गाउँमा जन्मिएँ, गाउँमै हुर्किएँ। गाउँमै पढेँ। गाउँमै खेलेँ। गाउँमै बढेँ। सबै गाउँमा भएर होला, गाउँसँग फरक नाता छ मेरो। गाउँसँग जोडिएको छुट्टै कहानी छ मेरो।
गाउँबाट सहर बस्न थालेको लगभग ६ वर्ष हुन लागेछ। त्यसकारण पनि सहरसँग पनि परिचित भइसकेकी छु म। सुरुमा गाउँमा हुँदा सहर जान पाए हुन्थ्यो नि भन्ने रहर। अहिले सहरमा बस्दा गाउँमै बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्छ।
सहर झरेको यत्रो वर्ष हुँदा पनि सहरसँग परिचित त भएँ तर सहरका मान्छेसँग भने परिचित हुन सकिनँ। आजकाल गाउँ रित्तो हुन थालेको छ। सहर भरिँदै गएको छ। पहिले पहिले चाडबाडको बेला भरिभराउ हुने गाउँ आजकाल एक्लै हुँदै गएको छ।
गाउँमा जाँदा प्रायः घर खाली देखिन्छन्। घरमा मान्छे भएकाहरूको बा आमा भेटिन्छन्। सय वटा घर भएको गाउँमा आधाभन्दा बढी सहर पसिसकेका छन्। भविष्यमा गाउँ नै रित्तो हुने हो कि भन्ने चिन्ता लाग्छ मनमा। ०७८ सालसम्म मेरो गाउँ मान्छेको भरिभराउ नै थियो। अहिले हेर्दा सहर झर्ने मान्छेको भिड देखिन्छ भने गाउँ बस्ने मान्छेको संख्यामा कम हुँदै गइरहेको छ।
सहरको मोह मान्छेहरूलाई यति धेरै लागेछ कि मानौँ अब ऊ सहरबिना बाँच्नै सक्दैन। गाउँमा बसेर दुःख किन गर्नु भन्ने छाप बसिसकेछ क्यारे, पल्लो घरको सहर जान्छ। कहिलेकाहीँ गाउँ पस्दा यस्तो बनेर आइदिन्छ, सहरमा साँच्चै सुख नै सुख छ भन्ने वल्लो घरकोलाई लाग्छ। वल्लो घरको पनि सहर पस्ने सोच्छ। उसले पनि त्यही रुप लिएर आउँछ। माथिल्लो, तल्लो घरकालाई पनि त्यस्तो लाग्नु स्वभाविक नै भइहाल्यो।
सहर यस्तो ठाउँ हो जहाँ माया भन्ने हुँदैन। आफ्ना भन्ने हुँदैनन्। घर एउटा हुन्छ, परिवार धेरै। छानो एउटा, चुलो अलग अलग। धर्म एउटै, देउता अलग अलग। पैसा र सम्पत्ति हुनेहरूको लागि हो सहर। ढाट्न जान्नेका लागि हो सहर, कर्म गर्नेको लागि होइन।
मलाई एससइई दिने बेला लागेको थियो, पास भएपछि पढ्न सहर जान्छु। त्यसो भने भएन। कक्षा १२ सम्म गाउँमै पढियो। त्यसपछि भने कम्प्युटर सिक्न गाउँ नजिकको सानो बजार गएँ। बेसिक कोर्ष सिक्दै रेडियोमा प्रवेश गरेँ। अब बसाइँ बजारकै हुने भयो।
गाउँ नजिकको सानो बजारदेखि मेरो सहर यात्रा सुरु भएको थियो। ६ वर्षभन्दा बढीको बसाइँ पछि ०७८ सालको वैशाख महिना ५ गते रेडियो छोडेँ। मेरो घर नजिक भएको हुनाले त्यति बेला खासै केही कुराको अभाव खड्केको थिएन। बेलाबेला घर गैइन्थ्यो। रेडियो परिवार पनि आफ्नो परिवार जस्तो भै सकेको थियो। त्यसले गर्दा पनि होला कुनै कुराको अभाव नखड्किएको।
सहरबाट फेरि गाउँ फर्किएँ। घरमा गएर एक वर्ष बसेँ। एक वर्षको गाउँघरको बसाइँपछि फेरि सहर लागेँ। ठूलो सहर पसेपछि मेरा दबाब अनि अभावका दिन सुरु भए। सायद मलाई मात्र होइन होला। जो पनि सहर जान्छ उसको हालत पनि त्यस्तै हुन्छ होला। रंगिन सहरमा हामी गाउँमा बसेकाहरूलाई घुल्न, भुल्न र झुल्न भने सजिलो रहेनछ।
घरपरिवारको भरमा चलेको जीवन, सब कुरा पूर्ण हुने कुरा भएन। गाउँ जस्तो सहरमा भावना बाडिँदैन। दिन कटाउन ऐचो पैँचो चल्दैन। अभाव भएपछि मान्छे सोच्न बाध्य हुन्छ पैसा कसरी कमाउने ?
