वैशाख लागेपछि नै इन्टरनेटमा विज्ञापनहरू देख्न थालेको थिएँ। सपिङ सेन्टरमा पनि देखेँ। आमाको मुख हेर्ने औँसीको लागि सामानहरू बेच्न राखिएका थिए। उपहार दिने शैलीमा प्याक गरिएको थियो सुन्दर ढङ्गले र त्यहाँ भित्र थियो लोसन, फेयरनेश क्रिम, केही मिठाई, पर्स, फोटो, फ्रेम, ऐना, काइँयो आदि।
फेसबुकमा पनि त्यस्तै विज्ञापन थिए। आफ्नी आमालाई फेसियल उपहार दिनुस्, केक उपहार दिनुस्, नयाँ खालका सारी विशेष छुटका साथ बिक्री भइरहेको छ आदि इत्यादि। बजारको खुबी नै यही हो कि मानिसको 'सेन्टिमेन्ट्स' लाई पक्डेर उत्पादनलाई किनूँ किनूँ बनाउँछ।
आमाको निम्ति भनेर विज्ञापन गर्न कुनै शब्दको कसलाई कमी होला र! संसारमा प्रेमी–प्रेमिका माया–प्रेमको पछि सायद सबैभन्दा धेरै लेखिने साहित्य रचना बनाइने कलाका विषयवस्तुमा आमाको माया नै पर्ला। अब मातातीर्थ औँसीका दिन प्रायः सबैको सामाजिक सञ्जालका भित्तामा आमाहरू छाउँछन्। कम्तीमा यो अवसरमा सबै छापा र सञ्चारमाध्यममा आमाको ममताको वर्णन हुन्छ, स्मरण हुन्छ।
हाम्रो संस्कृतिको शिष्टता कुकुर र कागलाई त कृतज्ञता व्यक्त गर्ने गर्छन् भने आमाको प्रेमको सर्वोच्चताको कदर गर्न किन पछि पर्थ्यो? 'माँका घरका खाना' लेखेको साइनबोर्डले होटेलमा खुरुखुरु डोर्याउँछ। भलै त्यहाँ काम गर्ने सबै पुरुष मात्र होउन्। आमालाई पीडा भएको देखाउने फिल्मले धुरुधुरु रुवाउँछ। हिरोलाई फलामका साङ्ला चुँडाउने, दश जना गुन्डालाई एक्लैले हावामा उडाउने अलौकिक शक्ति आउँछ।
पृथ्वीका साना ठूला सबै जीवहरू जो प्रजनन गर्छन्। तिनको त माउ–बच्चाको आपसी सम्बन्ध र मायाको अभिव्यक्ति देख्दा मन भावुक हुन्छ। मान्छे त झन् उन्नत चेतना भएको प्राणीमा पर्यो। यस्तो लाग्छ कि, सबै जना सन्तानकै लागि दौडधुप गरिराखेका छन्। पढेका छन्, विकास गरेका छन्, प्रविधिको आविष्कार गरेका छन्, सम्पत्ति थुपारेका छन्, मेहनत गरेका छन्, पसिना बगाएका छन्, ढाँटेका, छलेका छन्, भ्रष्टाचार गरेका छन्, जे–जे गर्दै छन् सबै आफ्ना सन्तानकै निम्ति गर्दै छन् झैँ लाग्छ।
अनि रमाइलो यहाँनिर लाग्छ, कर्म नारी–पुरुष दुवैले गरेका हुन्छन् तर जसको ठूलो भाग आमाको भागमा आउँछ। सन्तान हुर्किएर ठूलो भएपछि मात्र पिताको योगदान बुझ्न थाल्छ। तर माया–ममता, सम्बन्धको प्रगाढतामा पिताले कसै गरी उछिन्नै सक्दैन। सृष्टिको आदिम कालदेखि चलिरहेको यो प्रक्रियाको स्वरूपमा परिवर्तन भए पनि स्वभावमा परिवर्तन भएको छैन। एउटा शिशुको जन्मेको केही दिनमै चिनेको, सबैभन्दा पहिलो पटक उसको आमा नै जीवनभर सबैभन्दा प्रिय पात्र हुन्छ।
