राल्फ एलिसनले 'इन्भिजिवल म्यान' अर्थात् 'अदृश्य मान्छे' भन्ने पुस्तकबाट एक बेनामे पात्रमार्फत बिम्बात्मक रुपमा कसरी काला जाति अमेरिकामा अदृश्य छन्, उनीहरूको कसैलाई नाम पनि थाहा हुँदैन भनेर देखाएका थिए। यो जातीय विभेदको एक चरम उदाहरण थियो। तर अब परिस्थिति फरिएको छ।
अब काला जातिलाई अमेरिकाले मात्र हैन सारा विश्वले देखेको छ। उनीहरूमाथि अलिकति पनि दमन भयो भने अमेरिकी जनता मात्र हैन सारा संसारका मानिसहरूले प्रतिकार गर्छन। 'ब्ल्याक लाइभ्स म्याटर' भन्ने आन्दोलनबाट पनि यो कुरा प्रस्ट हुन्छ। मैले यो किन भनिरहेको छु भने उहिलेको अमेरिकामा काला जाति अदृश्य भए जस्तै अहिलेसम्म पनि हाम्रो देशमा महिला लगभग अदृश्य नै छन् जस्तो मलाई लाग्छ। यो लागेको मात्र हैन अहिलेसम्मको जीवन भोगाइ र अनुसन्धानका दौरान मलाई यो कुरो महसुस हुन्छ र त म महिला केन्द्रित अनुसन्धानमा बढी रुचि राख्छु।
महिला कसरी अदृश्य छन् भन्ने प्रसङ्गको धेरै उदाहरणहरू हाम्रै वरपर हुन्छन तर हामी महिला बिना दृश्यहरू हेर्नमा यस्तो अभ्यास्त भैसकेका हुन्छौँ कि हामीलाई यो अदृश्यपन सामान्य लाग्छ।
उदाहरणको निम्ति ठूला-ठूला गोष्ठी र कार्यशालाहरूको ब्यानरमा हेरौँ। को-को वक्ताहरू आमन्त्रित छन्? ती मध्ये कति पुरुष छन् र कति महिला छन्? के महिला विज्ञ नभएरै हो त? महिलाका कुरा सुन्न लायक नभएरै हो त? त्यस्तो पक्कै पनि होइन। केवल हामीले महिलालाई नजरअन्दाज गरेर हो। उनीहरू हाम्रो वरपर जतासुकै भए पनि जति नै मरिमेटेर काम गरे पनि मतलब गर्दैनन्।
आजभोलि भने केही सचेत समुदाय महिला असंलग्न गोष्ठीहरू देख्दा 'म्यानल' भनेर औँल्याउने गरेको र कार्यक्रम संयोजकहरूले आलोचनाबाट बच्न महिला संलग्नता गराउने गरेको देख्न पाइन्छ। यति नै भए पनि हुँदैछ भनेर चित्त बुझाउनुभन्दा अरु उपाय छैन।
महिलाको अदृश्यता हाम्रो घरबाटै सुरु हुन्छ। पुरुषले मात्र महिला नदेख्ने वा नजरअन्दाज गर्ने हैन कि हामी मध्ये कसैले पनि देख्दैनौँ। एकछिन विचार गरौँ, हामीले हाम्रो भान्सामा काम गर्ने आमालाई कहिले देख्यौँ? उनको कामलाई कहिले महत्वपूर्ण सोच्यौँ? कहिल्यै आमालाई हामीले वहाँको कामको निम्ति धन्यवाद दिएका छौँ? वहाँप्रति अनुग्रहित भएका छौँ? जब कि खाना नाखाँदासम्मा हाम्रो दिन सुरु नै हुँदैन, हाम्रो जीवन गुजारा नै हुँदैन।
हामीलाई हाम्रो घर व्यवस्थापन गर्ने आमाको कुरा सुन्नुपर्छ भनेर कहिल्यै लागेको छ? यसकारण हाम्रो आमा छिन् तर भएर पनि अदृश्य छिन्। हामी वहाँलाई चिन्दैनौँ वा चिन्न कोसिस गर्दैनौँ। खाना पकाइदिने, घर हेरिदिने बाहेक वहाँलाई के मन पर्छ? कता जान मन छ? के खान मन छ? के लाउन मन छ? वा वहाँले जे गर्दै हुनुहुन्छ त्यो गर्न मन छ कि छैन त्यो पनि हामीलाई थाहा छैन। किनकि यो सबले फरक गर्दैन। हामी यति आत्म केन्द्रित छौँ कि हामीलाई मतलब नै छैन।
