हामीले सामाजिक सञ्जालहरूमा 'एउटा कुकुरको फोटो अनि यो हराएको कुकुरको मालिक को हो?' भनेर लेखेको देख्छौँ। यस्ता पोस्टहरू एकपछि अर्को आइरहेका हुन्छन्। यी कुकुरहरूका मालिकहरूले 'मेरो यो कुकुर हरायो' भनेर पोस्ट राखेकै देखिँदैन, बिरलै एक दुई केसमा बाहेक। फेरि आफूले फ्यालेको कुकुरको पोस्ट दुःख पाएर हिँडेको कतैबाट यो कुकुर कसको हो भनेर आएको देखियो भने पनि यो कुकुर मेरो हो भनेर मालिकले भन्दैनन्, लिन जाने कुरा त परै रह्यो।
घरपालुवा जनावर पाल्ने व्यक्तिले गैर जिम्मेवार भएर ती जनावरहरूलाई कुनै समय फ्याकिदिनुमा जनावरप्रति मायाको साटो हेपाहा प्रवृत्ति हुनु, आर्थिक समस्या हुनु, जिम्मेवार रहेर घरपालुवा जनावरको हेरचार गर्ने बारेमा सचेतनाको अभाव हुनु, कडा कानुन नबन्नु र त्यसको प्रभावकारी अभ्यास नहुनु मूल कारणहरू हुन्।
द्रुत सहरीकरण हुने क्रममा प्रायः मानिसहरू विदेश जानु पर्ने अवस्था र अपार्टमेन्टहरूमा कुकुर राख्न बन्देज, आफूखुसी नियम लगायत अहिले मानिसहरूको जीवनशैली परिवर्तन हुँदै गएकाले घरपालुवा जनावरहरूलाई आधुनिक जीवन व्यवस्थाभित्र अटाउन नसक्ने बनाइदिन्छ र विस्थापन निम्त्याउँछ।
व्यवहार सम्बन्धी समस्याहरू भएका कुकुरहरू जस्तै- धेर भुक्ने, टोक्ने, प्रायः प्रशिक्षण वा सामाजिकीकरणको कमीका कारण तिनीहरूलाई व्यवस्थापन गर्न असमर्थ वा अनिच्छुक हुँदै गएका मालिकहरूले त्यस्ता जनावरहरूको त्याग गर्न सक्छन्।
बासिन्दाहरू बेलाबेला घर छोडेर बाहिर गइरहनु पर्ने र अरू हेर्ने मानिस नहुँदा घरपालुवा जनावरहरूलाई उनीहरूले त्याग गर्न सक्छन्।
पशु कल्याण कानुनको अभाव रहेको नेपालमा जनावरहरूलाई क्रूरताबाट जोगाउन अपर्याप्त कानुन छ, जसले गर्दा उपेक्षा, दुर्व्यवहार र परित्यागका घटनाहरू निरन्तर भइरहन्छन्। दोषीको खोजी र सजाय बिरलै भएको पाइँदा जनावरप्रति क्रूरता र अपराध दिनानुदिन बढेको छ।
आर्थिक कठिनाइ र बाधाहरूले घरपालुवा जनावरका मालिकहरूले आफ्नो जनावरहरूका लागि खाना, चिकित्सा हेरचाह र अन्य आवश्यकताहरूको लागि आवश्यक लागत बहन गर्न नसक्ने बनाउन सक्छ र यसको समाधान गर्न कुकुरलाई फर्केर आउन नसक्ने स्थानमा लगेर फ्याल्ने गरेका हुन्छन्।
नेपाली समुदायमा कुकुरको स्वास्थ्य र कल्याणको बारेमा सचेतनाको सामान्य कमी छ, जसले गर्दा घरपालुवा जनावरप्रति उपेक्षा र त्यसपछिको परित्याग गर्ने प्रवृत्ति निम्त्याएको छ। कुकुरकै कुरा गर्दा नगरपालिकामा दर्ता र सुपथ वा निःशुल्क उपचार सुविधा छैन। कुकुर धनीहरूले प्राइभेट भेटेनरी र अस्पताल खर्च बहन गर्न गाह्रो मान्दै जाँदा सजिलो विकल्प रोगी कुकुरलाई पर लगेर फ्यालेर आउने काम गरिरहेका हुन्छन्।