जन्म दिएर मात्र आमाहरू 'आमा' बनेका होइनन्, गर्भधारण भएको दिनबाट सुरु भएको जिम्मेवारी र कर्तव्य बोधको शृङ्खला मर्ने बेलासम्म पनि रहिरहन्छ। अझ गर्भधारण हुनुभन्दा अगाडिबाटै तयारी सुरु हुन्छ। जिम्मेवारी सन्तानभन्दा पहिल्यै आइसकेको हुन्छ। एउटा अत्यन्तै संवेदनशील र अविश्राम दायित्वको भूमिका अनवरत (दिन, रात, प्रत्येक क्षण) पूरा गर्न सफल भएपछि बल्ल यो दिनमा मुख देखाइने वर्गमा पर्छन् आमाहरू।
आमाको मुख हेर्ने दिन; बालक कालमा सबैभन्दा धेरै हेर्न मन लाग्ने मुख हो, जुन बिस्तारै समयले गर्लफ्रेन्डको मुख हेर्न लाग्ने बन्छ, श्रीमान्को मुख हेर्न मन लाग्ने बन्छ, अनि भित्ते पात्रोको तिथि, मिति हेर्दै आमाको मुख हेर्ने दिन भेट्न जाने योजना बन्छ।
हाम्रो सामाजिक र सांस्कृतिक मान्यता अनुरूप सन्तान उत्पादन अनिवार्य जस्तै मानिन्छ। विकसित राष्ट्रहरूमा 'एडप्ट' गर्ने, बच्चा नै नजन्माउनु पनि सहज मानिन्छ। तर हामीकहाँ वंश परम्पराको निरन्तरताको महत्त्व यति छ कि, निःसन्तान हुनु ठूलै पाप झैँ मान्छन्। विश्वका थोरै बाहेक धेरै जसो देशमा जनता वृद्धि नै छ। जन्मदर घटे पनि विश्वको आबादी कुनै कमी हुनेवाला छैन। तैपनि हामी डाइनोसोर झैँ लोप भइन्छ कि जस्तो व्यवहार गर्छौँ। नेपाल, भारत जस्ता देशमा लाखौँ अनाथ बालबालिका छन्, फेरि पनि निःसन्तानपन उपचार गर्ने हस्पिटल थपिँदै छन्। सन्तानेश्वर महादेवका मन्दिरमा भिड नै हुन्छ। 'हकिमका दबा' प्रयोग गर्छन्। 'झाँक्रीका खीर' खान पनि पुग्छन्।
हरेक नारीहरू सिर्जनाका खानी हुन्। उनीहरूको महानता पाठेघरको कार्य–क्षमताको आधारमा गरिनु साँच्चै अन्यायपूर्ण हो। पाठेघर बाँझो हुन सक्छ तर कोख बाँझो हुन सक्दैन। मानव जाति जस्तो उच्च स्तरको चेतना भएको प्राणी अन्य जीवझैँ प्रजनन गर्नु प्रमुख लक्ष्य मानेर जिउने भए मानव हुनुको के औचित्य? कुनै धर्मले यदि सन्तान नभएको कारण अशुद्ध, पापी ठान्छन्, ईश्वरको सेवा गर्न अयोग्य ठान्छन् भने त्यो पाखण्ड हो।
केही दिनअघि काठमाडौँमा एउटा बच्चा चोरीको घटना समाचारमा आयो। शिशु चोरीका घटना गाउँघरमा, हस्पिटलमा सुनिँदै आएको छ। चोरी त्यो पनि मान्छेकै, त्यो महाअपराध नै हो। तर समाजमा जसरी पनि आमा बन्नै पर्ने, अझै पनि कस्तो मानसिकता व्याप्त रहेछ? नारीको सम्पूर्णता आमा बनेपछि मात्रै हुन्छ भन्ने भाष्य निर्माण गर्ने हामी सबै दोषी हौँ। प्रजनन सृष्टिका सबै जीवले गर्छन्। जेलिफिसको त मस्तिष्क पनि हुँदैन, उसले पनि आफ्नो वंश विस्तार गरिरहेको हुन्छ।
