चलनचल्तीको वेब सिरिज जस्तै कोरोनाको पनि दोस्रो लहर सुरु भइसकेको थियो। पहिलो लहरमा कोरोना विरुद्धको युद्धमा होमिएका हामी मध्येका केही साथीहरूले ज्यान गुमाइसकेका थिए। पहिलो लहरमा जसोतसो उम्किन सफल हामीलाई दोस्रो लहरको सुरुआतमै हलचल मच्चाइसकेको थियो।
सुरुदेखि नै आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा आफ्नोभन्दा पनि परिवारको डर लाग्दथ्यो। मलाई केही भइहाले पनि सरकारले खर्च व्यहोर्ला। अस्पतालको सेवा सुविधा सजिलै उपलब्ध हुन सक्ला भन्ने सोच्थेँ। तर, परिवारका कुनै सदस्यलाई कोभिड भयो भने कुनै उपाय नै आफूसँग नहोला जस्तो लाग्थ्यो।
कुरो वैशाख महिनाको हो। जुन बेला म कान्तिमा रेजिडेन्सीको अन्तिम वर्षको तयारीमा थिएँ। थेसिस सकाएर प्रोफेसरलाई बुझाउने तनावमा थिएँ। पढाइको तनाव त थियो नै अर्कोतर्फ दोस्रो लहर उत्कर्षमा पुग्दै थियो। अस्पतालको धपेडी असाध्यै। जसले गर्दा कसैको फोन उठाउन अनि म्यासेज फर्काउने समेत फुर्सद थिएन। बुवा आमाले पनि म व्यस्त भएको थाहा पाएर मेरो हालखबर बुझ्न ३ घण्टा पर पहाडको छेउको गाउँपालिकामा बस्ने श्रीमतीलाई फोन गर्दथेँ। एक दिन घरबाट फोन आयो। फोन आमाको थियो।
आमाले आफू बिसन्चो भएको सुनाउनुभयो। फोनमा उहाँले भन्दै हुनुहुन्थ्यो–‘पखाला लागिरहेको छ। सास फेर्न पनि गाह्रो भइरहेको छ।’
आमालाई मैले ख्याल गर्नुस् म बुहारी अर्थात् मेरो श्रीमतीलाई कल गरेर खबर गर्छु भनेर कल राखेँ। तत्काल श्रीमतीलाई कल गरेँ। श्रीमतीले आमाको स्वास्थ्य अवस्थाबारे जानकारी दिइन्। आमालाई गाह्रो भएको सुनाइन्। बरु उपचारका लागि काठमाडौँ लैजान सुझाइन्।
घरको आर्थिक अवस्था उकास्ने भनी बाबाको पूरै जिन्दगी भारतमा बित्दै थियो। अनि दाजु भने विदेश तिर होमिनु भएको थियो। आमालाई च्याप्दै गयो। सायद धेरै नै गाह्रो भएर होला आमाले फोनमा भन्नुभयो–‘राजु अब त म बाँच्दिनँ होला।’
आमाको यो शब्दले मनमा चिसो बतासले छोएझैँ भयो। बोल्दै गरेका ओठहरू काँप्न थाले। सम्हालिएर भनेँ- आमा केही हुँदैन म छु त। आमा बिसन्चो हुँदा आफूसँगै नभएकोमा भने मलाई पश्चात्ताप लागिरहेको थियो। कोरोना उत्कर्षमा पुगेको थियो।
