घर छोडेको पनि १० वर्ष भएछ, काठमाडौँ बस्दा घरको याद आउँथ्यो। याद भुलाउन काममा व्यस्त हुनुपर्छ तर मान्छेको जीवनमा सधैँ काम मात्र कहाँ हुन्छ र? त्यसै बेलाको साथी मोबाइल हुन्थ्यो। सुरुसुरुमा फेसबुक साथी भयो।
फेसबुकमा फोटो राखेपछि कमेन्ट र लाइक हेर्दै फुर्सदको समय कटाउन सजिलो हुन्थ्यो। साथीहरूको केही उटपट्याङ कमेन्ट हेरेपछि कहिले-कहिले मुस्कुराइन्थ्यो, यस अर्थमा भनौँ फेसबुक एउटा साथी भएको थियो। १७ वर्षको उमेरमा घर छोड्दा मोबाइलबाट चलाउन मिल्ने केही यस्ता एप्सहरूले केही सहज हुने गर्दथ्यो। गाउँका साथी-छिमेकीको पोस्टहरू आउँदा हालखबर बुझिन्थ्यो।
त्यसपछि युट्युब पनि साथी भयो। केही दक्षिण भारतका एक्सन फिल्म हेर्दा कहिले-कहिले जुरुकजुरुक हुन मन लाग्थ्यो। युट्युबबाटै अङ्ग्रेजी फिल्म हेरेर वास्तविक अङ्ग्रेजी भाषाको विकास महसुस भएको हुन्छ।
त्यसपछि केही साथीहरूले ट्विटर चलाउने सल्लाह दिएपछि आफ्ना विचारहरू राख्ने र अरूका विचारहरू सुन्ने तथा बुझ्ने अवसर प्राप्त भएको थियो। मेसेन्जर चलाउन थालेपछि दिनहुँ जसो घर, आफन्तसँग र साथीहरूसँग कुरा हुन्थ्यो। टाढै भए पनि घरको सामीप्य भएको महसुस हुन्थ्यो।
मान्छेहरू भन्छन् वस्तुले खुसी मिल्दैन तर मोबाइलमा कुनै चिज हेरेर आँसु अथवा हाँसो आउँछ भने त्यो के हो त? बरु कृत्रिम वस्तु त प्राकृतिक वस्तुहरूलाई राम्ररी बुझ्न बनाइएका उपकरणहरू हुन्। १० मिनेट मेसेन्जरमा आमाबुवासँग बोल्दा मन अर्कै फुरुङ्ग हुन्छ, १० मिनेट युट्युबमा आफूलाई मन परेको चिज हेर्दा मन आनन्दित हुन्छ भने त्यो चिज नराम्रो होइन।
हरेक मान्छेले हरेक वस्तुलाई फरक तरिकाले हेर्छ र बुझ्छ। जस्तै बाँदरलाई नरिवल दियो भने के गर्छ? तर त्यही नरिवल ब्राह्मणलाई दियो भने मन्दिरमा चढाउँछ। मोबाइल कस्तो चिज हो भन्ने कुरा ब्रेकअपमा भएको एउटा प्रेमीलाई नारायण गोपाल र अर्जित सिंहका गीतहरू सुन्दै आँसु झार्नको मजा सोध्दा हुन्छ, उसलाई रुँदा पनि मजा आइरहेको हुन्छ। मोबाइल हुने थिएन भने युट्युब हुने थिएन। युट्युब हुने थिएन भने ती गीतहरू हुने थिएनन् ती गीतहरू हुने थिएन भने रुँदा खेरि आनन्द पनि हुने थिएन।
केही वर्षयता चीनले बनाएको टिकटक नेपालमा निकै प्रचलनमा आयो। सुरुसुरुमा केटाले टिकटक चलाउनु हुन्न, यो त केटीले मात्र चलाउने चिज भन्ने अफवाह फैलिएको थियो। मैले पनि त्यस्तै सुनेर अलिक पछि बल्ल टिकटक अकाउन्ट खोलेँ। कुनै गीत अथवा अडिओ बज्ने, त्यसमा ओठै मात्र चलाएर हुबहु गर्न खोज्ने गर्दा कता-कता रमाइलो लाग्न थाल्यो। यस्तो त फिल्मको हिरो-हिरोइन गर्थे, आफैले गर्न पाउँदा हिरोवाला महसुस पनि हुन्थ्यो।
कहिलेकाहीँ लिप्सिङ मिल्यो भने खतरै रहेछु भन्ने महसुस हुन्थ्यो। बिस्तारै हाम्रो पुस्ताबाट हाम्रो आमाबुवाको पुस्तामा पनि सरेछ। काठमाडौँबाट घर जाँदा मम्मीले कान्छा यो आमा-छोराको गीतमा तेरो र मेरो टिकटक बनाम भन्नुहुन्थ्यो। गीत सेभ भएपछि बिना इन्टरनेटमा पनि बनाउन सकिने काइदै भएको थियो। दसैँ आउँदा दसैँको धुनमा बनायो, तिहारको रोटी बनाउँदा १५-२० सेकेन्डको भिडिओ खिच्यो अनि टिकटक बनायो। भिडिओ सम्पादन पनि आफैँ गरिदिने कस्तो मज्जाको!
