मेरो बाल्यकाल मामाघरमै बित्यो। बाजे–अजीको काखमा लुटपुटिँदै, खेल्दै, खाँदै हुर्किएँ। बाल्यकालको प्रसंग चल्दा अहिले पनि ममीले भन्नु हुन्छ – म मामाघर गएपछि घर फर्की नै मान्दिन थिएँ रे! ममीले कतिपटक त मलाई रुवाउदै जर्वजस्ति घर लिएर जानुहुन्थ्यो रे! ठूलो भएपछि पनि मामाघरमै बसेर पढे। गाउँमा माध्यमिक तहसम्मको पढाइ सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएको नै झण्डै एक दशक भयो। तर आजसम्म पनि मामाघरमा बिताएको त्यो पल र बाजे–अजीको मायाँ सम्झिदा भावुक हुन्छु।
म उच्च शिक्षा हासिल गर्न काठमाडौं आए पनि बाजे–अजीसँग निरन्तर फोनमा कुराकानी भइरहन्थ्यो। २०८० मंसिर १६ गत्ते दिउँसो पनि बाजेले फोन गर्नुभएको थियो। बाजेको फोन आउँदा म घरको काम सकी घाम तापेर चिया पिउँदै थिएँ। समय अपरान्ह ३:३० जति भएको हुँदो हो। फोनमा अरुबेला जस्तै हामीले एकअर्काको हालखबर सोध्यौं।
पछिल्लो समय बाजेको स्वास्थ्य स्थिति त्यति राम्रो थिएन। मैले बाजेको स्वास्थ्य अवस्थासँगै खाना कतिको रुच्छ सोधेँ। बाजेको स्वास्थ्य स्थिति त बिग्रेको थियो नै, खानामा अरुचि भएको पनि सुनेकी थिएँ। बाजेले भन्नुभयो– 'पहिलाभन्दा धेरै सुधार भएको छ नानी। खाना पनि रुच्न थालेको छ।'
बाजेको मुखबाट यति सुन्न पाँउदा मन फुरुङ्ग भयो। लाग्यो, बाजेको स्वास्थ्यमा सुधार हुँदैछ। फोनमा बाजेले अलि अप्ठ्यारो मान्दै भन्नुभयो, 'नानीलाई एउटा कुरा भन्नु थियो। भनुँ कि नभनुँ?'
मैले भनेँ– 'के कुरा हो बाजे, अप्ठ्यारो नमानी भन्नू न।'
बाजेले– 'घाममा बसिराख्दा झिंगाले साह्रै दुःख दियो, नानीले झिंगा मार्ने ब्याट पठाइदिन्थ्यौ कि भनेर।'
एक/दुई दिनमै ममी काठमाडौं आउने कुरा थियो। मैले भनेँ– 'हुन्छ नि बाजे। ममी फर्किँदा पठाइदिन्छु। तपाईं आफ्नो ख्याल राख्नु है बाजे।'
त्यो दिन बाजेसँग यति मात्र कुरा भयो। भोलिपल्ट ममीले फोन गरेर भन्नुभयो– 'जाडो धेरै छ, अलि पछि मात्रै आउने भएँ।'
तत्कालै ममी नआउने भएपछि बाजेले भनेको ब्याट कोही आउने जाने भए पनि पठाइदिन हुन्थ्यो भन्ने लागिरहेको थियो। तर भन्नासाथ गाउँ जाने आउने मान्छे कहाँ भेटिन्थ्यो र!
