मेरी हजुरआमा बित्नु भएको धेरै नै साल भयो। उहाँ बित्नुभन्दा धेरै अघिदेखि उहाँको सम्झना आइरहन्छ र त्यस्ता केही सम्झनाहरू अहिले पनि मानसपटलमा ताजै छन्। ९५ वर्षको उमेरमा पनि तिलचामले कपाल, बुद्धको जस्तो ठुला-ठूला कान र ती कानमा सुनको काँडावाल टल्कने मुन्द्रा हो कि मारवाडी। चम्किलो लाम्चो अनुहार, जहिले पनि बिहानै उठेर नुहाई धुवाइ गर्ने, मन्त्र पाठ गर्ने बानी। अग्लो कद, सर्लक्क परेका हात गोडा र गाउँमा सबैभन्दा पहिला वृद्ध भत्ता पाउने बुढी आमा।
हाँसोमा हाँसो मिलाउने र दुःखमा रुवाई मिलाउन सक्ने कला भएकी महिला। यी सबै त थिए बाहिरबाट देखिने स्वरुप। तर भित्री स्वरूप त व्यहोरेकोले र अनुभव गरेकोले मात्र थाहा पाउँदथ्यौँ भन्ने लाग्दछ। तर जे होस् बुढी आमा गज्जबकी हुनुहुन्थ्यो।
हजुरआमाको उमेर एक शताब्दीको हुनाले जिउँदै जाग्दो ऐतिहासिक दस्ताबेज जस्तो लाग्दथ्यो। हजुरआमाको बुवा बर्मा जानु भयो। यो पहिलो विश्व युद्धभन्दा पहिला नै हुनु पर्दछ, र यो १९१० को आसपासमा हुनु पर्दछ। उहाँ विश्व युद्ध सुरु भएपछि नेपाल आएको हुनु पर्दछ। सायद त्यो बेला इष्ट-इन्डिया कम्पनीको खानी उत्खनन कार्यमा जानु भयो या अन्य कुनै कुरामा।
उहाँले राता पैसा कमाएर लिएर आउनु भयो रे। ती राता पैसा मेरो बुवा जन्मेपछि पनि मामाघर जाँदा हजुरआमाको आमाले दिनु हुन्थ्यो रे। ती पैसा तिनै हुन् कि त्यो बेलामा पैसाहरू रातै रंगको थिए, मैले भेउ पाउन सकेको छैन। उहाँहरूले घर खेतबारी जोड्नु भयो रे सायद तिनै राता पैसाले।
हजुरआमाहरू अलि ढिलो जन्मेको हुनाले हजुरआमाको बुवा हजुरआमाहरूसँग धेरै बस्न पाउनु भएनछ रे। तर पनि सानोमा राम्रो स्याहार गर्ने गरेको वर्णन गर्नु हुन्थ्यो। सानोमा भेडा चराउन जाँदा हजुरआमाको बुबाले उहाँको खिर पकाई लइदिने गरेको, खुट्टा धोइ चिल्लो घस्ने गरेको र सिखार खान घरैमा ठूलो शाण ढाल्न मान्छे बोलाउने गरेको कुरा सुन्दा मलाई निकै रमाइलो लाग्दथ्यो।
उहाँको भेडा चराउन जाँदा स्यालले भेडा लखेटेको, भेडाहरू कोदोको बारीमा पसेको र निकाल्न गाह्रो परेको अनि वर्षा याममा भेडा हेर्दै पाँकेको आँपहरू एकपछि अर्को गर्दै झरेका र खाँदै दिन बिताएका कुराहरू मेरो दिमागमा चलचित्र जस्तो लाग्दथ्यो।
