विवाह एक सामाजिक परम्परा अनि सृष्टिको निरन्तरता हो।
विवाह, परिवार र नातासम्बन्ध मानव समाजको सबभन्दा पुरानो संस्थाहरू हुन्। यी तीनवटै संस्थाहरू अन्तरसम्बन्धित छ। विवाह दुवै परिवार र नातासम्बन्धसँग मात्र जोडिएको छैन, योसँग धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, नैतिक, राजनीतिक, पारिवारिक र व्यक्तिगत लगायतका यावत् कुरा जोडिएकोले यो आफैंमा विशाल संसार जस्तो छ।
हाम्रो मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा ६७ मा विवाह भएको मानिने: कुनै पुरूष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ।
विवाह दर्ता ऐन २०५८ दफा ५ बमोजिम विवाह गर्न चाहने सोही ऐनको दफा ४ ले तोकेको योग्यता पुगेको पुरूष र स्त्रीले तोकिएको ढाँचा दरखास्त दिई विवाह दर्ता गर्ने प्रावधान छ।
विवाह मानव समाजको सबभन्दा पुरानो संस्था हो तर हिजो आज किन विवाह भन्ने संस्था असफल भइरहेको छ? अधिकांश विवाहित महिला पुरूष विवाहप्रति सन्तुष्टि छैनन्।
हालसालैको एउटा घटना।
बानेश्वरको एउटा ज्वेलरी पसलमा गएको थिएँ। खासमा मैले अनलाइनमा एउटा सामान मगाएको थिएँ तर डेलभर गर्नेले सपहिला पैसा तिर्नुपर्छ भन्यो। मलाई ठगी हो कि जस्तो लाग्यो, अहिले नेपालमा ठगी एकदमै बढिरहेकोले म पसल नै गएँ। पसलमा जाँदा त्यहाँ दुई जना दिदीहरू हुनुहुन्थ्यो अनि मैले उहाँहरूलाई सबैकुरा भनेँ। उहाँहरूले पनि आफ्नो समस्या भन्नुभयो। हामीले निकै समय कुराकानी गर्यौं। उहाँहरूले व्यवसाय संचालन गर्दाको घटनाहरू सुनाउनु भयो।
एउटा घटना यस्तो भएको रहेछ एउटा दाइले सामान अर्डर गर्नु भएको रहेछ तर पसलबाट सामान अलिक ढिलो डेलिभर भएछ अनि दाइले के भन्नुभएछ भने- तपाईंहरूले ढिलो सामान पठाएको कारणले मेरो गर्लफ्रेन्ड रिसाई, अब यो सामान मेरो श्रीमतीलाई दिन्छु भन्नु भएछ। मलाई कुरा सुनेर हाँस पनि उठ्यो अनि रिस पनि उठ्यो। छोरा मान्छेले जे गर्दा पनि हुने है झैं लाग्यो।
त्यसैगरी मेरो एउटा साथीसँग घटेको अर्को घटना।
हामी लोक सेवा तयारी गर्ने क्रममा साँझको ट्युसन क्लास लिन गएका थियौं। त्यो बेला हामीलाई पढाउने एक जना शिक्षकसँग म र मेरा साथीहरू पढाइको बारेमा कुराकानी गर्न गयौं।पढाइको कुरा सकिएपछि कता बस्छौ भनेर सरले हामीलाई सोध्नुभयो। मेरो साथी र सरको घर जाने बाटो एउटै भएकोले लिफ्ट चाहियो भने भन है भनेर भन्नुभयो तर त्यो दिन मेरो साथी सरसँग गइन। त्यसको ३ दिनपछि घर जान अलिक ढिलो भएको थियो, सरले नै क्लास लिने भएकोले के नै हुन्छ र! सर नै त हो भनेर सरसँग घर गई। बाटोमा सरले केही बुझिएन भने मलाई फेसबुकमा जोडेर गरेर मेसेन्जरमा सोध्दा नि हुन्छ भनेर भन्नुभएको रहेछ।
अर्को दिन पनि अलिक धेरै समयसम्म क्लास भयो। पानी पर्ने मौसम भएकोले पानी पर्न लागेको थियो। त्यो दिन पनि सरले घर पुर्याइदिन्छु भन्नुभयो। बाटोमा सरले कफी खान कतै बस्ने हो भनेर भन्नुभएछ त्यहीबेला सरले तिम्रो आँखा कति राम्रो छ, लाग्छ कि ती आँखाले मलाई मात्र हेरिरहेको जस्तो, तिमी कति राम्री छौ भन्दै तारिफ गर्नुभयो रे त्यतिमात्र कहाँ हो र! तारिफ नसकिँदै हामी आज कतै जाने हो भनेर सोध्दा ऊ रिसले चुर हुँदै गाली गर्दिछे।
यो कुरा सुनेर म पनि तीन छक्क परेँ। त्यति राम्रो परिवार, त्यति राम्रो श्रीमती हुँदाहुँदै छोरा मान्छेहरूलाई कति जनासँग सम्बन्ध राख्नुपर्ने? एउटा जीवन साथी भए पुग्दैन र? भनिन्छ विवाह पवित्रताको बन्धन हो तर पवित्रता भनेको के हो ? कस्तो विवाहलाई सफल विवाह भन्ने?
हिन्दू धर्म र संस्कृतिमा सात जुनीका लागि विवाह बन्धनमा बाँधिनु नै विवाह हो भनिन्छ तर अहिलेको अवस्था हेर्दा के सात जुनी एक वर्ष पनि टिक्न गाह्रो छ!