नेपालगन्जको भेरी अस्पताल कोभिडका बिरामीले खचाखच भरिएका थिए। बेड पाउन त्यहाँ भर्ना भएका मानिसको मृत्यु कुरेर बस्नु पर्ने अवस्था थियो। त्यही भएर दायाँबायाँ नसोचेर आमालाई सिधै काठमाडौँ ल्याउने व्यवस्था मिलाएँ। सार्वजनिक बिदाको दिन थियो। ओपिडी बन्द थियो। आमालाई रुममा पनि नलगेर सिधै टिचिङ हस्पिटलको इमरजेन्सीमा जँचाउन लगेँ। त्यहाँ सुरुआती सोधपुछपछि रगत जाँच, एक्स-रे अनि कोरोनाको परीक्षण गरियो। सुरुमा गरेको छातीको एक्स-रे हेर्ने बित्तिकै कोरोनाको शङ्का लागिसकेको थियो। पूरा रिपोर्ट आउन अझै ३–४ घण्टा बाँकी थियो।
आमालाई इमरजेन्सी कक्षमा राखिएको थियो। कोरोनाको रिपोर्ट नआएसम्म कतै सार्न मिल्दैन भन्ने खबर पाए। त्यति बेलासम्म आमा अलि थकित मात्रै देखिनु भएको थियो। शरीरमा अक्सिजनको मात्रा ठिकै थियो। उता घरबाट आफन्तको फोन अनि बुवा र दाजुको विदेशबाट फोन आइरहेको थियो। आमाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन तारनतार आइरहने फोनले कहिले त दिक्कै बनाउँथ्यो।
आमालाई कोरोना पुष्टि भए अस्पतालमा बेड पाइन्छ कि नाइँ? आइसियुमा राख्नु पर्यो भने खर्चले पुग्ला कि नाइँ? दिनहुँ मानिसहरू मरेको देख्दा हाम्रो अवस्था पनि त्यस्तै आयो भने के गर्ने होला? यस्तै–यस्तै नानाथरीका कुराले ढ्वाङ्ग्रो हानिरहेको थियो। मनमनै भगवानसँग कामना गरिरहेको थिएँ– ‘हे भगवान् आमाको रिपोर्ट नेगेटिभ आओस्।’ तर भगवानलाई गरिएको पुकार बेकार भयो। आमालाई कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। इमरजेन्सीबाट अब अर्को पोजेटिभ वार्डमा सार्छ होला भन्ने सोचेको थिएँ। तर अस्पतालले अहिलेलाई सबै बेड प्याक छ भन्दै अर्को अस्पतालमा लैजान भने। अब के गर्ने?
हतार–हतार टिचिङ अस्पतालमै लैजाने निधो गरेँ। तर बेड छ कि छैन? बेड निश्चित गर्न अस्पतालमा कल गरेँ, त्यहाँ पनि बेड प्याक रहिछ। अरू दुई/तीन वटा सरकारी अस्पतालमा कल गरेँ। त्यहाँ पनि अवस्था उस्तै थियो। आमाको ज्यानभन्दा अरू ठूलो के नै हुन्छ र? निजी अस्पतालमा लैजान मसँग पैसा थिएन। गाउँको जग्गा बेचौँ भने बिक्री हुने खालको जग्गा पनि थिएन र त्यो पनि तुरुन्तै कसले पो लिन्थ्यो र? मेरो आफ्नो कमाइले मलाई आफ्नो खर्च चलाउन अनि पुरानो लोन तिर्न ठिक्क हुन्थ्यो। बुवा र दाजुको कमाइले घरको ऋण तिर्नै ठिक्क हुन्थ्यो। त्यसैले मसँग टिचिङ अस्पतालको बेड कुरेर बस्नु बाहेक अर्को विकल्प थिएन।
