'तर! एउटी गर्लफ्रेण्ड त चाहिँदो रहेछ यार!' मलाई मेरो साथीले एकाबिहानै मेसेज गर्यो।
भर्खर उठेर आँखा मिच्दै थिएँ अनि सोच्न लागेँ म पनि, केही समयअघि बिछोड भएको मेरो प्रेम सम्बन्धपछि अब त लभ गर्दिनँ, मागेरै विवाह गर्छु भन्ने मेरो मनको धारणामा साथीको यो भनाइले एकाएक परिवर्तन ल्याइदिन थाल्यो।
मनमनै दाँज्न थालेँ म आफैंलाई उनीसँगको प्रेममा पर्दाको म र उनीसँग बिछोड पछिको म।
सोचेँ प्रेमका सुन्दर ती पलहरू र बिछोड पछिका यी एक्ला दिनहरू। सोचेँ आँखा मिचिमिची उनीसँग बोल्नको लागि रातको १/२ बजेसम्म अनिधो बसेका ती रात र अहिले निद्रा नलागेर छटपटाउँदै जबर्जस्ती कटाउनु परेका यी रातहरू।
मैले यस्तै यस्तै कुरा सोच्दै गएँ, अनि सम्झिएँ उनी रिसाउँदा फकाउनको लागि गरेको त्यो संघर्ष, त्यो संघर्ष भर्खर पखेँटा उम्रेको पंक्षीले उड्न खोजेभन्दा कम संघर्ष थिएन।
यो कुरा मनमा आउँदा लाग्यो त्यस्तो माया गर्दा त नटिकेर टुट्न पुगेको हाम्रो सम्बन्ध अब म फेरि अर्को लभ गर्नु र? ह्या गर्दिनँ अब सिधै मागी बिहे गर्छु लभको चक्करमा लाग्दिनँ भनेर।
अनि समय भएछ पुस्तकालय जाने। हतारहतार तयार भएँ। झोलामा केही थान लोक सेवाका किताब राखेँ अनि आफ्नो निजामती बन्ने सपनासहित निस्किएँ।
मेरो मनमा साथीले भनेको कुरा खेलिरहेको थियो, बाटोमा जाँदै गर्दा ११/१२ क्लासमा पढ्ने भाइबहिनीहरू कलेज गैरहेका भेटिन्थे। कोही कानमा इयरफोन लगाएर आफ्नै सुरमा हिँडिरहेका हुन्थे त कोही कलेज पुग्न हतार भएका जस्ता देखिन्थे। कोही जोडी भने एकअर्काको हात समातेर हिँडिरहेका हुन्थे। लाग्थ्यो उनीहरू कलेज हाेइन डेटिङ जाँदै छन् भनेर। उनीहरूलाई देख्दा मेरो मनमा अघि साथीले भनेको कुरा फेरि याद आयो र मनमनै आफैंमा कुरा गर्न लागेँ। के गर्लफ्रेण्ड नभै नहुने हो त? कलेज हिँडेका जोडीलाई देख्दा कोठाबाट एउटा मन गराएर निस्केको मेरो मनमा एकाएक परिवर्तन आइदियो मेरो सोचले फेरि यूटर्न लिन थाल्यो। 'हो गर्लफ्रेन्ड त चाहिँदो रहेछ क्यारे!!' प्रेम सम्बन्ध छ र त यी जोडीहरूलाई बिहानै कलेज जाने जाँगर चलेको होला नि, यस्तै सोचिरहेको बेला मेरो कानमा आवाज पर्यो।
केटा: बेबी मलाइ त ड्याडले डे कलेज भर्ना हो भन्दै हुनुन्थ्यो तर म मानिनँ। तिमी बिहान अनि म दिउँसो कलेज आउने त कुरो भएन नि है?
केटी: अनि ड्याडलाई के भनेर बिहानमा आउन लाग्यौ नि?
