मलाई घर गएपिच्छे आमाको दराज खोतलेर आमाको फोटो एल्बम हेर्न मन लाग्छ।
'फेरि भताभुंग पारिदिने भई' भन्दै आमा भान्छा कोठाबाट गनगन गरिरहनु हुन्छ तर म सुनेको नसुन्यै चिटिक्क परेको छालाको ह्यान्ड ब्यागबाट ससाना एल्बमहरू खाटभरि छर्छु अनि 'टाइम ट्राभल' गरेर तीन अनि चार कहिलेकाहीँ पाँच दशक अगाडिकी मेरी आमालाई भेट्छु।
कुनै फोटोमा आमा सिल्कको चुडिदार लगाएर बढो पोज दिएर साथीहरूसँग स्टुडियोमा फोटो खिच्न तयार हुँदै हुनुहुन्छ। आफ्नो लामो बाक्लो कपालको चुल्ठी कता पार्दा राम्रो आउँछ भन्दै अलिअलि अतालिएको हाँसो हास्दै फोटोग्राफरको क्यामेरा क्लिक पर्खिरहनु भएको हुन्छ।
कुनै फोटोमा भने गम्भीर मुद्रामा बारीको पाटामा फूलको रूखको एउटा हाँगा पकडेर हाँसो फुत्केला कि भन्ने डरले क्यामेराको क्लिक पर्खिरहनु हुन्छ। त्यसैगरी कुन फोटोमा बेली पाइन्ट लगाएर थाइकट कपालमा, कहीँ सारी लगाएर पिकनिकमा, कहीँ सारीको सप्को हल्का फिजाएर तोरी बारीमा, कहीँ हातमा मुनामदन लिएर, कहीँ एभिएटर चस्मा लगाएर हत्केलाले घाम छोप्न खोजस्तो आदि/ हाँसो रोक्दै क्यामेराको क्लिक पर्खिंदै।
मलाई सबभन्दा प्रिय लाग्ने आमाको फोटो पद्मकन्या क्याम्पसको प्रांगणमा खिचिएका फोटाहरू लाग्छन्। युनिफर्ममा चिटिक्क परेर यही फोटो राखिएको ह्यान्डब्याग बोकेर क्यामेराको क्लिक पर्खिरहनुभएकी मेरी आमा पद्मकन्याभरिकी सबभन्दा राम्री अनि जेहेनदार विद्यार्थी। आमाको आँखामा म सुन्दर भविष्यप्रतिको आशा छचल्किरहेको पाउँछु, अनुहारमा चाखलाग्दो आत्मविश्वास प्रतिबिम्बित पाउँछु।
मलाई त्यति बेलाकी मेरी आमासँग त्यहीँ घाँसमा पलेँटी कसेर बढो गफ्फिन मन छ। आमाको क्यामेराको क्लिक पछाडि रोकिएका हाँसो फुत्केको सुन्न मन छ। केटीहरूले गर्ने रोमान्चक किसिमको गफ गर्न मन छ, आमाको जीवनको लक्ष्य, कुन सर म्याडमले कस्तो पढाउँछन्, सारी लगाउन कत्ति गाह्रो हुन्छ जस्ता कुरामा आमाको गुनासो, सब सुन्न मन छ। आमाको धक फुकेको हेर्न बढो मन छ मलाई।
आमाहरूमा हाँसो नै हराउने, चुल्बुलेपना नै मासिने गरी आउने परिपक्वता, सीमित घरायसी अनि सन्तानको विषयमा मात्र गफ गर्ने मर्यादा, अनि साना-साना खुसीको लागि सन्तानको मुख नै ताक्नु पर्ने भावनासँग अलि डर लागेर पनि होला, आमाको निन्तान्त 'आफ्नो' परिचयसँग घुलमिल हुन मनलाग्छ।
म स्कुले केटी हुँदासम्म आमा पद्मकन्याको बारे थोरै-थोरै मात्र भए पनि गफ निकालिरहनु हुन्थ्यो। सानेपाबाट बागबजारसम्म हिँड्दै जाँदा बाटाभरि पर्ने ठाउँहरू मलाई पनि आमाबाट कण्ठस्त जस्तै भएको थियो। आमालाई लेखा विषय एकदम मन पर्थ्यो रे, अंग्रेजी अलि सकस/ आमालाई आफूजति मेहनती यो संसारमा कोही नै छैन भन्ने घमण्ड पनि थियो रे।
अचेल आमा हामी छोराछोरीबारे, हाम्रा घरव्यवहार, हाम्रा अफिस अनि हाम्रा सन्तानका स्कुलबारे मात्र गफ गर्न रूचाउनुहुन्छ। अचेल त आमा भनेको त्यही भान्छाबाट गनगन गरिरहने, रुखो कपाल देख्यो कि नरिवलको तेल लिएर पछि लाग्ने अनि भिडिओ कलमा 'कति दुब्लाइस्' भन्ने त हो।
मलाई पद्मकन्याको प्रांगणमा उभिएकी मेरी आमाको बढो नियास्रो लागेर आउँछ। मेरी आमालाई पनि त्यो उमेर अनि त्यो उत्साहको नियास्रो लाग्दो होला जस्तो लाग्छ। तर आमाहरूको मस्तिष्कलाई 'सन्तानको लागि आफ्नो खुसीको आहूति', 'बच्चाकी आमा भएपछिका अनुशासन,' 'महिलाले बेहुर्नुपर्ने सामाजिक इज्जतको बोझ' आदि इत्यादि बेकम्फुसे मानसिक नाराहरूले थकाएर कायल बनाएर होला मेरी आमालाई पनि 'आफ्नाबारे कुरा गर्नु न' भन्ने बित्तिकै खुइय्य गरेर अक्क न वक्क पर्नुहुन्छ।