घरपालुवा जनावरहरूको बन्ध्याकरण निःशुल्क कहीँ हुँदैन। शुल्क तिरेर कुकुर धनीले अप्रेसन गराउनलाई कुकुर लिएर जाँदैन। सडकमा पप्पी थपिने, अरूको टोलमा लगेर फ्याल्ने यिनीहरू धेरैजसो घरपालुवा कुकुर्नीकै बच्चाहरू हुन्छन्। यसरी घरधनीहरूले सडक कुकुर बन्ध्याकरण कार्यक्रम विफल पार्ने मूल नायकको रुपमा काम गरिरहेका छन् र कुकुर फ्यालुवामा पनि एक नम्बर छन्। किनकि यहाँ कुनै अनुगमन, दण्ड, जरिवाना, सजाय केही छैन। त्यसैले कुकुर फ्याल्न टोले वा कुकुर मालिकलाई डर, भर, लाज, घिन केही छैन।
नेपालमा निश्चित दिनहरूमा कुकुरहरूको पूजा गर्ने राम्रो सांस्कृतिक अभ्यास छ। तर यो श्रद्धा सधैँ दैनिक हेरचाहमा परिणत भएको देखिँदैन। परिणाम स्वरूप कुकुर फ्याल्नेसम्ममा पनि पुग्दछ। कुकुर व्यापारी ब्रीडरले बिक्री नहुने बच्चा र थाकेका भाले पोथी कुकुरहरू सडकमै फ्याल्ने गरेको छ। सरकारी विभाग, ठूला अस्पताल, मल, व्यापारिक प्रतिष्ठान वालाहरूले गैर कानुनी तवरमा आफ्ना सेक्युरिटी गार्ड लगाएर वा नगरपालिकालाई बाध्य पारेर स्थानीय सडक कुकुरहरू विस्थापित गराउँछन्।
प्राकृतिक प्रकोपहरू जस्तै भूकम्प जस्ता घटनाले परिवारहरूलाई विस्थापित गर्न सक्छ, कहिलेकाहीँ यस्तो बेला घरपालुवा जनावरहरू पछाडि छुट्न जान्छन् वा हराउँछन्।
आवारा कुकुरहरू धेर हुन्छन्। नगरपालिकाबाट छुट भएका, कुना चेपमा रहेर नभेटिएका कुकुर्नीहरूले व्यापक बच्चा पाउँदै रहन्छन्। जनसङ्ख्या बढ्दै लैजाने छुटपुट भएको सडक कुकुर्नीहरूको तत्काल बन्ध्याकरण गराउन टोल समिति, त्यहाँका व्यक्तिहरूले न सरोकार राख्छन् न त पैसा नै हाल्छन्। भोका भएर झैझगडा गर्ने, रातभर रुने कराउने गर्ने, बटुवालाई टोक्ने गरिदिँदा प्रायः उपद्रो वा स्वास्थ्य खतराको रूपमा उनीहरूलाई हेर्न थालिन्छ। जसले घरपालुवा जनावरहरूसहित सबै कुकुरहरूप्रतिको धारणा र अपनत्व ह्रास भएर समुदायको व्यवहार क्रूरता र नकारात्मकतर्फ मोडिन जान्छ।
सामान्य रूपमा बुझ्दा सामाजिक, आर्थिक र कानुनी कारणहरूले नेपालमा कुकुर मालिकहरूको कुकुरलाई परित्याग गर्ने प्रवृत्तिमा योगदान छ। यी सबै आधारभूत कारणहरूलाई समष्टिगत रूपमा सम्बोधन नगरीकन यो समस्याको समाधान हुन सक्दैन।
हराएको वा परित्याग गरिएका कुकुरहरूको घटनाहरू हाइलाइट गर्न र सामाजिक मत बनाउन सामाजिक सञ्जालले मद्दत गरेको छ। पाल्तु जनावरको स्वामित्वको महत्त्व र आफ्नो जीवनभर जनावरहरूको हेरचाह गर्ने नैतिक दायित्व बुझाउन पनि सामाजिक सञ्जालमा डग लभर, रेस्क्युवर र सेल्टर सञ्चालकहरूले पोस्ट राख्ने गरेका हुन्छन्।
नेपालमा छाडिएका सडक कुकुरहरूको उद्धार, पुनर्स्थापना र पुनः नयाँ घरमा संरक्षण गराउन सडक कुकुर पेज सञ्चालकहरू लगायत मिलेर कोसिस गरिरहेका छन्। केही सेल्टरहरू छन् जुन पहिल्यै भरिएर बसेका छन्। कुकुरमाथि दैनिक केसहरू हुने हुँदा सेल्टर चाहिने हुन्छ तर सबैलाई उनीहरूले आश्रय दिन सकिरहेका हुँदैनन्। खास गरी सरकारी सेल्टर नहुँदा र नगरपालिकाबाट सेल्टर सञ्चालकहरूलाई आर्थिक लगायत सहयोगहरू नपाएको हुँदा सेल्टर सञ्चालनमा धेरै कठिनाइ रहेको कुरा बताइन्छ।
