बदलिँदो शिक्षा, सामाजिक सञ्जालको प्रयोग, पुरुष सँगसँगै महिलाहरूको पनि आर्थिक आर्जनका कार्यमा सहभागिता जस्ता विविध कारणले मानिसको जीवनशैली तथा जीवनप्रतिको दृष्टिकोण नै बदलिँदै गएको छ। सहरी क्षेत्रका धेरै मानिस कामकाजी नै छन्। कामकाजी नभएका मानिस पनि कुनै न कुनै रूपमा आफूलाई स्थापित गरिरहेकै छन्। यस प्रसङ्गमा सबै कुरा भएर पनि आत्मविश्वासमा कमी र अस्तव्यस्त पारिवारिक माहोल हरेक घरका कहानी हुन्।
हाम्रो समाज हाम्रो चालचलन तथा पारिवारिक संरचनामा कसरी उन्नत जीवन बाँच्ने त? यसका लागि हामीले हाम्रा तौरतरिका, चालचलन र सोच मात्र बदल्यौँ भने यही समाज, यही परिवार र यही आर्थिक अवस्थामा पनि स्मार्ट तरिकाले जीवन बुझ्यो भने सहज, प्रेमिल र सौहार्द जीवन बाँच्न सकिन्छ। आफ्नो क्षमताअनुसार आफूलाई सक्षम तरिकाले प्रस्तुत गर्न सक्नु नै स्मार्ट बन्नु हो।
मानिस कोही बैंकर, कोही व्यवसायी, कोही उद्यमी, कोही शिक्षक प्रशिक्षक त कोही सरकारी जागिरे हुन्छन्। त्यही हुलभित्र घरको व्यवस्थापन गर्ने गृहिणी पनि छन्। हरेक पेसा, व्यवसाय र उमेरका व्यक्तिले आफ्नो तर्फबाट आफू र परिवारका लागि स्मार्ट बन्न जरुरी छ।
अब व्यक्ति स्वयम र परिवारका लागि किन स्मार्ट बन्ने र कसरी स्मार्ट बन्ने?
सर्वप्रथम व्यक्ति आफ्नो लागि स्मार्ट बन्ने। किन आफ्नो लागि स्मार्ट बन्ने त? किनकि आफ्नो आत्मविश्वासको लागि राम्रो, महँगो लुगा, मेकअप गर्दैमा, साथीभाइसँग बर्थडे पार्टी मनाउँदैमा, राम्रो जागिर खाँदैमा मान्छे स्मार्ट बन्दैन। आफ्नो क्षमतामा पारिवारिक संरचनामा आर्थिक अवस्थामा तालमेल मिलाउन सके मात्र मान्छे स्मार्ट बन्छ।
मेरो अनुभवमा बिहान नुहाएर फ्रेस भई सफाचट व्यवस्थित ड्रेसअपमा हिँड्दाको अनुभव र भद्रगोल अवस्थामा पोलिस नगरेको जुत्ता, दाग लागेका लुगा, टाँक च्यातिएका टिसर्ट लगाउँदा आफू प्रस्तुत हुनुपर्दाको अवस्था र सो अवस्थामा आफ्नो आत्मविश्वास के हुन्छ र कमजोर आत्मविश्वासले व्यावसायिक जीवनमा के फरक पार्ला मनन गरौँ त। उही जिम्मेवारी, उही वर्क टिम र उही माहोलमा पनि आफूले आफूलाई स्मार्ट बनायो भने आफ्नो काम र आफ्नो हौसला बढ्दै जान्छ।
आफूले गरिरहेको काम त बदल्न सकिँदैन तर सो कामलाई गर्ने तरिका मात्र बदल्यो भने पनि व्यावसायिक जीवन सहज बन्न सक्छ। जस्तै आफ्नो जिम्मेवारी र काम गर्न सक्ने क्षमता आफ्नो हाकिमलाई प्रस्ट रूपमा सञ्चार गर्ने, सही समयमा कार्यालयमा पुग्ने, आफ्नो कामसँग जोडिएका सहायक सिपहरूमा अब्बल रहने, डकुमेन्टेसन व्यवस्थापन गर्ने, सवारी साधन चलाउने, बैंकिङ कामहरू गर्ने, आफ्नो पेसासँग सम्बन्धित कानुनी व्यवस्थाहरू जस्तै व्यवसाय दर्ता गर्ने, कर तिर्ने कार्य गर्ने आदि कार्य उचित समयमा गर्न सक्यो भने आफूलाई विवेकले प्रस्तुत गर्न, व्यावसायिक रूपमा अगाडि बढ्न र आधिकारिक अवसर समात्न सहज हुन्छ।
