आजकाल गाउँमा आफूसँगै पढेका र हुर्केका साथीहरू भेटिन्नन्। गाउँका डाँडा पाखा, गोरेटो, भन्ज्याङ चौतारी अनि देउराली सबै सुनसान जस्तै बनेका छन्। खेतबारी बाँझो पल्टिन थालेका छन्। कोही बिरामी पर्दा अस्पतालसम्म पुर्याउने युवा जनशक्ति गाउँमा छैन। अलि पढेकाहरू अमेरिका, जापान, अस्ट्रेलिया र युरोप पलायन भइसके। अलि कम पढेकाहरू रोजगारीका लागि खाडी मुलुक तिर छन् भने बाँकी रोजगारीकै लागि छिमेकी मुलुक भारत पुगेका छन्।
कुनै बेला भरिभराउ भइरहने गाउँमा आजकाल युवाहरू भेट्न मुस्किल पर्दछ। गाउँमा बालबालिका, महिला र बुढापाकाहरू मात्रै बचेका छन्। पाखुरीमा बल भएका जति अधिकांशले देश छाडिसकेका छन्। एउटा मात्रै होइन, रोल्पा जस्तो दुर्गम जिल्लाका अधिकांश गाउँहरूको कथा व्यथा र नियति उस्तै रहेको छ। गाउँमा पुग्दा यस्तो लाग्छ कि म मात्रै बाटो बिराएर स्वदेशमै बसिएको छु। गाउँहरू खाली र सुनसान बन्दै गइरहेका छन्। दौँतरीहरू पनि कोही भेटिँदैनन्।
मानिस सामाजिक प्राणी न हो, साथीसंगीहरू सँगै बालापनमा खेलेका भिर पखेरा, गोठालो र घाँसदाउरा गरेका गोरेटोहरूले एक्लोपनको आभास दिलाइ दिन्छन्। र, मनमा आफैँसँग अनेक प्रश्नहरू उत्पन्न हुन्छन्। यस्तो लाग्छ कि बाध्यता र रहरहरूका बीच म मात्रै किन गाउँमै बसिरहेको छु? समयमै देश नछाडेर मैले ठूलै गल्ती त गरिरहेको छैन? तर अर्को मनले भन्छ, होइन होइन तैँले स्वदेशमै केही गर्नुपर्छ।
आजसम्म मनमा आउने यही विचारले गाउँमै छु म। जसोतसो आफ्नो पेसा व्यवसायमा सन्तुष्ट हुने प्रयासमा छु। वर्षौँपछि प्रदेशबाट घर फर्किएका साथीहरूलाई सोध्ने गर्छु कि, 'साथी तिमी केही वर्ष प्रदेश पुगेर आयौँ।अब त स्वदेशमै बसेर केही पर्छ।' तर उनीहरू धेरैबाट उस्तै-उस्तै जवाफ आउँछ कि 'घरमै बस्न मन कसलाई छैन होला र? तर परिवार पाल्न र साहुको ऋण तिर्न बाँकी नै छ। जसरी नि फर्कनै पर्छ। यहाँ रोजगारीको वातावरण छैन।'
निम्न वर्गीय परिवारको संघर्ष पक्कै सम्पन्न वर्गभन्दा फरक हुन्छ। तर पछिल्लो समय गाउँ समाजमा राम्रै कमाइ गरिरहेका युवायुवतीहरू पनि वैदेशिक रोजगारीका लागि दिनानुदिन वैध अवैध बाटो भएर देश छाडिरहेका छन्। यहाँ राम्रो घर, गाडी, जागिर भएर पनि तल्लो बाटोबाट गत वर्ष अमेरिका पुगेको एकजना साथीसँग म्यासेन्जरमा कुरा भयो। उसले ५५ लाख खर्चेर अमेरिका पुगेको बतायो।
युवा शक्ति विदेश गइरहेको विषयलाई लिएर चासो रूपमा लिएको मैले उसलाई 'तिमीले यतै पनि राम्रै कमाइ रहेका थियौँ। किन विदेश गयौ?' भनेर प्रश्न गरेको थिएँ। उसले नेपालमा भविष्यको सुनिश्चितता नभएकाले आफू अमेरिका पुगेको जवाफ दियो। अझ उसले 'तिमी पनि बेलैमा युरोपसम्म आऊ, त्यता केही वर्ष कमाएर अमेरिका नै आउनु पर्छ' भनेर मलाई समेत सुझायो।
गगनचुम्बी ठूल्ठूला महल ठड्याउने, महँगो गाडी चढ्ने स्तरको कमाइ नभए पनि आफ्नै सानोतिनो व्यवसाय गरिरहेको २८ वर्षको युवा मलाई आधारभूत आवश्यकता परिपूर्ति गर्न भने खासै त्यति अभाव छैन। तर यही देशमा जन्मिएपछि बाँच्न अन्यत्र जानु हुँदैन। ठूलो संघर्ष गरेरै भए पनि स्वदेशमै सम्भावना खोज्नु पर्छ भनेर जसोतसो दिन बिताइरहेको मलाई पनि बारम्बार रित्तो बनेको गाउँ, साथीभाइ कतिका बाध्यताको प्रदेश र कतिका रहरको प्रदेश यात्राको अबिराम बढ्दो लहरको पराकम्पले बेला-बेला दुबिधामा पुर्याउने गर्दछ। तर बलियो गरी मन बुझाइरहेको छु। के हाम्रा नौजवान जनशक्तिले देश छोड्नै पर्ने हो र भन्ने विषयले भने धेरै पिरोल्ने गर्दछ।
राष्ट्रिय तथ्याङ्क कार्यालयअनुसार विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीको सङ्ख्या पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन्। देशको मेरुदण्ड, राष्ट्र परिवर्तनका संवाहक भनेर हामी युवाका लागि नाराहरू रहेका छन्। २००७ साल पछिका हरेक राष्ट्रिय राजनीतिक परिवर्तनहरू पनि युवाहरूकै बलमा सफल भएका छन्। तर अधिकांश युवाहरूलाई अभाव, बाध्यता र समस्याको नकारात्मक प्रभावको मनोविज्ञानले नराम्ररी जकडिरहेको छ।
हुनेखाने र राम्रै आर्थिक अवस्था भएका युवाहरूलाई देखासिकी र ठूलो महत्त्वाकांक्षाले देश छोड्न बाध्य बनाइरहेको छ। युवाको अनुपस्थितिमा गाउँ, सहर र राष्ट्र दिन प्रतिदिन खोक्रो र कम्जोर बन्दै गइरहेको छ। अर्कोतर्फ युवाहरूको महत्त्वपूर्ण समय र उर्जाशक्ति आफ्नै राष्ट्रका लागि प्रयोग भइरहेको छैन। बन्दै राष्ट्रलाई योगदान पुर्याउन सक्ने पाखुरीमा बल भएका युवाहरू र पढे लेखेका युवाहरू जति अधिकांशलाई देश छोड्नै पार्ने बाध्यता र मनोविज्ञानबाट राज्यले मुक्त बनाएर स्वदेशमै आत्मनिर्भर बनाउनतर्फ बेलैमा गम्भीर भएर सोचोस्।