एसइई परीक्षा पनि सकियो। मेरी हजुरआमा लगायतले यस परीक्षालाई फलामे ढोका भनेर मेरो दिमागमा हालिदिनु भएको थियो। खुब मेहनतका साथ रातदिन तयारी गरेँ, परीक्षा पनि राम्रै भयो। टाउकोबाट एक मनको भारी बिसाएजस्तै भएको छ।
फुर्सद भएको महसुस भइरहेको थियो। हजुरआमाको स्वास्थ्य जाँच गर्न विराटनगरकै नाम चलेको अस्पताल जाने कुरा सुनेर मलाई पनि जान मन लागेको कुरा बाबालाई सुनाएँ। बाबाले स्वीकार गर्नु भएसँगै उत्साहित हुँदै हतार-हतार कपडा लगाएर उहाँहरूको पछि लागेँ।
लामो समयको स्कुले जीवनमा कहीँकतै जान नपाइने, पढाइ छुट्ने चिन्ता। आज हलुङ्गो मन लिएर पुगेँ अस्पताल जहाँ मेरो बाबाको पनि सपना डुलिरहेको छ, छोराले डाक्टर पढेर बिरामीको सेवा गरी नेपाल नै बसेको हेर्ने। अझ हजुरआमाको त नातिलाई डाक्टर बनाएर आफ्नो उपचार गराउने कम्ता रहर छ र।
उपचार गर्न जाँदा विभिन्न किसिमको जाँच गर्नुपर्ने भएकोले होला चिया समेत नखाइ बिहान आठ बजे नै घरबाट निस्केका थियौँ हामी। घरबाट मात्र १५ मिनेट टाढा अस्पताल भएकोले होला चेक गरेपछि मात्र खाना खाने सल्लाह थियो हाम्रो।
भर्खरै हिजो मात्र छाडेको विद्यालयको एसेम्ब्लीकै झल्को आउने गरी अस्पतालमा करिब १५० जना जति मानिस उभिरहेका थिए। बाबालाई सोधेपछि थाहा भयो, ओपिडी पुर्जा काट्ने आठ/दश वटा लाइनमा बिरामी घण्टौँदेखि उभिएका रहेछन्।
पुर्जा काट्न कति पैसा पर्छ मैले बाबालाई सोधेँ। नि:शुल्क भएको बाबाले बताउनु भयो। 'अनलाइन पुर्जा काट्ने व्यवस्था मिलाउन सकिँदैन र?' मैले जिज्ञासु हुँदै सोधेँ। किनकि मेरो भविष्यको रोजाइ पनि आइटी इन्जिनियरिङ भएको हुँदा यत्रो अस्पतालले बिरामीहरूलाई सशरीर उपस्थित गराइ घण्टौँ लाइनमा उभ्याएको देख्दा मन नै मानेन।
मलाई अझ उदेक त त्यतिबेला लाग्यो जब करिब ४५ मिनेट लाइनमा उभिएपछि बल्ल पुर्जा हातपर्यो। सानोतिनो युद्ध जिते जतिकै महसुस गरी सिधैँ डाक्टर साब भेट्न गयौं। डाक्टरको नेम प्लेट झुन्डाइएको कोठा छेउमा बसेकी महिलालाई पुर्जा थमाएँ। जवाफ आयो- ३० जना पछाडि हुनुहुन्छ, करिब एक/डेढ घण्टा पछि आउनु।
हरे! त्यति लामो समय कसरी बिताउने हो! चिन्ता लिँदै थिएँ, मनमा एकपटक अन्यत्र पनि घुम्ने इच्छा जागेर आयो। बाबा र हजुरआमालाई त्यही छोडेर फिजिसियन भए तिर गएँ। माछा बजारको भिड वा सो सरहकै हुलबाट बल्ल अगाडि बढेँ। डाक्टरको कोठामा पस्न दिन आग्रह गरेँ, टाढैबाट हेर्न मात्र पाइने भन्दै महिलाले सुटुक्क भित्र पस्न दिइन्। मनमनै धन्यवाद दिँदै कुनामा उभिएर हेरेँ।
बिरामीले बोल्न र समस्या बताउन नपाउँदै खै के कुन्नि लेख्नमा व्यस्त देखिन्थे, मानौँ उनीहरू भगवान हुन् वा जादुगर हेर्ने वित्तिकै सारा समस्या बुझिहाल्छन्। अर्को अचम्मको कुरा त डाक्टर साबको कुर्चिकै छेउमा बसेका अर्का एकजना पनि बिरामीको पुर्जा हेर्दै बिरामीहरूलाई सोध्दै हतार-हतार लेख्न व्यस्त देखिन्थे। पुर्जामा चेक गर्न भएभरकै टेस्ट लेखिदिएका रहेछन्। मलाई अबोध बिरामीमाथि खेलवाड गरेको देख्दा मन नै वेचैन भयो। पहिलो पटक सेवा प्रदायक निकायमा पुगी सरकारको उपस्थिति देख्दा अनेकौँ प्रश्न मेरा मनमा उब्जिए तर सबै प्रश्न अनुत्तरित नै रहे।