बुढो कुकुर फ्याल्ने, एक्सिडेन्ट आदि गरी सडकमा अङ्गभङ्ग गर्ने र घरायसी तथा सडक कुकुरहरूको वार्षिक जन्मने बच्चा पप्पीहरूको थुप्रो बिजोग परेर सडकमा जोखिम पारी फ्यालेको देखिन्छ र त सेल्टर चाहिन्छ। यो तीन वटै कुराको जरामै उपचार भए मात्र समस्या न्यूनीकरण हुन सक्छ।
पशु कल्याण, जिम्मेवार पाल्तु जनावर स्वामित्व, र जनसङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरणको महत्त्व बारे चेतना जगाउन व्यापक शैक्षिक अभियानहरूको आवश्यकता छ। यस्ता शैक्षिक जागरण सचेतना अभियानहरू चलाउन हामीहरूले सडक कुकुरलाई विभिन्न टोलमा दैनिक खुवाउन, औषधी उपचार गर्न जाने गरेको दशक बितेको छ। विभिन्न टोल अनि त्यहाँका घर बस्तीका मानिसहरूसँग कहिले विवाद कहिले सल्लाह सहयोग गर्दै सडक कुकुर व्यवस्थापन तरिका र कानुनी नीति नियमहरू बुझाउँदै आएका छौँ।
यस बाहेक निचोडमा नगरपालिकाहरूले केही कामहरू अविलम्ब गरे सडक कुकुर व्यवस्थापन अझ बढी प्रभावकारी हुन जाने देखिन्छ।
सडक कुकुर पाल्नेलाई निःशुल्क र बृड कुकुर पाल्नेलाई एक पटक मात्र शुल्क लिएर कुकुर दर्ता गराउन वडा, टोल विकास समिती समातेर काम गर्ने, एक डाटाबेस वेब एप्लिकेसन राख्ने।
घरायसी कुकुर सम्पूर्ण बन्ध्याकरण गरिनु पर्ने, नगरेकालाई ठूलो जरिवाना हुने नियम राखी अनुगमन तीव्र गर्ने।
बन्ध्याकरणमा केही संस्था छान्ने र एक/दुई महिना दौडाउने पुरानो तरिका खारेज गरी बन्ध्याकरण सेन्टरहरू तोक्ने जहाँ आवश्यकअनुसार वर्षको जुनसुकै बेला कुकुरको बन्ध्याकरण होस् र न्यायोचित शुल्क तिरेर घरायसी कुकुर पाल्नेले पनि त्यहाँ बन्ध्याकरण गराउनलाई कुकुर लैजान मिलोस्। सडक कुकुरलाई पाँच दिन रोकेर बन्ध्याकरण सम्पन्न गर्ने हाल आएको मान्यता प्राप्त मापदण्ड नेपालमा पनि लागु गरियोस्।
मेडिकल टोली पठाई घरमै न्यून शुल्कमा कुकुरको माइक्रोचिपिङ गर्ने र डाटाबेस भर्ने व्यवस्था अविलम्ब अगाडि बढाइयोस्।
सबै कुकुर बृडरहरूलाई नगरपालिकाले दर्ता गराउने, माइक्रोचिपिङ गर्ने, तिनको त्रैमासिक रिपोर्ट लिने, डाटाबेस राख्ने, सेल्टर स्थिति अनुगमन गराउने, घरायसी बृडरलाई बन्द गर्दै, दण्ड जरिवाना गराउने कार्य सुरु गरी हालोस्।
कुकुर फ्याल्नेलाई ठूलो दण्ड जरिवाना लगाउने, सिसिटिभी राखी सोही कार्य प्रभावकारी गराउने काम सुरु होस्।
तीन वडा हेर्ने एक मेडिकल बाइकर टोली र कम्ती नगरपालिकामा एक पशु एम्बुलेन्स राख्ने।
पशु बारे ज्यादती घटनाहरू हेर्ने रोक्ने कम्ती दुई जवान महानगर एनिमल पुलिस राख्ने।
वडाले आफ्नो क्षेत्रमा टोल समितिहरूको सहयोगमा सबै घरायसी कुकुर माइक्रोचिपिङ भइसकेको, सबै घरायसी कुकुर र सबै वयस्क सडक कुकुरहरू बन्ध्याकरण भइसकेको बारे अनुगमन सम्पन्न पत्र नगरपालिकालाई बुझाउनु पर्ने।
नगरपालिकाले घरपालुवा पशुको अवस्था यकिन गर्न घरहरू छड्के चेकजाँच वर्षको एक/दुई पटक गर्ने।
(लेखक नेपाल स्ट्रिट डग म्यानेजमेन्ट अर्गनाइजेसनका सिइओ हुन्।)