कहीँ कतै खाली हुन्छ कि भनेर मैले आफूले चिन्ने टिचिङ, वीर अनि कान्ति अस्पतालका साथी अनि सिनियर डाक्टरहरूसँग हारगुहार माग्थेँ। तर उनीहरू पनि के गरून्? अवस्था नै त्यस्तै विकराल थियो। साँझ भइसकेको थियो। केही उपाय नलागेपछि एउटा कुनामा गएर बसेँ। आकाशबाट सिमसिम पानी पर्दै थियो। अनि आफूलाई सम्हाल्न नसकी हार मान्दै भक्कानो फोडेर रुन थालेछु। मलाई वरिपरि रहेका मान्छेहरूले हेरे अनि सुने पनि होलान्। मलाई उनीहरूले सुन्नु नसुन्नुसँग के प्रवाह? साथी विप्लव, शम्भु र दाजु सुशीलको कल रिसिभ गर्दा म बोल्दै सकिन्। त्यो पल मलाई मेरो गरिबीप्रति धिक्कार लागेको थियो। पेसाप्रति घृणा जागेको थियो।
जिरो लेबलबाट उठेर कमाउन धेरै समय लाग्ने रहेछ जस्तो लाग्यो। आमाले बुवालाई भनेको कुरा सम्झिएँ– ‘जिन्दगीभरि अर्काको देशमा चौकीदारी गरेर अहिलेसम्म राम्रो घडेरी अनि जग्गा पनि किन्न सकिएको छैन। छरछिमेकमा सबैको ठाउँमा घर अनि घडेरी छ।’ जसको उत्तरमा बुबा भन्नुहुन्थ्यो–‘हाम्रो लगानीमा हाम्रो पुर्खामा कोही पनि राम्रोसँग अक्षर नचिन्नेको सन्तानमा गर्व गर्ने लायक डाक्टर त बनाएका छौँ।'
मैले सन २०१३ मा एमबिबिएस सकेर खजुरा स्वास्थ्य चौकीमा बाँकेमा डाक्टर भई काम गर्दा त्यस ठाउँ वरिपरिका नेता भद्र भलाद्मीहरूले ‘बाबु तिम्रो घर कहाँ पर्यो?’ भनेर सोधपुछ गर्दा म भन्थेँ– ‘जमुनी डाफे पर्यो।’
'फलानो वडाध्यक्ष, नेता ज्यूको छोरा हौ कि गाउँको प्रधानको आफन्तजन हौ?' उनीहरू थप प्रश्न गर्थे। मैले सहजै भन्थेँ– ‘हजुर मेरो पृष्ठभूमिमा त्यस्तो शक्तिशाली मान्छे कोही पनि हुनुहुन्न। म एक गाउँले कृषक। आफ्नो अनि परिवारको पेट पाल्न भारतमा चौकीदार गरिरहेका इसरे सुनारको छोरो हुँ।’
निर्धक्क जवाफ दिएको बेलाबेलामा सम्झिरहन्छु जसले मलाई सधैँ अघि बढ्न प्रेरणा दिन्छ। तर, नेपालमा डाक्टरको मर्म बुझ्ने सरकार अहिलेसम्म आएको महसुस भएको छैन। मलाई मात्रै हैन हाम्रो फिल्डमा काम गर्ने थुप्रै डाक्टरहरू जो विशेष गरी शून्य लेबलबाट आएका हुन्छन्।
जसको पैतृक सम्पत्ति केही हुँदैन, उसलाई त इमानदारीका साथ काम गरी डाक्टरको जिन्दगी जिउन पनि गाह्रो हुन्छ। सरकारले गरेको तरिका हेर्दा हाम्रो इमानदारिता कायमै राखी काठमाडौँमा परिवार पाल्न गाह्रो हुन्छ। मेहनतअनुसारको अनि अन्य देशमा डाक्टर पेसालाई दिने सम्मानजनक तलब सुविधा पनि दिन सकेको छैन। दिन प्रतिदिन बढ्दै गरेको महँगीसँग जुध्ने हिम्मत पनि आउँदैन। सरकारको व्यवहार हेर्दा यस्तो लाग्छ कि ‘जाऊ तिमीहरूलाई तलब भत्ता बढाउन सकिँदैन। तिमीहरू आफ्नो तरिका खोज’ भने जस्तै लाग्छ। फलतः हामी ३–४ ठाउँ क्लिनिकमा भौँतारिन बाध्य हुन्छौँ। कमिसनको चक्करमा डुब्न प्रेरित हुन्छौँ।
