तेह्रथमुको म्याङ्लुङ बजारदेखि उत्तरतर्फ साब्ला गाउँ हुँदै आम्बुङ्गगाउँ पुग्नै लाग्दा लुन्द्रुङ्ग खोलाको माथिपट्टि महभिर छ। उक्त भिरको नाम कसरी महभिर रहन गयो थाहा छैन तर मेरी आमाको भने उक्त भिरसँग बाल्यजीवनका धेरै अनुभवहरू गाँसिएका छन्।
हामी सानो छँदा आमाले महभिरका बारेमा थुप्रै प्रसंग र घटनाहरू सुनाउनु हुन्थ्यो।
महभिरमा घाँस काट्न जाँदा पाटे बाघ देखेको अनि ओडारबाट बाघ गर्जिंदै भागेको कथाले हामीलाई पनि महभिरको खुब चाख लाग्ने गर्थ्यो। महभिर हुँदै आवतजावत गर्दा मलाई महभिर मेरी आमाको जीवनसँग जोडिएको एक प्रमाणको अनुभूति हुन्छ।
एकदिन म्याङ्लङ्ग बजारबाट घर आउँदै गर्दा साब्ला वनपाला जङ्गलबाट महभिर देखिएपछि आमाले भन्नुभयो, 'कठैबरी मेरी आमाले घाँस दाउरा गरेको ठाउँ अझै उस्तै छ। मान्छे नाथे कहाँ पुग्ने पुग्ने।'
मलाई आमाको यस्तो सुस्केरा सुनेर कता कता मन अमिलो भयो।
सायद हामीले पनि भविष्यमा यसै भनेर सम्झिने होला भनेर बेचैनी भयो। महभिर हेर्दै र कुराकानी गर्दै उक्त भिरको फेदैमा पुग्दा मेरी आमा धेरै भावुक हुनु भयो। बाटोको बायाँतिर एउटा बुढो सिमलको रूख ठिङ्ग उभिएको थियो। त्यही बुढो सिमललाई देखाउँदै आमाले भन्नुभयो, 'म यो जंगलमा भेडा चराउन आउँदा यो सिमलको रूखमा मैले लहराको पिङ्ग बनाएर खेल्थेँ। यो सिमल त कति ठूलो भइसकेछ।'
ठूलो पनि किन नहोस् आजभन्दा सायद चालीस वर्षअघि पिङ्ग खेल्नुभएको होला। अनि त्यो चौताराको ठूलो ढुङ्गो देखाउँदै भन्नुभयो, 'यहाँ हामीहरू गट्टी खेल्थ्यौं।'
एकछिन उभिएर अलिक तलको सानो भिर देखाउँदै भन्नुभयो, 'एकदिन यही भिरबाट डल्ली भेडो खसेकोले मैले घरमा धेरै गाली खाएकी थिएँ।'
चकमन्न जंगलले ती पीडा र भावना त किन पो सुन्थ्यो र! ढुङ्गा उही थिए, हेर्दै टोपी खस्ला जस्तो भिर उसरी नै आँखा तरेर उभिएको थियो। तर त्यो वन र ढुङ्गासँग मेरी आमाको अघिल्लो पुस्ताहरूका जोडिएको जीवन अवसर शिक्षा र चेतना तथा पहुँचको हिसाबले धेरै फरक छ। त्यसैले होला आमाले आफ्नो जीवन र भोगाइबारे विगत, वर्तमान र भविष्य तीनै अवस्थाको तुलना गर्नुभयो।
मैले उहाँलाई भनेँ, 'आमा तपाईंलाई यो ठाउँ देख्दा त कति माया लाग्दो होला नि हैन?'