शताब्दी धेरै लामो समय हो। जमानाअनुसार सातै वर्षको उमेरमा विवाह भएको, विवाहपश्चात् नै कति नन्द देवरहरू जन्मिनु भएको, उहाँहरूको स्याहारसुसार गरेको तथा आफ्नै ९-९ सन्तानहरूको स्याहार। लेक, चौरदेखि बर्सी, बगरसम्मको खेतीपाती, घाँसपात र मेलापात, छोरीहरूको बिहे दान, तथा ऊ बेलामा उच्च हुने शिशु-मृत्युदरले स-साना सन्तानहरूको बिछोडको पिँडीको अनुभव आदिले गर्दा एउटा जीवन ठूलो भोगाइ हो जस्तो लाग्दछ।
हिउँदका दिनहरूमा घाममा बसेर बजैका कुरा सुन्न मजै हुन्थ्यो। उहाँको जीवनमा भोगेका कुराअनुसार गाउँमा कसरी २-४ घरमा भएका मानिसहरू बढ्दै गए र गाउँ नै भरिँदै गयो। कति जना के-के कामको लागि पुनर्स्थापना गरिए? यसरी भएका मानिसहरूमा पनि केही मानिसहरू कसरी काल अकालमा मर्दै गए? यसरी मरेकाहरूमा को कसरी मानिसहरू घाँस काट्दा मरे, को कसलाई कसरी पहिरोले लग्यो र कति मानिसहरू भिरबाट खसेर बिते स-विस्तार जानकारी मिल्दथ्यो।
कसरी गाउँमा तल्लो कुलो बन्यो, कुलो बनाउनको लागि गाउँका हजुरबाहरूले कसरी नेतृत्व गरे र जन श्रमदानमा कुलो बन्यो? कसरी जुँगा विहीन गहुँको आगमन भयो र अनिकाल हटाउन सहयोग मिल्यो? त्यसपछि कसरी धानको विभिन्न जातहरू आए र अन्नहरूको उब्जनीले खान पुग्यो? यी सबै स्वस्थानीको अध्याय जस्तो अध्याय, अध्यायमा कुरा हुन्थे। कुरा सुन्दा अचम्मै परिने। खासमा नेपालमा पहिला गहुँको खेती नहुने रहेछ। सन् १९५० पछि मात्र गहुँ भित्रिएको रहेछ।
ऊ बेला धारोमा पानी नहुनाले १ घण्टा टाढा धापा खोलोमा गई पानी ल्याउनु पर्ने, कति दिन त पानी ल्याएर १ पाथी मकै पिसेर कुँडो पकाउँदा पनि उज्यालो हुन्थेन रे। सायद यस्तो हुने बादल लागेको रातमा हुनु पर्दछ। नत्र अक्सर आकाशमा तीन तारे, शुक्र र अन्य ताराहरूले समयको जानकारी लिएको कुरा धेरै पटक सुनेको छु।
ऊ बेला आजको जमाना जस्तो चिनी, चिया पत्ति र कफी थिएन रे। पाहुनाहरू आउँदा धेरै भए मोही, दूध दिने चलन थियो रे। केटाको बिहे गर्ने साल पराल मागेरै भए पनि टौवा बनाउनु पर्ने र भकारीको आसनमा पराल र भुस राखेरै भए पनि धेरै धान देखाउनु पर्ने चलन गजबकै हो जस्तो लाग्थ्यो। गोलो घरमा सबै छोरा मान्छे एकै ठाउँमा सुत्ने र बिहे गरेर ल्याएका दुलही महिला सानो कोठीमा सुत्ने चलन अचम्म लाग्थ्यो। प्राइभेसी कसरी व्यवस्थित हुन्थ्यो होला?