सन्तानसुखम् परमसुखम् भन्छन्। सन्तानसँगको सामीप्यताबाट अनुभव गर्ने प्रेम अद्भुत हुन्छ। बच्चाको एउटा हाँसोले मात्र सारा दुःख कष्ट हटेको अनुभूति गराउँछ। प्रेमको विशेषता नै त्यही हो। पाउँदाभन्दा दिँदा बढी आनन्द हुन्छ। दुःख कष्ट झेल्ने असीमित ऊर्जा कसरी आउँछ थाहै हुँदैन। बिरामी भएर सुतेको मान्छे भुइँचालो आउँदा दुइटा भर्याङ उफ्रेर नाघेझैँ आफूभित्र भएको ऊर्जा स्वयंलाई पनि विश्वास नै नलाग्ने गरी बाहिर निस्कन्छ।
सिर्जना र शक्तिका अनन्त स्रोत नारी जातिलाई बच्चा उत्पादन र रेखदेखमा सीमित गर्ने मान्यता हाम्रा लागि घातक हुन्छन्। आरक्षण कोटाबाट केही मन्त्री र सांसद त उत्पादन गर्न सकौँला, विद्वान, विचारक, अनुसन्धानकर्ता, वैज्ञानिक, नोबेल पुरस्कार जित्ने साहित्यकार, गोल्ड मेडल जित्ने खेलाडी प्राप्त गर्न सकिन्न।
जीवनको सबैभन्दा उर्वर समय जुने बेला पढेर संसार बुझ्न थाल्ने बेला हुन्छ, सोच्ने, तर्क गर्ने क्षमता बन्न थालेको हुन्छ त्यही बेलाको लामो कालखण्ड बालबच्चाको रेखदेखमा बित्छ। बच्चा हुर्काउने काम बच्चाको खेल होइन, दिनरातको खटाई, उनीहरूको शारीरिक, मानसिक, सामाजिक विकास सबै कुराको हरदम ख्याल राख्नु पर्ने हुन्छ। उमेरअनुसार उसको डाइपर फेर्नेदेखि लिएर उसको शिक्षा, संस्कार, जीवनशैलीका हरेक कुरामा मिहिन ढङ्गले मेहनत गर्नुपर्ने हुन्छ।
आमाको शरीरमा अंकुराएको अस्तित्व त्यही शरीरको दूध चुस्दै हुर्किँदा यति कसिलो जैविक नाता बन्छ कि अरु कसैले त्यहाँ स्थान लिनै सक्दैनन्। प्रकृतिले, समाजले, संस्कारले सबैले एकैचोटी जिम्मेवारी थाप्लामा हालिदिएका छन्। उच्च शिक्षा लिने पनि यही बेला जीवनसाथी पनि समयमै खोज्नुपर्यो। पैसा कमाउने पनि यही बेला, बच्चा पनि यही एक दशकभित्र नजन्मँदा बेला बितिहाल्छ।
विगतका रहरहरू हराउँदै जान्छन्। सपनाहरूलाई बिपनाको यथार्थले ठाउँमा ल्याइदिन्छ। महत्त्वाकाङ्क्षा साइजमा आउँछ। मैले ३० वर्षमा पिएचडी गरिसक्छु भन्ने लक्ष्य राखेको थिएँ भन्ने सम्झन्छु। त्यो उमेर वास्तवमा बच्चा जन्माउने डेडलाइन रहेछ, मुस्किलले स्नातकोत्तर पास गरेँ। मैले स्कुलमा पढेका फ्लोरेन्स नाइटिङ्गेल, म्याडम क्युरी, पारिजात सबै पाठ्यक्रमका शोभा भए। हामीजस्ता आम मानिसले त्यस्ता आदर्श सपनाहरू पाल्न सक्दैनौँ।
जागिर खाने, घरजम गर्ने, एक–दुइटा सन्तान जन्माउने, राम्रोसँग घर सम्हालेर बस्ने वास्तवमा समाजको ट्र्याकमा हिँड्ने काम हुन्। योभन्दा फरक बाटो हिँड्न छुट्टै ऊर्जा र दृढता चाहिन्छ। हाम्रो समाजमा धेरै कुराहरू द्वैध चरित्रका छन्। छोरीको शिक्षामा जोड दिन्छन् र झन् सबल ज्वाइँ खोज्छन्। पढेलेखेकी बुहारी रोज्छन् र छिटोभन्दा छिटो नाति–नातिनी खोज्छन्। क्षमतावान् श्रीमती भित्र्याउँछन् तर घरको चौघेरा नाघेको मन पराउँदैनन्। ओशोले भनेझैँ नारी सबैलाई मन पर्छ तर उसको स्वतन्त्रता कसैलाई मन पर्दैन। स्त्रीहरू रोउन्जेल, झगडा गरुन्जेल, दुःखी बनुन्जेल प्रिय लाग्छन्। जब उनीहरू मुस्कुराएर, सोचेर, विचार गरेर, आफूलाई सम्हालेर जवाफ दिन थाल्दछन् उनीहरू प्रिय लाग्दैनन्।
