युवा मन एकै ठाउँमा कसको पो अडिग भएर बस्ला र! त्यसमाथि पनि नेपालको अहिलेको राजनीतिक अवस्थाले हामीजस्ता युवा जमातमा विदेशी सपना बन्नु स्वभाविक नै हो। युवा जोशमा स्वदेश बिर्सेर विदेश सम्झनु निकै अस्वभाविक कुरा हो तर परिस्थितिले बदलेको मनस्थितिमा जहाँ काम त्यहीँ घाम लाग्दोरहेछ। यसै कारण मैले आफूलाई पनि देश छोड्नेहरूको सूचीमा नाम लेखाएँ।
मेरो निर्णय लहैलहै र साथी प्रेरित रहरमात्रै थिएन, यो बाध्यता र विवशताको परिणाम थियो। स्वदेश छोडी विदेश जाने योजना तीव्र भयो। प्रयास सफल भयो। मैले भिसा पाएँ, देश छोडें। खै, मेरा भाइहरूले मबाट के सिके? उनीहरू पनि मेरै बाटोमा लाग्ने हुटहुटीमा भुटभुटिएका छन्। विदेशकै बाटो रोजेका छन्। हातमा टिकट र पासपोर्ट बोकेर उड्ने दिन पर्खिरहेछन्। परिवारमा खुसी छ तर यो खुसीको सक्कलता देखिएको छैन।
पारिवारिक ममता, अपनत्व, सामीप्यता, आवश्यकता, संरक्षण र सहाराजस्ता मानवीय पर्खाल नाघेर रचिएका खुसीका अर्थोपार्जन प्रेरित दायराहरूले वास्तविक खुसीको मुहान खोज्न कठिन भएको छ। खुसीभन्दा बढी पीर छ। पीरलाई खुसीले बेरेर देखाएको हाँसेको अनुहार सन्तानको समयान्तर वियोगमा चुँडिने गर्छ। यही मनोदशा जीवनमा विद्यमान छ।
बुबाआमालाई धन होइन, सन्तानको मन चाहिएको हुन्छ। यही गुम्ने डरले पिरोलिनु भएको छ। सन्तानको सुन्दर भविष्यको आशामा रमाएको एकातिरको मन जीवनमरणका परिस्थिति गुजारेर हुर्काएका सन्तानको आवधिक वियोगबाट अर्कातिरबाट निराशाले च्यातिन्छ। आँखाबाट झरेका तप्प आँसुले प्रेमको ब्रम्हाण्ड पोखिँदा 'जा बाबु, आफ्नो ख्याल गर् है' भन्दा क्वाँ-क्वाँ आवाजमा परिस्थिति र मनस्थिति स्तब्ध हुन्छ। स्तब्धता र मौनतामा प्रतिक्रियाको गति शून्य हुन्छ।
आखिर जीवनको परिभाषा के हो? बाबुआमाको खुसी र वेदना मिश्रित आँसुको अर्थको बयान गर्न कस्तो महाकाव्य रच्नुपर्ला? घोत्लिरहेको छु। यो सबै देख्दा लाग्छ, मेरा बा-आमाका लागि यो समय रोकियोस्। सेकेण्ड रोकियोस्। यही सेकेण्डले मिनेट, घण्टा, दिन, महिना, वर्ष सबै रोकोस्। हामी सबै त्यही आँगनमा भइराखौँ। रमाइराखौँ। आमाबाबाले दुःख, व्यथा, सन्तान खुसीले भोगेका कथा, सुर्ती खाँदै अद्भुत खुसीमा बिताएका पल झलझल सम्झिएर हामीलाई खुसीको भागवत सुनाइरहनु भएको होस्। तर सोचेजस्तो कहाँ पो हुन्छ र! समयले मेरा बाको गुनासो सुनेर बाकै निम्ति किन पो आफ्नो स्वरुप बदल्छ र!