ऊ बेलामा को भन्ने त यकिन भएन तर सानै छँदा हजुरआमाहरू र ठुलीआमाहरूको खस्याक खुसुक कुरा सुन्दा गाउँमा मान्छेहरू रात बिरात हिँड्ने, तरुनीसँग बसेर झाम्रे (झ्याउरे) गाउने कुरा अहिले आएर त्यो बेला पनि जीवन जिउने तरिका र महिला स्वतन्त्रता रहेको कुरा देखिन्छ।
उहाँको जीवनमा ठूल्ठूला महामारी आएछन्। यी महामारीमा बिफर पनि एक हो, सायद यो सन् १९६२-६५ तिरको कुरा हुनु पर्दछ। मानिसहरूलाई हातमा बिफर खोपेको, कति त त्यही खोपेको पाकेको र मरेको कुराहरू डरलाग्दा थिए। हैजा र अलौ (सायद औलो होला) कसरी वर्षी नै आएको र गाउँ नै रित्तो पारेको, सलहले मकैबारी सखाप परेको र भोकमरीमा परी कसरी मानिसहरू खन्यू खाएर बाँचेको भन्ने कुराहरू सुन्दा अहिलेको जीवन त स्वर्ग हो रहेछ जस्तो लाग्दछ।
ऊ बेला साबुन केही थिएन रे। कपडाहरू खरानीले वा रिट्ठाले धुने, कपाल माटोले वा पिनाले नुहाउने, भैँसी बाँध्ने डोरीहरू पात र केतुकीको बनाउने, चुवाको डोको, नाम्लो, भकारी बनाउने जुन कुराहरू पछिसम्म पनि थियो र स-सानोमा नि देख्न पायौँ। ऊ बेलामा गाउँमा एउटा भुलाहाको खास्टोले धेरै जनालाई पुग्थ्यो रे। मनलाग्दी कपडाहरू त सन् १९९०को दशकदेखि हो जस्तो लाग्दछ। जुन हामी पनि महसुस गर्न सकिन्छ। सायद यो चीनको विकास सँगसँगै पनि होला।
सबैभन्दा बढी मेरो दिमागमा आइरहने कुराहरूमा छोरीहरूको बिहेको लागि आफै जाने र मन नपरे 'घरमा बा, हजुरबा हुनुहुन्छ, म महिलाले के निर्णय गरूँ' भन्ने कुरा वा बिरामी भएको बेलामा रातभरि हिँडेर सदरमुकाममा रहेको सरकारी डाक्टरकोमा पुगेको र औषधि एकै दिनमा खुवाएर सकेको कुरा पर्दछ। यो पछिल्लो कुरा धेरै पटक सुनेको छु। जो नयाँ पाहुना आए पनि यो कुरा सुन्न पाइन्थ्यो।
यस्तै अन्य कुराहरूमा म १२/१३ वर्षको हुने बेलामा जुल्फी पाल्नु पर्छ, कपालमा मग बसाउने तेल लगाउनु पर्दछ र केटालाई कुटुम्बले विचार गरिरहेका हुन्छन् भन्ने, साँझ बिहान बत्ती बाल्नु पर्दछ, यसले हामीलाई शक्ति मिल्दछ भन्ने कुरा र जागिर सुरुपछि तिमीहरू गाउँ आउँदैनौ, अब उतै घर निखन्नु पर्छ भन्ने हुन्।
म अन्तिम दिनमा उहाँसँग थिइनँ, तर अन्तिम क्रियामा थिएँ। उहाँ ८० वर्षको भएपछि शरीर बिस्तारै स-सानो हुँदै गएको थियो। आखिरी समयमा त ज्यान निकै सानो भएको थियो। अन्तिम दिनमा मैले हो कि बाले दागबत्ती दियौँ।
