म केही तयारी बिना नै सिनामंगलस्थित पुरानो घर नाटकघर पुगेँ।
एकैछिनमा निर्देशकले अडिसन दिन भन्नुभयो।
मैले अलिक हिच्किचाउँदै सोधेँ, 'अहिले नै?'
'अँ अहिले त, जा गर् न,' अगाडि स्टेजतिर देखाउँदै।
एउटा 'सिचुएसन' दिनुभयो।
उहाँ आफ्नै लयमा बोल्दै हुनुहुन्थ्यो, आफू ११ वर्षको उमेरमा ताप्लेजुङबाट झापा जाँदा आमासँग छुट्टिएको क्षणमा पुगेछु।
काबेली खोलाको पारि सेतो पाटी (चौतारा) मा आमा रातो सारीमा भक्कानिँदै मलाई 'बाई' गर्दै हुनु हुन्थ्यो। पछिपछि दिदी, अघिअघि म। फर्किँदै आमालाई हेर्दै, दुई पाइला हिँड्दै, फर्किँदै जति टाढा पुग्दै थिएँ, आमाको तस्बिर झन् मुटुमै गाडिएर बसे जस्तो हुँदै थियो।
कोरोनाको महामारीले सबै जनाको अवस्था गाह्रो भइरहेका बेला नेपाली रंगमञ्च र सिने उद्योग पनि चेपिएकै थियो। त्यसैबीच, निर्देशक सुलक्षण भारतीको फोन आयो।
कुनै किसिमको तयारीबिना म थिएटर पुगेँ। अडिसन सकियो।
उहाँले भन्नुभयो, 'ठीकै छ, फेरि अर्को एकपल्ट अडिसन गर्नुपर्छ भोलि।'
अडिसन भन्नेबित्तिकै परीक्षा जस्तो डर लाग्ने मलाई।
फेरि सोचेँ, 'भोलि फेरि दिन्छु।'
भोलिपल्ट दोस्रो अडिसनका लागि पुगेँ। निर्माता पनि हुनुहुन्थ्यो। अडिसन दिएँ। 'गुड जब' भन्ने 'कम्प्लिमेन्ट' पनि पाएँ।
निर्देशकको नाटकमा स्वयंसेवक, स्टेज म्यानेजरका रूपमा काम गरिसकेकी थिएँ। तर कलाकार रूपमा मेरो पहिलो सहकार्य थियो।
मनमनै यस्तो लाग्दै थियो, 'स्क्रप्ट पढ्न पाइहाले तयारी गर्नतिर लागिहाल्थेँ।'
मैले अडिसन पनि राम्रै गरेकी थिएँ।
अर्को दिन फोन आयो, 'ल बहिनी, जुनुको आमाको भूमिका छानिएकी छौ। मज्जाले गर्नुपर्छ। बच्चासँग काम गर्नुछ, अलि मेहनत गर्नुपर्छ है।'
जुनुको अडिसन भइसकेको थियो। जुनुको भूमिकामा रंगकर्मी भोलाराज सापकोटाकी छोरी सुपला सापकोटा छानिएकी थिइन्।
मेरो 'कलटाइम' ११ बजे थियो। थिएटर गएँ, स्क्रिप्ट पाएँ। 'जुनुको आमा' पढ्न थालेँ। मज्जै आयो।
अब मेरो जिम्मा थियो– निर्देशकले सरस्वतीदेवी अधिकारी, जुनुकी आमालाई कस्तो देख्न र देखाउन चाहनुभएको हो, त्यो पूरा गर्ने।
किनभने अब त सुरू भइसक्यो 'जुनुको आमाको यात्रा।'
जुनु पनि आइपुग्ने बेला भयो। दुई बजेतिर उनी आइपुगिन्, स्कुल ड्रेसमा, लामो बाटेको कपाल, हँसिली। अगाडिका दाँत चाहिँ मेरै जस्तो ठ्याक्क खाली।
जुनुलाई हेरेर म पनि दंग परेँ, हामी निक्कैबेर गफियौं, मैले स्क्रिप्ट पढेर सुनाएँ, साँझ परेपछि हामी छुट्टियौं।
चलचित्र छायांकनअघि हामीले डेढ महिनाजति सँगै बितायौं। अब यस्तो दामी केमेस्ट्री हुन थालेको थियो। नानीको कमिक टाइमिङ, मेरो जोक, उनको जोक, सटायर। मज्जा लाग्थ्यो नानीसँग हुँदा। उनी स्कुलबाट थिएटर आउँथिन्। रिर्हसल गर्थ्यौं, छुटिन्थ्यौं।
सुटिङको समय नजिकिँदै थियो। डेढ-दुई महिनाको तयारीपछि 'बोक्सीको घर' को सुटिङ युनिट काभ्रेपलाञ्चोक जिल्लाको पीपलटार पुग्यो।
