अहिले बच्चालाई कुन स्कुलमा हाल्ने द्विविधाले हरेक घरमा साँझको समय बहस चलिरहेकै हुन्छ। यतिबेला अभिभावकहरू बच्चाको स्कुल खोज्न धमाधम अफिस बिदा लिएर वा स्कुल हेर्न जाने कामलाई पहिलो प्राथमिकतामा राखेर स्कुल भिजिट गरिरहेका हुन्छन्।
अहिले जल्दोबल्दो ट्रेन्डमा स्कुलमा एक कक्षा, तीन कक्षा र पाँच कक्षामा नयाँ भर्ना लिने चलिरहेको छ। काठमाडौं तथा सहरी क्षेत्रका अभिभावकहरूको रोजाइमा मनोरञ्जनात्मक गतिविधि तथा खेलकुद प्रशस्त भएका स्कुलहरू पहिलो नम्बरमामा परेका छन्। एक कक्षादेखि तीन कक्षासम्मका बालबालिकालाई विशेष स्याहार हुने एउटा कक्षामा १५ देखि २० जनासम्मका बालबालिका राखी पढाउने मन्टेश्वरी विधिका स्कुलहरू भरिभराउ देखिन्छन्।
यतिबेला मिडियामा बच्चालाई कुन र कस्तो स्कुल हाल्ने सन्दर्भमा शिक्षाविद र शैक्षिक क्षेत्रका व्यवसायीहरूबीच छलफल, गोष्ठी र भेला नै चल्ने गर्छ। सरकारी स्कुलको गुणस्तर, व्यवस्थापन र विद्यार्थीको शैक्षिक परिणाम हेर्दा केही नगन्य स्कुल बाहेक तुलनायोग्य नै छैनन्। अहिले पनि कतिपय अभिभावकहरू सरकारी स्कुलमा गाडीको सुविधा डे बोडर्स र गुणस्तर व्यवस्थापन राम्रो भएको स्कुल पाए सरकारी मै हालिन्थ्यो भन्छन्।
बच्चालाई कुन स्कुल हाल्ने भनेर स्कुल भिजिट गर्ने क्रममा एकजना साथीले लुभु लामाटार लोकेसनको एउटा अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको स्कुल भिजिट गर्ने सल्लाहा दिनुभयो र हामी बच्चालाई लिएर श्रीमान र म स्कुल भिजिट गर्न गयौं। स्कुल एकदम मन पर्यो। खेलकुद, स्विमिङ बच्चाको हेरचाह, फर्स्ट एड सर्भिस, टुर प्याकेज सोचेभन्दा एकदम राम्रो लाग्यो। हामीले केही डिस्काउन्ट र म्यानेज गर्न सक्ने पैसाभन्दा अलिकति बढी भए पनि अन्य खर्च कटौती गरेर म्यानेज गरौँला भनेर सोच बनायौं। पछि स्कुलले दिने डिस्काउन्ट, हामीले थप्ने पैसा र स्कुलको एड्मिसन र एनुअल ट्युसनको फीको तालमेल मिल्न नसकेर हामी लच्कियौँ।
त्यसैगरी एकजना शिक्षाविदले हामीले शैक्षिक क्षेत्रमा २५ वर्षदेखि योगदान दिएका छौँ। शिक्षा क्षेत्रमा हाम्रो उपस्थितिले आमूल परिवर्तन ल्याएको छ। हामी संस्कार सहितको संस्कृत भाषा, योग प्राणायम, ध्यान समेट्दै अन्तर्राष्ट्रिय मापदण्डको शिक्षा दिन्छौँ भनेर अन्तरवार्ता दिएको सुनेकी थिएँ। वहाँको पनि स्कुल भिजिट गरौँ न त जस्तो लागेर म एक्लै स्कुल गएँ। पहिलो गाँसमै ढुङ्गा, एक कक्षाको फी ३०-३५ हजार जसमा वहाँले पढाउने संस्कृत मेरो आमाले घरमै, योग ध्यान अन्य स्कुलमा पनि र अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको शिक्षा युट्युब र गुगलबाट प्राप्त हुने भन्दा मलाई केही खास लागेन।