अहिले त आमाहरूको पनि परिस्थिति फेरिएको छ। घरको कामकाजको साथै आमाहरू अन्य पेसा र व्यवसायमा पनि लागेका छन्। तर अझै उनीहरू खासै फरक भए जस्तो लाग्दैन। समय फेरिएको छ, कामधन्दा फेरिएका छन् तर महिलाहरूलाई हेर्ने नजर फेरिएको छैन।
यो नदेखिनु वा नजरअन्दाज गरिनुको विकराल रुप पनि छ। कहिल्यै सोच्नु भएको छ महिलालाई सार्वजनिक स्थल, कार्यालय, र घरभित्रै पनि यौनजन्य हिंसा किन हुने गर्छ? किनभने जो अदृश्य छ, उसमाथि जे गरे पनि हुन्छ। जो अदृश्य छ, ऊ छँदै छैन। नभएको अस्तित्वलाई गरेको कुरा नगरेको बराबर हुन्छ।
अदृश्य मात्र हैन, पछिल्ला निकै लोकप्रिय र दृश्य व्यक्तिहरू मुछिएको यौनजन्य घटनामा महिला पीडितले चिच्याएर न्यायको ढोका ढकढकाउँदा समेत उनीहरूको बोली हामीमध्ये धेरैले जस्ताको त्यस्तै सुनेनौँ। बरु पीडकको नबोलिएको बोली पनि सुन्यौँ। किनकि अदृश्य मान्छेको बोली नै हुँदैन। महिला अदृश्य मात्र छैनन् अझै आवाजविहीन पनि छन्। उनीहरूको अस्तित्व हामी देख्दैनौँ वा देख्न चाहँदैनौँ वा भनौँ सुन्दैनौँ र सुन्न चाहँदैनौँ।
हाम्रो देश हाम्रो सिद्धान्त जस्तै खोक्रो छ। भन्दा पूर्विय सिद्धान्तमा 'नारी भनेको दुर्गा हो, महान् हो' भन्ने तर परिस्थिति हेर्दा नारीलाई संरचनाको पिँधमा राख्ने। 'पोथी बास्नु हुँदैन' भन्ने।
महिलाहरू संस्थागत रुपमा पनि अदृश्य छन्। किनकि ती संस्थाहरूमा काम गर्ने हामी जस्तै महिला नदेख्ने बानी परेकाहरू छौँ। मेरी एकजना साथी सरकारी सेवामा उच्च तहमा कार्यरत छिन्। सुरुआती दिनमा एक दुर्गम जिल्लामा सहायक प्रमुख भएर जाँदा उनले सहयोग माग्दा कार्यालय सहयोगीले अटेर गर्ने र केही सहयोग लिनुपरे पुरुष कार्यालय प्रमुखमार्फत लिनुपर्ने अनुभव बताएकी थिइन्। कार्यालय सहयोगीको निम्ति उनी त्यत्रो ठूलो तहमा पुगेर पनि अदृश्य र आवाजविहीन भइन्। उनले आफू देखिन र सुनिन गर्नु परेको संघर्षको आफ्नै कथा छ।
त्यसैगरी म स्कुल पढ्दा अभिभावक दिवसमा घरमा विद्यालयबाट निमन्त्रणा जान्थ्यो र अभिभावकको ठाउँमा बुवाको नाम मात्र लेखिन्थ्यो। मलाई कत्ति पनि अचम्म लाग्दैन थियो। न मेरो विद्यालयको कार्डमा नाम लेख्नुहुने गुरुहरूलाई नै लाग्थ्यो। न त मेरो ममीलाई नै केही अचम्म लाग्थ्यो। अभिभावकमा किन ममीको नाम छैन मैले कहिल्यै प्रश्न गरिनँ। र, प्रश्न गर्न मलाई मेरो समाजले सिकाएको थिएन। मेरो ममीले दिनरात खटेर हाम्रो लालनपालनमा आफ्नो सम्पूर्ण जीवन बिताए पनि मेरी ममी मेरो बुवा जत्तिकै मेरो अभिभावक हो भन्ने कुरो मैले पनि देखिनँ। अदृश्य रुपमै मेरो ममीले आफ्नो जिम्मेवारी निभाउनुभयो।