यो समय बाको अपेक्षा विपरीत चलेको छ। स्वदेशमा हाड घोटेर र पसिना बगाएर मसिना सन्तानलाई सुगठित शरीरका धनी बनाएर मौलिक स्वाभिमानको सगरमाथा उचालेका मेरा बालाई भविष्यका नाममा स्वदेशमा कायरता देखाएर विदेशमा खुसी बेचेर मच्चिएको पटक्कै मन परेको छैन। तर पैताला तिनै हुन्, यो धर्तीलाई स्पर्श गर्ने। थकाइ र दुखाइ सबै उस्तै महसुस गर्दैछु। फरक यति हो कि त्यहाँ धुलाम्य र साँघुरा गल्लीहरू थिए। यहाँ फराकिला र चिल्ला सडक र आलिशान अग्ला महलहरू छन्।
स्थान फेरियो मन फेरिएन। धन फेरिएला आफन्तजन फेरिएनन्। संसार जति ठूलो भए पनि बाआमाको प्रेमको संसार त्योभन्दा अनन्त गुणा विशाल हुनेरहेछ। भावनाको संसारको तुलनामा भौतिक संसार नगन्य नै बन्दोरहेछ। यहाँ म्याराथन जित्न झैं दौडिएका मानिसको जीवन गुजार्ने हुल विशाल छ। त्यही हुलमा नियालेर खोज्ने हो भने म पनि भेटिन्छु।
बा! त्यही हुलमा तपाईंको भरोसालाई हार्न नदिन आफ्नो भविष्य सम्झिएर मिठा सपनाको कल्पना गरेर केही गरिन्छ कि भनेर नअल्झिकन आफ्नै हाइवेमा रनवेबाट निस्किन खोजेको जहाजजस्तै सफल जीवनको कल्पना गरेर भौतारिएको तपाईंको छोरो छ। बा! तपाईं गर्व गर्नुस्। तपाईंको छोरो संसारको समय निर्धारण गर्ने ग्रीनविच अनि गुरुत्वाकर्षण सिद्घान्त र शक्तिको खोजकर्ता न्युटनको गाउँमा छ। आफ्नो थलो छोडेर, हण्डर र ठक्कर खाएर र कठिनाइको सामना हिम्मत नहारीकन लड्दैछ। केही सिक्दै छ।
खुसी हुनुपर्ने बा, किन अझै एक्लिएको र दुःखी भएको महसुस गर्दै हुनुहुन्छ? आखिर किन? बाको मनोदशाबाट महसुस गर्दैछु कि सन्तानको सामीप्यतासँग साट्ने र बराबरी सिन्द्घान्तबाट समतुल्य रमाएर बस्ने संसारमा कुनै आर्जन छैन। उपार्जन छैन। साधन छैन। मूल्य छैन। सन्तानको निकटतामा खुल्ने अभिभावकको खुसीको ढोका खोल्ने साँचो संसारको वैभवशालीतामा छैन। सफलतामा छैन। तैपनि सन्तानको सफलतामा सबैभन्दा खुसी हुने अभिभावक, यही सफलताका लागि टाढिएका सन्तानको यादमा खुसी बेचेर हाँस्न विवश छन्। संसारको सबैभन्दा कठोर विवशता सायद यही हुनुपर्छ।
पहरामा बज्रिँदै आफ्नै गतिमा बगिरहेको इन्द्रावती पनि त हराएको थियो नि त्यो बढेमानको पहाडले छेकिँदा। त्यो इन्द्रावतीले फेरि आफ्नो बाटो खोजेर उर्लिएर आफ्नो बाटोमा बगेजस्तै गरी म मेरो विशाल जिम्मेवारीलाई दर्बिलो टेको लगाएर फर्किन्छु। घरको जिम्मेवारी काँधमा बोकेर हिँडेको छु बा। तपाईंले निराशाको पगरी भिरेर अँध्यारो बोकिराख्नु पर्दैन। अपार्टमेन्ट, गाडी सबैको किस्ताजालमा म चक्रव्यूहको अभिमन्यू झैं अड्किन्नँ। क्वालिटी अफ लाइफको भूमरी र दायरामा मात्र म आफूलाई सीमित राख्दिनँ।
जीवन सहजीकरणको अभियान हिँडेको छोरोलाई सम्झिएर आफूलाई असहज नबनाउनुस् है बा। तपाईंहरूलाई एक्लोपन दिएर सात समुन्द्रपारि म धसिने छैन। पीर नगर्नुस्, म भरोसाको उज्यालो बोकेर फर्किनेछु। विदेशी डलर र पाउण्डको लोभमा परेर बस्दिनँ। यो मेरो यात्रा हो, गन्तव्य होइन। गन्तव्य बनाउँदिनँ। आफ्नो धरातल बिर्सेर प्रेमबिनाको आकाशमा उड्न सक्दिनँ। यतै हराए मेरो जीवनको औचित्य के होला?
बा! विवेकहीनताले मौलिकता खोज्छ- मौलिकताले स्वाभिमान। स्वाभिमानले आत्मियता खोज्छ- आत्मियताले अभिभावक। विदेशमा गर्ने मेरो पौरख स्वदेशमा गर्दा छोराको कर्म बाआमाले देख्छन्। सन्तान कर्मबाट स्वाभिमानी भएको क्षण अभिभावकको सर्वोत्तम खुसी हो। यो खुसी दिने मेरो विवेकशीलता मसँग छ। बा, रमाउनुस् ल! भाइहरू, कुरा बुझ ल! मेहनत गर, सकेको सिक, अनि आफ्नै देश फर्क ल!