उमेरले नेटो काट्यो। जोस र जवानी सबै सडकमा। धनको नाममा सिङ्गो लुखुरे ज्यान हाजिर छ। सम्पत्ति भनौँ कि के भनौँ, दुई छोराछोरी र श्रीमती छन्। गाउँको पाखो बारी र खेत बाँझै छ। चौकीदारको जागिरे जीवन चल्दै छ। श्रीमती सामान्य राजनीतिक कार्यकर्ता भएता पनि विवाहपछि राजनीति चटक्कै छाडिन्। सक्रिय भोटर हुन्।
बुढाबुढी आमा-बाबु गाउँमै बस्छन्। यो कथा होइन, फिल्मको कहानी पनि होइन। एक जना राजनीतिक कार्यकर्ताको छोटो जीवनी हो।
१८ वर्षको लक्का जवान ठिटो सहरमा पढ्न भनी क्याम्पस छिरेको। स्कुलमा हुँदा नेविसंघ र अनेरास्ववियु भन्ने थाहा थियो। क्याम्पस भर्नापछि अखिलका साथीसँग सङ्गत भयो। क्याम्पस कमिटीमा राखिदिए। शरीरको बनावट, आवाज र बोलीमा दम थियो। क्याम्पसमा हुने हरेक कार्यक्रममा नियमित उपस्थितिमा हुन्थ्यो। बिहानदेखि बेलुकासम्म क्याम्पसमा समय बित्थ्यो। क्याम्पस सङ्गठनको जिम्मा उसैको थियो। इमानदार विद्यार्थी नेताको पद दिए।
क्याम्पसमा नयाँ आउने विद्यार्थीको भर्ना गर्ने, फारम भरिदिने लगायतका काम नियमित हुन्थे। समय क्रममा सरिता भन्ने एक जना पूर्वतिरकी बहिनीसँग भेट भयो। रेगुलर क्याम्पस नआउने र बोर्डिङ स्कुलमा पढाउने हुँदा फर्म भर्ने लगायतका काममा फोन गरिरहन्थिन्। अरूको झैँ उनको पनि काम हुन्थ्यो। क्याम्पसमा त्यस्ता काम नियमित हुन्थे। जीवनको उर्वर समय अरूको फारम भर्ने, भर्ना गराउने, परिचय पत्र बनाइदिने नियमित र दोहोरिइरहने काममा एक दशक बिते।
ब्याक लाग्दै बिए पासको सर्टिफिकेट मैले पनि पाएँ। त्योभन्दा माथि गएन। भेट धेरैसँग भयो। चिनजान धेरैसँग भयो। क्याम्पसमा विरोधका कार्यक्रम गर्नु पर्यो वा पार्टीको कार्यक्रम गर्नु पर्यो वा बन्द हडताल र जुलुसमा जानु पर्ने भयो भने मै अगुवा हुन्थेँ। नेतादेखि कार्यकर्ता नचिन्ने कुरै भएन सबै दोस्ती। क्याम्पसमा विद्यार्थीहरूको सानोतिनो काम गरिदिए बापत २०/५० दिन्थे। स्ववियुका साथीले भात खुवाउँथे। कोठा भाडा तिर्न त्यसैले पुग्थ्यो। क्याम्पसको काममा नियमित हुन्थेँ। अरू सोच्नै फुर्सद भएन।
२५ वसन्त पार गरेपछि तिनै पुरानो सरितासँग घनिष्ठता बढ्यो। सहमतिमा जनवादी विवाह भयो। घरजमको पारिवारिक जीवन चल्न थालेपछि भने १२ बजेको घण्टी बज्न लागे जस्तो भयो। बच्चा जन्मियो। फ्ल्याटको भाडा तिर्नु पर्ने भयो। श्रीमतीले बच्चा पेटमा आएपछि बोर्डिङको जागिर छोडिन्। क्याम्पसमा रहँदा हाई हेलो गर्ने साथी धेरै कमाएँ। बिएको सर्टिफिकेट कमाएँ। श्रीमती कमाएँ। नेतालाई पार्टीको कार्यकर्ता हो भन्ने चिनाएँ। त्यो बाहेक केही थिएन, सिङ्गो जीवन थियो।
क्याम्पस रहँदा साथीभाइले भात खुवाउँथे, दैनिकी चल्थ्यो तर श्रीमतीसहित बच्चाको अभिभारा थपिएपछि भने फेरि पनि १२ बजेको घण्टी लाग्यो। पैसाको महत्त्व। इलमको महत्त्व। समयको महत्त्व बुझ्दा धेरै ढिला भएछ। सबै कुराले नेटो काटेको छ।
