काम र कुराहरू कमै बिर्सने मेरी आमालाई डिमेन्सिया रोग लागेपछि धेरै कुरा सम्झाउनु पर्थ्यो। यो रोग लागेपछि मानिसहरू सोच्न, केही कुरा सम्झन र कुनै पनि दैनिक कार्यहरूमा सहयोगको आवश्यकता पर्दो रहेछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले पाँच करोड मानिसहरूमा यो रोग लागेको अनुमान गरिएको छ। नेपालमा १३५ हजारभन्दा धेरै मानिसहरूमा यो रोग लागेको अनुमान गरिएको छ। ६५ वर्षभन्दा माथिका मानिसहरूमा धेरै यो रोग देखिने भए पनि अन्य उमेर समूहमा पनि यो रोग देखिन सक्ने रहेछ।
पाँच वर्षको अबोध उमेरमा विवाह भएदेखि गाउँमा बसेर गरेका सबै सुख दुःखहरूलाई जीवनको अन्तिम तिर बिर्सनु भयो आमाले। आमालाई सँगै बसेर विगत र वर्तमान सोधिरहेँ।
'आमा, तपाईं त्यो दिनरात ढिकी कुटेको सम्झनु हुन्छ? त्यो जाँतो पिँधेको सम्झनु हुन्छ?'
उकाली ओराली, घाँस र दाउरा, पानी पँधेरो गरेकी मेरी आमा, सल्लाको सुस्केरासँगै सुस्काएकी मेरी आमा, अन्तिम वर्षहरूमा सबै कुरा बिर्सनु भयो। जुत्ता-चप्पल बिनाका खाली खुट्टाहरू अनि काँडा बिझेको र खिल पल्टेको दिनहरू। भोक भोकै काम गरेको दिनहरू। झरीले निथ्रुक्कै भिजेको दिनहरू सबै बिर्सनु भयो। रोगहरू त सबै बैरी हुन्छन् तर यो रोग झन् बैरी हुँदो रहेछ। सुख दुःख त बिर्सँदा केही हुँदैन थियो। परिवार र आफन्तै बिर्सेपछि कहिलेकाहीँ लाग्थ्यो, समाज अनि आफन्तले धेरै माया गर्ने मान्छेलाई भगवान्ले किन यस्तरी निष्ठुरी भएर यस्तो रोग दिएको होला?
जीवनमा मैले गर्ने हरेक कुराहरूले मेरी आमाको मन नदुखोस् भन्ने कुरामा म सधैँ सचेत थिएँ। आफ्ना केही रहर अनि केही बाध्यताले ओखलढुङ्गाबाट काठमाडौँ आए अनि काठमाडौँबाट बिदेसिएँ। आमाले छोरो नेपालमै बसोस् भन्ने चाहनुहुन्थ्यो तर बुवा भने धेरै घुमफिर गर्ने भएर होला 'विदेश जा, म पनि घुम्न आउँछु' भन्नु हुन्थ्यो। तर बुवाको त्यो चाहना पुरा हुन सकेन। बुवाको स्वर्गवासको केही वर्षपछि आमा मसँगै अमेरिका बस्न थाल्नु भयो।
जन्मभूमि र माटोको मायाले केही वर्ष मसँग विदेशमा बसेपछि आमा नेपाल फर्कनु भयो। सायद धेरै नेपाली परिवारहरूको अहिले यस्तै परिस्थिति छ। आमाबुवा एकातिर अनि सन्तान अर्कै तिर। आफ्ना व्यक्तिगत चाहना हुन्छन्। व्यक्तिगत चाहनालाई कसरी परिवारको चाहना बनाउने भन्ने कुरा परिस्थितिअनुसार गाह्रो पनि हुँदो रहेछ।
केही समयपछि आमालाई रोगले गाँज्दै गयो। अलिक बढी रिसाउने, मानिसहरूलाई राम्ररी नचिन्ने, होस गुम्दै जाने डिमेन्सियाका लक्षणहरू नै रहेछन्। दिदीले पटक-पटक अस्पताल लानु भयो तर फरक-फरक समयमा फरक-फरक डाक्टरले हेर्ने अनि फरक-फरक औषधी दिँदा आमाको स्वास्थ्य कमजोर बन्दै गयो। डाक्टर फरक भए पनि काम गर्न थालेको औषधी एकै खालको दिए त हुने नि। फरक-फरक औषधीको कारण रोग झन् बढ्दै गयो।
नेपालमा स्वस्थमा धेरै सुधार भए पनि बिमारीहरूको रोग र उपचारको विवरण राम्रोसँग राखेको हुँदो रहेनछ। त्यसैले गर्दा डाक्टरहरूलाई बिमारीको विगत सम्बन्धी अलिक कम जानकारी हुने होला। डिमेन्सिया रोग सम्बन्धी हेर्ने डाक्टरहरू पनि कमै हुनु हुँदो रहेछ। रोगले गाँज्दै गयो। अब हरेक पटक छोरालाई खोज्न थाल्नु भयो। नेपालमा कोरोनाको कारण दोस्रो सङ्कटकाल लागेको थियो। धेरै कुराहरू असहज भए पनि नेपाल गएर आमालाई लिएर आएँ।
