'बा! म पढ्न जान्छु विदेश।'
'बा: मेलै पढाउन सक्छु र तँलाई विदेशमा?'
मैले भनेँ: बा, युरोपको जर्मनीमा डयाड स्कलरसीप भन्ने हुन्छ। त्यसमा योपालि कोसिस गरूम् कि भनेर।
बा: तैंले पढ्ने विषय के नेपालमा छैन र?
म: छ न त छ। तर...
मैले वाक्य पूरा गर्नु नपाउँदै बाले भन्नुभयो, 'अनि छ भने किन जानुपर्यो र विदेश? हेर छोरा, जबसम्म देशले तँलाई चिन्छ तबसम्म यही केही गर्ने हो। अन्य केही सीप नलागे मात्रै विदेश जाने। मलाई पनि त २०२६ सालतिर एसएलसी दिँदै गर्दा एउटा जापानिजले लैजान्छु भनेको थियो। त्यो बेला तेरो बाजेले यत्रो पढेको छोरो यहीँ केही गर्छ भनेर नै जान दिनुभएन।'
४ वर्ष अगाडिको संवाद थियो यो बाछोराको।
अहिले पनि जो कसैले विदेश नजाने र भनी सोध्दा अनायासै मुखबाट निस्किन्छ, 'जब म देशले चिन्दैन तब जान्छु म विदेश।'
सानोमा एन्टेना बेलाबेलामा हल्लेर हुने टिभी जस्तै जिन्दगी आफैमा अझै झ्यारझ्यार नै छ भन्दा हुन्छ। तर पनि बाल्यकालमा आमाका केही यादगार पलहरू प्रष्ट रूपमा सम्झनाका मानसपटलमा घुमिरहन्छन्। डोटी, सिलगढीको टुँडिखेलमा तत्कालीन राजा वीरेन्द्रको सवारी थियो। त्यसताका यस्तै राजाको सवारी हुँदा हामी फूलका गुच्छा लिँदै स्वागत गर्न लाइन लाग्थ्यौं। आमा हामी छोराछोरीलाई स्कुल ड्रेस लगाइदिएर तयार पारिदिनुहुन्थयो।
राजालाई हेर्न आतुर हामी, राजा सवार हेलिकप्टर देखेपछि आमाले भनेको कुरा ताजै छ।
'तँ यस्तो चिलगाडी कैले चढ्छस् बाबु। राजा त देश विदेश जान्छन् रे। तँ पनि ऐलै राम्रोसँग पढेर पछि देश विदेश घुमिस् है।'
माथिका मेरा दुई कुरा जीवन दृष्टान्त हुन जसमा म जिइरहेको छु। मेरो सम्पूर्ण अस्तित्वका दुई आँखाहरू अहिले चिलगाडीभन्दा धेरै माथि बादल पारिको आकाशमा छाइरहेका छन्।
बाले भनेको आफू जन्मेको देशमा नै सकेसम्म केही गर्नुपर्छ अनि सानैमा आमाले देखाउनु भएको देश विदेश घुम्ने सपनाको मझदारमा म आफूलाई उभ्याउँछु।
हरेक सन्तानका लागि आँखाका दुई नानी सरह लाग्ने बाआमाका वाणी कति हदसम्म शिरोपर गर्न सकियो होला सायद समय र भाग्यले उहाँहरूलाई सँगै एकसाथ राखेर सोध्न अवसर नै दिन मानेन।
एक वर्षको अनुबन्धनमा एउटा अन्तर्राष्ट्रिय विपद व्यवस्थापन तालिममा छनोट भएर नेपालको प्रतिनिधित्व गर्दै केही महिना पहिलो विदेश भम्रणका क्रममा युरोप यात्राका लागि निस्किरहेको छु।
पेशागत रूपमा विपद जोखिम व्यवस्थापनमै आफ्नो कार्यक्षेत्र बनाइरहेको म पात्रको जोखिमयुक्त जीवनमा बाल्यकालदेखि अहिलेसम्म व्यक्तिगत रूपमै कति आपत विपत आइलागे त्यसको कुनै लेखाजोखा छैन। जन्म दिने बाआमा नै हरेक सन्तानका लागि पहिला भगवान हुन्छन्। तिनैको अभाव भएर होला, भगवानप्रति विछट्टै भरोसा राख्ने म कुनै महान व्यक्तिले भनेझैं हे ईश्वर तिम्रो बास दुखीको घरमा बास हुने भए मलाई अझै दु:ख दिनुहोस् भन्ने मनोभावना राख्दछु।
संयोग नै मान्नुपर्छ। आमाको मुख हेर्ने दिन उडान थियो। अनि बाको दुई वार्षिकी यही बेला पुग्दै थियो। यी दुई कुराको अनौठो आभाष बादलभन्दा माथिको आकाशमा मैले भाग्यवश गर्न पाएको छु। बादल भित्र पसेको विमान जसरी बेलाबेलामा हलचल हुन्छ त्यसरी नै मनका आवेगहरू, इच्छाहरू, चाहनाहरू तरंगित हुन्छन्। खुला आकाशको विशाल योजनामा कम्पासले देखाइरहेको बाटोमा पाइलटले डोर्याएजस्तै सही दिशातिर पनि जीवनको उडान कसरी भर्ने भन्ने प्रश्न म जस्तै सायद हरेकको अन्तरआत्मामा उब्जिन्छ होला। बाआमाको अभिव्यक्त छुट्टाछुट्टै अभिलाषा बीचको अन्तरद्वन्द्वमा रही उडान अवधिभर डा. भेष बहादुर थापाको राष्ट्र परराष्ट्र भन्ने किताब पढ्ने ध्याउन्नमा हुनेछु।