व्यवसायी, जागिरे तथा गृहिणी सबै पेसा वा रोजगारीका व्यक्ति आफ्नै लागि स्मार्ट बन्न जरुरी छ। समयको कार्य तालिका, तोकेको जिम्मेवारी बहन, स्थान, उमेर र शारीरिक बनौटअनुसारका पोसाक लगाउनु, आफ्नो आयअनुसारको खर्च व्यवस्थापन गर्ने, समय समयमा स्वास्थ्य जाँच गर्ने, आफ्नो जीवनमा आएका उतार चढावहरूलाई सामना गर्न प्राविधिक रूपमा पहल गर्ने, साथी भाइसँगको सम्बन्ध सुमधुर बनाउने, पारिवारिक माहोललाई शान्त राख्ने जस्ता कार्य व्यक्तिले आफ्ना लागि स्मार्ट बन्ने उपायहरू हुन्।
हाम्रै साथी समूहमा केही हुन्छन् कुनै योजना बनाउँदा सुरुमा हुन्छ हुन्छ भन्ने र अन्त्यमा आएर धोका दिने। उसले दिएको धोकाले अन्य सबैलाई दिक्क बनाउने गरिरहेको हुन्छ। समयमा फोन नउठाइदिने, लगेको ऋण सापटी समयमा नबुझाउने, यसो गर्नाले आफ्नै मूल्य र आफ्नो परिवारको मूल्य पनि घटिरहेको हुन्छ। जब आफूलाई सहयोगको आवश्यकता पर्छ तब कसैको सहयोग पाइँदैन। स्मार्ट बन्नु नै मानसिक र शारीरिक रूपमा तन्दुरुस्त बन्ने कडी हो। जब मानसिक र शारीरिक रूपमा व्यक्ति स्वस्थ रहन्छ उसले गर्ने हरेक कार्य चुस्त, सम्बन्ध प्रगाढ र माहोल शान्त रहन्छ।
मलाई मेरो ७ वर्षकी छोरीले एकदिन उसलाई स्कुल पुर्याउन जाँदा 'मामु, यो घरमा बस्ने ट्राउजर चाहिँ नलगाउनू न, अलि राम्रो लुगा लगाउनू' भनेपछि मेरो दिमागले आफू बाल्यकालमा हुँदा साथीको ममीहरू राम्री भएर बसेको, मेकअप गरेर मात्र बजार गएको, उपलब्ध सुविधाहरू भोग गरेको देख्दा आफ्नो आमा पनि त्यस्तै भइदिए हुने नि। अलि मेकअप गर्ने, सिनेमा हेर्न जाने, बालबच्चालाई पनि सँगै किनमेल गर्न लैजाने गरिदिए हुने नि भन्ने मेरो बाल सुलभ अनुभवसँग ठ्याक्कै मेल खायो।
त्यो समय त्यस्तै थियो मेरो आमाले आफ्नो समय उमेर र क्षमताअनुसारकै जीवन बाँच्नु भएको थियो। उहाँले आफ्नो तर्फबाट उत्कृष्ट नै दिनुभयो भने अहिले म पनि मेरो आफ्नै स्वभाव, उमेर र क्षमताअनुसारको जीवन बाँचिरहेकी छु। मैले जाने बुझेसम्म आफू राम्रो दिने कोसिस गर्छु।
स्मार्ट आफ्नो लागि, आफ्नो परिवारको लागि, आफ्नो बच्चाको लागि बन्ने हो। किन आफ्नो बच्चाको लागि स्मार्ट बन्ने त? एउटा बाल मस्तिष्कले सबै कुरा स्विकार्न र चित्त बुझाउन सक्दैन। आफ्नो अभिभावकमा पनि साथीको मामुजस्तै मिठो खाजा बनाइदिने मामु र साथीको बाबाजस्तै स्ट्रङ भइदिए हुन्थ्यो भन्ने बाल सुलभ मानसिकताले चाहिरहेको हुन्छ। याद गर्नु भएको छ, बच्चाले कहिलेकाहीँ आफ्नो कामकाजी मामुलाई 'मामु, मलाई स्कुलमा लिन आइसो न ल' भन्छन् नि। हुर्कँदै गरेको किशोरावस्थाका बच्चाले आफ्नो मामुलाई साथीको मामुसँग तुलना गर्छन्, साथीको बाबा र आफ्नो बाबासँग तुलना गर्छन्। त्यसैले आफ्नो बच्चाको लागि समयअनुसार उनीहरूलाई घुमाउन लैजाने, उनीहरूसँग इनडोर आउटडोर गेमहरू खेल्ने, किनमेलमा जाने, अलि व्यस्त र दूरीमा छौँ भने समय-समयमा फोन गर्ने गर्नुपर्छ।
