आज कतारबाट दिपकले फोन गर्यो। सामान्य कुराकानीपछि फोन राख्ने बेला हाँस्दै भन्यो, 'अनि ढुंगा हानेको याद छ कि छैन नि?'
'त्यो घटना त कहाँ बिर्सन सकिन्छ र यार,' मैले भनेँ।
'ल ल पछि फोन गरौँला है, मेरो ड्युटी सुरु भयो,' यति भन्दै उसले फोन काट्यो।
आज पनि त्यही ढुंगा हानेको घटना सम्झेर दिन बित्ने भयो मेरो। आजभन्दा ८ वर्ष अगाडि, कक्षा ९ को परीक्षा सकेपछि दिनचर्या निकै रमाइलोसँग बितिरहेको थियो। दिनभरि गोठालो गइन्थ्यो, बेलुकीपख सानो पँधेराको चौरमा खेल्न गइन्थ्यो। न गृहकार्यको तनाव थियो, न त शिक्षकको गाली खाने डर नै। दसैँ तिहारको बिदामा त गृहकार्यको तनावले खाएको पनि ज्यानमा लाग्न नपाउने। यो अन्तिम परीक्षा सकिएपछिको बिदा त बिदाहरू मध्येको सबभन्दा मन पर्ने बिदा नै हो सबैको।
'स्कुलको सूचना पार्टीमा रिजल्ट टाँसेको छ रे, हेर्न जाओ,' गोठालोबाट फर्किँदा बाटैमा पाण्डे काकाले खबर सुनाए। पास हुन्छु भन्ने त लगभग निश्चित नै थियो तैपनि ऐच्छिक गणितको प्रश्न कठिन आएकाले थोरै डर पनि थियो।
हतार हतार गाईबस्तु घरमा पुराएर दिपक, सागर र म विद्यालय तिर दौडियौँ। दिपक झनक्क रिसाइहाल्ने स्वभावको थियो, सागर घुसघुसे पाराको। म चाहिँ गाउँमा अलिक सोझो केटाको रूपमा चिनिन्थेँ। घमन्डलाई एकातिर राखेर भन्नुपर्दा 'फलानोको छोरा' मै थिएँ गाउँको। मेरा साथीहरूले बाउआमाको गाली खाँदा फलानोको छोरा जस्तो भएस् भनेर मलाई इङ्गित गर्थे।
विद्यालय पुगेर नतिजा हेर्दा हामी तीन जनामध्ये दुई जना मात्रै पास भइएछ, दिपक फेल भएछ। साथी फेल भएको दुःखले गर्दा आफू पास भएर पनि खुसी हुन सकिएन।
'केही हुन्न एक वर्ष फेल भएर, हिँड् जाऊँ घर,' सागरले दिपकलाई तान्यो।
तीनै जना घरतर्फ लाग्यौँ। घर जाने बाटो विद्यालयको सिधा माथि थियो। दिपकले बाटोको छेउबाट एउटा ढुङ्गा उठायो र विद्यालयको छानामा प्रहार गर्यो। त्यति बेला के सुर चल्यो कुन्नि, हामी दुई जनाले पनि ढुंगा टिप्दै विद्यालयको छानामा हान्यौँ। लगभग ७, ८ प्रहारपछि 'को हो ढुंगा हान्ने?,' तलबाट आवाज आयो।
'म हो, के गर्छस्?' दिपकले भनिदियो।
त्यसपछि हामी त्यहाँबाट टाप कस्यौँ।
भोलिपल्ट बिहान ११ बजे तिर घरमा विद्यालयबाट चिठी आयो। चिठी पढेपछि पो थाहा भयो, हामीले हानेको ढुङ्गाले विद्यालयको शौचालयमाथि रहेको पानीको ड्रम फुटेको रहेछ। चिठीमा बा र मलाई विद्यालयमा उपस्थित हुन विनम्र अनुरोध गरिएको थियो। जिन्दगीमा पहिलो पटक मेरो गल्तीको कारण बाउआमाको आँखाबाट आँसु झर्यो। तर मलाई गाली भने गर्नु भएन।
गल्ती गरेर सजाय भोग्न र जरिवाना तिर्न जाँदै छु, त्यो पनि आफ्ना शिक्षकहरूको अगाडि बालाई लिएर। बाटोमा कसैले सोध्यो भने के जवाफ दिने हो! 'यो सबै घटना सपना भइदियोस् न भगवान्' भन्दै प्रार्थना गरेँ तर भैसकेको कुरालाई भगवानले पनि कसरी सपना बनाइदिनु हुन्थ्यो र!