शरीर त जलेर सकियो। तर उहाँ घाँस काट्न हिँडेको बाटो उस्तै रह्यो, एकादशी र विभिन्न पर्वमा नुहाउने घाट उस्तै रह्यो। खेतबारी, जङ्गल र जमिन उस्तै रहे। सारा संसार उस्तै रह्यो, सिवाय हजुरआमा। जुन शरीर प्रकृतिबाट बनेको थियो त्यो प्रकृतिमा नै गयो भने ब्रह्माण्डबाट जुन शक्ति प्राप्त भएको थियो त्यो ब्रह्माण्ड नै विलीन भयो। मैले यो कुरा धेरै नै मनन गरेँ, केही कुरा महसुस गरेँ, जुन कुराले मलाई केही सहज गरायो। यी ढुंगामाटो केही करोड वर्षसम्म रहन्छन्। त्यसपछि यो सूर्य नै रहने छैन, मानिसको त के कुरा।
अनुमान गरौँ, सायद उहाँ जन्मिँदा ३ केजी जतिको हुनुहुन्थ्यो होला। त्यसपछि उहाँको शरीर ७५-८० नि पुग्यो होला। जुन यस पृथ्वीमा रहेको हाइड्रोजन, कार्बन, अक्सिजन, आदि तत्त्वको हो। उहाँको शरीरमा शक्ति उहाँहरूको बाबुआमाबाट प्राप्ति भएको र त्यही शक्तिले जीवन प्रक्रिया सञ्चालन गर्यो अनि निश्चित समयपश्चात् उल्टो बाटो (रिटार्ड) तिर लाग्यो। अन्तिममा मृत्युमा सकियो। उहाँको शरीर बनेको हाइड्रोजन, कार्बन, अक्सिजन आदि तत्त्वहरू रिसाइकलको माध्यमबाट कति जीव र वनस्पति बनेपछि मेरो हजुरआमाको शरीरमा आए होलान् र त्यसपछि पनि ती तत्त्वहरूबाट थुप्रै जीवजन्तु र बोटबिरुवाको अङ्ग बने होलान्।
हजुरआमाको शरीरमा भएको शक्ति पनि यस ब्रह्माण्डमा थुप्रै शक्तिमा परिवर्तन भइरहेको छ होला। केही शक्ति एकपछि अर्को अगुल्टो बाल्दै आगोको बिउ राखे जस्तो मेरो शरीरमा पनि रहेको छ। यो चक्र चली नै रहन्छ। सबै चिज नाशवान् छन् तर पूर्ण नष्ट हुँदैनन्। मात्र स्वरूप परिवर्तन हुन्छ। यो कुरा स्विकार्नु नै जीवनमा ठूलो बुझाइ हो।
यो जीवन खहरेमा बन्ने पानीको फोका जस्तो हो। पानीको बहाव र दूरीसँगै हजारौँ फोका बन्दछन्, तर फोका बन्ने सम्पूर्ण अणुहरू दोहोरिन्न, दोहोरिए पनि दोहोरिनु र नदोहोरिनुमा कसलाई के फरक पर्छ र पानीमा जीवन छैन। तर जीवन त्यही नै हो, पानीको फोका। दोहोरिनु र नदोहोरिनुमा केही फरक हुँदैन। चाहेर पनि जीवन दोहोरिने वाला छैन, जीवन हाम्रो नियन्त्रणमा छैन।
पृथ्वीमा एक कोषीय जीव बने जसको लागि प्रकृतिमा केही चिज संयोजन गर्ने क्षमता छ, जीवहरू यसकै प्रतिफल हुन। हामी सौर्य मण्डलमा छौँ, आकाशगङ्गामा यस्ता सौर्य मण्डल धेरै रहेका छन्। यस्ता आकाशगङ्गामा जस्ता ब्रह्माण्ड करोडौँ रहेका छन्। यति धेरै सम्भावनामा अरू तिर पनि यस्तै सम्भावना रहेको हुन्छ। अन्यत्र पनि जीवन रहेको छ। जीवन यही स्वरूप वा फरक स्वरूपमा पनि हुन सक्ने छ। केवल यो मानवीय सीमितताले गर्दा थाहा नभएको मात्र हो। पृथ्वी मात्र उपयुक्त वासस्थान होइन।
