जीवन सम्भावना मात्रै हैन, अवसर पनि हो। जीवन अवसर मात्रै हैन, सन्तुष्टि पनि हो। सुरु शिक्षण पेसाबाटै गरौँ बाँकी अगाडि जहाँसम्म पुगिन्छ भनेर करिअर सुरु गर्नेहरू प्रशस्तै भेटिन्छन्। म पनि त्यही समूह मध्यको एक थिएँ।
शिक्षणमा पेसामा उति रुचि र चासो नभए पनि सिक्ने र सिकाउने कुरामा भने सधैँ अग्रसर थिएँ। यस पेसाप्रति समाजले दिएको अवधारणाबाट मस्तिष्कमा एकप्रकारको धारणा बनिसकेको थियो। खैर यी सब कुराका बाबजुद पनि म शिक्षण पेसामा आएँ। पेसा बाहिरबाट हेर्दा र पेसामै संलग्न भएर हेर्दा शिक्षण पेसा नितान्त पृथक रहेछ।
विद्यालय विद्यार्थीहरूका विद्यालय रहेछ, सिक्न खोज्ने शिक्षकहरूका लागि एक खुला विश्वविद्यालय रहेछ। कहिलेकाहीँ सोच्ने गर्छु, यो विद्यालय प्रवेश गर्दा मसँग केवल औपचारिकताले दिएको योग्यताको प्रमाणपत्र त थियो तर सिकाउन सक्ने सिकाइ र अनुभव थिएन। समय व्यतीत हुँदै गयो, पेसा निखारिँदै र प्रस्तुति तिखारिँदै गयो।
शिक्षण पेसालाई ब्याक सपोर्ट मानेर अन्यत्र विचार गरिरहेको मलाई अब विस्तारै आफू शिक्षक भएकोमा गर्व र सन्तोष लाग्न थालेको छ। मेरो मस्तिष्कमा शिक्षणप्रति बसेको अवधारणाको ब्रजलेपलाई मेटाउन मेरा विद्यार्थीहरू इरेजर बने। यसकारण मेरा विद्यार्थीहरू स्वयम मेरा गुरु हुन्। थाहा छैन मभित्र कति शिक्षकपन छ र कति गुरूत्व छ? यो मेरो सेवा अवधिभरका लागि चुनौतिपूर्ण प्रश्नवाचक रहिरहनेछ।
एसइई २०८० ब्याज। हाम्रो विद्यालयको अवस्था आम सामुदायिक विद्यालयभन्दा फरक थिएन। ठूलो संख्यामा रोजगारका लागि विदेशिने परिपाटी भएको समाज। त्यो पनि जापान मोह विलाशितान्मुख जीवनशैलीका मानिसहरू र समाजको सानो हिस्साको रुपमा रहेको हाम्रो विद्यालय। अध्ययनमा अभ्यस्त हुने अभ्यास उस्तो छैन यहाँ। झनै अंग्रेजी विषय भन्ने बित्तिकै अनुहार मुर्झाउँछ नै। बरु हिरागाना कातागाना उत्साहपूर्वक सिक्न खोज्छन् विद्यार्थीहरू। अनि अंग्रेजी शिक्षिकाको रुममा भर्खरै एक वर्ष छिचोलेको मेरो काँचो अनुभव।
एसइईको परीक्षा नजिकिँदै गर्दा हामीलाई जिम्मेवारीको भार विस्तारै बढ्दै गएको महसुस हुँदै थियो। अघिल्ला वर्षहरूको नतिजा र नतिजालाई लिएर बारम्बार सुन्नुपरेका अफवाहहरूले हामीलाई चिमोटिरहन्थ्यो। प्रधानाध्यापक धनबहादुर सरको आँट र शाहसलाई यी सबै कुराले हिम्मतको आगोमा घिउ थपेको थियो। सहकर्मी राजन सरको गति हातमा हात र काँधमा काँधसम्म थियो। उहाँहरू दुवै जनाको उत्साह र जाँगरले मलाई आलश्य बनिरहन, नाइ भन्न या सकिन्न होला कि भन्ने विचारहरू आउन पटक्कै ठाउँ दिएन।