स्थानीय चुनावको सरगर्मी बढ्दा गाउँको वडाध्यक्षमा उठ्ने चाहाना राखेर पार्टीमा कुरा पुर्याएँ। पार्टीले चुनाव जित्न पैसावाला चाहिने भन्दै टिकट दिएन। चुनाव जिताउने कमान्डर बनायो बरु। पार्टीको मान्छेले चुनाव जित्यो। जागिर वा राजनीतिक नियुक्तिका लागि धेरै पटक अनुरोध गर्दा पनि सुनुवाई भएन। फेरि पनि १२ बजेको घण्टी लागेको अनुभूति भयो।
श्रीमतीले कचकच गर्थिन्। बा-आमाले गाउँ बस्न गाह्रो भयो, सहर जाने कुरा गर्नु हुन्थ्यो। कोठामा बा-आमालाई लगेर के गर्ने होला? मनले सोचिरह्यो। बच्चालाई स्कुल हाल्ने बेला भएको छ। चिनजानका क्याम्पसका साथीहरूले 'दाइ कता हो? क्याम्पस नआउने?' भन्थे। बिच-बिचमा कपाल फुल्न खोज्दै गर्दा नयाँ क्याम्पस आउने भाइबहिनीले अङ्कल भनेपछि क्याम्पस जान छोडिदिएँ।
क्याम्पसमा सँगै राजनीति गर्नेहरू मध्ये केहीको बोर्डिङमा शेयर रहेछ। सँगैको साथी हरि विदेश गएर उतै घरजम गर्यो। केहीको कन्सल्ट्यान्सी रहेछ। कोही ठेक्कापट्टा मिलाइदिँदा रहेछन्। कोही मन्त्रीका पिए बनेर सेटिङ मिलाउँदा रहेछन्। कमाउने तरिका धेरै रहेछन्। जुन बेला यो कुरा थाहा पाएँ समय समय धेरै घर्किसकेछ।
उमेरले ३० कटेपछि लोक सेवा वा अरू सरकारी जागिरका लागि पढ्ने आँट भएन। सुरुमा त प्राइभेट काम के गर्नु भन्ने भयो। नेतादेखि कार्यकर्ता सबैले दाइ भन्छन्। सानोतिनो काम गर्न लाज भयो। गाउँमा आमा-बुबाले छोरो क्याम्पसको नेता छ भन्थे। चुनाव आयो कि गाउँको चुनाव संयोजक मै हुन्थेँ, मलाई बनाउँथे। दिन यसै गरी बिते।
त्यत्रो समय नबुझेको राजनीतिक विवाहपछि बुझेको भान भयो। प्राइभेट काम भए नि खोज्नु पर्यो भनेर लाग्दा कसैले पत्याएनन्। सेक्युरिटीको तालिम गरेर काम गर्न सुरु गरेँ। चिनेकाहरू आउँदा मास्क र क्याप लगाएर छद्म भेषमा बसेर दिन कटाएँ। परिचय लुकाएँ। दोष मेरो थियो कि राज्यको अहिलेसम्म भेउ पाइनँ।
राणा र राजतन्त्रले मुलुक खोक्रो बनाएको भाषण आफैले धेरै चोटि गरियो। हाम्रो पार्टी र सङ्गठनले समाज परिवर्तनको ठेक्का लिन्छ भन्दै भाषण गरियो। तर बुझ्दै जाँदा समतामूलक समाज निर्माण भन्ने कुरा सबै भ्रम रहेछन्। निरन्तर उर्वर समय खेर गएछ। समयलाई निहाल्दै गर्दा भ्रम र झुट बाहेक अरू होइन रहेछ।
राजनीतिको नाममा सोझाहरूको दिमाग भुटिएछ, युद्धमा हिँडेको सिपाही बनिएछ। राज्य र समाज परिवर्तन होला भनेको त नेता महल वाला बनेछ। चाकडी गर्ने कार्यकर्ता करोडपति बनेछ। सोझा र इमानदार कार्यकर्ता जस्ताको जस्तै भुइँमान्छे भएछ। कपाल फुल्यो, दारी फुल्यो। समाज परिवर्तन गर्ने राजनीति सङ्लिनुको साटो थप विकृत बन्यो। राजनीतिको नामबाट लुटेछन् मात्र। इमानदार कार्यकर्ताभन्दा ठेकेदार नजिक भयो। मसलवाला प्यारो भयो। धन वाला प्यारो भो। चाकडीबाज झन् प्यारो भयो।
समाज परिवर्तन गर्ने पात्र म आज परिवर्तन भएछु। अपसोच! न जागिर, न नेता। न ठेकेदार, न सम्पत्ति। न कम्पनीको मालिक नै। केबल कम्पनी मालिकलाई सलाम ठोक्ने इमानदार पाले भएछु भनेर उसको जीवन कहानी सुन्दा म भने अवाक् भएँ। फिल्म हेरे जस्तो भयो।