हामीले हाम्रै परिवार वा समाज छिमेकमा कति व्यक्ति तथा व्यवहारहरू देखेका हुन्छौँ कि घरमा खाने नुन छैन दाँतमा लगाउने सुन भनेजस्तो बच्चाको फी तिर्न स्कुलबाट तीन पटक बिल आइसक्यो घरमा ड्याडीलाई मोजमस्तीमै ठिक छ। बच्चाको अन्तिम परीक्षा छ, घरमा पारिवारिक भेटघाट गर्ने। बुहारीको अफिसमा चापाचाप छ, सासू-ससुरा सल्लाहबिनै तीर्थ निस्कने। श्रीमानलाई घरको किस्ता तिर्न खाँचो छ, श्रीमतीलाई माइली तिलहरी बनाउनु पर्ने, घरमा वर्षौँपछि टाढाका पाहुना आउँदै छन्, बुहारीलाई साथीको बर्थडेमा जानु पर्ने। यस्ता क्रियाकलापले मान्छेलाई आफू खुसी हुने हो, आफ्नो लागि बाँच्ने हो, आफ्नो लागि रमाउने हो भन्ने त लाग्ला तर यस्ता व्यवहारले दैनिक जीवनमा दुवै पक्षलाई पीर, सम्बन्धमा अपनत्वको कमी र स्वार्थी बनाउँदै लैजान्छ।
त्यसैले आफ्नो परिवारका लागि स्मार्ट बन्ने। परिवारमा सबै परिवारका सदस्य सबैप्रति स्मार्ट बन्न जरुरी छ। परिवारका लागि स्मार्ट बन्न पारिवारिक योजनाहरूसँगै बनाउने, एकअर्कामा जिम्मेवारीहरू बाँडफाँड गर्ने, पारिवारिक आर्थिक स्रोत र खर्चका लागि योजना बनाई जिम्मेवारी तोक्ने, आफ्ना समस्या योजना र अवस्था परिवारमा खुलेर राख्ने, एकअर्काको स्वाद र खानामा सम्मान गर्ने। यसो गर्दा परिवारमा थोरै कमाइमा धेरै सुविधा लिन, सबै परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा स्थिरता ल्याउन मद्दत गर्छ।
हाम्रो नेपाली समाजमा जुनसुकै परिवारमा पनि एउटा पुस्ता पीडित देखिन्छ। कि आमाबुवाको पुस्ता कि छोराछोरीको। परिवारमा आर्थिक अवस्था, स्रोत र आवश्यकताबीच परिवारमा स्वस्थ छलफल नहुँदा एउटा पक्ष प्रताडित भएको हुन्छ। हाम्रो समाजका हरेक परिवारमा छोराछोरी, बुवाआमा, बुहारी, ज्वाइँ, नातिनातिना सबै आफ्नो परिवारका लागि स्मार्ट बन्ने। एउटा परिवारमा बस्ने मानिसले पारिवारिक माहोल प्रेमिल नबनुन्जेल आफ्नो जीवन र मूल्यप्रति सन्तोषी बन्न सक्दैन। त्यसैले परिवारका लागि स्मार्ट बन्ने।
निम्न मध्यम तथा मध्यम वर्गीय परिवारको त एउटा साझा समस्या के देखिन्छ भने परिवारका सबै सदस्यको सोच सही छ, आर्थिक अवस्था स्थिर र सन्तोषजनक तर पनि एकअर्कामा पारिवारिक सम्बन्धमा प्रगाढता छैन। यसको मुख्य जड भनेको पारिवारिक सञ्चार हो। परिवारमा कोही पनि जीवनभर आदर्श र त्यागी भएर बाँच्न सक्दैन। त्यसैले प्रत्येक व्यक्तिले आफ्नो सोच, रोजाइ, क्षमता र जिम्मेवारी अनुरूप परिवारमा योगदान दिनै पर्छ। यसका लागि परिवारबीच सञ्चार हुनु जरुरी छ।
मेरो छिमेकमा एउटा परिवारमा वैदेशिक रोजगारमा गएका जेठा दाजु दुर्घटना परि बित्ते उनका भाइहरूले भाउजू र बालख भतिजा भतिजीको आर्थिक व्यवस्थापनमा भरथेग गर्ने, शिक्षा र लालनपालनका लागि मदत गर्ने र दुख बिमारको जिम्मा खुलेर लिए आज शोकमा डुबेको भए पनि सो परिवारका कोही पनि सदस्यको बिचल्ली भएन। समाजमा उदाहरणका रूपमा लिन सकिने यस्ता धेरै स्मार्ट परिवार छन् जसले समयमा पारिवारिक रूपमा आफ्नो क्षमता, अवस्था, समस्याका रूपमा खुलेर छलफल गरेका हुन्छन् र त्यसको समाधान गर्छन्। स्मार्ट बन्न कोसिस नै नगर्ने परिवार हाम्रो समाजमा थुप्रै छन्। जस कारण सबै कुरा प्राप्त हुँदाहुँदै पनि सहज सुविधायुक्त प्रेमिल र गुणस्तरीय जीवनबाट धेरै टाढा रहनु परेको अवस्था छ।
त्यसैले हाम्रो सोच, लवज, सञ्चार, कार्य तरिका थोरै मात्र आफ्नो लागि, सन्तानका लागि र परिवारका लागि बदलेर स्मार्ट बन्यो भने अन्ततः त्यसको फलिभागी व्यक्ति स्वयं हुन्छ।