दिनै गनेर एसइई सुरु हुन ठिक एक महिना बाँकी थियो। सहकर्मी शिक्षकहरूको चासो, सल्लाह, परामर्श चलिरहेको र छिमेकी विद्यालयले उत्कृष्ट नतिजाको निम्ति विद्यार्थीलाई विद्यालयमै राखेको खबरले हाम्रो स्तरियता सुधारको निम्ति झकझक्याइरहेको थियो। हाम्रो सल्लाहअनुरुप एसइई तयारी गर्ने सबै विद्यार्थीलाई विद्यालयमै राखेर अध्ययनको वातावरण बनाइदिने निर्णय गरी योजना बन्यो र त्यसको भोलिपल्ट (फागुन २३ गते) देखि नै सबै विद्यार्थीलाई एक महिनाको लागि आवश्यक पर्ने सरसामान र किताब एवं एकथान बिस्तरा ल्याउने, खाना र बस्ने प्रबन्ध विद्यालयले गरिदिने सर्तमा सोहीअनुसार सूचित गरियो।
यद्यपि हामीसँग होस्टल चलाएर बसेको अनुभव थिएन। विद्यालय भौतिक एवं आर्थिक स्रोतले सम्पन्न पनि थिएन। थियो त केबल इच्छाशक्ति, त्यसमा पनि विद्यार्थीको माया र उनीहरूको भविष्यको चिन्ता अभिप्रेरित गर्यो। उनीहरूका अभिभावकले गर्नुभएको भरोसालाई आधार सम्झेर होस्टल सुरु भयो र यससँगै हाम्रा परिवर्तन भए दैनिकी पनि। बिहान चारै बजे उठ्नु, साढे चारसम्म आफ्ना व्यक्तिगत नित्यकर्म सक्नु, बच्चाहरूलाई उठाउनु, तयार गराउनु, फेरि स्वअध्ययन गर्न लगाउनु, अध्ययनमा सहयोग गर्नु, फेरि नास्ता, अध्ययन, फेरि खाना, अध्ययन फेरि अलिकति मनोरञ्जनपछि अध्ययन र फेरि खाना अनि अध्ययन। परीक्षा नजिकै भएकाले बच्चाहरूले बचेको समय अध्ययनमै प्रयोग गर्न सकूँन् भन्ने ध्याउन्नमा थियौँ हामी।
बिहान साढे चारदेखि बेलुका साढे दशसम्म बच्चाहरूसँगै बितायौँ। विद्यमान अभावहरूलाई मिलेर टार्यौँ। समस्याहरूलाई मिलेर सामना गर्यौँ र परीक्षा तयारीका अलावा जिन्दगीले नसिकाएका थुप्रै पाठहरू सिक्यौँ र थुप्रै नौला भोगाइहरू भोग्यौँ। बच्चाहरूका हरेक क्रियाकलापलाई अत्यन्त नजिकबाट नियाल्ने, उनीहरूको समस्यासङ्ग परिचित हुने र सुधारका लागि आवश्यक परामर्श दिनुका साथै उमेरजन्य समस्याबाट उब्जेका समस्याहरूलाई पनि सुन्ने र सुधारमा सहयोग गर्ने मौका हामीले पायौँ।
व्यक्तिगत रुपमा यो समय मेरा निम्ति अत्यन्त फलदायी रह्यो। बच्चाहरूसँग नजिक हुने, उनीहरूको भावनालाई बुझ्ने, घुलिने र उनीहरूको र आफ्नो पनि बेहतरिन क्षमतालाई बाहिर ल्याउने ती सबै दिनहरू अत्यन्त सुनौला र उर्जाले भरपूर थिए। घरीघरी झस्काउने जिम्मेवारीबोध अनि अलिअलि अमिल्याउने वितृष्णा नभएका होइनन् तर रातको निद्राले आलश्यका बुलबुलाहरू बगाएर फेरि पुनर्ताजगी गराइदिन्थ्यो र अर्को बिहान उस्तै आँट, साहस र उत्साह बोकेर बिउझन्थ्यो।
प्यारा नानीहरू,