जीवन एउटा पानीको फोका नै हो। जुन हामी भ्रममा परेर जीवन बाँचिरहेका छौँ। हजुरआमाको बुवाले त्यति दुःख गरेर कमाएको पैसाले जोडेको खेतबारी उहाँको अपुतालिपश्चात् त्यसै कौडीको रूपमा मासिएर गयो। यस्तो हुने जान्नु हुने भएको भए उहाँको जीवनमा धेरै फरक पर्दथ्यो होला, आफ्नो जीवन राम्रोसँग जिउनु हुन्थ्यो होला। गाउँमा कतिलाई खाउँला लाउँला भन्ने उमेरमा नै बाढी पहिरोले जिन्दगी सकिदियो।
कतिले दाजुभाइसँग दुस्मनी गरेको जोडेको खेतबारी आज बाँझै रहिरहेको छ, महत्त्वहीन भएर। तिनीहरू जो सम्पत्तिको नाममा झगडा गरे, यदि तिनीहरूले यो थाहा पाएको भए जीवन महत्त्वपूर्ण बनाउन लाग्थे होला। त्यसैले जीवन एक किसिमको भ्रम हो। मानिसमा धेरै सीमितता छ। मानिस कहिले पनि भगवान् बन्न सक्दैन। यदि भगवान् बनिहाले पनि मान्छे मान्छे रहन्न।
हजुरआमाले कति दिन सन्तानको दुःखमा पिल्सिनु भयो होला। कति दिन भोकै बस्नु भयो होला। कति दुख पाउन पर्यो होला। उहाँ सकिनु भयो। उहाँका सबै कुरा सकिएर गए। उहाँले गरेको छोरालाई भएन। छोराले गरेको नातिलाई भएन। यदि उहाँ आफ्नो लागि पनि केही गरेको भए जीवन केही सहज र अझै पूर्ण हुन्थ्यो होला। हामी अर्कैको लागि जिइरहेका छौँ। आफ्नो लागि जिउन पनि हामी कि त भविष्यमा जिइरहेका छौँ। कि त वर्तमानमानमा नै भए पनि भूतकालको यादमा बितिरहेको छ। सायद वर्तमानमा नै जिउनु एउटा कला हो।
म कुनै दिन मरेर जान्छु भन्ने स्विकार्नु नै महत्त्वपूर्ण हुन्छ। यो म मेरो हजुरआमामा देख्दथेँ। कति मान्छे मरे भन्ने कुराले र कति दुःख परे भन्ने कुराले उहाँलाई खासै विचलन ल्याउन नसकेको कुरा उहाँको अनुहारमा र कुरा गराइमा झल्कन्थ्यो। हामी भगवान् बन्न त सक्दैनौँ। मानव भई जिउने नै ठूलो कुरा हो। मेरो हजुरआमासँग जीवनमा केही पछुतो थिएन। जीवनमा सबै कुराको भोगाइ थियो। केही कुरा बाँकी रह्यो भन्ने थिएन। उहाँको मन र तन सँगसँगै बुढ्यौलीमा पुगेका थिए। त्यसैले जीवन चक्रअनुसार सबै कुरा चलायमान बनाउनु, मन र तन सँगसँगै एक रफ्तारमा हिँडाउनु नै जीवन रहेछ।
मैले थुप्रै मानिसहरू मर्ने बेलामा रुने गरेको देखेको छु। अझ भनौँ ४०/५० वर्षको उमेरमा पनि कसैले बाल्यकालमै छु भन्ने अनुभव गरेका हुन्छन्। कसैले युवा जीवनमा नै रहेको भ्रमपूर्ण जीवन जिएका हुन्छन् (बच्चै लाग्ने)। यसो हुनुमा तनको उमेरसँगै मनको धोको नपुरेर नै हो। मनको धोको नपुगेकोले त्यही समयमा नै मन लक भयो, फ्रिज भयो जुन बुढो हुने बेलासम्म पनि त्यही रहिरह्यो। जसले गर्दा फरकको खाडल ठुलो भएकोले मानिसहरू मर्ने बेलामा रुने गरेको हो। जीवन भनेको तन र मनलाई सँगसँगै लैजान सीप हो रहेछ।
