परिवारबाट टाढा रहेर आफ्नो अध्ययनसँगै कर्मलाई अगाडि बढाउने सपनाका साथ घर छाडेर राजधानी प्रवेश गरेका कैयौँ विद्यार्थीहरूको भिडमा पर्ने म पनि एक हुँ। बिहान कलेज अध्ययनसँगै दिउँसो काम गरेर सङ्घर्ष गरिरहेका म र मजस्ता कैयौँका लागि दिनभरको थकान मेटाउन एउटै विकल्प हो, बेलुकी आमालाई फोन गर्नु।
मेरो निम्ति पनि यहीँ एक विकल्प थियो, थकान मेटाउने अनि चिन्ता बिसाउने थलो। विभिन्न कार्यक्रममा समाचार तयार गर्न त कहिले स्टुडियोमा समाचार तथा रिपोर्ट बनाउन व्यस्त रहिरहने म प्रायः बस्ने थलोमा पुग्न अबेर नै हुन्छ। राजधानीमा हामी खाना खाएर सुत्ने बेला हुँदा गाउँमा आमाबुबाको दुई निद्रा पुगिसकेको हुन्छ।
पुसको महिना थियो जति बेला जाडो कति हुन्छ हामीले अनुभव गर्दै आएका छौँ। अझै जाडो समयमा गाउँमा खाना खाएर छिट्टै तातो ओछ्यानमा छिर्ने चाहना हरेकको हुन्छ। त्यसैले म घरमा हर दिन प्रायः बिहान नै फोन गरेर हालखबर सोधपुछ गर्थेँ। यस्तै प्रक्रिया चलिरहेको थियो। अन्ततः पुस महिनाले पनि विश्राम लिने दिन नजिकिँदै थियो। घर नगएको पनि धेरै समय बितिसकेको थियो।
चाहनाले फोन गरेको ममीलाई यो दिन घर आउँछु भनेर बहाना बनाएको पनि धेरै भयो। मङ्सिरको मसान्त तिर होला ममीलाई माघे सङ्क्रान्तिमा चाहिँ जसरी पनि घर आउँछु भनेको थिएँ। साँच्चै छोराछोरीले होलान् आमाबाबुको कुरा बिर्सने तर आमाबाबुले कहिल्यै छोराछोरीको बचन बिर्सन नसक्ने रहेछन्।
एक महिना अगाडि फोनमा भनेको कुरा ममीले एक महिनापछि फेरि सम्झाउनु भयो- माघे सङ्क्रान्तिमा त घर आउँछस् नि कान्छा?
म घरको कान्छो छोरो। कान्छा भन्दै ममीले मप्रति दर्साएको प्रेमलाई मैले कसरी अस्वीकार गर्न सक्छु र? मैले ममीलाई जसरी पनि घर आउँछु भनेर आशा देखाए। ममीले फेरि प्रेम दर्साउँदै भन्नुभयो 'पोहोर पनि त नआएर तरुल खन्न पाइएन यो पाली चाहिँ अघिल्लो दिनमा नै चाडै आइज अनि तरुल खन्नुपर्छ।' मैले भ्याएसम्म अघिल्लो दिन नत्र सङ्क्रान्तिको दिनमा चाहिँ जसरी पनि आउँछु भनेर फोन राखेँ। अब माघ महिना सुरु हुन मात्र तीन दिन बाँकी थियो भने ममीले घर आउने मिति दिएको दिन पुग्न बाँकी थियो त केबल दुई दिन मात्रै।
यदि घर जाने हो भने मैले भोलिपल्ट एक दिनमा भए जति सबै काम सक्नुपर्ने थियो। ममीले फोनमा भनेको कुराले मलाई कति बेला घर पुग्नु जस्तो भएको थियो। तर अपसोच त्यो दिन काम सकिएन। दिनभर मरिमेटेर लाग्दा पनि काम नसकिएकोमा म चिन्तित हुँदै खाटमा ढल्किरहेको थिएँ। थकाइ उस्तै लागेको थियो।
रुन आँसु नै झर्नपर्छ भन्ने रहेनछ। कहिलेकाहीँ आँखाबाट आँसु नझरे पनि मन धेरै रुने रहेछ। त्यस्तै भयो। मेरो मन रोइरहेको थियो। अब ममीलाई भोलि घर आउन नपाउने भएँ भनेर फोन गर्न ममा हिम्मत थिएन। निराश हुँदै मैले मोबाइल थन्काएर बत्ती निभाएँ। सायदै त्यहीँ दिन होला मैले घरमा ममीलाई फोन नगरी सुतेको।
समय पनि धेरै बितेको थिएन। घडीमा करिब साढे आठ बजेको थियो म सुत्दा। सुतेको केही समयमा नै म निदाएछु। निद्रामा नै फोन बजेको आवाज सुनेँ। पक्कै ममीको फोन हो। फोन उठाउने कि नउठाउने दोधारमा परेँ। कसरी भनौँ भोलि घर आउन पाउँदिनँ? म आफैँमा यो प्रश्नको उत्तर खोज्न थालेँ।
फेरि फोनको आवाज बज्न थाल्यो। सोचे यदि मैले यो फोन उठाइनँ भने मभन्दा बढी चिन्तित मेरी आमा हुन्छिन्। टपक्क फोन टिपेर उठाएँ। फोन कानमा नपुग्दै ममीले भन्नुभयो- 'फोन किन नउठाएको?'