साँचो विद्रोह आफ्नो सपनालाई ज्युँदो राख्न सक्नु हो, पखेटा फिँजाएर उड्न सक्नु हो, सहीलाई सही, गलतलाई गलत भन्न सक्नु हो। शैक्षिक योग्यताका प्रमाण–पत्र थुपारेर मात्र विद्वान भइँदैन। पैसा कमाएर मात्र पनि आर्थिक स्वतन्त्रता हुँदैन, छोटा कपडा लगाएर मात्र पनि स्वतन्त्रताको उपभोग भन्न मिल्दैन। जब निर्णायकको भूमिकामा उनीहरू हुन पाउँदैनन्। भान्साको तरकारी, पर्दाको डिजाइन, लुगाका रङ छनोटमा मात्र उनीहरूको उपस्थिति हुन्छ भने हामी अहिले पनि हाम्रा धेरै अगाडिको पुस्ताको समाज जिइराखेका छौँ। मेरो हजुरआमा बारीको काम गरेर बेलुका बच्चाको रेखदेखमा जुट्नुहुन्थ्यो, म अफिसको काम गरेर जुट्छु। उहाँ बसेर भाँडा माझ्नुहुन्थ्यो, म उभिएर भाँडा माझ्ने भएको छु।
वास्तवमा कमजोरी हामी भित्रै छ। हामी व्यवस्थामा खोट देख्यौँ, कानुनमा त्रुटि देख्यौँ, पार्टी बदल्यौँ, नेता फेरिरह्यो, आफ्नो सत्ता आफैँ प्राप्त गर्न साना-साना कदम उठाउन सकेनौँ र धर्मलाई, संस्कारलाई, राजनीतिलाई गाली गरिरह्यौँ।
मलाई पनि तिनी ठूला महामानवको गाथा पढेर धेरै जनाको सेवा गर्ने, देशको दुर्गम ठाउँमा पुग्ने, एउटा सुन्दर पहिचान बनाउने, जिन्दगीमा अर्थपूर्ण काम गर्ने अठोट थियो। 'ड्रिमओर्क' को नजिकै पुग्न सकेँ। तर मेरो अठोटलाई मूर्त रूप दिने तागत ममा भएन। मेरो कमजोरी मातृत्वको रूपमा आइदियो।
यस्ता कहानी हरेक दश जना महिलामध्ये आठ जनाको होला। पढ्दै थिएँ, काम गर्दै थिएँ, यो गर्दै थिएँ, त्यो गर्दै थिएँ तर बिचमै छोड्नुपर्यो। माया–ममता, कर्तव्य, जिम्मेवारी पक्कै हो, तर हाम्रो सम्झौता परस्त स्वभाव र दास मानसिकता पनि हो। सङ्घर्ष गर्नभन्दा लड्न सजिलो हुन्छ अनि त्यसलाई समझदारीको नाम दिन्छौँ। सबैभन्दा धर्म सङ्कटको लडाइँ आफ्नैसित लड्दा खेरी हुन्छ। सरकारका विरुद्ध, व्यवस्थाका विरुद्ध नारा लगाउन सजिलो हुन्छ। हातमा मशाल बोकेर संसार बदल्छौँ भन्दै हिँड्नभन्दा गाह्रो हुन्छ आफ्नै आसपासमा परिवर्तन ल्याउन।
हामी आफै मायामोहको नशामा लट्ठिइरहेका छौँ। महानताका गाथामा दङ्ग परेर भुलेका छौँ। गुनासो गर्ने दुस्साहस गर्दैनौँ। सहयोग माग्न जान्दैनौँ। सहनशीलताको कठिन परीक्षाहरू पार गर्छौँ। भगवान् आफू सबै ठाउँ पुग्न सम्भव नभएर आमा बनाइदिनु भयो भन्ने सुन्दै आएका छौँ। अनि हामीलाई अहिले नै भगवान् बन्ने यस्तो भूत चढ्छ कि मान्छे बन्न बिर्सन्छौँ। थकाइ लाग्छ, निद्रा लाग्छ, रिस उठ्छ, चित्त दुख्छ भन्ने कुरालाई पन्छाएर हामी महान् बन्ने होडमा कुद्छौँ।