आफूसँगै हुर्केका पढेका साथीहरूले घर घडेरी, गाडी चढेर सुखी जिन्दगी बिताउन थालिसकेँ, हामी भने जहाँको त्यहीँ। यही सम्झेर यो देशमा डाक्टर बन्नु भनेको अभिसाप जस्तो लाग्दछ। विदेश पढ्न जानु पनि एउटा अर्को सम्भावना थियो। तर त्यहाँको लागि दिइने प्रवेश परीक्षाको शुल्क पनि हामी जस्ता आर्थिक स्तर निम्न भएकाहरूका लागि महँगो हुने भएकाले त्यता तिरको बाटो कहिल्यै सोच्न सकिएन। सोच्न सकियो त केबल एउटै कुरा राज्यको अपहेलन सही रहेको चिकित्सकीय पेसा यस्तै रहिरहे आफ्नो सन्तानलाई कहिले पनि डाक्टर पढ्न उत्प्रेरित गर्ने छैन।
मनमा धेरै कुरा खेल्दै गर्दा एक जना सिनियर दाजुको फोन आयो। उनले भने– ‘डाक्टर साहेब, एउटा बेड खाली हुँदै छ चिन्ता नलिनुस्।’ अनि एक छिनमा म प्रफुल्लित भएँ। फेरि आफूले काम गर्ने कान्ति बाल अस्पतालको इमरजेन्सीको वातावरण सम्झिएँ।
बेड नपाएर भौतारिरहेको बिरामीको मान्छेलाई सम्झिएँ। अनि फेरि भन्न मन लाग्यो, यो सरकार किन निर्दयी? बेडको अभावमा अनि आर्थिक स्रोतको अभावमा मान्छेहरूले कहिलेसम्म ज्यान फाल्नु पर्ने हो? आमालाई माथि एनेक्स वार्डमा सारिसकेको थियो। श्रीमतीले उनको महिनावारी रोकिएको खबर सुनाएको ३ दिन मात्रै भएको थियो। बच्चाको बाबु बन्न लागेको खुसीमा छुट्टै आनन्द थियो। तर म यहाँ धर्म सङ्कटमा थिएँ। दैवको लीला पनि कति कठोर है? उता बाबु बन्न लागेको खुसी एउटा छ। अर्को यता आमा मृत्युसँग लडिरहनुभएको छ।
कस्तो परीक्षा लिन्छ यो दैवले पनि। श्रीमतीलाई आमाको स्याहार गर्न बोलाऊँ भने बिहे गरेको तीन वर्षपछि पहिलो पटक बुबाआमा बन्दै थियौँ। दोस्रो लहरको कोरोनाले फेरि आमा अनि गर्भमा रहेको शिशुलाई अप्ठ्यारो हुन सक्ने डर प्रबल थियो। नबोलाऊँ भने आमाले के सोच्नुहोला, समाजले के सोच्ला भन्ने भय। श्रीमती र मैले सल्लाह गर्यौँ। श्रीमतीले टाढैबाट भेट्ने अनि यथार्थ कुरो आमालाई भन्ने सोच बनायौँ। तर आमाको अवस्था हेरेपछि जे हुन्छ हेर्दै जाउँला, अहिले नजन्मिएको भन्दा जन्मिसकेको मान्छेलाई प्राथमिकता दिऊँ भन्ने निष्कर्षमा पुग्यौँ।
श्रीमती आएको दुई दिनपछि आमाको अवस्था झन् गम्भीर हुँदै गयो। सुरुसुरुमा त आमाको गाउँका साथीहरूसँग भिडिओ कल हुन्थ्यो। पछि अवस्था जटिल भएपछि बोल्न पनि गाह्रो भयो। उहाँको मोबाइल स्विच अफ भयो। गाउँतिर आमा बितिसकिन् भन्ने हल्ला फिँजिएछ। र, सत्य तथ्य बुझ्न मलाई केही फोन समेत आए।