'अलि गाह्रो भएर छिट्टै सुतेको थिएँ, निदाएछु।'
ममीले फेरि सोध्नुभयो, 'के भयो?'
'आज अलि बढी काम भयो।'
ममीले हाँस्दै भन्नुभयो, 'भोलि घर आउने भएर सबै काम सक्नेतिर लागिस् होला अब सुत्नू। भोलि बिहानै आइज नि।'
अब मैले भन्न पर्ने एउटै मात्र जवाफ थियो हस्। यहीँ हस् भन्दै फोन राखेँ। अघि निदाइसकेको म अब निदाउन नसक्ने भएँ। नगरी काम पुग्दैन खान साँझ र बिहान। यहीँ सम्झिँदै म पुनः सुतेँ।
भोलिपल्ट म नउठ्दै एकाबिहानै फेरि ममीको फोन आयो। ममीले सोध्नुभयो- 'हिँडिस्?'
मैले भनेँ, 'एक छिन, एउटा काम छ त्यो सकेर आउँछु।'
फेरि ममीले थप्नुभयो, 'आउन चाहिँ जसरी पनि आउनू।'
हस् भनेर फोन राखेँ। आज पनि काम भ्याउने सम्भावना थिएन। सङ्क्रान्ति भोलिपल्ट थियो। आज काम सकेर भोलि बिहानै घर जाने सोचका साथ म हतार-हतार खाना खाएर काम तिर निस्किएँ। ध्यान काममा थियो तर मन घरमा। दिउँसो फेरि ममीले फोन गर्नुभयो।
फोन उठाउने बित्तिकै ममीको पहिलो प्रश्न थियो- 'कहाँ आइपुगिस्?'
अब सत्य बोल्नुपर्छ। मैले ममीलाई भनेँ, 'ममी, आज पनि आउन नभ्याउने भएँ। भोलि बेलुकसम्ममा जसरी पनि म घर आइपुग्छु।'
अघि खुसी हुँदै बोलेकी मेरी ममी अब चिन्तित हुँदै मसिनो स्वरमा 'हस्' भन्दै फोन राख्न बाध्य भइन्। जुन बाध्य मैले बनाएको थिएँ।
सङ्क्रान्तिको दिन सुरु भयो। ममीले फेरि एकाबिहानै फोन गर्नुभयो, 'कान्छा, पल्लो गाउँमा खसी काट्दै रहेछन्। मैले एक बिसौली मासु भनेको छु अलि छिट्टै आइज है।'
यति भनेर ममीले फोन राख्दिनुभयो। मासु भनेपछि म ज्यादै खुसी हुन्थेँ। घरमा आमाबुबालाई मासु खान म अनिवार्य चाहिन्थ्यो नै। कुरो मासुको आयो तर सन्दर्भ आमाले गरेको मायाको। खासमा म माघ महिनाको आधा तिरबाट एउटा कार्यक्रम प्रारम्भ गर्नको निम्ति स्क्रिप्ट तयारीको काममा व्यस्त थिएँ। घरबाट फर्केपछि त्यो कार्यक्रम प्रारम्भ गर्नु थियो। त्यसैले म स्क्रिप्ट सम्पन्न नगरी घर नजाने सोचमा थिएँ।
मैले स्क्रिप्टको निम्ति मभन्दा केही सिनियर दाइहरूको सहायता लिइरहेको थिएँ। उहाँहरूको केही दिनमा काठमाडौँ बाहिर जानुपर्ने थियो। इत्यादि कुरा मैले ममीलाई भनेको थिइनँ।
यो संसारका ढाँट्न नसकिने दुई चिजलाई रहेछ, एउटा आफ्नै मन र अर्को आफ्नी आमा। मैले आमालाई सत्य बताएँ। ममीले निराश हुँदै फोनमा भन्नुभयो- 'झन् त आउने भनेर मासु लिएर आएँ।'
मैले थपेँ, 'ट्याक्क मसला हालेर मजाले बनाएर तपाईंहरू खानु न, म भोलि बिहानै आउँछु।'
ममीलाई भोलि भनेको पनि धेरै दिन भइसकेको थियो। सङ्क्रान्तिको दिन बेलुकी सबै काम सकियो। भोलिपल्ट बिहानै म सिन्धुपाल्चोकस्थित घर बाह्रबिसे गएँ। बाटोमा ममीलाई यहाँ आइपुगेँ भन्दै फोन गरिरहेको थिएँ।
घर पुग्ने बित्तिकै ममीले तरुल लिएर आएर दिनुभयो। खासमा तरुल खान पर्ने सङ्क्रान्तिको दिन थियो तर म घर नगएकाले घरमा तरुल भोलिपल्ट पाकेछ। अगेना निर बसेर तरुल खाँदै थिएँ। ममीले कराई बसाल्नु भयो।
मैले भनेँ, 'तरुलले अघाइसकेँ फेरि के पकाउन लाग्नुभयो?'
ममीले मुस्कुराउँदै भन्नुभयो, 'मासु नि मासु, अब त हिजो घर आइनस्। मैले मासु फ्रिजमा राखेको थिएँ, अब पकाएर खाने।'
ममीले यति भन्न नपाउँदै मेरा आँखा रसिला हुन थाले। एकोहोरो हुँदै सोचेँ, साँच्चै कति माया गर्छिन् है ममीले मलाई!