रोगको कारण आमाले धेरै कुराहरू बिर्सिसक्नु भएको थियो। आफ्नो छोरो अगाडि हुँदा नि छोरा खोजिरहनु भयो। डाक्टरको सल्लाहअनुसार नियमित औषधी खान थालेपछि आमाको स्वास्थ्य स्थिर भयो। औषधी यसै गरी नेपालमा पनि नियमित लेखिदिएको भए त उता पनि धेरै सजिलो हुन्थ्यो नि। नेपालमा दिएका केही औषधीहरू र अमेरिकामा आमाले खान सुरु गरेका औषधीहरू लगभग एकै खालका थिए तर नेपालमा डाक्टरहरूले यस्तो कडा औषधी नियमित खानु हुँदैन भन्नुभयो। ८५ वर्ष कि मेरी आमा यहाँ डाक्टरले आमालाई जुन औषधीले राम्रो गर्दै छ दिँदा हुन्छ भन्ने सल्लाह दिनु भयो।
डिमेन्सिया रोगका कारण मानिसहरूको उमेर घटे जस्तो हुँदो रहेछ। सँगै बसेपछि सम्झाउँदै गर्दा छोरो होस् भन्न थाल्नु भयो तर पछिका कुरा बिर्सेर बाल्यकालका कुराहरू मात्र सम्झन थाल्नु भयो। आमा र मामाका कुराहरू गर्नु हुन्थ्यो। आमाले चिनिदिए हुन्थ्यो, खाना नरिसाई खाइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। आमा हाँस्दा आफ्नो पनि मन प्रफुल्ल हुन्थ्यो।
अरूले खाना खुवाउँदा नखाँदा गाउँका कुरा गर्दा, गाउँका साथी सङ्गिनी, त्यो साउने पानी, रामपुरबजार, ओखलढुंगा बजार, बेतिनी र नेचाको कुरा गर्दा कति धेरै खुसी हुनुहुन्थ्यो अनि खाना खाने गर्नु हुन्थ्यो। केही कुराहरू कहिले बिर्सनु भएन। आफ्नी नातिनी आरभीको नाम, आफ्नो नाम लक्ष्मी गौतम सधैँ भन्नु हुन्थ्यो।
रोगले च्याप्दै गयो, आमाको बोली र खान कम हुँदै गयो। नचिने पनि छोराछोरी खोजिरहनु भयो। म त चाहेको बेलामा नेपाल आउन सक्छु तर दिदीहरू नेपालबाट आमा भेट्न चाहेको बेला आउन सक्नु हुन्न भने थियो। आखिर त्यही भयो। कान्छी दिदी आमालाई अन्तिम समयमा हेर्न आउन भनेर बिमारी भएदेखि अमेरिकन दूतावास धेरै चोटि निवेदन हालेर अनुरोध गर्दा भिसा पाउन सक्नु भएन। कति मानिसहरूलाई दूतावासले कसरी भिसा दियो जस्तो लाग्छ भने कति मानिसहरूलाई किन भिसा दिएन जस्तो लाग्छ। सायद आफन्तले भिसा नपाएर त्यस्तो लागेको होला।
रोगले च्याप्दै गएपछि आमाले खान निल्न बिर्सनु भयो। लगभग तीन वर्षको रोगसँगको लडाइँपछि बोल्दै गरेकी आमा सुटुक्क चिर निद्रामा पर्नुभयो। आमाको अन्तिम संस्कार गर्न थालेपछि थाहा भयो, समाज र मित्र भनेका एउटा थेरापी पनि रहेछन्। धर्मलाई बचाइराख्ने दूतहरू पनि रहेछन्।
आमाको तेह्रौँ दिनको कामसम्म दिनरात छिमेकीहरूले काममा छुट्टी लिएर सहयोग गर्नु भयो। आफन्त र साथीभाइहरू घण्टौँ लगाएर आउनु भयो। धेरै तरिकाबाट जोडिनु भयो। कुन रूपमा कसरी धर्म र संस्कार बचाउने भन्ने एउटा पाटो होला तर धर्म र संस्कृतिले एउटा थेरापीको काम गर्ने रहेछ अनि समाज र साथीभाइले दुःखका बेला औषधीको काम गर्ने रहेछन्।
आमा गत वर्ष हामीसँगै हुनुहुन्थ्यो। अहिले टाढा हुनुहुन्छ। हार्दिक श्रद्धाञ्जली आमा! तपाईंको वैकुण्ठ बास होस्।