स्वदेशको पहिलो उडान सम्झिँदा म र मेरो मन मिल्ने साथी प्रकाश सिर्माल पहिलोचोटि एकजना श्याम सरको व्यवस्थामा काठमाडौंदेखि धनगढी बुद्ध एयरको जहाजमा गएका थियौं।
एयरपोर्टमा आफैले खादा लगाएर बिदाई गरेको त्यो साथी अहिले क्यानडामा छ। ऊ विदेश हानिइसकेपछि केही समय म पनि विरक्तिएको थिएँ। सेतोपाटीमा मैले 'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला' भन्ने लेख पनि लेखेँ। देश छोड्ने कि देशमै केही गर्ने दुविधा धेरैलाई भएर होला हजारौंको संख्यामा सेयर भएको उक्त लेखभित्र म जस्तै कैयौका अन्तरआत्माभित्र अन्यौलताका अनगिन्ती प्रश्नहरू प्रस्फुटित भएको थियो।
अहिले पनि देशमै केही गर्ने हुटहुटी मन मष्तिकमा व्यापत छ। यस्तै हुटहुटी हुँदाहुँदै पनि बाध्यताले विदेशिएका प्रियजनहरूको विदेश बसाइको वितृष्णाका पोकाहरू सुन्छु मेरो विचारलाई अझ मलजल हुन्छ। अध्ययन, अनुसन्धान, असल अभ्यासहरू सिक्दै बुझ्दै देशप्रतिको योगदानमा एउटा सानो इँटा थप्न सकिन्छ कि भन्ने विश्वास अझै पनि आफूमा छ।
यथार्थतामा लाग्छ, म भुइँमान्छे नै हुँ।
हो, मलाई आकाशमा उड्नु छैन तर जमिनमा अडिनु पनि त छैन। चरा जस्तै स्वतन्त्र, स्वछन्द उड्न पाए हुन्थ्यो भनेर सबैलाई लाग्छ तर चराले पनि त आफ्ना बचेरालाई चारो लिन आफू उडिरहेको आकाश र जमिन बीचको दूरी छोट्याउनै पर्छ। हामीले बुझ्नसक्नुपर्छ कि उसको उडान आनन्दपूर्ण हैन आहाराको खोजी अझ कति महत्वपूर्ण छ भनेर।
उडिरहेको जहाज र जीवन उस्ताउस्तै जस्तै हो। जबसम्म यी दुवै उचाइमा रहन्छन्, तबसम्म संर्घष चलिरहन्छ। जहाजको बादलसँग अनि मान्छेको आफ्नै मनसँग। जिन्दगीको यो नवीन यात्रा, धर्तीलाई केही क्षण बिर्सिएर, वायुको बहाबसँगै, जेट इन्जिनको दपेटाई, गन्तव्यको निशानामा, विशाल आकाशको छातीमा समेटिएर अनि कालासेता बादलका थुम्काहरू छिचोल्दै गर्दा मनलाई पनि लाग्दो हो म कतै अनौठो अनुभवका लहरहरूमा लपटिएछु कि!
यस्तै सुख दु:खको बीचको समिश्रण नै वास्तवमा जीवन हो। सात समुद्र पारी, लाखौं योजनाको दूरी साँधेर जसरी एक एक मिनी माइल विमानले भरिरहेको हुन्छ, त्यसरी नै आफूभित्रको आँट, भरोसा र ऊर्जा हरेक रक्तकोषिकामा सञ्चारित हुनुपर्दछ जस्तो लाग्छ। मध्यम जीवनमा सोच अनेकन हुन्छन् तर सफलता सीमित रहन्छन्।
आशा, अपेक्षा अनायासै आइदिन्छन्। एउटा एउटा गन्तव्यको खोजीमा कैयौं गोरेटोहरू, दोबाटोहरूको आगमनले कहिलेकाहीँ कुहिराको कागझैं हराइन्छ पनि। अनिश्चितताको अलमलमा परिन्छ तर पनि आफैमा अडिनुका लागि अनमोल जीवन पाइएको होइन होला।
हो, केहीबेर पाइलाहरू धर्मरिएलान्, चप्पलहरू चुँडिएलान् तर शिखर चढ्ने सपना देखिरहनुपर्छ। जिन्दगीको असली उडानहरू, उड्न बाँकी छ। जीवनको जहाजमा पटक पटक आफै पाइलट बनी कैयौ परीक्षाहरू दिन अझै बाँकी नै छ।
आशा गरौं, संर्घष पछिको सफलताका खुसीहरू विस्तारै करिब आउँदै जानेछन्। स्वदेशदेखि विदेशसम्मको स्वपनिल यात्राका यी र यस्तै अनुभूतिहरू अहिलेलाई यतिमै थाती राख्दै बाँकी अर्को आलेखमा।