अनुसन्धान गर्ने क्रममा डडेल्धुराको एक गाउँमा 'सामुदायिक विद्यालयमा लैंगिक स्थिति' विषयमा डिबि सिजापतिको एउटा अनुसन्धानात्मक लेख पढ्दै गर्दा मेरो आँखाबाट आँसु नै खसेको थियो। त्यस लेखमा सामुदायिक विद्यालयले पनि अभिभावकहरूलाई निमन्त्रणा पठाउँदा बुवाको नाम मात्र लेख्ने, महिलाहरूको नाम प्रायः रेकर्डमा नराख्ने परिपाटीमाथि टिप्पणी गरिएको थियो र त्यस प्रसंगले मैले आफै पढ्दाको विद्यालयले पठाउने निमन्त्रणा सम्झिएको थिएँ। बल्ल मैले आफ्नो ममीलाई कसरी मेरो विद्यालयले अदृश्य बनाएको थियो भनेर देखेको थिएँ। मैले विद्यालय सकेको दुई दशकपछि पनि विद्यालयको सोचमा परिवर्तन नआएको देखेर मलाई निकै दुखी तुल्याएको थियो।
अनुसन्धानकै क्रममा विद्यालयका पाठ्यपुस्तकमा कसरी वृहत सामाजिक परिवेशमा महिला अदृश्य पारिएका छन् र केवल घरेलु कामकाजमा मात्र उनीहरूको उपस्थिति बाक्लो छ भन्ने कुरा मैले भेटेको थिएँ। यो विद्यालय र शिक्षक दुवैले उति सारो वास्ता नगरेको विषय पनि थियो। तर आफ्नो आमा, दिदीबहिनी, हजुरआमा, श्रीमती र स्त्री भए स्वयम् आफैलाई नदेख्ने परिपाटीको सुरुआत यी नै पाठ्यपुस्तकहरूबाट पनि हुँदो रहेछ भन्ने कुरो मैले बल्ल बुझेको थिएँ।
महिला अदृश्य पारिने क्रम सामाजिक समारोहहरूमा पनि छ्याप्छ्याप्ती भेटिन्छ। उदाहरणको निम्ति विवाहको निमन्त्रणाको प्रसङ्गलाई पनि हेरौँ। प्रायः निमन्त्रणामा युगल जोडीलाई भए श्रीमान्-श्रीमती भनेर श्रीमानको मात्र लेख्ने चलन छ वा सपरिवार नै भए पनि घर मूलीको रुपमा त्यस घरका पुरुष सदस्यको मात्र नाम लेखेर स-परिवार लेख्ने चलन छ। निमन्त्रणाभित्र वरबधुको परिचय दिँदा लेख्दा समेत पहिले बुवा र त्यसपछि आमाको नाम लेख्ने चलन छ। यी साना-साना कुरा हुन् तर पनि यी नै साना-साना कुराले ठूलो अर्थ राखेको हुन्छ। यी नै कुराले कसैलाई दृश्य र कसैलाई अदृश्य बनाएको हुन्छ।
यस्तो नजरअन्दाज गर्ने परिपाटी हामीभित्र यसरी घुसेको हुन्छ कि कहिलेकाहीँ हामी निकै भेदभावपूर्ण रुपमा पनि सार्वजनिक रुपमै प्रस्तुत हुन्छौँ। जस्तो भर्खरै एउटा लेखमा २०८० सालमा नेपाल धेरै पुस्तक विमोचन भएको तर पुस्तकमा गुणस्तर कायम नभएको गुनासो पाठकबाट आएको भन्ने विषय समावेश थियो। अनि प्रायः पुस्तक लेखाइ आख्यानतर्फ बढी भएको तर पाठकले अनुसन्धानात्मक पुस्तकको माग गरिरहेको प्रसङ्ग पनि समेटिएको थियो। तर लेखमा अधिकांश पुस्तक र लेखकहरूको प्रसंगमा केही नाम चलेका र पुरुष लेखकहरूको प्रसङ्ग र पुरुष लेखकहरूको तस्बिर मात्र हाबी थियो। लेखमा २०८० सालमा कति पुस्तक प्रकाशन भए? ती मध्ये कति महिलाहरूले पुस्तक प्रकाशन गर्नुभयो? पुस्तकहरू मध्ये आख्यान बाहेक गैरआख्यान कति आए? त्यसको कुनै जानकारी थिएन। यसो गर्दा कमसेकम अरुलाई नगने पनि केही अग्रज र उम्दा महिलाबाट आएका गैरआख्यान वहाँले छुटाउनु हुँदैनथ्यो।