मैले तिमीहरूको बिहानको मिठो र प्यारो निद्रा चोरेको छु। ओढ्ने तानेर पटकपटक चिस्याएको छु तिमीहरूको शरीर। मिठो खाजा चटपट र पानीपुरीलाई टाढा राखेको छु। कर्कश बोलेको छु। गुनासो पोखेको छु, डर देखाएको पनि छु। यी सबै कुरामा तिमीहरूको भलाइको अपेक्षा सिवाय अरु केही छैन। तिमीहरू जस्तोसुकै अवस्थामा खुसी हुने र हाम्रो कठोरतालाई क्षमा गरिदिने बालसुलभ स्वभावले हृदय पटकपटक छचल्किएको छ। मभित्रको ममता र मातृत्वका अंकुरणहरू टुँसाएका छन्।
आदरणीय अभिभावकज्यूहरू,
हजुरहरूले आफ्ना नानीबाबुहरूप्रति लगानी र त्याग भरपूर गर्नुभएको छ। हामीले पनि यथासक्य मेहनत गरेका छौँ। उनीहरूको नतिजामा प्रभाव पार्ने अरु प्रशस्त तत्त्वहरू छन् जसले गर्दा हामी उत्कृष्ट नतिजा अपेक्षा गर्न त सक्छौँ तर ढुक्क हुन सक्दैनौँ। तर तपाईंका नानीबाबुहरूले एक महिनामा धेरै कुरा सिकेका छन्। उनीहरू आत्मनिर्भर हुन र आफ्नो जिम्मेवारी लिन सक्षम भएका छन्। आफ्ना समस्याहरू खुलस्त भन्न सक्ने र समाधान खोज्न पहल गर्न सक्ने भएका छन्। चित्त नबुझेका कुरामा आवाज उठाउन सक्ने र भविष्यको बारेमा सोच्न सक्ने भएका छन्। यो सिकाइ उनीहरूलाई जीवनभर काम लाग्ने छ।
आदरणीय सहकर्मी साथीहरू,
हामीले आपसमा प्रशस्त सिकाइहरू साझेदार गर्न पायौँ। एकअर्काका कक्षा अवलोकन गर्न, सिकाइका नयाँ शैलीहरू खोज्न र प्रयोग गर्न, सकारात्मक उर्जा प्रवाह गर्न एकको निराशामा अर्कोले आशा भर्न आदि। हाम्रा व्यक्तिगत त्याग, तपस्या, साधना र लगाव कसैले बुझून् नबुझून, हामी स्वयं एकअर्काका साक्षी छौ। यो सकारात्मकता र उत्साहको उचाइलाई यो शिर बारम्बार नमन गर्छ।
विद्यालयका सम्पूर्ण सहकर्मी शिक्षकहरूको चासो, हौसला, उत्साह, सल्लाह एवं सुझावप्रति अनुगृहित छौँ। विव्यास पदाधिकारीहरू, शिक्षक, अभिभावक संघका पदाधिकारीहरू र विद्यार्थी र विद्यालयको भविष्यको सदिच्छा व्यक्त गर्दै निरन्तर विद्यालयमा आइ खबर लिनुहुने र हाम्रो यात्रामा थप उत्साह भरिदिनु हुने सम्पूर्ण सरोकारवाला व्यक्तित्व एवम अभिभावक ज्युहरूप्रति हामी अत्यन्त आभारी छौँ। होस्टेल बाहिर रहेर प्रदान गरेका सल्लाह सुझाव र समितिबाट बेलाबेला भएका सोधपुछ, भेटघाटलगायत अन्य अभिभावकको सल्लाह सुझाव हाम्रो निम्ति सदैव मार्गदर्शन हुनेछ। आगामी दिनहरूमा पनि यस्तै सक्रियता र चासोको अपेक्षा रहनेछ।
परिवर्तन एक्कासी हुने कुरा होइन। व्यवहार परिवर्तनमा त समय अवश्य लाग्छ नै। यसकारण हाम्रो मेहनतले सुधारिएको रिजल्टका साथसाथै सिक्ने सिकाउने एउटा उर्वर वातावरण तय गरेको कुरा हामी सगौरव बाँड्न चाहन्छौँ। भोलिका सम्भावनाहरूलाई यो कदमले अवश्य अगाडि बढाउनेमा पूर्ण विश्वस्त छौँ।