घरीघरी हामी सब एकलव्य हौँ जस्तो लाग्छ। जसले गुरु भक्तिको जुनुनमा आफ्नो अस्तित्व समाप्त पार्ने द्रोणाचार्यको जालमा आयो। घरीघरी हामी सबै सीता हौँ जस्तो लाग्छ। जसले पतिव्रताको खातिर नगरेको पापको परीक्षा दिन अग्निमा हाम फलिन्। आफूलाई चटक्कै बिर्सेर जीवनभरिलाई होमिने यस युद्ध अन्त्यमा तमाम आमाका मनले आफूलाई कति बलियो, सुरक्षित र सम्मानित महसुस गर्ला? तर आमाहरूले सन्तानसँग कहिल्यै हिसाब राख्दैनन् नत्र यो प्रक्रिया उहिल्यैबाट घट्न थालिहाल्थ्यो।
भूपी शेरचनले गोर्खालीको बहादुरीलाई 'हामी बुद्ध नभई कन कहिल्यै वीर हुन सकेनौँ' भन्थे। पढाइ रोकेर, क्यारियर छोडेर, सबै कुरा बितिसकेपछि जीवनको मूल्याङ्कन गर्ने कालखण्डमा पुग्दा बेवकुफ पो भइएछ भन्ने अनुभव अहिलेका एक्काइसौँ शताब्दीका महिलाहरूलाई नहोस्।
मेरो ब्याकबेन्चर साथी आफ्नै कारमा हिँडिरहँदा म नगरबसको महिला आरक्षण सिटमा बच्चा च्यापेर बसेको हुन्छु। यो बाटो अलिकति चाहेर र अलिकति नचाहेरको मिश्रणबाट बनेको हो।
सम्बन्धहरू जिन्दगी सजिलो बनाउनको निम्ति हो। माया प्रेम र आफ्नोपनको अनुभूति मानव मनलाई जीवित राख्ने प्रमुख खुराक हो। पुरुषको शरीरभित्र पाठेघर छैन र दूध चुसाउन सक्दैनन्, बाँकी सबै कामको लागि नारी–पुरुष दुवै सक्षम छन् र गर्न मिल्छ पनि।
विश्वमा कोरोना महामारी फैलिरहेको बेला केही महिला राष्ट्र प्रमुखहरूले असाधारण नेतृत्व क्षमता प्रदर्शन गरे। त्यो बेला न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डाले संसदमा सम्वोधन गर्दै स्तनपान गराएको र उनका श्रीमानले बच्चा लिएर हिँडेको दृश्य सञ्चार माध्यममा चर्चित भएको थियो।
मैले मेरो डेढ दशक लामो कामको दौरानमा कहिल्यै कुनै महिला कर्मचारीले यस्तो मौका पाएको देखिनँ। बेलैमा बच्चा पाइहाल्ने र 'लेडिजवाला सजिलो काम' गरेर बस्ने सल्लाह दिने शुभचिन्तक पाइलैपिच्छे भेटिन्छन्। तिनलाई क्यारियर गोल, प्यासन, एम्बिसन सब टिनएजका गफ मात्र हुन्।
आफ्नो आत्मालाई सोध, आधुनिक युगका नारीहरू- के तिमी डिग्री पास गरेको सर्टिफिकेट दराजमा थन्क्याएर ‘होम मेकर’ वा 'परफेक्ट मदर' बनेर पछिसम्म स्वाभिमानपूर्ण, सम्मानपूर्ण जिन्दगी हुन्छ भनी ढुक्क छौ?
साबुनले फुटेका हातमा घस्न लोसन, पीरले चाउरिएका गालामा लगाउन क्रिम, ढाड दुख्दा लगाउने बेल्ट, एउटा सारी, नङ पालिस त पक्कै आउँछन् आउँछन्। आगे तिम्रो मर्जी।