बा र म विद्यालय पुगियो, दिपक र सागर पनि आफ्ना बुबासँग आइसकेका रहेछन् तर म उनीहरूसँग बोलिनँ।
विद्यालय व्यवस्थापन समितिका व्यक्तिहरू, शिक्षक र वरिपरिका मानिसहरू जम्मा भएपछि हामीलाई बैठक कोठामा बोलाइयो। खुट्टा चाल्नै सकिनँ मैले त, मुटु पनि उछिट्टिएर बाहिरै आउला जस्तो गर्यो तर पनि अब सामना गर्नै पर्यो गल्ती गरेपछि। दिपक र सागरको लागि यो खासै नौलो कुरा भने थिएन, उनीहरू योभन्दा अगाडि पनि २/४ पटक सानोतिनो गल्ती गरेर सजाय भोगिसकेका थिए। मेरो यो पहिलो पटक थियो।
दिपक, सागर र मलाई अगाडि उभ्याइयो। सधैँ अतिरिक्त कार्यक्रमहरूमा प्रथम पुरस्कार लिन जाने मान्छे म त्यो दिन भने सबैको सामु गलत कार्य गरेर उभिन पुगेँ। मान्छे उही, उभिने ठाउँ पनि उही तर परिस्थिति फरक। पछाडिबाट कसैले खिस्याउँदै भन्यो, 'धेरै राम्रो काम गर्यौ भाइहरू, यस्तै गर्दै जानू, हेर त तिमीहरूको कामको कारण खुसीले गद्गद् छन् तिमीहरूका बाउहरू।'
मलाई असह्य भयो तर पनि सुन्ने बाहेक के नै गर्न सक्थेँ र!
'ल ल अब मिटिङ सुरु गरौँ,' फेरि अर्को आवाज आयो।
प्रधानाध्यापक सरले सानो सम्बोधनपछि भन्नुभयो, 'मैले निराजनबाट सुरु गरेँ, ल भन् के-के भएको थियो हिजो?'
वादविवाद र वक्तृत्वकला प्रतियोगितामा अगाडि उभिएर धाराप्रवाह तर्क दिने मान्छे म, आज त मुखबाट एक शब्द पनि फुस्किन सकेन। मेरा शब्दहरू घाँटीमा गाँठो परेर अड्किए। घोसेमुन्टो लाएर उभिनु बाहेक अर्को विकल्प पाइनँ। कमसेकम बालाई नबोलाइदिएको भए पनि बरु बोल्न सकिन्थ्यो होला। म नबोलेपछि सरले दिपकतर्फ इसारा गर्दै 'आफू राम्रोसँग नपढ्ने, फेल भएपछि विद्यालयको छानामा ढुंगा हान्ने? ल तैँले भन् अब के सजाय दिने तिमीहरूलाई?' प्रश्नमाथि प्रश्न गर्नुभयो।
दिपकले मुख खोल्यो, 'सर, हामी तीन जना रिजल्ट हेर्न आएका थियौँ र म फेल भएको झोकमा माथि गएर हामी दुई जनाले ढुंगा हान्यौँ तर निराजनले हानेको थिएन। जे सजाय दिए पनि हामी भोग्न तयार छौँ।'
अरे वाह! मैले सागरको मुखमा हेरेँ। उसले मलाई चुप लागेर बस्ने इसारा गर्यो। म खुसी हुने कि दुखी हुने, कस्तो मुद्रामा उभिने निकै उकुसमुकुस भयो।
यति सुनेपछि सहायक प्रधानाध्यापक सरले मलाई बेन्चमा बस्ने अनुमति दिँदै भन्नुभयो, 'निराजनले ढुंगा हानेको होइन भने यता आएर बस् बाबु तँ।'
मैले गल्ती गरेर पनि सजाय भोग्नु परेन। ढुंगा त मैले पनि हानेको हो तर उसले मलाई फसाउन चाहेन। 'होइन सर, मैले पनि ढुङ्गा हानेको थिएँ' भन्दिऊँ कि जस्तो पनि लाग्यो तर सकिनँ। दिपक र सागर दुई जनाले ड्रमको पैसा बराबरको जरिवाना तिर्नुपर्ने र आइन्दा यस्तो गल्ती नदोहोराउने सर्तमा मिटिङ सकियो।
बरु अघि सबैको सामु उभिन केही हदसम्म सजिलो थियो अहिले दिपकको सामु उभिनुभन्दा त। यस्तै घटनाको सामना गरेकालाई मात्रै थाहा हुन्छ यस्तो अवस्थामा कस्तो अनुभूति हुन्छ भन्ने कुरा, म शब्दमा बयान गर्न असमर्थ छु।
'तँ कहिल्यै गल्ती नगरेको, सबै शिक्षकहरूले राम्रो मान्ने विद्यार्थीलाई अरूको अगाडि नराम्रो किन बनाउने भनेर सागर र मैले पहिल्यै सल्लाह गरेर नै यो निर्णय गरेका हौँ ताकि यो घटनाले गर्दा तेरो पढाइ नबिग्रियोस्,' दिपकले भन्यो।
यदि यो कुनै चलचित्र भएको भए मैले दिपकलाई अङ्गालो हाल्ने दृश्य अवश्य राखिने थियो होला तर वास्तविक जीवनमा त्यसरी अङ्गालो हाल्न नसकिने रहेछ। दिपकले चाहेको भए मलाई पनि सजाय र जरिवानाको भागिदार बनाउन सक्थ्यो तर उसले मलाई झन् इमानदार पात्रको रूपमा स्थापित गराइदियो। जरिवानाको रकम मैले पनि दिएँ।
आजसम्म पनि मेरो जीवनको बिर्सनै नसक्ने घटनाको बारेमा कसैले सोध्यो भने तुरुन्तै त्यो घटना पुनर्ताजगी हुन्छ।