खाना खाने बित्तिकै छोराकी आमा (बसु) केही नभनी घरबाट निस्किइन्। मैले पनि केही सोधिनँ। सोध्न पनि जरुरी ठानिनँ। बिहान हामी दुईको बीचमा ठाकठूक परेको थियो। बिहानदेखि हामी एक अर्कासँग बोलेका थिएनौँ। हामीबीच कहिलेकाहीँ यस्तै हुन्छ। लाग्छ, प्रायः सबैका श्रीमान्-श्रीमतीको बीचमा यस्तो भइरहन्छ होला। यस्तो भएन भने त जिन्दगी पनि कति बेस्वादिलो हुन्छ होला!
बसु बाहिर निस्किइन्। उनी कहाँ गइन् भन्ने मलाई थाहा थियो। आँखा चेक गर्नु थियो। त्रिपुरेश्वर जाने भन्ने कुरा भएको थियो, अघिल्लो दिन। उनी त्यही गइन्। केही महिना अघिदेखि उनको आँखामा समस्या देखिएको थियो। आँखाबाट आँसु बगिरहन्थ्यो।
'आँखामा फोहोर जमेको छ, सुईबाट पानी हालेर सफा गर्नुपर्छ,' डाक्टरले भनेका थिए।
बसु रिसाएरै आँखा अस्पताल तिर गइन्। छोरालाई दिनभरि हेर्नु पर्ने भयो। छोरो एक वर्ष पुग्यो, उसलाई खाना खुवाउन असाध्यै गाह्रो पर्छ। सजिलैसँग खानै मान्दैन। नखुवाएर राख्न पनि मनले मान्दैन। दुब्लो छ, झन् दुब्लो हुन्छ कि भन्ने पीर लाग्छ। उसलाई खुवाउन अनेक गर्नुपर्छ। कहिले गाडी देखाउनुपर्छ, कहिले बाइक, कहिले जहाज उडेको देखाउनु पर्छ। यति मात्र कहाँ हुनु, कहिले त झिँगा उड्दै छ भन्दै खुवाउनु पर्छ। असाध्यै पीर लाग्छ।
बिहान उठेर जाउलो खाएको थियो, दस बज्न लागिसकेको थियो। दूध, भात, केरा खुवाउनु पर्ने रुटिन छ। म छोराको लागि दूध, भात, केरा बनाएर खुवाउन खोज्छु तर छोरो अहँ! मुख नै खोल्दैन, टाउको घुमाउँदै 'खाँदिनँ, खाँदिनँ' भनिराख्छ। म उसलाई एक हातले बोकेर छतमा ल्याउँछु, अर्को हातमा भातको गाँस छ, अघिल्लो दिनझैँ उसलाई बाटोमा हिँडिरहेको बाइक देखाउँछु, कहिले गाडी देखाउँदै झुक्काएर खुवाउँछु। झन्डै पौने घण्टा लगाएर छोराले अलिकति दूध, भात अनि केरा खान्छ।
एघार बज्न पाँच मिनेट बाँकी छ। यो समय छोराको सुत्ने समय हो। म उसलाई गीत सुनाउँदै सुताउन खोज्छु। उसलाई डुलाउन थाल्छु। काँधमा लपक्क पर्छ।
कपुरी क, खरायो ख,
हाम्रो सानु कति धेरै ज्ञानी छ,
गाईगोडे ग घरजस्तो घ,
हाम्रो छोरु कति धेरै ज्ञानी छ
सधैँ झैँ म उसलाई गीत सुनाउन थाल्छु। मैले यो गीत सुनाइसक्दा प्रायः ऊ लुपुक्क परेर निदाइसक्छ। कहिलेकाहीँ गीतले मात्र पुग्दैन। बेलाबेलामा कथा पनि सुनाउनु पर्छ। म कमिला र ढुकुरको कथा सुनाउँछु। मलाई थाहा छ, मैले सुनाएको कथा ऊ केही बुझ्दैन, तैपनि सुनिरहन्छ। कथा सकिँदै गर्दा ऊ निदाइसक्छ।
छोरालाई कथा सुनाउनै परेन। गीत सुन्दै गर्दा ऊ निदाइसक्छ। उसलाई बिस्तारै खाटमा लगेर सुताउँछु, उसैलाई अङ्गालो हालेर म पनि छेउमै सुत्छु।
एक बज्दै गर्दा मोबाइलमा घण्टी बज्छ। छोरो सुतिरहेको छ। म पनि सुतेको छु। फोन हेर्छु, फोन बसुको थियो। उनले किन फोन गरिन् मलाई राम्रोसँग थाहा थियो। 'बाबु के गर्दै छ?' भनी सोध्नलाई गरेकी हुनुपर्छ। आमा हुन् छोराको चिन्ता लागिहाल्छ। मेरो रिस मरेको थिएन, मैले फोन उठाइनँ, कल ब्याक पनि गरिनँ। छोरालाई अङ्गालो हालेर सुतिराखेँ। छोरा बीच-बीचमा आँखा खोल्दै यताउता हेर्छ, जब छेउमा म सुतेको देख्छ, ढुक्कले फेरि निदाउँछ, दुई/तीन घण्टासम्म।
दुई बजेतिर छोरो उठ्यो। उसलाई स्याउ उसिनेर खुवाउनु पर्ने थियो। छोरालाई लिएर म भान्सा कोठामा गएँ। छोराको लागि एउटा स्याउलाई चार टुक्रा बनाएर कुकरमा सिठी लाइदिएँ। छोरालाई स्याउ खुवाउन अलि सजिलो हुन्छ। उसलाई स्याउ खुवाएँ अनि ऊसँगै खेल्न थालेँ।