०७९ सालमा पढाइको शिलशिलामा अलि ठूलो सहर झरेँ। उपमहानगरपालिका भन्ने सहर। ठूलो सहरमा ठूलै सपना बोकेर त्यहाँ झरेको थिएँ। त्यहाँ लगभग डेढ वर्ष बसेँ। त्यहाँ बस्दा ठूला सहर कस्ता हुँदा रहेछन् थप बुझ्न पाइयो।
सहर पसेपछि थाहा हुन्छ पैसाको महत्त्व, आफ्नाको महत्त्व, गाउँबाट सहर पस्दा जति सोचिएको हुन्छ, त्यसको ठिक उल्टो हुने रहेछ। ठूलो सपना त्यही ठूलो सहरमा विलय भएछ क्यारे।
सधैँ घरबाट मागेर साध्य पनि नहुने देखेर काम गरेर पैसा कमाउने निर्णय गरेँ। त्यत्तिकैमा घोराही बजारको बैंक रोडमा हिँडिरहेको थिएँ। एकजना महिलाले कार्ड दिइन्। त्यो कार्डमा लेखिएको थियो- जब गर्ने इच्छा भएकालाई अवसर।
म त गाउँले सोझी केटी। मक्ख परेँ जब सेन्टरमा गएर फर्म भरेर आएँ। काम अंग्रजी शब्द टाइप गर्ने। क्याप्चा भन्ने एप रहेछ। एक दिन तालिम दियो जब सेन्टरले। ल्यापटप आफूसँग भएकोलाई कोठामै गर्दा पनि हुन्छ भनेकोले कोठामा बसेर एक महिना त्यहाँ काम गरेँ। महिना पुगेपछि जब सेन्टरमा कुरा गर्दा ३५० मात्र भएको छ भन्यो। सहरमा ठगीमा कसरी परिँदो रहेछ भन्ने थाहा भयो। पहिले ४०/५० हजार कमाउन सकिन्छ भन्ने आश देखाएर पछि ३५० कमाउँदा मन मर्यो।
केही दिनपछि डि सेवा भन्ने संस्थामा जोडिएँ। त्यहाँ ठिकै थियो। कमाइ गर्नेको लागि राम्रो नै रहेछ। तर समय दिनु पर्ने, मेरो स्वास्थ्यले साथ नदिएपछि त्यहाँ पनि छोडेँ। अहिले आफ्नै जिल्लाको सदरमुकाम लिवाङमा बस्छु। जति सोचिएको हुन्छ त्यस्तो छैन सहर।
त्यसैले सहरलाई यस्तो भन्न मन लाग्छ...
सहरभित्र अनेकौँ कथा लुकेका छन्
कथा हुनेहरूको व्यथा लुकेका छन्
जीवन चलाउन सजिलो छैन है सहरमा
देखेर खुसी आफन्तिका नझरौँ रहरमा
छटपटीमा बसेका कैयौँ मान्छेहरू तड्पी बसेका छन्
बाहिर खुसी देखिने पनि भित्र गली गली बसेका छन्।