केटाको जवाफ थियो 'बिहानमा भएसी छिटो उठिन्छ, फ्रेस भएको समयमा पढेको बुझिन्छ भनेर ड्याडलाई फकाएँ नि, तर बिहानमा उठ्न त कति गाह्रो लाग्छ नि मलाई। तिमी छौ र पो जबरजस्ती उठेर आएको, आज तीन पटक अर्लाम लगाएर उठेको भोलिबाट मलाई फोन हानेर उठाऊ है।'
यो सब सुनिरहँदा मेरो मनमा अनेक कुराहरू खेल्न लागे। सोचेँ यदि मेरी नि गर्लफ्रेण्ड भएको भए भोलिपल्टदेखि ४ बजे उठाऊ है भन्थेँ होला नि। ४ बजे उठेर केही पाठहरू घोकेर पुस्तकालयमा पढ्न जान हुन्थ्यो नि यस्तै यस्तै कुराहरु सोच्दै जाँदा मेरो मनमा फेरि लभ गर्ने मन आउन थाल्यो।
एक मनले सोच्छु म यसै ठिक छु अर्को मनले सोच्छु हैन लभ गर्नुपर्ने रहेछ मेरो मन दोधार थियो यत्तिकैमा एउटा लोक गीत याद आयो।
'सक्नुपर्छ निर्णय गर्नलाई,
फक्रेको फुल बेर हुन्न झर्नलाई,
मरेँ म त मरेँ
लाम् कि नलाम् पिरति दोधारैमा परेँ।'
सायद यो गीतको सर्जकलाई पनि मलाई जस्तै दोधार भएको थियो होला र उसले गीत बनायो। कोही कथाकारले कथा बनाउला र कविले कविता बनाउला म के बनाम यो दोधारपनलाई?
यस्तै कुराहरू सोच्दा सोँच्दै म कलेजको पुस्तकालय पुगेँ। त्यहाँ प्राय: हामी लोक सेवा पढ्ने विद्यार्थीहरू हुन्थ्यौँ। सधैं सुरूमा पत्रिका पढ्ने मेरो बानी थियो। यत्तिकैमा बुधबारको गोरखापत्रमा लोक सेवा सामग्रीको पाना पल्टाउँदै जाँदा एउटा समाचारमा मेरो आँखा रोकियो। समाचारको शीर्षक थियो 'पतिपत्नि सँगै शाखा अधिकृतमा सिफारिस' मलाई त्यो समाचार पूरा पढ्न मन लाग्यो। उनीहरूको ४/५ वर्ष अघिको प्रेम सम्बन्ध रहेछ। दुवै जना सँगै पढेको रहेछन्। एकजना नायब सुब्बामा सिफारिस भएपछि विवाह भएको रहेछ अनि अहिले सँगै शाखा अधिकृतमा सिफारिस भएका रहेछन्।
यो पढिसकेपछि मेरो मनमा अझ गर्लफ्रेण्ड बनाउने इच्छा जागृत हुन लाग्यो। म पनि पछि हामी दुवै जना सँगै सिफारिस भएको दिवासपना देख्न थालेँ। म त एकाएक कल्पनामा हराइरहेछु, कल्पनामै प्रेममा परिरहेछु मेरो मनसँग।
म हराइरहेको थिएँ आफैंमा यत्तिकैमा छेवैमा बसेको साथीले 'ओए के भयो किन टोलाको' भनेर भन्यो।