खुसी भएको बेला खुसी वाला अडिओ खोजेर बनायो, दुःख भएको बेला स्याड धुन खोजेर बनायो ,रमाइलै लागेको थियो। टिकटकमा आफ्नो प्रोफाइल कसैले हेर्यो भने त्यो पनि हेर्न मिल्ने, कहिले कहिले मोटिभेसनल भिडिओ पनि हुन्थे। यस प्रकारले भनौँ टिकटक एउटा साथी जस्तै भएको थियो।
कसलाई के पच्दैन भनेझैँ टिकटक चलाउने केही यस्तो जमात थियो जसले विकृति फैलाउने बाहेक केही गर्दैन थिए। कोही के देखाएर लाइभ आएको छ, कोही जोडी मिलाउने ग्रुप भनेर आएको छ, कोही ज्योतिष परामर्श भनेर आएको छ, दिक्कै लाग्ने। बिहान हेर्यो ट्याप-ट्याप साँझ हेर्यो गिफ्ट दिनुस् भनेर हैरान। कहिलेकाहीँ लाग्थ्यो यो त बन्द हुनुपर्छ।
तर म सम्झन्थेँ, मम्मी बुवाको भुल्ने बाटो भएको छ। उहाँहरूले बनाएको भिडिओ हेरेपछि दिनभरको थकाइ पनि भुलिने। मलाई सम्झना छ मम्मी अमेरिकाबाट नेपाल फर्कने अघिल्लो दिन 'बाबु आइजा, १०-१५ वटा भिडिओ बनाम्, म नेपाल गएर यही हेर्दै बस्छु' भन्नुभएको थियो। अहिले उहाँलाई मात्र होइन मलाई पनि हेरिराख्न साथी भएका छन् ती भिडिओहरू। बुवा र मम्मीसँग बनाएका भिडिओ हेर्दै ती पलहरू मस्तिष्कबाटै स्पर्श गर्छु, बहुत आनन्द लाग्छ।
म दोधारमा पर्छु, टिकटक बन्द हुनै पर्छ या पर्दैन? तर मस्तिष्कमा एउटा वास्तविक उत्तर आउँछ- जुन चिज कसैलाई हानी नगरी प्रयोग गर्दा आनन्द आउँछ भने मज्जाले प्रयोग गर्नुपर्छ बन्द हुनु हुँदैन। तर एकैछिनमा अर्कोप्रति प्रश्न आउँछ। गाउँका जग्गाहरू बाँझो राखेर तेल, चामल, आलु, टमाटर जस्ता सजिलै उत्पादन गर्ने चिज पनि आयात गर्ने युवाहरूलाई यस्तो नाथे एप्समा भुल्न दिनु हुँदैन। यी दुई उत्तरहरू एक आपसमा बाझिएका छन्।
यी दुई परिस्थितिलाई प्रयोग हुने गरी अर्को कुनै विकल्प हुने थियो कि जस्तै नियमन गर्ने, गलत प्रयोग गर्नलाई घोक्रे ठ्याक लगाउने। फेरि त्यसका लागि पनि बिहानदेखि साँझसम्म कसले के गर्छ भनेर हेरेर बस्नुपर्यो। प्रहरीलाई पनि भ्याइ नभ्याई छ। भनेपछि साधन र स्रोतको अभाव रहेछ।
उसो भए कर्मचारी भर्ना गरौँ। त्यसका लागि लोक सेवाको विज्ञापन खुलाउनु पर्यो, कर्मचारी भर्ना गरेपछि तलब दिनुपर्यो। देशमा अर्थतन्त्र डामाडोल छ, के पैसाले तलब खुवाउने? ड्याम्म बन्द गरिदियो, एक/दुई दिन मान्छेहरू उफ्रन्छन्। त्यसपछि नेपालीहरूको पुरानो रोग भुल्ने रोग भुलिहाल्छन् जसरी ७० करोड भुले, जसरी १०० किलो सुन भुले ,जसरी विभिन्न काण्डहरू भुले।
(लेखक अमेरिका स्थित परड्यु विश्वविद्यालयमा भौतिक शास्त्रमा पिएचडी गर्दै छन्।)