शरीरमा अक्सिजनको मात्रा घटेर ७५% मा झर्यो। कृत्रिम अक्सिजन लगाएर पनि ८९– ९०% मात्रै हुन थाल्यो। बेडमै दिसा पिसाब गराउनु पर्ने अवस्था आइपुग्यो। उता मेरो अस्पतालमा मलाई थेसिस साइन गराउन सरलाई भेट्न गाह्रो भएको थियो। एकातिर आमाको चिन्ता अर्कोतिर फाइनल वर्षको थेसिस सकाउनु पर्ने जुन नसकी म परीक्षामा बस्न पाउँदैन थिएँ। जन्म दिने आमाभन्दा मेरो पढाइ ठूलो हुन सक्दैन। जे परे पर्छ। म पढाइ छोड्नु परे पनि छोड्छु भन्ने निधोमा पुगेँ।
तर मेरो समस्याबारे मेरा साथीभाइहरू पूर्णरुपमा जानकार थिए। मेरो यो समस्या बुझेर मलाई थेसिसमा सहयोग गरी थप ऊर्जा दिने सफा हृदयका साथी बिनिता सिंह, लक्ष्मी गुरुङलाई धन्यवाद नदिई म बस्न सक्दिनँ। पोस्टिङ भएको युनिट इन्चार्ज शुभाना कार्की थापा म्यामले मलाई बारम्बार हौसला अनि सहानुभूति दिनु हुन्थ्यो। उहाँको त्यो गुण म कहिल्यै बिर्सने छैन। मेरो आमाको ज्यान जोगाउन म्यामले गर्नु भएको सहयोग अनि प्रयासले उहाँप्रति मेरो सम्मान सबैभन्दा माथि उक्लिएको छ। आमाको अवस्था झन् जटिल बन्दै गएको थियो। रेम्डेसिभिर चलाउन बाँकी थियो। उक्त रेम्डेसिभिर पनि सजिलै नपाउँदा केही डोज ब्ल्याकमा किन्नु परेको थियो।
सुरुमा औषधिको व्यवस्था गरिदिने प्रिय साथी विकास शाहको त्यो गुन म कहिले बिर्सन सक्ने छैन। हाम्रो अर्को म्यामले वीरगन्जको बाटोबाट भएर पनि औषधि मगाउने प्रयास गर्नुभयो। त्यसपछि कान्ति अस्पतालकै सिनियर दाजुको सहयोगमा बाकी औषधिको व्यवस्था पनि भयो। ब्ल्याकमा औषधि किन्दा गोजीको पैसा रित्तिएको पत्तै नहुने रहेछ। त्यसपछि पैसाको खोजीमा म एक जना चिनेको आफन्तकोमा बाइकमा जाँदै थिएँ।
बेलुकातिर अर्को एक जना म्यामको फोन आयो– ‘पैसाको समस्या भए भन्न नहिचकिचाउनु, ढुक्क भएर भन्नू है।’
मालदिभ्सको साथीले त्यस्तै सहानुभूति दिएर आत्मबल बढाएका थिए। साथीभाइ, आफन्त अनि सिनियर जुनियर साथीहरूले पनि बेलाबेलामा हालचाल सोध्नु हुन्थ्यो। जसले गर्दा म एक्लै छैन भन्ने महसुस हुन्थ्यो र साहस अनि आत्मबल बढेर आउँथ्यो। आमाको अवस्था झन्-झन् बिग्रिँदै गएको थियो। त्यहाँ कार्यरत डाक्टरको टिमले अब आइसियुमा सार्नु पर्छ, जति बेला पनि भेन्टिलेटरमा राख्नुपर्न अवस्था आउन सक्छ भन्न थाले। मेरो उहीँ पुरानो समस्या आर्थिक अपरिपक्वता, बाहिर प्राइभेटमा त १–२ दिन पनि टिक्न सकिँदैन। आर्थिक अवस्था बलियो नभएकाले बाहिर प्राइभेटमा राख्ने अवस्था थिएन।