दुःखको कुरा वहाँलाई जानकारी नभएको नहुनसक्छ, बरु लेखमा कुन लेखक र पुस्तकलाई बढावा दिने भन्ने राजनीति भएको हुनसक्छ। अथवा हुनसक्छ वहाँ आफै मैले आफ्नो आमा अभिभावकको रुपमा च्युत पारिएको कुराप्रति बेखबर भए स्तै सामाजिक संरचनागत परिपाटीको फन्दामा परेर महिलाहरूलाई लेखक देख्न सक्ने देख्न सक्ने क्षमता गुमाउनु भएको पनि हुनसक्छ। जेसुकै भए पनि यो परिपाटीले अमुक पात्रलाई दृश्य र अमुक्लाई अदृश्य पार्नमा ठूलो भूमिका खेल्छ।
पाठकहरूको कुरा गर्दा, उनीहरूको दृष्टि पनि सामाजिक परिवेशबाट संचालित हुन्छ। आम जनसमुदाय पुस्तक किनेर पढ्ने भएको पनि धेरै भएको छैन। पाठन संस्कृति विस्तारै बन्दैछ। यो खुसीको कुरो हो। पुस्तक पठन पाठकहरूको क्रय क्षमताबाट पनि प्रभावित हुन्छ। पुस्तक छनौट दृश्य र अदृश्य पारिएका वा परेका लेखकहरूबाट पनि प्रभावित हुन्छ। निश्चय नै एक पाठकले नाम चलेका र पछिल्ला दिनमा पढेका र राम्रा लागेका पुस्तक नै छान्छन्, यो सामान्य कुरो हो। अनि कुन पुस्तक कस्तो भन्ने कुरो पठाकहरूको रुचिमा पनि भर पर्छ। त्यस अर्थमा हरेक लेखक जस्तै हरेक पाठक पनि बेजोड हुन्छ। आफ्नो परिवेश झल्काउने वा नयाँ परिवेशको जानकारी दिने दुवै खाले पुस्तक पाठकको रुचिभित्र पर्न र नपर्न सक्छ।
पाठकजस्तै हरेक लेखकको पनि आफ्नै दृष्टि हुन्छ। लेखनमा लेखकले आफ्नो जीवनशैली विचार र सामाजिक परिवेश समेटेको हुन्छ। गैरआख्यानले अनुसन्धानको दायरा फराकिलो पारेर अझै वृहत सामाजिक परिवेशको प्रतिनिधित्व गरेको हुन्छ भने आख्यानले लेखक बाँचेको कुनै निश्चित परिवेशको प्रतिनिधित्व गरेको हुन्छ। आख्यान नै भए पनि त्यो सम्पूर्ण काल्पनिक र गैरआख्यान भए पनि सम्पूर्ण तथ्य हुन सक्दैन किनकि हामीले प्रस्तुत गरेका तथ्यहरू हाम्रो धरातलबाट प्रभावित हुन्छन्। यो सबै बुझ्न पनि दृष्टि नै चाहिन्छ।
अन्तिममा जतिसुकै दृष्टिबाट च्युत गरिए पनि वा नजर अन्दाज गरे पनि महिलाहरू आफू देखिइन र सुनिइन प्रयास गर्न छोडेका छैनन्। उनीहरू आफूलाई परेको अन्याय र भोगाइहरू माइतीघरमा धर्ना दिएरै पनि वा सामाजिक संजालका भित्ताहरूबाट सुनाउँदै र देखाउँदै छन्। यो देखिन र सुनिन गरिएको प्रयासको निम्ति उनीहरूले निकै मूल्य पनि चुकाइरहेका छन्। पितृसत्तात्मक व्यवस्था हाम्रो उखानको हात्ती जस्तै केही नसुनेको नदेखेको झैँ गरी लम्किँदैछ तर पनि हामीले त्यो हात्तीलाई आफ्नो अस्तित्वको पहिचान दिन भुक्न छोडेका छैनौँ। आशा गर्न छोडेका छैनौँ कुनै दिन काला जाति जस्तै हामीलाई पनि यो समाजले देख्ने छ; हाम्रो बोलि सुन्ने छ र हाम्रो अस्तित्व स्वीकार गर्नेछ। हामी पनि अदृश्यबाट दृश्य बन्नेछौँ।
(अध्यन अनुसन्धानको क्रममा हाल अस्ट्रेलिया रहेकी लेखकको एक अनुसन्धानात्मक र एक आख्यान गरी दुई पुस्तक प्रकाशित छ।)