पर्ने। देखासिकी बाहेक अरू के रहेछ र फेसबुक? फेसबुक चलाउन थालेदेखि न खानाको समय छ, न काम गर्नेको सबै बेतालको भएको छ।
फेसबुकले यदि बढी चलाउनेलाई पैसा दिन्थ्यो भने म मालिक भइसकेको हुने थिएँ। सर्टिफिकेट दिन्थ्यो भने डिग्री पास गरिसक्थेँ। अनगिन्ती प्रयासपश्चात् केही दिन भयो, अलि टाढा बस्ने कोसिस गरेको छु। तपाईं पनि मजस्तै लत बसाल्नु भएको छ भने कम गर्नुहोस्। अरूको देखासिकीले तपाईं अनि मेरो लगायत हामी कसैको समय बरबाद नहोस्। समय बरबाद हुनु भनेकै जीवन बरबाद हो। समयको महत्त्व बुझौँ। फेसबुकलाई प्रयोग गर्न सिकौँ।