म अतालिएँ जस्तो भएँ। मेरो कल्पनाको प्रेम छिनभरमै टुटिसकेको थियो। मैले देखेको दिवासपना सपनामै सीमित भैसकेको थियो। मैले आफूलाई त्यो कुराबाट निकाल्न खोजिरहेको थिएँ, तर मनमा साँच्चि गर्लफ्रेण्ड त चाहिने रहेछ भन्ने सोच आइरहेको थियो। मेरो नि गर्लफ्रेण्ड भएको भए हामी सँगै लोक सेवा पढ्थ्यौं होला। म दिनभर पढेका कुराहरू सब उनलाई सेयर गर्थेँ होला, मैले आफूले पढेको ज्ञान उनीसामु प्रस्तुत गर्न पाउथेँ होला। उनले नजानेको सिकाउथें अनि मैले नजानेको उनलाई सोध्थेँ होला। मेरो मनमा यस्ता कुराहरू खेल्न लागिरहेका थिए। तर पनि म तत्काल फेरि प्रेममा पर्ने पक्षमा थिइनँ।
म आफ्नो अध्ययनलाई निरन्तर दिन लागेँ तर मेरो मनमा अनेकौं कुराहरू खेलिरहेका थिए। मलाई म भित्रैबाट धेरै प्रश्नहरूले घेरिरहेका थिए। म नाजवाफ थिएँ, मसँग उत्तर थिएन। अरूको सफलता सुन्दर जोडी देख्दा लाग्थ्यो मेरो पनि गर्लफ्रेन्ड भएको भए भनेर। अनि अरूको जोडीको झगडा मनमुटाव देख्दा मलाई लाउन्न म त पिरति बरू यसै ठीक छ भन्ने गीतको याद आउँथ्यो।
त्यस दिनपछि म प्रश्नले भरिएको केही गुम्सिएको जस्तो भएको थिएँ, म जहाँ जान्छु प्रेम जोडीहरू देखिरहेको थिएँ। म मलाई काठमाडौंका कमलपोखरी, शंखमूल पार्क, यूएन पार्कहरू हामी सिङ्गलको लागि त रैन्छन् क्यारे भन्ने हुन्थ्यो। म जब जब ती स्थानहरूमा पुग्थेँ, त्यहाँ म आफूलाई पुन: प्रेम गर्न उत्साहित गर्ने दृश्यहरू देखिरहेको हुन्थेँ।
निजामती बन्ने सपना बोकेको म गर्लफ्रेण्ड चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्नमा अड्केको थिएँ। सारा विश्व भूगोल जान्नुपर्ने आवश्यकताको समयमा म प्रेम सम्बन्ध आवश्यक छ कि नाइँ भन्ने प्रश्नमा रोकिएको थिएँ।
लोक सेवाका सम्पूर्ण पाठ पढी (कण्ठ) बनाउने समयमा म आफैं भिजेको बिरालो जस्तो भएको थिएँ। मलाई किन किन प्रेममा रहनुपर्छ जस्तो लाग्थ्यो तर विश्वास लाग्ने थिएन। यत्तिकैमा ठट्यौली पारामा एउटा सायरी लेख्छु।
यस्तो भएपो बल्ल तिम्रो आस गर्न हुन्थ्यो!
पक्कै पनि तिम्रो दिलमा बास गर्न हुन्थ्यो!!
सुरूमा तिमीबिना मर्छु भनी कसम खानेहरू
मरिहाले पो माया प्रेममा विश्वास गर्न हुन्थ्यो!!!
म भो अब गर्लफ्रेण्ड बनाउँदिन भन्छु मलाई अनेकौं कुराहरू, सफल प्रेम कथाहरू अनि बाटोमा हिँड्दा घुम्दा देखिने दृश्यहरूले गिज्याइदिन्छन्।
अनि मैले मनमनै सोच्छु हैन गर्लफ्रेण्ड बनाउनुपर्छ भनेर, त्यो बेला मलाई मेरो अतीत ले जिस्काउन लाग्छ। म दोधारमा छु। आज मलाई लोक सेवाको वस्तुगत प्रश्नमा उस्तै उस्तै लाग्ने दुई विकल्पले कन्फ्युज बनाइरहेका छन् तर साथी भन्छ- एउटी गर्लफ्रेण्ड त चाहिँदो रहेछ यार!