सामान पठाउन खोज्दाखोज्दै चार दिन बित्यो। २०८० मंसिर २० गते मध्यान्नतिर म अफिसमा भएको बेला बुवाको फोन आयो। फोन उठाएँ।
बुवाले आतिँदै भन्नुभयो– 'नानी के गर्दैछौ? दुःखको खबर सुनाउनलाई फोन गरेको! आज बाजे बित्नुभयो। म मामाघर जाँदैछु।'
अकस्मात बाजेको मृत्युको खबर सुन्दा मेरो गला अवरुद्ध भयो। बुवासँग दोहोरो कुरा गर्नै सकिनँ। हातगोडा फतक्कै गल्यो। भक्कानो फुटेर आयो। बाजेले आफ्नो स्वास्थ्यमा सुधार हुँदैछ भनेको चार दिनभित्र मृत्युको खबर आयो। त्यो दिन बिहानैदेखि मौसम झ्यापझुप भइरहेको थियो। छिनमै घाम लाग्ने छिनमै धमिलो! तर बाजेसँग कुरा भएको दिनको मौसम भने सफा थियो, पारिलो घाम लागेको थियो। मलाई लाग्यो, मौसमको केही भर नभएजस्तै जीवनको पनि भर नहुने रहेछ! आफूलाई सम्हाल्दै बुवालाई भनेँ– 'पुगेर कल गर्नू है।'
एक्कासी बाजेको मृत्युको खबरले म भावविह्वोल भएँ। आफ्नो अफिस कोठाको ढोका लगाएर धेरैबेर रोइरहेँ। बाजे ६८ वर्षको हुनुहुन्थ्यो। विश्वास नै लागिरहेको थिएन बाजे बित्नु भयो भन्ने कुरा। तर विश्वास नलागेर के गर्नु, सत्य त्यही थियो।
बाजे बितेसँगै अपूरै रह्यो बाजेलाई ब्याट पठाइदिने चाहना। अधुरै रह्यो बाजेसँग फेरि भेट्ने धोको। बाजे र नातिनीबीच चार दिन अघि फोनमा भएको कुराकानी नै अन्तिम हुन पुग्यो। जीवनमा बाजेसँग बोल्नु त्यति नै रहेछ।
हाम्रा लागि बाजे असल अभिभावक हुनुहुन्थ्यो। बाजेले हाम्रा लागि निभाउनु भएको भूमिकाको जति नै सराहना गरे पनि कम हुन्छ। एक समय यस्तो थियो जतिबेला हाम्रो परिवारका सामु दुःख र अभावको चाङ थियो। अनगिन्ती कठिनाइ थिए। ती सबै कठिनाइ बाजेको साथले सहजै पार लाग्यो। अझ भनौं, हाम्रो परिवारका लागि बाजे भोको पेटको गाँस र जीवन बाँच्ने आश हुनुहुन्थ्यो। हामीप्रति बाजेको माया र साथ देखेर म उहाँलाई भनिरहन्थेँ– 'बाजे! तपाईंले हाम्रा लागि धेरै गर्नुभएको छ, हामी तपाईंप्रति जीवनभर ऋणी हुनेछौँ।'
गएको दशैँमा मामाघर जाँदा बाजेसँग भेट भएको थियो। त्यतिबेला हामीलाई दशैँको टीका र जमरा लगाउँदै आर्शीवाद दिनु भएको थियो। हामीलाई माया गर्दै टीका-जमरा लगाएर आर्शीवाद दिने बाजे अब सधैँका लागि अस्ताउनु भयो।
सानो छँदा गाउँमा मान्छेको मृत्यु भएको देख्दा मलाई अचम्म लाग्थ्यो। म कल्पना गर्थेँ, मान्छे किन मरेको होला? मरेपछि कहाँ गएर बस्छ होला? के खान्छ होला? के गर्छ होला? फर्केर फेरि किन नआएको होला? गाईवस्तु पाल्छ कि पाल्दैन आदि। मान्छे मरेको देख्दा सायद बाल्यकालमा सबैको दिमागमा यस्ता जिज्ञासा आएको हुनुपर्छ। बाल्यकालमा लाग्ने गर्दथ्यो, मान्छे सधैँ बाँचिरहन पाए! तर ठुलो हुँदै जाँदा बुझिने रहेछ, सधैँ बाँचिरहने कुरा त असम्भव रहेछ। प्रकृतिमा जन्मने प्राणी मात्र होइन, हरेक वस्तुको अन्त्य निश्चित छ। त्यसकारण, कठिन भए पनि मृत्युलाई स्विकार्नुको विकल्प नहुने रहेछ। जसले प्रकतिको नियम बुझ्छ र आत्मसाथ गर्छ, उसले प्रकृतिमा हुने हरेक घटनालाई स्वभाविक रुपमा लिन सक्छ, नबुझेको अवस्थामा हरेक घटनाले पीडा दिन्छ।
बाजेको मृत्युपश्चात् मलाई मृत्युको वैज्ञानिक कारण बुझ्न मन लाग्यो। किनकि हाम्रो परिवारमा नजिकको मान्छेको मृत्यु भएको यो नै पहिलो घटना थियो। त्यसकारण मृत्यु के हो? कस्तो अवस्थामा मान्छेको मृत्यु हुन्छ? यावत् जिज्ञासाको उत्तरका लागि मैले चिकित्सा विज्ञानले मृत्युलाई कसरी परिभाषित गर्नेरहेछ, इन्टरनेटमा खोजेर केही सन्दर्भ सामग्री अध्ययन गरेँ।