जीवनमा सबैभन्दा ठूलो कुरा कर्म रहेछ। जन्म र मृत्यु मानिसको हातमा हुँदैन, तर कर्म रहने गर्दछ। कर्म नै यस्तो चिज हो जसले मानिसको भविष्य परिवर्तन गर्दछ। त्यही भएर कर्म गर्नु पर्दछ। जस्तो कर्म गर्यो त्यस्तै जीवन हुन्छ। त्यसैले जीवन कस्तो बनाउने हो त्यो हाम्रो हातमा रहन्छ।
कर्म कस्तो हुने भन्ने कुरा मानिसको दिमागमा के कुरा बसेको छ र दिमागमा बसेको कुराले मानिसलाई कसरी परिचालन गर्दछ भन्ने हो। जति गहिरो र फराकिलो सोच बनायो त्यति नै कर्म विशाल हुन्छ राम्रो हुन्छ।
मानिसलाई धेरै दुःख दिने भनेको जैविक प्रक्रियाले हो। भोक लाग्दछ, विभिन्न स्वादहरू र नशाले सताउँछ। जैविक प्रक्रिया नै भए पनि विपरीत लिङ्गीले जीवनको विभिन्न चरणमा हलचल ल्याउँदछ। हाम्रो शरीरमा जैविक शक्तिलाई नियन्त्रण गर्ने चेतना शक्ति छ। जैविक शक्तिभन्दा चेतना शक्ति बलियो बनाएको खण्डमा राम्रो कर्ममा लाग्न सकिने रहेछ।
जीवन भोगाइ हो। अनुभवको सँगालो हो। जीवनको अन्तिम समयमा हामीसँग अनुभव र स्मृति मात्र रहने गर्दछ। जति धेरै राम्रो स्मृति हुन्छ, जीवन त्यति नै सन्तुष्ट रहन्छ। सफल जीवन भनेको कल्पना गर्न सक्ने र समयसँगै र्याममा ठ्याम मिलाउन सक्ने क्षमता समेत रहेछ। जुन मैले हजुरआमाबाट सिकेको छु। १०० वर्षमा पनि उहाँको तर्क र सल्लाह सही हुन्थ्यो।
जीवन त जसो गरायो उसै हुने रहेछ। एक घण्टा लगाएर पानी ल्याएर, ढिकी जाँतो गरेर लेक र बेसी गरे पनि मनमा सुख नै थियो। सबै जना एउटै घरभित्र सुते पनि न्यानोपन र आत्मीयता थियो। एउटै कपडा बाँडेर लगाउँदा छुट्टै भ्रातृत्व थियो। आजको जस्तो घरभित्रै धारा भए पनि, विभिन्न सुविधा भए पनि मनमा सुख छैन। प्राइभेसी भन्दै कोठा-कोठा बनाएसँगै न्यानोपन र आत्मीयतामा पर्खाल लागेको छ। जति नै धेरै पैसा र कपडा भए पनि मनमा चिसो पसिसकेको छ। हामी विकसित भइरहेका छौँ कि अविकसित, सभ्य भइरहेका छौँ कि असभ्य एउटा ठूलो भ्रम रहेको छ।
मानिस भएर मानवीय गुण भुल्दै छौँ र मानवीय सीमा बाहिर जाने सोच्दै छौँ। हाम्रो जीवन सीमित छ। हामी असीमित सोचिरहेका छौँ। हामी भ्रममा जीवन जिइरहेका छौँ। यसरी पुस्तौँ पुस्ता बित्दछ। नयाँ पुस्तामा नयाँ भ्रम रहन्छ। तर फेरि यो नै जीवन हो। यो नै महत्त्वपूर्ण छ, किनकि हामी देवता बन्न सक्दैनौँ र देवता बने मान्छे रहन्नौँ।
(लेखक वरिष्ठ रसायनविद् हुन्।)