करिब एक घण्टा समय बिताएर पुनः हजुरआमा भएका ठाउँमा पुगेँ। पालो आउन अझ अत्तोपत्तो छैन, न त बस्ने ठाउँ छ। अस्पतालको अस्तव्यस्त व्यवस्थापन देखेर छक्क पर्दै मैले सामाजिक किताबमा पढेको सम्झिएँ। जेष्ठ नागरिक, अशक्तलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेको त स्कुलमा पढ्न र परीक्षामा उत्तर लेख्नका लागि मात्र पो हो कि जस्तो लाग्यो।
परीक्षामा समय हेर्न चाहिन्छ भनेर किनेको नयाँ घडीमा समय हेरेँ। १२ बज्न लागेको थियो, भित्रबाट बोलावट भयो। हामी तीन जना एकैपल्ट भित्र पस्यौँ। हेर्दा मभन्दा पाँच/सात वर्ष मात्र ठूला देखिने हँसमुख रहेछन् डाक्टर साब। तर छेउको अर्को कुर्चिमा बसेका व्यक्तिले पुर्जा आफूतिर तानेर के भएर आउनु भएको भनि प्रश्न गरे। आमाले समस्या सुनाउनु भयो। समस्या थियो, एक सातादेखि दुबै खुट्टा सुन्निएका।
ती डाक्टर हुन् कि सिक्न आएका सिकारु हुन्, हामीले स्कुलमा श्रुति लेखन लेख्दा सरले भनेको सुनेर लेखेजस्तै फटाफट लेख्न थाले र भने- यसमा लेखिएको चेक गरी रिपोर्ट लिएर आउनू।
पुर्जा पाएपछि अनुमान लगाएँ, ती पनि डाक्टर नै रहेछन्। मात्र एघार वटा टेस्ट लेखिदिएछन् तर नाम नभएका बेनामे डाक्टर किनकि उनले लेखेको ठाउँमा त सामुन्ने बसेकै डाक्टरको पो छाप लगाए।
पुर्जा पाएपछि बिल कटाउन जानु पर्ने र फेरि उसरी नै लाइनमा बसेर करिब १५ मिनेटमा पालो आयो। १३ हजार बुझाउनु पर्ने भयो। पैसा बुझाइ बिल लिएर ब्लड स्याम्पल दिएर इसिजी र इको गराइयो। अब जानु पर्ने भयो युएसजी (अल्ट्रासोनोग्राफी) गर्न। बिल दिएर पालो सोध्नु भयो बाबाले, जवाफ आयो- करिब १ घण्टापछि पालो आउँछ। टन्न पानी पिएर आउनू।
युएसजी गर्न पिसाब लाग्नु पर्ने रहेछ। पानी पिउँदै पालो कुर्दै बस्यौँ। मैले सोधेँ, 'सिस्टर, ७५ वर्षको बिरामीलाई पनि पालो नै कुर्नुपर्ने?' धेरै पटकको अनुरोधपछि दुई जनापछि बोलाउने जवाफ दिइन्। मक्ख परेर बस्यौँ। अपसोस! पालो आउने बेलामा भित्रबाट जवाफ आयो- अब लन्च ब्रेक भयो, २ बजेपछि आउनू।
भोको पेट, बुढो शरीर उठ्न पनि नसकी मेरो आड लिँदै आमाले बिस्तारै उठेर भन्नुभयो, 'भो अब घर जाउँ, चेक सेक गराउदिनँ आफै निको हुन्छ।'
नरामाइलो मान्दै हजुरआमालाई सम्झाउँदै भनेँ, 'आमा, चेक त गराउनुपर्छ। बरु बाहिर गएर केही खाएर आउँ। बाहिर गएर खाजा खाएर एक घण्टा बिताएर आयौँ। आमालाई पिसाबले च्याप्यो तर डाक्टर आएनन्। बाध्य भएर पिसाव फेर्नु भयो। हामीलाई त पिसाब थाम्न गाह्रो हुन्छ, आमाको त ७५ वर्षको शरीर। अब केही समयपछि डाक्टर त आए तर पिसाब आएन। दिक्क मान्दै फेरि पानी पिएर १ घण्टापछि बल्ल युएसजी गराइयो।
अब बिहानदेखिका रिपोर्ट भेला गरियो। रिपोर्ट सबै भेला गर्दा चार बजेछ। पुनः पालो कुर्दै डाक्टर साबको चार बजेर तीस मिनेट जाँदा दर्शन पाइयो र रिपोर्ट देखायौँ। डाक्टस साबले आमाको अनुहार हेरेर मुस्कुराउदै भन्नुभयो, 'आमा, तपाईंलाई केही भएको छैन। एकपटक हाड जोर्नी र नसा रोग विषेशज्ञलाई देखाउनुस् है।'
फेरि भोलि अर्को डाक्टरलाई देखाउने सल्लाह गर्दै घर फर्कँदै गर्दा मेलै बाबालाई सोधेँ, 'बाबा अब म के पढूँ?'
आमाले हतास स्वरमा भन्नुभयो, 'भो! अब तँ डाक्टर नपढ्।'