म दुई दिनपछि गएँ।
बसपार्कमा उत्रिएर हामीलाई बस्न व्यवस्था गरिएको होमस्टेतिर जाँदै थिएँ, बाटैमा जुनु भेटिइन्। उनैले होमस्टेतिर लिएर गइन्। त्यहाँ भेटिए थिएटरमा काम गरिरहेका साथीहरू– विनिता, शंकर, उमेश, बिक्की। अनि पहिलोपटक चलचित्रमा अभिनय गर्दै गरेकी पत्रकार साथी स्वेच्छा।
कोही कला निर्देशक, कोही साउन्ड रेकर्डिस्ट, कोही व्यवस्थापनमा थिए। सबैजसो थिएटरका साथी चलचित्रमा कुनै न कुनै डिपार्टमेन्टको जिम्मामा थिए।
विस्तारै हामी आमाछोरीका सिनहरू सुटिङ हुन थाले, फिल्ममा दुइटा दृश्य जुनुले आमाको चड्कन खान्छिन्। जुनुलाई थाहा थिएन, आफूले चड्कन खाँदैछु भनेर। मलाई गाह्रो भएको थियो त्यस बेला।
झन् कोइलाको आगोको भुंग्रोमा सेकाएको खस्रो हातले उनलाई कति पोल्यो होला! तर जुनु साह्रै ज्याद्रो मान्छे भन्ने त्यति बेला थाहा पाएँ। व्यावसायिक कलाकारले झैं काम गरिन्। जुनुसँग काम गर्दा मलाई बालकलाकार होइन, परिपक्व कलाकारसँग काम गरिरहेकी छु भन्ने लाग्थ्यो। जुनुको बोली बचन, व्यवहार उस्तै तेज दिमाग। स्पष्ट नेपाली उच्चारण। सुटिङका लागि प्रयोग भएको कालो बिरालो (एनिमल एक्टर) उनको प्रिय साथी थियो।
जुनुलाई हेरिरहँदा, काम गरिरहँदा भोला दाइ र भाउजू यमुनाले कति राम्रोसँग छोरी हुर्काइरहनुभएको छ जस्तो लाग्थ्यो।
एक दिन नानीले 'अब काठमाडौं गएपछि भेट हुँदैन, बाबा सुटिङमा जानुहुन्छ, मेरो ममीको नम्बर सेभ गर्नु न लब्ली' लेखेर भनिन्। मुस्कुराउँदै त्यो काम उनैलाई जिम्मा दिएँ। एउटा इमोजी पनि राखेर सेभ गरिछन्।
हाम्रो सुटिङ सकियो।
म काठमाडौं फर्किने कि नफर्किने दोधारमा थिएँ।
नानीलाई दुइटा औंला रोज्न दिएँ, 'काठमाडौं फर्किने वा सुटिङ सकेर नानीसँगै फर्कने।
त्यो दिन उनले औंला रोज्दै सोधिन्, 'तपाईं काठमाडौं जान लागको हो?'
त्यस दिन उनको सुटिङ थियो, उनलाई भुइँतलाबाट बोलाउँदै थिए। जुनु खाटमा बसिरहेकी थिइन्। म भुइँमा थिएँ। मलाई उनीसँग काम गर्दा कस्तो महसुस भयो म सविस्तार भन्दै थिएँ। हामी दुवैजनाको आँखा रसाउँदै थिए।
झ्वाट्टै ढोकामा उनलाई लिन सहायक निर्देशक आइपुगे, नानीले मलाई पुलुक्क हेरिन्।
अनि ढोकातिर हेरेर भनिन्, 'हामी आई कन्ट्याक गेम खेल्दैछौं, तपाई जानु म एकछिनमा आउँछु।'
यस्तो को-एक्टर सबैले पाउँदैन नि!
'भरे नि सुटिङ सकेर आउँदा, तपाईं काठमाडौं गइसक्नुभएको रैछ भने नि!' अलि शंकामा सोधिन्।
म चुपै बसिरहेँ।
बस पीपलटारबाट ओरालो लाग्यो। नानीसँगै जति टाढा हुँदै थिएँ, त्यति उनको तस्बिर गाढा हुँदै थियो। रातो सारीमा सजिएकी आमाको जस्तै!
'कुनै–कुनै पीडा मिठा खालका हुने रैछन् नि है जुनु!'
'फिल्म बोक्सीको घरले जुराएको यो सम्बन्ध जुनुको आमा, मलाई जुनुलाई जस्तै माया गर्ने मेरी आमा!