तर उहाँका भावनाहरू अर्कैगरी पोखिए।
उहाँले भन्नुभयो, 'माया पनि लाग्दैन। मैले स्कुल जाने उमेरमा यही वन र भिर पाखामा भेडा चराउनु पर्यो। मेरो बाल्यकालको खुसी यही वनले खायो। यदि मैले पनि पढ्न पाएको भए जीवन योभन्दा धेरै सुख हुन्थ्यो होला, अनि तिमीहरू पनि त अर्कै अवस्थामा हुन्थेउ होला। मलाई त खुसी त हैन कहाँ कहाँ सम्झेर आँसु पो आउँछ।स्कुल जाने उमेरमा म यही वनमा गोठाली भएर कुदेँ।'
मनका दु:खका अनुभूतिसँगै गहभरी छछल्किएको आमाका आँसुहरूप्रति म अनुत्तरित भएँ।
मैले सुनेको र पढेको पनि थिएँ महिलाहरूलाई जिन्दगीभर आफ्नो माइती घरको याद आइरहने एउटा कारण माइतीमा आफ्नो बाबुआमाको मायामा बाल्यकाल बितेको र अहिले त्यो ठाउँबाट टाढा रहनु परेकोले हो। बाल्यकालका अनुभूतिहरू कहिल्यै बिर्सिन सकिन्न। तर आफ्नो बाल्यकाल कसरी बित्यो भन्ने भावनाले पनि उक्त ठाउँप्रतिको अनुभूति फरक पार्दो रहेछ सायद।
मेरी आमा उक्त भिर र वनमा भेडा चराएर बितेको उक्त क्षणप्रति उति धेरै अपनत्वको अनुभूति गर्नु हुन्न। तर त्यो बेला आफ्ना बुवाआमाको स्नेहमा हुने खुसीमा भने उहाँको अन्तरमन गहिरो गरी गढेको छ।
कहिलेकाहीँ म आमालाई तसलिमा नसरिनको फेरा उपन्यासको कथावस्तु सुनाउँछु। महभिरको आमाको भोगाइसँग मिल्दोजुल्दो छ। उक्त उपन्यासमा देवयानी र कल्याणी माइतीमा छँदा कसरी मिल्थे अनि बिहे भएपछि उनीहरू कसरी टाढा टाढा भए। अझ त्योभन्दा पनि देवयानीले कसरी आफ्ना बाबु हरिनारायणको घर सोध्दै पच्चिस वर्षमा माइती फर्की आदि कुरा सुनाउँदा मेरी आमा आफ्नो माइतीका अनुभूती सम्झेर भावुक बन्नुहुन्छ। तर उक्त भिर र वनमा भेडा चराउँदै बाल्यकाल बितेर आफ्नो अवसर गुमेको कुरामा भने अझै चिन्तित हुनुहुन्छ।
त्यो भावनाको एउटै प्रतिबिम्बित सार हो जीवनमा पढ्न पाइएन। संसार देखियो तर संसारलाई पढ्न पाइएन। प्रविधिका अनेकन सामग्रीको दुनियाँमा मेरी आमा आज पनि किताबहरू बुझ्ने गरी पढ्न नसक्दा अन्धकारमा रूमलिएको महसुस गर्नु हुन्छ। घरको हजारौं कामको बाबजुद पनि प्रौढ शिक्षामा सिकेको कखराले नाम लेख्न मात्रैमा सीमित भयो उहाँको शिक्षा।
कसैको उमेर गन्नु पर्दा, साल, महिना र दिन उहाँ एकैछिनमा मुखैले हिसाब गरेर निकाल्नु हुन्छ। हामी सानो-सानो कक्षामा पढ्दा अंक गणितका साधारण हिसाब आमाले मुखैले भन्दिनु हुन्थ्यो।
पैसाको सावाँ-ब्याज र सुनको तोला, आना र लालको हिसाब हामीले लेखेर भन्नु अगाडि नै उहाँ मुखैले निकाल्नु हुन्छ।
उहाँको तीक्ष्ण बुद्धि र तार्किक क्षमतालाई पढाइका अक्षरसँग जोड्न नसक्दा उहाँलाई व्यक्तिगत जीवनमा कठिन त महसुस भएको त छ नै, उहाँका पुस्तामध्ये धेरैले यही नियति भोग्नुपर्दा नेपालको सामाजिक विकासमा एउटा पुस्ताको योगदान नै छुट्न गयो।
मेरी आमाका पुस्ताका महिलाहरूका ज्ञान र क्षमतालाई शिक्षासँग मात्र जोड्न सकिएको भए तीन पुस्तापछि पनि त्यो वन त्यस्तै अवस्थामा रहने थिएन होला अनि भेडो लडेको त्यो ढुङ्गो पनि पचासौं वर्षको प्रमाण बनेर उस्तै अवस्थामा रहने थिएन होला।
मेरी आमाजस्ता अरू धेरैको पढ्ने धोको उहीबेला पूरा भएको भए त्यो जर्जराउँदो महभिर पनि अहिलेसम्म पथ्थरे ढङ्गाको करङ्ग देखाएर उस्तै बनेर उभिइरहने थिएन होला। त्यसैको मुनिबाट सुरूङ मार्गमा सायद रेल पो गजगुजाउँदै गुड्थ्यो कि! त्यसो त प्रकृति आफैंमा निर्दोष छ। विकासका नाममा यसलाई कुरूप बनाउनु हुन्न।त्यसैले दोषी त छोरी नपढाउने समाज र सत्ता हो।
महभिरको प्रकृतिको सुन्दरतामा रमाउने र बाल्यकालको रमाइलो अनुभूति गर्न अल्झाउने सामाजिक सत्ताको दोषमा त्यो महभिरसँग मेरी आमाको श्रमको साइनो मात्र हैन धोको नपुगेको शिक्षाको प्यास पनि जोडिएको छ।
मैले मेरी आमाको बाल्यकाल देखिनँ, देख्ने कुरा पनि भएन तर पनि हिजोआज म त्यो बाटो हिँड्दा मेरी आमाको बाल्यकाल सम्झिन्छु। कलम र कपि बिनाको त्यो बेलाका आमाहरूको बालाजीवन र अहिलेको अवसरको बस् कल्पना गर्छु।