छोरालाई भुइँमा छोडिदिनुपर्छ, खुबै रमाउँछ। भुइँमै छोडिदिएँ। ऊ खेल्न थाल्यो। भुइँमा जे भेट्यो त्यही टिपेर खाइहाल्छ, एक छिन पनि छोड्न हुन्न, उसकै पछिपछि लागिरहनुपर्छ। म उसकै पछि लागिरहेँ। ऊ रमाउँदै कोठाको एक कुनाबाट अर्को कुना गरिरह्यो।
पाँच बजेतिर छोरालाई अण्डा जाउलो खुवाउन थालेँ तर ऊ खानै मान्दैन। घरमा रुपेश भान्जा थिए। उनले गाडी देखाउँथेँ, बाइक देखाउँथेँ तर पनि छोरा खानै मान्दैन थियो। धेरै कर र मिहिनेत गरेपछि अलिकति अण्डा जाउलो खायो।
साँझ पर्न थालिसकेको थियो। मैले उसलाई कोठामा लिएर गएँ तर कोठामा बस्न मानेन। कोठाको ढोकाको छेउमा गएर बसेर रुन थाल्यो। मैले उसलाई कौसीमा लिएर गएँ। कौसीको एक छेउबाट अर्को छेउ डुलाएँ। ऊ घरको गेटमा हेर्थ्यो। ऊ कसैलाई खोजिरहेको थियो। मलाई थाहा थियो, ऊ कसलाई खोज्दै छ भनेर तर पनि उसलाई भुलाउने प्रयास गरिरहेँ।
गेटमा कोही नदेखेपछि ऊ बाटोतिर हेर्थ्यो। एउटा हातमा झोला भिरेको महिला देख्न बित्तिकै 'आँ आँ' गर्दै बोलाउन थाल्थ्यो। महिला हिँडेको बाटो हेरिरहन्थ्यो। महिला आफ्नै बाटोमा हिँड्दै ओझेल पर्थिन्, ऊ निराश हुन्थ्यो, पुलुक्क मलाई हेर्थ्यो। अनि फेरि उस्तै खालको अर्को महिलालाई पर्खन्थ्यो। आँखा डुलाउँथ्यो, बोलाउँथ्यो तर कोही पनि आउँदैन थिए, सबै ओझेल पर्दै जान्थे। मलाई छोराको असाध्यै माया लाग्यो। ऊ आफ्नो आमा खोजिरहेको थियो।
सात बजिसकेको थियो तर बसु आइपुगिनन्। बाहिर हावा चल्न थाल्यो। काठमाडौँको धुलो धुवाँ उस्तै थियो। मैले छोरालाई कोठाभित्र लिएर गएँ। ऊ रुन थाल्यो। बस्न मान्दै मानेन। खेल्ने त कुरा नगरौँ। ऊ ढोकाको छेउमै बसेर रुन थाल्यो। मलाई सम्हाल्नै गाह्रो भयो।
मैले बसुलाई फोन गरेँ, फोन उठेन। फेरि फोन गरेँ, फेरि पनि उठेन। तीन/चार पटक फोन गरेँ तर फोन उठ्दै उठेन। साढे सात बजिसकेको थियो। दिनभर छोरालाई एक्लै छोडेर अहिलेसम्म पनि नआउने, फोन पनि नउठाउने भन्दै झनक्क रिस उठ्यो।
छोरो रोइरहेको थियो। मैले उसलाई छातीमा टाँसेर डुलाएँ, गीत सुनाएँ तर ऊ मान्ने बाला थिएन। कथा सुनाएँ तर ऊ सुकसुकाइरहेको थियो। ऊ निदाउन पनि सकेको थिएन।
एक्कासि ढोकाबाट ढकढक आवाज आयो। छोराको मुहार उज्यालियो। उसले कान ठाडा बनायो। आँखा ठूला बनायो। ऊ मेरो छातीमै थियो। मैले ढोका खोलेँ। बसु आइपुगेकी थिइन्। उनको हातमा पोका नै पोका थिए, छोराको लागि खेलाउना थिए, सपिङ समेत गरेर आएकी रहिछन्।
छोरालाई खेलाउनप्रति खासै रुचि रहेन। आमालाई देख्न बित्तिकै मसँग बस्नै मानेन। एकै चोटि आमाको काखमा जीउ छोडेर हाम फाल्यो।
ऊ दिनभर मसँगै बस्यो। मैले नै उसलाई सकी नसकी खुवाएँ, खेलेँ, बसेँ, रमाएँ तर साँझ पर्दै गर्दा ऊ आमालाई एकतमासले खोजिरह्यो। आमालाई नदेख्दा दुखी भयो। आमालाई देख्न बित्तिकै उज्यालो मुहार बनाएर आमाको काखमा लुपुक्क परेर बस्यो। सोचेँ, यो संसार जसले जे जति गरे पनि आमा जस्तो कोही हुँदैन।
म घरको तल्लो तलामा झरेँ। पूजा कोठामा गएँ। आमा खाटमा पल्टिरहनु भएको थियो। आमा ८१ वर्ष हुन थालिसक्नु भयो तर एक छिन पनि यत्तिकै बस्न मान्नुहुन्न। आठ बज्दै गर्दा थाकेर होला खाटमा पल्टिरहनु भएको थियो। खाना पाक्दै थियो। भाउजू खाना पकाउँदै हुनुहुन्थ्यो। म आमा सुतेको खाटको छेउमा गएँ। आमालाई अङ्गालो हालेँ, आमाले पनि उस्तै गरी अङ्गालो हाल्नु भयो। छोरो जस्तै गरी म पनि आमाकै काखमा लुपुक्क परेर सुतेँ।