चिकित्सा विज्ञानअनुसार, मान्छे फेरि कहिले पनि फर्केर नआउने अवस्थामा पुग्छ भने त्यसलाई मृत्यु भनिँदो रहेछ। मान्छेको दुई अवस्थामा मृत्यु हुन्छ भनिएको छ। एक, क्लिनिकल डेथ र दोस्रो मस्तिष्क मृत्यु। मुटु र फोक्सोले स्थायी रुपमा काम गर्न छाडेको अवस्थामा मान्छेको मृत्यु हुनुलाई चिकित्सा विज्ञानले 'क्लिनिकल डेथ' भनेर परिभाषित गरेको छ। र, धेरैजसो मान्छेको मृत्यु मुटुको चाल बन्द भएर हुने पनि उल्लेख गरेको छ।
मान्छेको शरीरको सबैभन्दा महत्वपूर्ण अंग मस्तिष्क हो। हामीले गर्ने हरेक कार्यहरू मस्तिष्कद्वारा सञ्चालित हुन्छ। हाम्रो पूरै शरीरलाई नियन्त्रण गर्ने काम पनि मस्तिष्कको हो। मस्तिष्क मृत्यु हुनु भनेको पनि मृत्यु नै हुनु हो। मस्तिष्कको मृत्यु भइसकेपश्चात् मान्छेमा कुनै पनि चेतना रहँदैन। तर, मस्तिष्क मात्र मृत्युको अवस्थामा शरीरका अन्य अंगहरूले भने काम गरिरहेको हुनसक्छ। यसरी हेर्दा मस्तिष्क मृत्यु हुँदा सबैभन्दा पहिला मान्छेको मस्तिष्क मर्छ, त्यसपछि मुटु, फोक्सो, किड्नी, कलेजो जस्ता शरीरका महत्त्वपूर्ण अंगहरू मर्दै जान्छ वा तिनीहरूले स्थायी रुपमै काम गर्न छाडेपछि मान्छेको मृत्यु हुन्छ भनेको छ। यसर्थ, मान्छेको मृत्यु एकैचोटिमा नभएर क्रमिक रुपमा हुने रहेछ।
मृत्युको सम्बन्धमा चिकित्सा विज्ञानको भाषालाई उदृत गर्दै डा. भगवान कोइरालाले एउटा अन्तर्वार्तामा भनेका छन्– मान्छेको शरीर भित्रको कोषिका–कोषिका, तन्तु–तन्तु, अंग–अंग र सिस्टम–सिस्टम बीचको ब्यालेन्स जब स्थायी रुपमा बिग्रन्छ त्यसपश्चात् शरीर मृत्युमा परिणत हुन पुग्छ।
समाजमा मृत्युको विषयमा खासै चर्चा भएको पाइँदैन। कतै परिवार वा साथिभाइको माझमा पनि यो विषयले उती प्रवेश पाउँदैन, पाइहाले पनि विषयान्तर गरिन्छ। मुत्युका बारेमा मान्छेमा बहस/छलफल नहुने भएकाले परिवारको नजिकको सदस्यको मृत्युबाट कतिपय अवस्थामा बाँचेका मान्छेमा गहिरो मनोवैज्ञानिक तनाव उत्पन्न भएर ठूलो समस्या निम्त्याएको घटना हामीले देखेका, सुनेका र पढेका छौं।
मृत्यु प्रकृतिको अनिवार्य नियम भएकाले मृत्युलाई सहज रुपमा लिने चेतना विकास गर्न सके यसबाट बाँचेका मान्छेमा पर्ने गहिरो भावनात्मक प्रभाव र क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। मृत्यु नै जीवनको अन्तिम सत्य हो। जुन दिन हामी जन्म लिन्छौं, त्यही दिनबाट मृत्यु हाम्रो साथै आएको हुन्छ। जन्म र मृत्यु अलग नहुँदो रहेछ।
अतः मान्छेसँग समय निकै सीमित छ। हामीले फेर्ने हरेक सासमा हाम्रो आयु घटिरहेको छ। यो पनि सत्य हो कि, उमेर बढ्दै जाँदा आयु मर्दै जान्छ। त्यसैले मान्छेले आफ्नो जीवनको सीमित समयलाई कसरी राम्रो बनाउने त्यसमा ध्यान दिन सके समाज विकासमा ठूलो योगदान पुग्ने देखिन्छ। एकबारको जीवनमा के गर्ने के नगर्ने भन्ने कुरा समय रहँदै सोच्न सके र जीवनको लक्ष्य निर्धारण गरी काम गर्न सके जीवन सहज र सुन्दर मात्र होइन सार्थक पनि हुनेछ। त्यसकारण, बाँचुन्जेल सकारात्मक कर्म गरौं ता कि अन्तिम सास फेर्दै गर्दा कुनै पश्चाताप नहोस्।