भाग्यको खेल। निधारमा जे लेखेको छ त्यहीँ नै हुने होला भनेर आत्मबल दह्रो बनाएँ। जोखिमका बीच पनि मैले त्यहीँ राख्ने निधो गरेँ। अर्को विकल्प पनि त मसँग थिएन। आमालाई कुर्न आएको भाइलाई 'आमा अब बाँच्न गाह्रो छ, जे हुन्छ सबै सहनु पर्छ' भन्दै भाइलाई बलियो हुन भनेँ। किनकि आमाको बिग्रँदो स्वास्थ्य अवस्थाका कारण भाइ रोइरहेको थियो। तर भन्न जति सहज छ आँखाले मेरो आत्मबललाई तोडिदियो।
बररर आँसु खसे। सायद आमाको अन्तिम अवस्था नै होला भनेर बिदामा भर्खरै घरमा आउनुभएको दाजुलाई काठमाडौँ बोलाइहालेँ। बुवा भारतमै बोर्डर बन्द भएर नेपाल आउन पाउनु भएको थिएन। म आफैँमा कमजोर भइसकेको थिएँ। टिचिङको सिस्टरको कामप्रतिको लगाव, चिकित्सकको सल्लाह, श्रीमतीको साथ र सहयोग, आफन्तजन, गुरु वर्ग, अग्रज डाक्टर, कान्तिमा कार्यरत मेरा सहपाठी, जुनियर अनि सिस्टरहरूको साथ अनि मायाले आमालाई क्रमित सुधार हुन थाल्यो।
सायद आमाले दोस्रो जीवन पाउनु हुन्छ कि भन्ने झिनो आश लाग्न थाल्यो। आश भन्ने कुराले पनि मान्छेलाई कति उत्साहित बनाउने है? नभन्दै आमाको स्वास्थ्य प्रत्येक दिन सुधार हुँदै जान थाल्यो। ठिक त्यहीँ समयमा जुम्लामा बस्नु हुने छ्यामा (सानीमा) अनि अङ्कल दुवै जना कोरोना सङ्क्रमित हुनुभयो। सानीमाको एक्स-रे रिपोर्ट हेर्दा त आमाको भन्दा पनि धेरै खराब थियो। उहाँहरू हस्पिटल गएर भर्ना हुन अन्कनाइरहनु भएको थियो।
यता यमराज नजिकैबाट फर्किएकी आमाको अवस्था सम्झिँदा म धेरै नै आत्तिएँ। अस्पतालका सम्पूर्ण बेडहरू प्याक थिए। यस्तो बेलामा रेफर गरेर पनि आउन सजिलो थिएन। त्यसैले बेड पाइएको छ भने भर्ना भइहाल्नु भनेर छ्यामासँग जिद्दी नै गरेँ। मेरो परिवारमा कसैलाई कुनै अप्रिय घटना नघटोस् भन्ने चाहन्थेँ। यता आमा तङ्ग्रिँदै जानु भएको थियो। आमाको अनुहारमा खुसीका भावहरू झल्कन लागिसकेका थिएँ।
‘पैसा नकमाए पनि मेरो यो दिनको लागि मैले छोरालाई जन्म दिएकी रहेछु। पहिलो जीवनमा मैले तिमीलाई जन्म दिएर आमा बन्ने सौभाग्य पाएँ। आज दोस्रो जीवन तिमीले दियौँ छोरा,’ खुसीका आँसु झार्दै आमाले अँगालो हाल्नुभयो। कति बेला मेरा आँखा रसाएछन् थाहै पाइनँ।
आमाबुबाको सत्कर्म अनि आशीर्वादले मैले पनि मेरो आमालाई दोस्रो जीवन दिन सफल भएकोमा खुसी थिएँ। त्यहीँ खुसी बाँड्न 'अन्तर्राष्ट्रिय नर्सिङ डे'को दिन मेरो तर्फबाट एनेक्स एकका टिम नारायणी शर्मा सिस्टरको टिमलाई युरोपियन बेकरी क्याफेबाट केक गिफ्ट गरेर खुसी साटासाट गर्यौँ। अनि करिब १६ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएर कोठामा फर्कियौँ।