बिहे गर्नुस् भाइ डुबिँदैन तर सोचेर गर्नुस् एउटा कुरा चाहिँ याद राख्नुस् प्रेममा विवाह नहुन पनि सक्छ तर विवाहमा प्रेम जरूरी छ। प्रेम हुनु र विवाह हुनुको फरक पनि यही हो।
हिजो आज सामाजिक सञ्जालमा एउटा कार्टुन निकै भाइरल बनेको छ। त्यो कार्टुनमा मात्र सीमित भएन, सार्वजनिक यातायातको नम्बर प्लेट राख्नेभन्दा केही माथि खाली ठाउँमा समेत ती शब्द कोरिएको देखेँ।
एक समय ट्राफिक प्रहरीले यसरी सार्वजनिक यातायातको पछाडि अगाडि लेखेका शब्दहरू मेट्दै गरेको पनि देखेको थिएँ।
फेरि पनि ट्राफिक प्रहरीहरू थाकेछन् क्यारे! केही रमाइला, कतिपय भावुक र केही मनछुने शब्दहरू लेखिएको छर्लङ्ग देखिन्छ।
खैर कुरा बिहे गरेर डुब्लास् भाइ! तिर नै लागौं।
साँच्चै बिहे पछि भाइ डुब्छ त? मैले पनि भर्खरै केही महिना अगाडि बिहे गरेँ। झण्डै तीन दशक एक्लो यात्रा गरियो यो यात्रामा जतिसुकै थकान, आलस्यता, सुख दुख जे भए पनि सोध्ने मान्छे कोही हुन्थेन।
हुन त बुबाआमा, हजुरआमा, दाइ दिदीहरू हुनुहुन्छ तर पनि कतिपय भावनात्मक कुराहरू सेयर गर्न लायक हुँदैनन्।
अर्को कुरा सेयर गरेर उनीहरूलाई पनि दुखी बनाउन मन पनि लाग्दैन।
जुन कुराहरू जीवन साथीसँग सहजै सेयर गर्न सकिन्छ। परिवारसँग सेयर गर्न अलिक अप्ठ्यारो नै हुन्छ। जीवन साथीसँग मात्र हैन, आमासँग सहजै सेयर गर्न सकिने कुरा बुवालाई भन्न सकिन्न।
हो, जीवन साथी यस्तो पात्र हो जसलाई हरेक कुरा खुलेर सेयर गर्न सकिन्छ। त्यसैले म भन्छु बिहे गरेर डुब्ने हैन रहेछ।
बिहेपछि व्यक्तिगत रूपमा मलाई चाहिँ डुब्ने हैन थप साथ सहयोग, हौसला थपियो र यसलाई निरन्तरता दिन र कायम राख्न म हरप्रयास गर्नेछु।
विवाह पूर्वको जिन्दगी अलि बढी अपेक्षा आशा चाहिनेभन्दा बढी सोच्ने सपना बुन्ने अति नै महत्वकांक्षी तर पनि सिर्फ कल्पनामा सीमित हुन्थ्यो। अनि आफूले आफैलाई हेर्दा पनि कस्तो अपरिपक्क जस्तो लाग्थ्यो।
तर विवाह पछिको जीवन बिल्कुल फरक महसुस भइरहेको छ। सत्य यो पनि हो सबैको यही हुन्छ भनेर म ठोकुवा त गर्दिनँ तर ब्यालेन्स गर्न सकियो भने चाहिँ जीवन रंगीन हुनेरहेछ भन्ने भान भयो। यसमा केेही कुराहरू चाहिँ अवश्य कम्प्रमाइज गर्नैपर्छ। यदि समयअनुकूल कम्प्रमाइज गर्दै अघि बढियो भने जीवन आहा! नै बन्छ।
कतिपय साथीभाइले त भन्लान् सुरूसुरूमा हो चुरिफुरी तर यो चुरिफुरी हैन म तीन दशक एक्लै बस्दाको हरेक अनुभव भोगाइलाई नियाल्दा सिङ्गल लाइफभन्दा मिङ्गल लाइफ रङ्गीन लाग्यो यो मेरो व्यक्तिगत अनुभव हो।
बिहे गरेर डुब्लास् भाइ! भनेर बिहे गर्न लागेको भाइहरूलाई यसरी आंतकित पनि नबनाऔं किनकि बिहे पछिको जीवन बिहे अगाडिको जस्तो फिक्का रहन्न रहेछ।
मुख्य कुरा व्यवस्थापन कसरी गर्ने भन्ने नै हो। यदि तन, मन विचार सबै मिल्छ भने रङ्गीन हुन्छ। हैन भने त फिक्कामा नै चित्त बुझाउनु पर्ने हुन्छ। त्यसैले त सोचेर विचार गरेर मात्र अगाडि बढ्नुपर्छ कहिल्यै पश्चाताप गर्नुपर्दैन।
दाजुहरू अब बिहे नगर भाइ डुब्लास्! भन्दै यसरी नतर्साऔं। आफूचाहिँ कति न अनुभवी जसरी डुब्लास् रे! यो सुझाव दिने साथीहरू विवाहित हुन् त? यदि विवाहित हुन् भने उनीहरू आफू चाहिँ बिहे गर्ने रङ्गीन लाइफ बिताउने अनि भाइहरूलाई चाहिँ बिहे गरिस् भने डुब्लास् भन्दै भाइहरूलाई यस्तो सुझाव दिन मिल्छ त?
अनि अविवाहित हुन् भने के आधारमा यसरी तर्साइरहेका छन् विवाहित दाजुहरूको लहलहैमा लागेर फगत गफ दिने? बिहे गरेर डुबेका केही तथ्य छन् कोहीसँग? त्यसैले म त भन्छु विवाह गरेर डुब्ने चाहिँ हैन यदि पानीमा डुबिराखेको छ, कोही सिङ्गल छ भने पनि तैरिन मद्दत मिल्छ दाइहरू!
बिहे गर बिहे गरेर डुबिँदैन झन् मजबुत भइन्छ। एक आपसमा साथ, सहयोग, सल्लाह सुझाव आलोचना सबै कुराहरू जीवन साथीबाट पाइन्छ।
अन्जानमा गलत बाटो हिँडको छ भने पनि सही समयमा सही ट्र्याकमा आउन सकिन्छ। नजानेका कुराहरू सिक्न सकिन्छ, जानेका कुराहरू सिकाउन सकिन्छ यति भयो भने बिहे नगर भाइ डुब्लास् भन्नेहरूलाई नै चकित बनाउन सकिन्छ र नमूना जीवन बिताउन सकिन्छ।