अब बच्चालाई कहाँ लैजाने त? त्यस्तै नाम चलेको तर चलनचल्तीभन्दा अति सस्तो फी भएको स्कुलको बारेमा बुझेँ। स्कुलको स्तर, स्कुलले दिने शिक्षा, स्कुलको माहोल वास्तवमै लोभ लाग्ने थियो तर मलाई मेरो बच्चा कम्तीमा १० वर्षको नहुन्जेल ४-५ किलोमिटरभन्दा टाढाको स्कुल हाल्न मन थिएन। एक पटक ग्वार्को चोकमा सोही स्कुलको गाडी र म सँगै जाममा पर्यौँ। एक कक्षाको ५-६ वर्षको बच्चा साढे दुई बजे स्कुल बसमा चढेर ४ बजेसम्म दैनिक जाम खेपेर घर पुग्छ भने त्यो बच्चा कति इरिटेट हुन्छ। उसमा कति चिडचिडाहट हुन्छ होला र उसको कालान्तरको मानसिक अवस्था के हुन्छ होला भनेर मलाई त्यही समय दिक्क लाग्यो।
अब मलाई जस्तै धेरै अभिभावकलाई कहाँ हालौँ, कस्तोमा हालौँ भन्ने एक खालको स्ट्रेस हुने नै भयो। एउटा ७ वर्षको बच्चाको आमा र उसलाई स्कुल भर्ना गर्ने सन्दर्भमा आफ्नो साथी सर्कलसँगको छलफल र स्कुल भिजिटले मैले यो बुझेँ कि बच्चालाई स्कुलले मात्र दिएर केही हुँदैन। राम्रो र महङ्गो स्कुल हाल्दैमा बच्चाको भविष्य सुनिश्चित हुने होइन। हाम्रो समाजमा आफ्नो खुट्टामा उभिन सक्ने सक्षम, बुद्धसमान र विवेकी बच्चा बन्नको लागि बच्चा स्वयम, बच्चाको पारिवारिक अवस्था, स्कुलले दिने शिक्षा र बच्चाको साथी संगत यी कुराहरूले धेरै महत्व राख्ने रहेछ।
अब आम अभिभावकलाई मेरो बुझाइ र निष्कर्ष, तपाईं कस्तो अभिभावक हो? तपाईंको पारिवारिक संरचना कस्तो छ? तपाईंको आर्थिक अवस्था के छ? तपाईं आफ्नो बच्चा कुन रुपले हुर्काउन चाहानुहुन्छ? यी चार कुरा सबभन्दा पहिला मनन गर्नुस्। बच्चाको मामु र बाबा दुवै जना बसेर यस विषयमा छलफल गर्नुस् र आफै निष्कर्ष निकाल्नुस्। यदि तपाईं कामकाजी हुनुहुन्छ, बच्चालाई धेरै समय दिन भ्याउनु हुन्न भने अलिकति बढी फी भएता पनि एक्स्ट्रा करिकुलम बढी हुने, बच्चालाई मनोरञ्जन प्रदान हुने खालका विद्यालय छनोट गर्नुस्।
यदि तपाईंको पारिवारिक माहोल हजुरबुवा हजुरआमा सहितको छ र तपाईं पनि फ्री नै हुनुहुन्छ बच्चालाई घुमाउन, खेलाउन लैजान समय निकाल्न सक्नु हुन्छ भने आफ्नो घर नजिकैको अलि सामान्य खालको विद्यालय छनौट गर्नुस्। विद्यालयबाट बच्चा जति सिक्छ त्यति नै उसले आफ्नो परिवार र बाह्य वातावरणबाट सिक्छ। समान उमेरका उस्तै अवसर पाएका बच्चाहरू तुलना गर्नुस् त उनीहरूको स्कुले शिक्षाले भन्दा उनीहरूको पारिवारिक माहोल र समयसँगै उनीहरूले प्राप्त गरेको अवसरले उनीहरूको भविष्य निर्धारण गरिरहेको हुन्छ।
बजार राम्रो छ भनेर नाम चलेको छ भन्दैमा आफ्नो ६ वर्ष पनि नपुगेको चिचिलो तोतेबोली बोल्ने बाबु नानीलाई बिहान ७ बजेबाट साँझ ५ बजे पनि घर नआईपुग्ने 3-5 किलोमिटर टाढाको विद्यालय आफ्नो बाध्यता बिना छनोट नगर्नुस्। यसो गर्दा तपाईंलाई त मेरो बच्चा ठूलो स्कुल पढ्छ भन्ने आत्मासन्तुष्टि त मिल्ला तर तपाईंको हुर्कँदै गरेको मुनाले मानसिक र शारीरिक रुपमा अहिलेदेखि नै सङ्घर्ष गर्नु परिरहेको हुन्छ।